४ दशकदेखि हात्तीको उही खान्की
कञ्चनपुर – १५ किलो धान, डेढ किलो गुड अनि २५ ग्राम नुन । यो हो हात्तीको साँझको रासन । दिउँसो चराउने र काटेको घाँस छुट्टै । तीसको दशकमा आरक्ष (हाल निकुञ्ज) स्थापनासँगै संरक्षित क्षेत्रभित्र गस्ती तथा अन्य कामका लागि हात्ती पाल्न थालिएको हो ।
यो रासन त्यही बेला निर्धारण गरिएको हो । सुरुमा चामल दिइन्थ्यो । त्यसले पाचनमा समस्या देखिएपछि धान दिन थालियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ७ पालुवा हात्ती छन् । एउटा यहीँ जन्मिएको । बाँकी सबै चितवन र बर्दियाबाट ल्याइएका । निकुञ्जको पिपरैयामा ३, मालुमेलामा २ र शुक्लाफाँटा घाँसे मैदानमा दुई हात्ती राखिएका छन् ।
तिनलाई घाँस, चरन र रासनसम्मका लागि कर्मचारी खटाइएका छन् । एउटा हात्तीका लागि तीन जनासम्मको दरबन्दी छ– फणित, पछुवा र माहुते । फणित कर्मचारीका मुख्य व्यक्ति हुन् । उनले माहुते र पछुवालाई खटाउने तथा परेका बेला चराउन लैजाने र रेखदेखको काम गर्छन् ।
पछुवाले दाना खुवाउने र चराउन लैजान्छन् । हात्तीको बासस्थान सफा गर्ने, घाँस काट्ने जिम्मेवारी माहुतेको भागमा पर्छ । हात्तीलाई बिहान घाँस खान दिइन्छ । त्यसपछि माहुते वा पछुवा एक जना हात्तीसँगै गएर घाँस काटेर ल्याउँछन् । ८ देखि १० बजेसम्म खाना खान र जंगल सफारीका लागि छुट्याइएको छ । त्यसपछि माहुते वा पछुवामध्ये एक जनाले चराउन लैजान्छन् । अन्य व्यक्तिले हात्तीको रासन घाँसमा बेरेर पोका बनाउँछन् । त्यसलाई ‘कुची’ भन्ने गरिन्छ । निर्धारित रासनबाट सय हाराहारी कुची बन्ने गरेको माहुते आनन्द सुनाहले बताए ।
‘हात्ती चराएर फर्केपछि कुची खुवाइन्छ,’ आनन्दले भने, ‘बिहान काटेको घाँस पनि साँझ खुवाइन्छ ।’ उनका अनुसार बिहान र साँझ १–१ घण्टा जंगल सफारीका लागि छुट्याइएको छ । पिपरियामा शारदाकली, रतनकली र नारायणप्रसाद नामका हात्ती छन् । नारायणप्रसाद यहीँ जन्मिएको भाले हात्ती हो । शारदाकली र रतनकली करिब ८० वर्षका छन् । शारदाकली दृष्टिविहीन छ । हात्ती सफारीका लागि तोकिएको ठाउँ पनि पिपरिया नै हो ।
यसैगरी मालुमेलामा सिद्धप्रसाद र लवप्रसाद तथा शुक्लाफाँटा पोस्टमा रूपकली र सुर्तीकली छन् । यी पनि वयस्क हात्ती हुन् । पिपरियाको नारायणप्रसाद रूपकलीको छावा हो । निकुञ्जमा १० हात्तीको दरबन्दी भए पनि अहिले ७ मात्रै छन् । संख्या कम हुँदा गस्ती र सफारीमा समस्या हुने गरेको छ । भएकामध्ये दुईवटा निकै बूढा भइसके ।
बेलाबेलामा बिरामी भइरहन्छन् । पाचनसँगै बेलाबेला अन्य स्वास्थ्य समस्या पनि देखिने गरेको रेञ्जर अनिल रसाइलीले बताए । उनका अनुसार हात्तीको उपचारका लागि चिकित्सकको दरबन्दी पनि खाली छ । ‘अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा कार्यक्रमबाट चिकित्सकका लागि सहयोग भइरहेको छ,’ उनले भने ।
हात्ती हाँक्न फणित, माहुते र पछुवाले भोजपुरी भाषा प्रयोग गर्छन् । माहुते आनन्दका अनुसार सुरुदेखि नै भोजपुरी भाषा सिकाइने भएकाले अहिले पनि त्यसकै प्रयोग भइरहेको छ ।
जंगलीबाट जोगाउनै गाह्रो
वर्षायाम सकिएपछि सँगै जोडिएको भारतको दुधुवा नेसनल पार्क र लग्गाबग्गा वन्यजन्तु आरक्षबाट ठूलो संख्यामा हात्तीको बथान शुक्लाफाँटा पस्ने गर्छ । नजिकैको बस्तीमा तिनले आतंक मच्चाउँछन् । त्यसरी आएका २/३ वटा मत्ता हात्ती अहिले पनि शुक्लाफाँटामै छन् । ढोई खोज्दै मत्ताहरू पोस्टसम्मै पुग्ने गरेको रसाइलीले बताए ।
‘विद्युतीय तारबारका कारण पोस्टभित्र पस्न सक्दैनन्, दिनहुँ वरिपरि आइरहन्छन्,’ उनले भने, ‘यहाँका हात्ती वृद्ध भएकाले नजिक आउन दिँदैनौं ।’ जंगली हात्तीलाई पस्न दिँदा पिपरिया पोस्टकै भाले हात्ती नारायणप्रसादलाई आक्रमण गर्न सक्ने जोखिम पनि रहन्छ । मालुमेलाका सिद्धप्रसाद र लवप्रसाद दुवै मत्ता हुन् । जंगली हात्तीबाट उनीहरूलाई अझै बढी संरक्षण गर्नॅपर्छ । शुक्लाफाँटा पोस्टका रूपकली र सुर्तीकली पनि छावा पाउने उमेर कटिसकेकाले जंगली हात्तीबाट टाढै राख्ने गरिएको रसाइलीले बताए ।
महिला माहुते
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा महिला माहुते पनि छिन् । भीमदत्त नगरपालिका १४ की विमला चौधरी दुई वर्षदेखि पुरुष माहुतेसरह हात्ती रेखदेख, चराउने र सफारीसम्मका काम गरिरहेकी छन् ।
सुरुमा केही गाह्रो भए पनि अब हात्ती राम्ररी हाँक्न सक्ने उनले बताइन् । ‘सुरुमा डर लाग्थ्यो, सिक्दै र गर्दै गएपछि अब सामान्य लाग्छ,’ उनले भनिन्, ‘अन्य माहुते, फणित र पछुवाले पनि सहयोग गर्छन् ।’
-कान्तिपुरबाट