बहुप्रतीक्षित माथिल्लो तामाकोशीको आजदेखि बिजुली उत्पादन (हेरौं तस्विरहरु)
शब्द /तस्विर: -शम्भु गौतम
दोलखा, असार २१: बहुप्रतीक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि व्यवसायिक उत्पादन सुरु गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौँबाट भर्चुअल विधिमार्फत स्विच थिचेर आयोजनाको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।
४५६ मेगावाट जडित क्षमताको आयोजनाले आज पहिलो एक युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नेछ । आज प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयबाट आफ्नो ल्यापटपबाट स्वि थिचेपछि गोँगरमा रहेको पावरहाउसमा टर्वाइन घुम्नेछ र पहिलो युनिटले विद्युत उत्पादन सुरु गर्नेछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए ।
राष्ट्रिय गौरवको यो आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर सबस्टेशन पुग्नेछ भने ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
आज पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन हुनेछ भने क्रमश अन्य युनिटहरुबाट पनि यही महिनाभित्रै विद्युत उत्पादन गरिँदै लगिने प्रवक्ता न्यौपानेले बताए । आयोजनामा ७६ मेगावाट क्षमताका ६ वटा युनिटहरु रहेका छन् । ती युनिटहरुमध्ये पहिलो ४ वटा युनिटहरुको परीक्षण सकिएको छ ।
स्वदेशी लगानी र श्रममा निर्माण सम्पन्न भएको यो आयोजनाको निर्माण कार्य २०६७ भदौबाट सुरु भएको थियो । २०७२ असार मसान्तमा सम्पन्न गर्ने गरी सुरु गरिएको यो आयोजना २०७२ विनासकारी भूकम्प, भारतीय नाकाबन्दी, तराई आन्दोलन, खाडीचौर–चरिकोट सडक स्तरोन्नति, विश्वव्यापी कोरोना महामारी आदि कारणले ढिलाइ हुन पुगेको हो । यसका अतिरिक्त भारतीय ठेकेदार टेक्सम्याको रेल्वे एण्ड एन्जिनियरिङको लापरबाहीबाट पनि आयोजना ढिला हुन पुगेको हो ।
सुरु लागत ३५ अर्ब २९ करोड रहेकोमा आयोजना निर्माणमा विभिन्न कारणले भएको ढिलाइले गर्दा ८३ अर्ब पुग्ने अनुमान आयोजनाको छ ।












