शहरी विद्रोह निम्तिने खतराबाट बेखबर छ सरकार ?

संकट, अभाव, शोक र भोकले आक्रान्त मान्छेहरु पोखिने ठाउँ सडक हो । तसर्थ यस्तै मान्छेहरुले सडक भरिन र नयाँ सपना, सामाधान र उदेश्य राख्न सक्छन । सर्वव्यापी असन्तोषको पिडा, उपचारको अभाव, क्वारेन्टाइनको बेहाल, सरकारको खर्चको असिमितता सबै सबै कुराको असर र प्रभाव पोख्ने ठाउँ सडक । सडकको आवाज र पाइलालाई बिभिन्न बहाना र कानुनको डण्डा तेर्स्याएर भड्काउनु भन्दा सडकसँग सरकार नरम बन्दा समस्या लम्बिन सक्दैन ।


सरकार गम्भीर छैन, सरकारको जिम्वेवारी, जवादेहिता र कर्तव्य केवल टालटुल, ढाकछोप र पुरपारको शैलीमा देखिएको छ । जसको कारण कोरोना कोविड २०१९ संकटको यो भयावह  स्थितिमा कहिल्यै सडकमा नदेखिने, राजनीतिमा चासो नभएका यूवाहरु सडकमा आएका छन । खतरा मोलेर नै भए पनि सडकको हिलोधुलो सरकारी दमन देखि घामपानीको पर्वाह बिना नयाँ पुस्ता सडकमा आउनुको अर्थ र कारण सामान्य छैन । नयाँ पुस्ताको आकर्षण क्रमश देशभरको सडकमा फैलिदो छ । राजनीतिमा अप्रशिक्षित युवा, राजनीतिको रंग र हिलोमा नमुछिएको पुस्ता अकस्मात सडकमा निस्कनु र नयाँ नयाँ शैलीमा प्रदर्शनमा देखिनु आफैमा आश्चर्य हो । शायद सरकार यो प्रदर्शन र यो पुस्ताको सडक आगमनसँग अनभिज्ञ थियो र हतास मनस्थितिले षडयन्त्रको संज्ञा दियो । घुष पैठको आरोप लगायो । आफ्ना समर्थक र विद्यार्थीले प्रदर्शन गरेर अभद्र ब्यबहार गर्दा उचित देख्ने आँखाले अरु नागरिकको तहबाट उठेको प्रश्न र अप्रत्याशित विशाल जन प्रदर्शनलाई अनुचित र राज्यको कानुन उलंघन देख्नु द्वैद चरित्र र गलत मानसिकता अनि अधिनायकवादी सोच हो । हुनत कम्युनिस्ट जिनमा अधिनायवाद र निरंकुशता अन्यथा होइन तर हाम्रो समाज संबिधान र नेकपाको पूर्वप्रतिबद्दता हेर्दा यसलाई अस्वाभाविक र अलोकतान्त्रिक संस्कार भनेर बुझ्न सकिन्छ ।

अल्लारे, नौजवानको रोमान्स र लहडको रुपमा युवाको स्वतस्फुर्त सडक आगमनलाई बुझियो भने यसले पैदा गर्ने संकट भयानक हुन सक्छ शहरी विद्रोहको सांकेतिक भाषा र अवस्था मात्रै हुनसक्छ । आलोचकहरूले भने झैँ केही युवायुवतीले यसलाई माध्यमबनाएर आफ्नो देख्ने, भेट्ने अभिस्ट नबनआएका होलान भन्न सकिन्न तर समग्रतामा यसलाई हल्काफुल्का र सतही रुपमा बुझियो भने त्यो अत्यन्त प्रत्युत्पादक र राजनीति नबुझेको अल्लारे पन हुनजान्छ । कुनै पनि राजनीतिक पार्टी र संगठनको आव्हान बिना सडकमा नौला नौला शहरका आधुनिक युवा पुस्ता देखिनु र प्रश्न गर्ने ह्याउ देखाउनु फरक पन थियो / छ । स्वतन्त्र तवरबाट यति धेरै मान्छे सडकमा निस्कनुको मनोविज्ञान सरकारको लागि आगामी दिनमा महँगो पर्न सक्छ । सरकारी रवैया र जिब्रो, कार्यशैली र अपारदर्शिता यस्तै रह्यो भने सरकारको बैधानिकता सडकले छिनोफानो गर्ने स्थिति नआउला भन्न सकिन्न ?

अति भयो । अति भयो । इनफ इज इनफले गरेको संकेत र सहरी विद्रोहको प्रारम्भिक चरण भनेर बुझ्न र हेर्न सकिन्छ । यो संसदमा प्रदीप गिरीको बोलीको प्रभाव र बौद्दिकताको प्रत्यक्ष असर हो । बौद्दिकताको धारिलो प्रस्तुतिले दुई शब्दमा तागत हुन्छ र त्यसको आकर्षणले कति छिटो स्पर्श गर्छ भन्ने उदाहरण पनि हो । ती आन्दोलनकारी प्रदीपगीरिका अनुयायी होइनन् तर प्रभाव ग्रहण गरेर संकेत बुझ्ने ल्याकत राख्ने युवा बौद्दिक दस्ता हुन् । आन्दोलनको रुप र स्वरूप सरकारी जवाफदेहिता र ‘एक्सन’मा निर्भर रहन्छ । नागरिकको असन्तोष, निराशा, सपना र उदेश्यमा आएको अबरोध र त्यसले सिर्जित मनोविज्ञान समाजका सबै तह र तप्कामा रहेको तथ्य भुल्नु हुदैन । यतिबेला जुनसुकै पक्ष होस ऊ असहजता र चुनौतिको मारमा गुज्रेको छ । यस्तोबेला सरकारको सुस्तता र संवेदनहीन अवस्था प्रति ऊ रुस्ठ छ ।

संविधानको धारा २७ मा रहेको सुचनाको हकबाट ऊ टाढा छैन त्यसैले ऊ चिच्याएर सोध्न निस्कन्छ हामीलाई सही सूचना देऊ । सुचनाको असहिष्णुता जति बढ्छ त्यति नै असन्तोषको ज्वारभाटा उठ्नेछ । खटाई खटाई दिने सूचना र त्यसभित्र अन्तर्निहित स्वार्थको कारण शंका र सन्देह बढ्दै जान्छ । सूचना माग्दा अटेरी गर्ने, सूचना गर्नेलाई दण्डित गर्ने र सुचना दिन नचाहने प्रवृति नै सबै अपारदर्शीताको कारण र प्रमाण हुन सक्छन । समाज गतिको नियम र बेग समाज विज्ञानको नियम र अर्थ राजनीतिको चेतलाई नजर अन्दाज गर्नेहरुको सोच शैली र कार्य क्षमता अभाव नै आन्दोलन, प्रदर्शन अरु बढ्ने लक्षणहरु हुन् । आम नागरिकलाई परेको पिर मार्काको अभिव्यक्ति हो । हाल हजारौको संख्यामा सामाजिक संजाल छोडेर निस्किएका युवाहरु भोलि लाखौ र तिनलाई समर्थन गर्दै अरु अभिभावकहरु ननिस्केलान भन्न सकिन्न । देश विदेशको प्रभाव र असर पनि हुन सक्छ । अब चुप लागेर बस्न हुन्न भन्ने चेत । बन्दाबन्दीको उकुसमुकुस मात्रै पनि हुन सक्छ ।

जे होस् सडकमा निस्कने बानी परेपछि र राज्यसत्ताको असक्षमताप्रति प्रश्नका ओइरोहरु लाग्न थाल्छन । रोजगारी गुमाएका मान्छेहरु, मजदुरहरु, पिडा र अभावमा परेका गृहणीहरु, रोजगारी पाउने सपना तुहिएका उदाश अनुहारहरु, ब्यबसाय चौपट बनेको समुह, ऋण लागेर तनावग्रस्त हुल, घरभाडा र घरभेटिसँग वैमनस्यता राख्ने पिडित र प्रतिसोधि जमात, करियर बनाउन विदेश जाने सपना बोकेका युवायुवतीको मानसिक असन्तोष सबै एकैपटक सडकमा मुखरित बन्ने सम्भावना उत्तिकै छ । संकट, अभाव, शोक र भोकले आक्रान्त मान्छेहरु पोखिने ठाउँ सडक हो । तसर्थ यस्तै मान्छेहरुले सडक भरिन र नयाँ सपना, सामाधान र उदेश्य राख्न सक्छन । सर्वव्यापी असन्तोषको पिडा, उपचारको अभाव, क्वारेन्टाइनको बेहाल, सरकारको खर्चको असिमितता सबै सबै कुराको असर र प्रभाव पोख्ने ठाउँ सडक । सडकको आवाज र पाइलालाई बिभिन्न बहाना र कानुनको डण्डा तेर्स्याएर भड्काउनु भन्दा सडकसँग सरकार नरम बन्दा समस्या लम्बिन सक्दैन ।

सडकमा नारा लाग्नुको अर्थ शंका र सन्देह दुर गर्नु हो । अरबको हिसाब खोज्नुको मतलव, खर्च किन गर्यो र गर्न पाउदैनौ भनेको होइन खर्चको पारदर्शिता खोजेको हो । सरकार हुनुको अनुभूति देऊ भनेको हो । तर सरकार घुमाउरो बाटोबाट खर्चको फेहरिस्त होइन कुन कुन निकायले कति खर्च गरे भन्ने निकासा रकम देखाउछ अझ पहिले सार्वजनिक भएको ९ अरब ८७ करोडको सट्टा ८ अरब ३९ लाख देखाउछ  अनि नागरिकले प्रश्न गर्दैंन एक अरब ४८ लाख खै भनेर ? जुन निकाय र जुन बाटोबाट खर्च विवरण सार्वजनिक गर्नु पर्ने हो त्यो बाटोबाट आधिकारिक रुपमा बाहिर नआउदा सरकार अर्को गल्ति गर्दैछ । अत प्रश्नहरु सन्देहहरु निश्चय नै आउछन । संकट भनेर पारदर्शिता बाट भाग्ने र उम्किने छूट कसैको हकमा सुरक्षित छैन  शंकाको घेरा झन फराकिलो भयो । प्रधानमन्त्रीको सल्लहाकार सरकारी निकायको खर्चको हिसाब देखाउने पोष्ट हो ? किन उल्टो र अपूर्ण बाटो हिड्दैछ सरकार ? अपारदर्शी र अनियमितता अनि भ्रस्टाचारको गन्धले सर्वत्र पिरोले पछि त्यसको सार्वजनिक जवाफदेहीता माग गर्न निस्केको युवा आवाजलाई दमनको भाषाले पराजित गर्न सकिन्छ भन्ने सोच पक्कै लोकतान्त्रिक होइन ।

जबाफदेहीता माग्दा सरकार डराउनु हुदैन बरु कमजोरी र यथार्थ परिस्थतिको सही सूचना, देशको समग्र स्थिति’bout बताउनु पर्छ । अप्ठ्यारो परिस्थितिमा सरकारलाई सहयोग गर्न आव्हान गर्नु पर्छ । अकस्मात आएको जटिल परिस्थितिको सामना गर्न आफ्नो तयारी नपुगेको र म्यानपावरको अभाव देखि आर्थिक अभावले पारेको अप्ठ्यारो जनतालाई सविनय बताउनु पर्छ । तर त्यसो गर्नु अघि सरकार पारदर्शी छ, सरकार जनताको दुखको लागि चिन्तनशील र प्रयत्नशील छ इमान्दार छ भन्ने छाप जरुरि छ । असहजतामा जनताको आक्रोश हुन्छ, केही अराजकता पनि देखिन्छ तर सरकार संवेदनशील र धैर्य भएर जनलाई सम्झाउने क्षमता राख्नुपर्छ । तर सरकार सम्बद्द अधिकारी स्वयं प्रधानमन्त्री समेतको भाषा र ‘बडील्यांग्वेज’ त्यस्तो देखिन्न बरु सक्छस भने आइज ? खेलौ, बाहिर निस्किस भने सिध्याई दिन्छु टाइपका  उत्तेजक कुराले स्थिति संयम होइन भड्किने खतरा छ ।

अहिलेको पुस्ता घर बसेर पनि विश्व बुझेको पुस्ता हो आफ्नो ल्याकतले के गर्न सक्छ के सक्दैन त्यो राम्रो हेक्का राख्दछ । लोकतन्त्रमा प्रश्न सोध्ने ब्युटीलाई आफ्नो ड्युटी भनेर सरकारले सोच्नुपर्ने हो । आफ्नो विश्वसनीयता पल पल पुष्टी गर्नुपर्छ । प्रश्न उठ्नुलाई स्वाभाविक रुपमा लिनुपर्छ । यूवाहरुको नारामा केही उदण्डता थिए र धेरै सिर्जनात्मक प्रयोग । हामीले हेर्ने र बुझ्ने सिर्जनात्मकता हो उदण्डता र अराजकताको आयतन थिएन तसर्थ त्यसको ‘हाइलाइट’ गरेर चिड्याउनु र उत्तेजक बनाउनुमा शासकीय काबिलता झल्कदैन बरु भन्न सक्नुपर्छ सिर्जनात्मक बिरोध र प्रदर्शनले हामीलाई गलत गर्नबाट रोक्छ तर हाम्रा बाध्यता र सिमा ’bout पनि बुझिदिन अनुरोध गर्छौ भनेर सम्झाउने शिष्टता सरकारले देखाउदा स्थिति सहज बन्छ । अनावश्यक आर डि टी टेस्टमा खर्च गर्नुको मतलव र अभिप्राय के हो ? अनि मृत्यु पछि मात्रै पिसिआर रिपोर्ट आउने क्रम किन ? ओम्नी समुहको स्वास्थ्य सामग्री खरिदमा संलग्नता देखि सेना सम्म सामान खरिदमा मुछिन पुग्दा त्यहाँको घोटाला देखि चरम संकटमा राज्य दोहनलाई नागरिक अब टुलुटुलू हेरेर मात्रै बस्लान र ?

विश्व बजारमा मुल्य घटबढ हुन्छ । समयको अन्तराल र संकटमा मुल्यमा उतारचढाव आउछ सामान्य हेराफेरी अन्यथा मानिन्न तर तीन महिना मै आकाश जमिनको अस्वभाविक अन्तर देखे पछि रिसले र निष्ठाले मान्छे बहुलाउछ, आफूमाथिको अत्याचारले मान्छे बोल्छ र ज्यान नै फाल्न तयार रहन्छ । अहिले शहरी क्षेत्रको सांकेतिक विद्रोहको आवाजलाई बेखबर बसेर कम आंक्यो भने त्यसको विकराल रुप विस्फोटक र अनियन्त्रित हुन पुग्छ । सहरी विद्रोह र विप्लव बितण्डा बन्न सक्छ । तर अहिले शहरी विद्रोहमा जात विरुद्द भएको भेद र अत्याचार जोडिनु आवश्यक थियो । रुकुममा त्यत्रो नर संहार भयो तर यो वर्ग मौन बस्यो । अबको युवा विप्लव जुन सकारात्मक बनोस समस्या मुलक होइन समस्या हल गर्ने बनोस त्यसमा छुवाछुत, छाउ, बोक्सी, दाइजो जस्ता घृणित प्रथा र प्रचलनको उन्मुलनको जागरण आउनुपर्छ ।  अबको प्रदर्शन जागरणको लागि, अन्धविश्वास र कुरीतिको अन्त्यको लागि । पारदर्शिता र जबाफ देहिताको लागि । समाजको अन्योल र भ्रम निवारणको लागि । सुशासन र समता मर्यादाको लागि । युवाहरुले जोशमा होश गुमाउनु हुदैन अबको यूग बोक्ने अभिभारा युवाहरुको हो ।