शकुनिहरुको रजगज

–बिजयराज पोखरेल

ब्यवस्था नै पटकपटक फेरियो
थरीथरीका त घटक देखियो
यो जुनीमा किन हो कुन्नि
चटकेहरुको धेरै चटक हेरियो !

काम गर्दा अलमल र खटपट
खानु पर्दा एक पलमा झटपट
अचम्मको रोगले गाँजेको छ
मौका पायो कि जहिल्यै लटपट !

पात्र पनि थरीथरीकै भोगियो
प्रबृति सबैको एउटै झेलियो
सबैको चाहना झ्वाम पार्ने
लेकतन्त्रमा पनि लुटतन्त्र नै खेपियो !

आश्वासन सुनेरै समय घर्कियो
दीन–दुखीको पीडामै जीवन सकियो
महामारी र विपतमा समेत सुख नदिने
शकुनिहरुको रजगजले यो देश थलियो !