साईं पनि कुरौटे मै पनि कुरौटे

निर्वाचन लोकतन्त्रको मुटु हो । निर्वाचनले नै लोकतन्त्रको परिष्कार  गर्दछ । किन्तु अनपेक्षित र असामयिक निर्वाचनलाई राम्रो मानिदैन । यस्तो निर्वाचन ठूलाठूला नेताको कटुता र वाकबाणबाट  जन्मिने हुँदा यसले  युवावर्गमा समेत विभाजन ल्याउँछ   । राजनीतिमा उत्पन्न भएको मानवीय कर्तव्यहीनता, कङ्गाली, बेरोजगारीप्रतिको उदासीनता र अहड्ढारले गर्दा युवा जमात  थिलोथिलो भएको छ ।


-भागवत खनाल

जुन दिन सुगौलीको सन्धि भयो, त्यही दिनदेखि नेपालीको नेपालमा काम सकियो । युद्धप्रेमी युवकहरु हिन्दुस्तानी फौजमा भर्ती  भए ।  हिन्दुस्तानबाट सस्ता सामान आउन थाले । नेपालका खानी र उद्योग बन्द भए । भारदार र सेनापतिहरुको अन्यत्र काम भएन, दरबार वरिपरि जम्मा भए । शक्तिका भोकाहरु पहिले कुरा र त्यसपछि काटमार गर्न थाले । नेपाली प्रजाको सहारा कोही भएन । सरकार त आउँथ्यो तर कर उठाउन मात्र ।  राज्यकोष र भूमि आसेपासेलाई काफल बाँडे सरी बाँड्नेहरु दानी ठहरिए ।  काम गरेर खाने पिल्सिए । बसिबसी खाने कुरौटेका दिन आए । 

जङ्गबहादुरले लखनौमा विद्रोही दबाउन फिरङ्गीलाई सहयोग गर्दा दरबारमा एक्लै परे । निरङ्कुश शासक भएको हुँदा उनले भनेको चल्यो । विद्रोह दमन गरेर फर्केपछि नेपालमा विकराल शराणार्थी समस्या आयो । हजारौं हजार विद्रोहीहरु नेपाल सरहदभित्र पसे ।  तिनको दमन र व्यवस्थापनको सिलसिलामा जङ्ग बहादुरलाई देशको सार्वभौमसत्तामाथि खेलबाड गरेको आरोप लाग्यो । अहिले जस्तो मिडिया थिएन, बोले जिब्रो थुतिने, आँखा लाए आँखा झिकिने र भित्ताका समेत कान हुने जमाना थियो । तैपनि बोलक्कड नेपालीको केही कमी  थिएन,  गाइँगुईं चलाइरहन्थे । कुरा गर्नु त हो  किन चाहियो रेडियो, किन चाहियो टीभी किन चाहियो छापा । कुराको परिवहन कुराबाटै हुन्थ्यो ।

एउटा खेती नै छ  नेपालमा , कुराको खेती । अब ठूलो भूकम्प जान्छ, अब काठमाडौ भासिन्छ, अब छिट्टै नेपाल सकिन्छ, अब विदेशी सैनिक परेड खेल्छ । घोर शङ्कटको योग छ, भीमसेनलाई पसिना आयो । जो जति जोडले करायो, जसले जति जोडले विदेशको हौवा देखायो त्यति नै राष्ट्रवादी । एउटाले वल वल भनिदियो भने लौ सत्यानाश हुन लाग्यो भनेर भागाभाग गर्दै हल्ला फिजाउँने चलन पुरानो हो ।

पार्टी गठन हुन पाएको छैन झगडा सुरु । माखो नमार्दै गद्दार घोषणा । युवालाई विदेश पठएर खुसी हुने सरकार । सरकारदेखि सर्वहारासम्म, सडक देखी सदनसम्म नेताको चर्चा छ । पँधेरादेखि पाटीसम्म पार्टीकै चर्चा छ । पार्टीमा पार्टीका नेता र सहनेताहरुको गालीगलोजले देशै रमाइलो भएको छ साईं पनि कुरौटे मै पनि कुरौटे समृद्धि, समानता र रोजगारीका कुरा चुटकुलामा सीमित भए ।

चौधौं सताब्दीको कुरा हो ।  हिन्दुस्तानी बादशाह मोहम्मद बिन तुगलक रातारात ठूलाठूला निर्णय गर्थे । बादशाह  बोल्यो त बोल्यो । उनलाई कुन  दिल्लीवालासँग के कुरामा रिस उठ्यो, राजधानी सार्ने निर्णय गरे । १५ सय किलोमिटर टाढा देवगिरी ( दौलतावाद ) चलो  भन्ने फरमान जारी भयो । चालीस दिनको लामो कष्टकर यात्रामा  कति त  बाटोमै मरे । दिल्ली बिरान भयो । फेरि के सुर चल्यो, दुई वर्षमै राजधानी दिल्ली सार्ने निर्णय भयो । निर्दोष प्रजा फेरि दिल्लीका लागि प्रस्थान गरे । सनकी शासकले  एउटासँग रिस  फेर्दा साधारण प्रजा प्रताडित भए ।

 नेपाली जनताले पाँच वर्षको लागि कम्युनिस्ट पार्टीलाई मत दिएका थिए ।  अब समृद्धि आउँछ भन्ने हल्ला चल्यो । नढाँटी भन्ने हो भने कम्युनिस्ट पार्टीलाई भोट नदिने पनि खुसी भए । तर विडम्बना ! टाउकाबीच नमिलेको लेनदेनले निसृत गरेको घोचपेच, घच्चा र कुरौटे व्यवहारले गर्दा जनताले चुनेको निर्दोष प्रतिनिधी सभाको  विघटन भयो  ।

थरगोत्र मात्र मिल्दैमा स्वार्थ कहाँ मिल्थ्यो ।  टाढा टाढाका दाजुभाइ जम्मा भएर कुलपूजा गरे जस्तो मिलन थियो चुनावको बखतको मिलन र पार्टी एकीकरण । तदर्थ मनसायबाट भएको गलामिलनमा कति इमान रहेछ भन्ने कुरा विस्तारै प्रकाशित हुँदै गयो । सत्तासुख प्राप्त नभएको भए सायद कुरो मिलिरहन्थ्यो, सत्ता बैगुनीले पिरती बिगार्‍यो । पिरती बिग्रेको हुँदा गालीगलोज भयो, गालीगलोजले ठूलाठूलाको वस्त्रहरण गर्‍यो ।  भनिन्छ, महाजनो येन गत: स पन्था,  अर्थात समाजका ठूलाठूला मानिसहरू जुन बाटोमा हिँड्दछन, अन्य साधारण मानिसहरू पनि सोही मार्ग असल होला भनेर त्यसैको अनुसरण गर्दछन । उहाँहरुले साधारण मानिस र नयाँ पुस्तालाई समेत गालीगलोज, उपहास र निन्दाका मीठा शब्दावली सिकाएर ठूलो गुन लाउनु भएको छ । अब नयाँ पुस्ताले पनि उहाँहरुको  शास्त्रको अनुसरण गर्ला । उहाँहरुको आशीर्वादको खाँचो छ ।

उता काङ्ग्रेसका दुई बूढाहरु आपसमा बाझ्दैछन् । पचास वर्ष बाझेर पनि तृप्त हुन सकेनन् बरा । जति बाझे पनि भयो, यिनको केही जाने भए पो । अब त बरु समृद्धि, लोकतन्त्र, र आदर्शका कुरा गर्न च्यात्तै छाडेर कलह मात्र गरे जनताको चित्त बुझ्थ्यो  ।

 देशको ’bout कुनै पार्टीमा छलफल हुँदैन । राजनीतिक कार्यकर्ता,  शिक्षक, कर्मचारी, व्यापारी सबैको मुखमा नेताकै नाम छ । नचाइरहेछन सबैलाई, जमुरे बनाइरहेछन् । कोहीकोही दिग्दार मान्दै भन्छन्, अब भोट माग्न जानेलाई जनताले टाउकोमा हान्छन् । कोही टाउकोमा हान्नेवाला छैन । बरु यिनीहरूको एक आशीर्वादका लागि शिर निहुर्‍याएर स्वागत गर्नेको लाइन लाग्नेछ । यति त राम्ररी बुझेका छन् नेताजीहरु । पचास वर्षको अनुभव छ यिनीहरूसँग ।

निर्वाचन लोकतन्त्रको मुटु हो । निर्वाचनले नै लोकतन्त्रको परिष्कार  गर्दछ । किन्तु अनपेक्षित र असामयिक निर्वाचनलाई राम्रो मानिदैन । यस्तो निर्वाचन ठूलाठूला नेताको कटुता र वाकबाणबाट  जन्मिने हुँदा यसले  युवावर्गमा समेत विभाजन ल्याउँछ   । राजनीतिमा उत्पन्न भएको मानवीय कर्तव्यहीनता, कङ्गाली, बेरोजगारीप्रतिको उदासीनता र अहड्ढारले गर्दा युवा जमात  थिलोथिलो भएको छ । गालीगलोज, उपहास र आपसी निन्दाले गर्दा कसैको पनि इज्जत बाँकी रहेन ।

यहाँ सबका सब धडधडाएर बोलिरहेका छन् । सरकारप्रमुखका मीठा र तीता व्यङ्ग्य सुन्न नपाएको दिन नुनिलो खान नपाए जस्तो हुन्छ । प्रतिनिधि सभा विघटन’bout धेरैजसोले संविधान समातेका छन् भने केहीले राजनीति । एकथरीको भनाइ छ, अदालतमा विचाराधीन विषयमा बाहिर बोल्नु हुँदैन । मनासिब हो बोल्नु हुँदैन  । तर राजनीति मिसिएको संवैधानिक मुद्दामा नबोलेर बसिरहन लोकतन्त्रले मान्दैन । सरकार प्रमुखदेखि लिएर सडकमा पुगेका अभियन्ता समेत बोलिरहेछन् । सामाजिक सन्जाल बोलिरहेछ । मिडिया चिच्च्याइरहेछ । यस हुलहालमा केही पूर्व प्रधानन्यायाधीश समेत बोल्न पुगे । उनीहरू नबोलेको भए पनि केही फरक पर्दैनथ्यो, तर बोले ।

केहीबाट उनीहरुको कटु आलोचना भयो । हामी लोकतन्त्रमा छौँ । आलोचना गर्न पाइन्छ, प्रश्न गर्न पाइन्छ । उनीहरू विगतमा न्यायाधीश पदमा रहेको हुँदा बोल्नु गलत हो भन्नु गलत हो । सरकारले दिएको पेन्सन खाने मान्छे बोल्नु हुँदैन भन्नु गलत हो । चारजना नागरिकले संविधानमा यस्तो यस्तो प्रावधान छ है भनेर भन्न पाउँछन् । कानुनी हिसाबले उनीहरू पनि बोल्न पाउँछन् । कुनै आचारसंहिताले बोल्न रोकेको छैन । नैतिक हिसाबले बोल्नु हुन्थ्यो कि हुँदैनथ्यो भन्ने कुराको निर्धारण अरुले गर्ने होइन उनीहरु स्वयंले गर्ने हो  ।

यी बोलीहरुले न्याय सम्पादकमा प्रभाव पर्छ कि भन्ने चिन्ता उदेकलाग्दो छ । राष्ट्रले पत्याएका योग्य न्यायमूर्तीहरुबाट संविधान हेरेर मुद्दाको निरुपण होला कि बजारहल्ला सुनेर ? संविधानसभाले निर्माण गरेको संविधान पढेर निर्णय होला कि अखबार र विज्ञप्ति पढेर ? बजारमा होहल्ला हुन्छ र मानिसहरु आफ्ना अभिमत पनि प्रकट गर्दछन् । अदालत हल्लाको पछि लाग्दैन, लाग्नु हुँदैन ।

 यहाँ संविधानको अक्षर पढ्ने कुरामा समेत कित्ताकाट भएको हुँदा पूर्वहरु बोलेको कसैलाई ठीक र कसैलाई बेठीक लाग्नु स्वाभाविकै हो । बरु संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मामिलामा संसदीय बहसमा बन्देज लगाएको छ । राष्ट्रिय सभामा यस  मुद्दा सम्बन्धमा चर्को भाषण भयो । सरकार मजाले बोल्यो र सांसद पनि दिल खोलेर बोले ।

भनिन्छ, बोल्नेको पिठो बिक्छ, नबोल्नेको वासमती चामल पनि बिक्दैन । हाम्रा पौराणिक कथामा कुरौटेको ठूलो फलिफाप भएको कुरा पढ्न पाइन्छ । महादेवले गणेश र कुमारलाई सुमेरु पर्वत घुमेर आउन अह्राए । कुमार हस पिताजी भन्दै दगुरे । गणेशलाई फसाद पर्‍यो । वाकपटु गणेशले भने – हे प्रभु मेरा लागि त हजुर नै सुमेरु, हजुर नै संसार । महादेव प्रसन्न भए । बोलक्कड रावणले झुक्याएको समेत  पत्तै पाएनन सदाशिवले । ब्रह्माजीलाई स्तुति गरेर धेरै कुरौटेले फाइदा लिए । सौतेनी आमाको प्रतडानामा परेका राजा उत्तानपादका पुत्र ध्रुवले भगवान वासुदेवको द्वादशाक्षरी मन्त्रले स्तुति गरेरै वरदान पाएर फर्के । बलियाको गुणगान गर्न जान्नेले पसिना बगाउनु नै नपर्ने प्रथा पुरानो हो । कटु सत्य बोल्ने बिदुर धृतराष्ट्र र दुर्योधनका लागि खराब भए । चाटुकार र गलत निर्णय गर्न उक्साउने शकुनि हितु ठहरे ।

 ठूला मान्छेहरू प्रशंसाबाट  लट्ठ भएका  धेरै उदाहरण छन् । राजाको पालामा स्तुति गर्दै  मीठा कविता सुनाउने निजामतीले पदोन्नति पड्काए । पन्चायतको समयमा दिनदिनै अन्चलाधीशका  हजुरमा धाउँदै अनेक परिहास  गरेर धाप पाउने कुरौटेले गाउँ थर्काउँथे । सांसदका  उम्मेदवार बनेका  बहुदलीय नेताले चुनाव प्रचारमा हिँड्ने कार्यकर्ता  नचिन्ने र वरिपरि घुमेर गुणानुवाद गर्ने कुरौटेले नियुक्ति पड्काएको इतिहास पुरानो भएको छैन  । अहिले त झन् कुरौटेहरुको ठूलो चकचकीको जमाना हो ।

 पश्चिम नेपालमा एकजना महा कुरौटे थियो  । अड्डाअदालत धाउने, बडाहाकिमको चाकरी गर्ने र  सोझा गाउँलेलाई खूब थर्काउने। के  कसो बिग्रेर ऊ मुद्दामा परेछ । माथिल्लो अदालतबाट समेत हारेर भुसक्कै भएको कुरौटे  दैनिक सिंहदरबारको पटांगिनीमा  खडा भएर श्री ३ महाराजको सवारी हुनासाथ ‘अन्यायमा परें सरकार’  भन्दै  पुकारा गर्दोरहेछ । श्री ३ ले उसको क्रन्दनको वास्ता गरेनन् । तर कुरौटे पनि कम्ताको थिएन, पुकारा गरिह्यो । धेरै दिनपछि श्री ३ ले के रहेछ भनी बुझ्न लगाए । ‘यो महाको फटाहा मानिस रहेछ’  भन्ने जाहेर भएपछि श्री ३ को हुकुम भयो ‘यसलाई घोक्र्याएर बाहिर फाल्दे ।’  सिपाहीले गलहत्याउन थालेछ । कुरौटे झन जोडले चिच्याएछ ‘अहिले त झन अन्यायमा परे नि सरकार !’  श्री ३ ले सोचे, पक्कै पनि यो मानिसमाथि अन्याय भएको हुनुपर्छ  । कुरौटेको मुद्दा उल्टियो ।

इबी राख्ने  मान्छेलाई आफूले  ईख राखेको व्यक्ति हारे पुग्छ । महाभारतको युद्धमा सिखण्डीको सरोकार कसले युद्ध जित्छ भन्नेमा भन्दा भीष्मको मृत्युमा थियो । भीमलाई जसरी हुन्छ दु:शासनको छातीको लहुले द्रौपदीको केश रङ्गाउनु थियो । घृष्टद्युम्नको  सरोकार द्रोणाचार्यको अवसानमा थियो । यहाँ पनि को उकालोतिर चड्छ भन्नेभन्दा कसलाई खुइल्याउने र पस्त पार्ने भन्नेमा मतलब  छ । आफू हुन नपाए अर्कोलाई किन दिने ?

हाम्रो मुलुकको बोलक्कड राजनीति अझै धेरै वर्षसम्म रहिरहने लक्ष्ण छ । राजनीति लबस्तरो भए तापनि लोकतन्त्रमा राज्यका  संस्थाहरु मजबुत भए भने मुलुक बिग्रन पाउँदैन । अदालत, संवैधानिक संस्थाहरु , निजामती सेवा र सुरक्षा निकाय लोकतान्त्रिक पद्धतिप्रति समर्पित हुन सकेमा प्रणालीमा स्थायित्व आउन सक्छ । संयुक्त राज्य अमेरिकामा हालै भएका घाटनाहरु भयावह थिए । तर स्थापित पद्धति,  संस्थागत मजबुती र लोकतन्त्रको बलियो जगको कारण समस्याको सम्यक निराकरण हुँदै गएको छ । मुलुकमा दर्ता भएको सामाजिक सन्जाल व्यवस्थापन गर्ने कम्पनीले पदासीन राष्ट्रपतिलाई  त्यस्तो सन्जाल उपयोग गर्न प्रतिबन्ध लगाउने हिम्मत गर्नु सानो कुरा होइन ।