जनता, सत्ता र नेता : हिजो र आज
भागवत खनाल
जनता, सत्ता र नेता : हिजो र आज
हो म जनता हुँ
म भीम मल्ल हुँ, नूनको सोझो गर्दा
देशद्रोहको आरोप लगायौ, कत्तल गर्यौ
म दामोदर पाण्डे हुँ, राष्ट्रीय स्वाभिमान देखाउंदा
लुमडीमा काट्यौ
म शुक्रराज धर्मभक्त हुँ, चेतना फैलाउँदा बकैनामा झुन्डायौ
म गंगालाल दशरथ हुँ, जनता जगाउँदा शोभाभगवतीमा गोली ठोक्यौ
म बीपी हुँ, अपार बहुमत ल्याई सरकार चलाउँदा सुन्दरीजल जेलमा कोच्यौ
म ऋषी देवकोटा आजाद हुँ, कम्युनिस्ट भई सचेत बन्दा घोर जंगलमा मार्यौ
म दुर्गानन्द हुँ, मेरो मधेशमा चेत फैलाउँदा प्राण हरण गर्यौ
म बखान बा हुँ जनतामाझ आवाज उठाउँदा सर्वश्व गर्यौ
म गणेशमान हुँ, समानता खोज्दा चरम यातना दियौ
हो तिमी सत्ता, म जनता
तिमी शासक, म शासित
तिमी वक्ता, म श्रोता
तिमी गुरु, म चेला
तिमी दाता, म याचक
तिमी सर्वज्ञ, म अल्पज्ञ
तिमी वुद्धिमान, म मूर्ख
हो तिमी सत्ता म जनता !
म तिमीलाई आज पनि तेस्तै देख्छु जस्तो भिम मल्ल गंगालालले देखे
तिमी जव जव सत्ता वन्छौ नि ! कस्सम तिमी उस्तै देखिन्छौ
फरक यत्ति छ, उनी आदेश दिन्थे तिमी भाषण दिन्छौ,
उनी खुलेआम थिए तिमी छुपेरुस्तम छौ
उनी हाकाहाकी खान्थे तिमी लुकी लुकी खान्छौ
उनी रैती भन्थे तिमी जनता भन्छौ
उनी छोराछोरी भन्दै लुछ्थे
तिमी मालिक मालिक भनी उल्लू बनाउछौ
उनी मेरा नानीहरुलाई दरवारमा हुल्थे तिमी अरव अफ्रिका पठाउँछौ
उनी बिसन्चो हुँदा यतैका वैद्द्य खोज्थे
तिमी फिरंगी यवन देशतिर जान्छौ
उनी सलामी खाएर मलाई कम्पनी फौजमा पठाउँथे
तिमी रेमिट्यान्स खाएर अरव मलेसिया पठाउँछौ
उनी मलाई डोला बोकाउँथे, तिमी मलाई झोला बोकाउँछौ
उनी जे थिए त्यही देखिन्थे
तिमी जे हैनौ त्यही देखिन्छौ
उनी हुकुम दिन्थे तिमी ” मीठो ” संदेश दिन्छौ
उनको राजसी चाल हुन्थ्यो, तिमी नक्कली ठस्सा देखाउँछौ
उनी सानसंग खरीको रुखबाट ” म राष्ट्रको नोकर हुँ ” भन्थे
तिमी खुल्ला मन्चबाट म परराष्ट्रको नोकर हुँ भन्छौ
उनी विकास दिन्नथे शान्ति दिन्थे
तिमी शान्ति दिन सकेनौ, विकास दिएनौ
उनी त्रास देखाउँथे, अभिमान देखाउँथे, सान देखाउथे
तिमी आस् देखाउँछौ, तिलष्म देखाउँछौ, सपना देखाउँछौ
उनी आफ्नो औकात सम्झदा सत्ता गुमाए
तिमी आफ्नो औकात बिर्सदा विश्वास गुमायौ
उनी र तिमी हिजो र आज रुपमा फरक भयौ
तिमी पनि उनीजस्तै सारमा उस्तै रह्यौ
तिमी पनि उनीजस्तै सारमा उस्तै रह्यौ।