विगुल फाउण्डेशनबाट अक्षयकोष स्थापना र श्रष्टा सम्मान
दोलखा, माघ १५ : विगुल फाउण्डेसन दोलखाले स्वर्गीय होमकुमारी गुभाजुको स्मृतिमा छात्रवृत्ति अक्षयकोषको स्थापना गरेको छ । दोलखा जिल्लाको पुरानो गौरीशंकर बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेगरी अक्षयकोषको स्थापना गरिएको हो ।
सामाजिक अभियन्ता लक्ष्मण गुभाजु र उनकी पत्नी विपना श्रेष्ठ गुभाजुको पहिलो वैवाहिक वर्षगाँठको अवसरमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषको लागि गुभाजुले क्याम्पस प्रमुख शान्त केसीलाई चेक हस्तान्तरण गरेका छन् ।
फाउण्डेसनका संरक्षक लक्ष्मण गुभाजुकी बहिनी होमकुमारी गुभाजुको स्मृतिमा कोष स्थापना गरिएको हो । होमकुमारीको १० वर्षको उमेरमा मृत्यु भएको थियो ।
फाउण्डेसनले दोलखामा जन्मिएर कला, शिक्षा र पत्रकारिता क्षेत्रमा ख्याति प्राप्त गरेका चार जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा वरिष्ठ कलाकार एवं ज्येष्ठ नागरिक संघका केन्द्रीय अध्यक्ष मदनदास श्रेष्ठ, शिक्षाविद् प्राध्यापक डाक्टर सुधा त्रिपाठी, पत्रकार चिरञ्जीवी मास्के र गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटका क्याम्पस प्रमुख शान्त केसी रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश सांसद् विशाल खड्काले सम्मानपत्र प्रदान गरेका थिए ।