सडक चाँडो बनाऊ भन्ने अभियन्ताहरु पक्राउ

दोलखा, फागुन ११ – ठेकेदारको लापरबाहीले ढिलासुस्ती भएको खाडीचौर चरिकोट सडक यथाशीघ्र स्तरोन्नतिका लागि दवाव दिन आयोजनाको कार्यालयमा तालाबन्दी गर्दैगरेका नागरिक अभियन्ताहरुलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ ।

शीघ्र सडक निर्माणको माग गर्दै आज सिन्धुपाल्चोक जिल्लाको डाँडापाखरमा रहेको लामासाँघु जिरी सडक सुधार आयोजनाको कार्यालयमा तालाबन्दी गर्ने क्रममा नागरिक अभियन्ताहरु पक्राउ परेका हुन् । दोलखा जिल्लाको ‘लाइफ लाइन’को रुपमा रहेको सो सडक स्तरोन्नतिका लागि गठित संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्के, सहसंयोजक रमेश खतिवडा, गोकर्ण भण्डारी, सिर्जन घिमिरे र ज्ञानबहादुर बस्नेतलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको टोलीले उनीहरुलाई प्रक्राउ गरी सदरमुकाम चौतारातर्फ लगेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले सरकारी कार्यालयमा तालाबन्दी गरेकोले उनीहरुलाई पक्राउ गरेको स्वीकारेका छन् ।

खाडीचौर चरिकोट सडक स्तरोन्नतिको काममा ढिलासुस्ती भई दोलखाली जनताले सास्ती भोग्नुपरेपछि नागरिक अगुवाहरुले पटकपटक शान्तिपूर्ण आन्दोलन गर्दैआएका थिए ।

पछिल्लोपटक यही फागुन ६ गते दोलखा जिल्लाबासीहरुले नागरिक अगुवाहरु संलग्न संघर्ष समिति बनाइ आन्दोलन थालेका थिए । पहिलो चरणको आन्दोलनको क्रममा आयोजनाको कार्यालय डाँडापाखरमा तालाबन्दी गर्ने कार्यक्रम अनुसार तालाबन्दी गर्दैगर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेपछि दोलखाबासीहरु आक्रोसित भएका छन् । जिल्लाबासीले उनीहरुको तुरुन्त रिहाई गरी ढिलासुस्ती गर्नेलाई कारबाही गर्न समेत माग गरेका छन् ।

करिब ५ वर्षअघिदेखि स्तरोन्नति सुरु भएको खाडीचौर चरिकोट सडकको पहिलो प्याकेजको काम पछिल्लो समय केही सन्तोषजनक भएपनि दोस्रो प्याकेजको कामले जनतालाई सास्ती मात्रै भोगेनन्, दोलखा जिल्लाको अर्थतन्त्र नै तहसनहस भएको छ । पहिलो प्याकेजमा खाडीचौरदेखि मुडे नजिकैको सहरेडाँँडासम्म र दोस्रो प्याकेज सहरेडाँडादेखि चरिकोडको देउरालीडाँडासम्म पर्दछ ।

दोस्रो प्याकेजका ठेकेदार कम्पनी शंकरमालीले सिन्धुपाल्चोक जिल्लाको सहरेडाँडादेखि चरिकोटको देउरालीडाँडासम्मको ३० किलोमिटर सडक २०१८ मार्चमा सकाउने गरी १४ जुन २०१५ मा भ्याटसहित ९० करोड ९६ लाख ७१ हजार ७ सय ३७ रुपैयाँमा सम्झैता गरेको थियो । तर सम्झौताको ५ वर्ष बित्न लाग्दा पनि काम नसकाएको र काम नै छोडेर हिँडेकोले दोलखाबासीहरु आन्दोलित भएका हुन् ।