विदेशी फिल्मको त्रासै त्रास

विदेशी फिल्म भनेपछि नेपाली फिल्मको सात्तो जान्छ । यो रोग वर्षौ अघिदेखिको हो । विदेशी फिल्मको बढ्दो दबदबाका कारण नेपाली फिल्म आफ्नै देशमा डरले बाँच्नु परेको छ । बलिउड र हलिउड फिल्मको रिलिज क्यालेन्डर हेरेर मात्र नेपाली फिल्म प्रदर्शन गर्नुपर्ने अवस्था छ ।

प्रतिक्षीत विदेशी फिल्मसँग भिड्नु भनेको ‘बाघको मुखमा हात हाल्नु सरह’ भन्ने गरिन्छ । यसअघि थुप्रै फिल्मले सिकाएको पाठ हो यो ।  नेपाली फिल्मले घरेलु दर्शलाई आकर्षित गर्न नसक्नु नै विदेशी फिल्मको डरले बाँच्नु पर्ने अवस्था आएको कतिपयको जिकिर छ । अझै पनि नेपाली दर्शक नेपाली फिल्म भनेपछि नाक खुम्च्याउँछन् । तर, विदेशी फिल्मको घन्टौं लाइनमा बसेर टिकट लिने गर्दछन् । समय समयमा विभिन्न फिल्ममेकरले नेपाली फिल्म विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न योग्य भएको भन्दै भाषण गर्ने गरेका छन् । तर, भाषण गर्नेहरु नै विदेशी फिल्मसँग बक्सअफिसमा भिड्न डराउँछन् ।  

अघिल्ला वर्षझैँ यस वर्ष पनि विदेशी फिल्मको डर उस्तै छ । यस वर्षको सुरुवातमा नै हलिउड फिल्म ‘एभेञ्जर : इन्ड गेम’ को चेपुवामा पर्ने डरले प्रतिष्ठित ब्यानर मह सञ्चारको फिल्म ‘दाल भात तरकारी’ ले एक हप्ता पछाडि प्रदर्शन मिति सारेको थियो । बलिउड फिल्म ‘स्टूडेन्ट अफ दि इयर २’ सँग भिड्न डराएर फिल्म ‘जात्रै जात्रा’ पनि एक हप्ता पछाडि प्रदर्शनमा आयो । विदेशी फिल्मको डरले नेपाली फिल्म भाग्ने शिलशिला अझै जारी छ ।  

यसअघि साउन ३० मा साउथ फिल्मका सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ रिलिज हुने फाइनल भएको थियो । यो फिल्मको नेपालमा राम्रो क्रेज देखिएको छ । एक्सन फिल्म रुचाउने दर्शकमाझ यो फिल्मको व्यग्र प्रतिक्षा छ । यसकारण ‘साहो’ सँग भिड्दा पानी पनि भन्न नपाइने डरले निर्देशक विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ एक हप्ता पछाडि सर्‍यो । तर, यो फिल्म सरेको केही दिनमै ‘साहो’ भाद्र १३ मा पुग्यो ।  

 भिएफएक्स नसकिएको कारण देखाउँदै ‘साहो’ ले दुई हप्ता पछाडि प्रदर्शन मिति सारेपछि ‘हजार जुनीसम्म’ फेरि पुरानै मितिमा फर्कियो । ‘साहो’ सँग भिडन्त छल्न यो फिल्मले देखाएको रमिताले फिल्म क्षेत्रलाई नै लज्जित बनाएको कतिपयको टिप्पणी छ । हुन त, कोही जानी-जानी आफ्नो लगानी बालुवामा मिसाउन चाहँदैनन् ।

दुई/चार रुपैयाँ कमाउने लोभले नै निर्माताले फिल्म बनाउने हुन् । तर, कहिलेसम्म विदेशी फिल्मको डरले बाँच्ने र भाग्ने ? यो प्रश्न पेचिलो बन्दै गएको छ ।  हिन्दी भाषामा समेत निर्माण भएको फिल्म ‘साहो’ को डर अझै सकिएको छैन । भाद्र १३ मा यसअघि दुई नेपाली फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ र ‘मारुनी’ प्रदर्शनमा आउने पक्का भएको थियो । तर, ‘साहो’ सँग डराएर ‘कबड्डी’ को तेस्रो सिरिज तीन हप्ता पछाडि सर्‍यो । अब यो फिल्म असोज ३ मा प्रदर्शनमा आउँदैछ । ‘कबड्डी’ सर्दा ‘मारुनी’ लाई भने ठूलो राहत मिलेको छ । अहिलेसम्म यो फिल्मको निर्माण टिम ‘साहो’ सँग भिडन्त गर्नेमा निर्णयमा अडिग छ ।  

असोजमा पनि एक बलिउड फिल्मको डरले दुई बहुप्रतिक्षीत नेपाली फिल्मको प्रदर्शन अन्योलमा छ । असोज १५ मा ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ प्रदर्शनमा आउँदैछ । यो फिल्मले नेपालमा धमाकेदार व्यापार गर्ने अनुमान गरिएको छ । टीजरले पनि यसको छनक देखाउँछ । यो फिल्म नआएको भए असोज १० गते दीपकराज गिरी समुहको ‘छ माया छपक्कै’ र असोज १७ मा अशोक शर्माको ‘रातो टिका निधारमा’ आउने लगभग निश्चित थियो ।  ‘वार’ असोज १५ मा आउने तय भएपछि दुबै फिल्मले प्रदर्शन मिति घोषणा गर्न सकेका छैनन् ।

यो फिल्मसँग भिडन्त छल्न दीपकराज गिरीले असोज ३ मा आउने फाइनल भएको हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ सारेर तिहारमा पुर्‍याए । र, यो मितिमा आफ्नो फिल्म हाल्न खोजेका थिए । तर, ‘छ माया छपक्कै’ ले प्रदर्शन मिति घोषणा नगर्दै यो मितिमा ‘कबड्डी कबड्डी कबड्डी’ आएपछि दीपकलाई रुनु न हाँस्नु भएको छ ।  अभिनेता दीपकराज गिरी सधैं पब्लिक फोरममा भन्ने गर्छन्, ‘प्रविधिमा हामी विदेशी फिल्म बराबर पुगेका छैनौं ।

तर, नेपाली फिल्म स्तरिय बन्न थालेका छन् । विदेशी फिल्मसँग हामी प्रतिस्पर्धा गर्न सक्ने भएका छौं ।’ तर, मञ्चमा बोलेझैँ उनलाई आफ्नो बोली व्यबहारमा लागू गर्न भने सजिलो भएको छैन । सकभर उनी भिडन्त छल्ने दाउमै छन् । ‘वार’ रिलिजको पाँच दिन अगाडि ‘छ माया छपक्कै’ रिलिज हुन्छ वा डरले कुना पस्छ ? धेरैका लागि चासोको विषय बनेको छ । 

– फिल्मीखबर