सोनिया गान्धीकै हातमा भारतीय कांग्रेस

एजेन्जी – राहुल गान्धीले अध्यक्ष पदबाट राजिनामा दिएको अढाई महिनापछि पार्टी नेतृत्व चयनको लागि शनिबार कांग्रेसको वर्किङ कमिटीको बैठक बस्यो ।

तर १२ घण्टासम्म चलेको वैठकले स्थायी अध्यक्ष चुन्न सकेन । त्यसका लागि पाँच अलग अलग समिति पनि बनाएर छलफल चलाइएको थियो । तर पनि कुनै नेतामा आम सहमति बन्न सकेन । कंग्रेस अहिले गान्धी परिवारभन्दा बाहिरको नेतृत्व चयन गर्ने हिसाबले लागि रहेको छ ।
छलफलका क्रममा नेताले राजिनामा दिइसकेका राहुललाई नै पुनः अध्यक्षमा फर्कन आग्रह गरे । तर राहुलले आफू अब अध्यक्षमा फिर्ता नहुने स्पष्ट बताए ।

अध्यक्ष चयन निष्कर्षविहिन रहने अवस्थामा राती ११ बजे पार्टीले पत्रकार सम्मेलन गर्यो र ७२ वर्षे सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको घोषणा गर्यो ।

वैठकबाट बीचमा निस्किएका राहुलले बताएका थिए,‘कंग्रेसको नयाँ अध्यक्षमा छलफलबीच कश्मीरमा हिंसा भएको खबर आयो । त्यसैले नेतृत्व चयनको छलफललाई रोकेर बीचमा कश्मीरको अवस्थामा चर्चा भयो । कश्मीरबाट चिन्ताजनक खबर आइरहेका छन्, प्रधानमन्त्रीले त्यस’bout स्पष्ट पार्नुपर्छ ।’

वैठकमा सहभागी नेताका अनुसार त्यहाँ नयाँ नेतृत्वको लागि तीन वटा प्रस्ताव प्रस्तुत गरिएको थियो । पहिलो प्रस्तावमा राहुल गान्धीको कार्यकालको प्रसंसा गर्दै धन्यवाद दिइयो । दोस्रोमा राहुललाई नै अध्यक्षमा पुन फर्कन प्रस्ताव गरिएको थियो । तर राहुलले प्रस्ताव अस्वीकार गरे । राहुललाई अध्यक्षमा फर्कन आग्रह गर्ने नेताहरु धेरै थिए ।

तेस्रो प्रस्तावमा नयाँ अध्यक्ष नचुनिदाँसम्म सोनिया गान्धीले पार्टीको अन्तरिम अध्यक्ष रहने भन्ने थियो । त्यसलाई सोनियाले स्वीकार गरिन् । भारतीय कांग्रेसको नेतृत्व २० महिनापछि पुनः सोनिया गान्धीको हातमा आएको हो । सोनियाले पहिलो पटक सन् १९९८ मा कंग्रेस अफ्ठ्यारो समयबाट गुर्जिरहदाँ अध्यक्ष पद सम्हालेकी थिइन् । त्यसबेला उनी कंग्रेसको इतिहासमै सबैभन्दा लामो समय अर्थात १९ वर्ष अध्यक्ष पदमा रहिन् ।

त्यसपछि सन् २०१७ डिसेम्बरमा त्यो पद उनको छोरा राहुलका हातमा गयो । तर लगातार दोस्रो लोकसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेपछि राहुल गान्धीले अध्यक्ष पद छाडे । हाल नेतृत्वमा पुनः सोनियाकै हातमा आएको छ ।