जुठे

भागवत खनाल

सानो पार्कको एउटा बेन्चमा बसेर एकजना अत्यन्त दुव्ला र सुसुपाल बृद्ध चुरोट तान्दै छन् । पातलो शरीर, सुकेका हातखुट्टा, लामो चुच्चो नाक, पातलो जुँघा, सफाचट दारी, टाउकोमा भादगाउंले टोपी, कमिज, इस्टकोट र पाइजामा । चन्द्रमोहन नजिकै पुग्छन र वृद्धलाई नमस्कार गर्छन । बृद्धले चुरोट निभाउंछन र ठुटोलाई एउटा कागजमा बेरेर कोटको खल्तीमा राख्दै नमस्कार फिराउँछन् । चन्द्रमोहन बसौं है हजुर भन्दै बूढाको नजिकै बस्छन र भन्छन, माफ गर्नुहोला मलाई हजुर नेपालीजस्तो लाग्यो । बृद्ध नक्कली बत्तीसी देखाउंदै खिसिक्क हाँस्दै भन्छन, हजुर दरअसल म नेपाली नै हो, पर हजुरले कसरी पहिचान गर्नु भयो ? चन्द्रमोहनले  विनम्र हुँदै भन्छन हजुरको शिरको टोपीले ।

बिहानको समय, भर्खरै पानी परेको हुँदा शीतल छ । बृद्ध विस्तारै उठछन्, छेवैको धारामा मुख धुन्छन, कुल्ला गर्छन र गम्छाले मुख पुछ्दै भन्छन के गर्ने भाइसाव आदत से मजबुर छु । बिहानै एउटा सिगरेट नखाई दिल शान्त हुँदिन, घरमा पुग्ने बित्तिकै वुढीयाले मुख सुँघेर पत्ता पाइहाल्छ अनि फिर सिगरेट पियौ भन्दै गाली बक्न थाल्छ, सो हात मुख धोएर गन्ध मार्नु पर्छ हजुर । चल्नुस हाम्रो घरमा, एक कप चाय पिएर जानु होला । चन्द्रमोहन हस भन्दै बूढाको पछि लाग्छन । अलि पर पुगेपछि बूढाले कागजमा बेरेको चुरोटको ठुटो एउटा ढ्वांगमा फाल्छन । बूढा   एउटा तीनतले घर देखाउंदै भन्छन, ऊ त्यो मकान छ नि हजुर ! हाँ, कुनै वक्त त्यो घर हाम्रै थियो । पर समयको फेरमा अक्लले काम गरेन सवै गयो । ठेकामा घाटा लाग्यो, उधर जुवामे भी दाउ चलेन एकै सिजनमा सखाप भयो । लेकिन मेरो श्रीमती छ नि हजुर, मलाई एक गाली गरेन, बरु मलाई हेरी हेरी रोयो, पर कुछ बोलेन।

यी बृद्ध करिव साठी वर्ष अघि गोरखाबाट हिन्दुस्थान आएका हुन । अहिले यिनी असी वर्ष पुगेर एकासी लागे । यी हुन जुठे, जुठ बहादुर दमाई । करिव दश मिनेट हिडेपछि उनीहरु एउटा सानो झोपडपट्टीमा आइपुग्छन । बृद्ध एउटा घर अगाडि पुगेपछि आइए भन्दै चन्द्रमोहनलाई लिएर भित्र पस्छन । सानो तर सफा र सिनित्त पारेर सजाइएको बैठक कोठा छ, सानो टेलिभिजनमा कृपालु महाराजको प्रवचन आइरहेको छ, कृपालु भन्दैछन् देखो हर प्राणी आनन्द चाहता है । मनुष्य हजारों सालसे आनन्द के लिए भटक रहा है लेकिन किसी को आनन्द नही मिल सका ।

एक युवक सोचता है अगर मैने एक करोड कमाया तो मुझे आनन्द मिलेगा, और लग जाता है कमाने, पर जव वह एक करोडका मालिक बनता है तो उसको लगता है, नहीं आनन्द तो एक करोड मे नहीं, सायद दो करोड मे है । एक अविवाहित युवक सोचता है, अगर मुझे बहुत सुन्दर बीबी मिली तो मै बहुत आनन्दित और सुखी हो जाउंगा । उसे सुन्दर बीबी भी मिल जाती है, लेकिन यह क्या ? वह तो सुखी होने के बजाए और परेसान होने लगा । भाइयों और बहनो, यही है इस संसारका चक्कर । इस दुनिया मे कोइ सुखी और आनन्दित नहीं हुआ, ना टाटा बिडला सुखी हुए ना ही रकफेलर । भविष्य मे भी ऐसा ही दौर चलता रहेगा , लेकिन आनन्द किसी को नहीं मिलने वाला, ध्यान दो ।।।।।।

यस्तैमा भित्र भान्सा कोठाबाट आ गए बडे के बाबु ? भन्दै एकजना बृद्धा आउँछिन । सुडोल देह, चम्किला आँखा, सफा र मिलाएर लाएको साडी , माथमा बाक्लो सिन्दूर र प्रभावकारी नारी व्यक्तित्व । चन्द्रमोहन जुरुक्क उठ्छन र दुवै हात जोड्दै भन्छन नमस्ते चाचीजी ! बृद्धा उनलाई वात्सल्यपूर्ण नजरले हेर्छिन, अनि बूढातिर हेर्दै भन्छिन ये कौन हैं ? वास्तवमा बूढालाई पनि थाहा छैन यी को हुन ? न त चन्द्रमोहनलाई थाहा छ बूढा को हुन । बूढाले यत्ति जानेर उनलाई घरमा ल्याए कि यी नेपाली हुन, चन्द्रमोहन यत्ति जानेर पछि पछि लागेर आए कि यी प्रवासी नेपाली हुन । यिनीहरु नेपाल आमाका सन्तान हुन, त्यही मातृशक्तिको प्रेरणाले तानिए , बोलाए र आए । बूढाले भने ये भाइसाब नेपाल से आए हैं, उधर पार्क मे मिल गए थे, बन्दे नेक लगे और मैने बुलाया । वृद्धाले भनिन आप से मिलके बहुत अच्छा लगा । इन्हों ने मुझे नेपाल तो नहीं दिखाया , लेकिन जव भी मैं नेपालीयों से मिलती हुँ, मुझे बहुत अच्छा लगता है और सुकुन मिलता है कि मेरे पति बडे अच्छे मुल्क से ताल्लुक रखते हैं ।

जुठे जन्मनुभन्दा अघि नै उनका दुईजना दाइहरु जन्मे तर लगालग दुवैको मृत्यु भएको हुँदा यिनलाई जन्मने बित्तिकै जुठोमा मिल्क्याइएको थियो । जुठोमा फालेको शिशु अपवित्र हुने हुँदा देवताले नलैजाने विश्वासमा यस्तो गरिएको थियो ! हुन पनि यी बाँचे र स्वस्थ रुपमा हुर्के । त्यस जमानामा शिशुमाथि कसैको कुनजर नलागोस, कसैले पनि ओहो कति राम्रो नानी नभनोस भनेर कालो टिका लगाइदिने , नराम्रो कपडा लगाइदिने र नराम्रो र अनाकर्षक नाम राख्ने चलन थियो, र कतै कतै अझै पनि छ । यसरी जुठोमा फाली बिटुलो पारिएको हुँदा यिनको नाम नै जुठे रह्यो । जुठेपछि एउटा भाइ र दुई बहिनी जन्मे ।

जुठे स्वस्थ, हट्टाकट्टा, बाठो, निडर र चलाख थिए । उनका बाबुको पुर्ख्यौली पेशा लुगा सिलाउने र बाजा बजाउने थियो । सानोतिनो खेतीपाती पनि थियो, तर खान लाउन पुग्दैनथ्यो । आमा हिउँदभरि विस्टको घरमै गएर भुल्ला तुन्ने काम गर्थिन, तर सो गरे वापत कुनै ज्याला मजदुरी पाउन्नथिन् । नया लुगा सिलाएको ज्याला जे सिलाए पनि एक माना अन्न प्राप्त हुन्थ्यो । वर्षको एक पटक बालीको रुपमा विस्टको परिवार र हैसियतको आधारमा दुई चार पाथी अन्न, र दशैं तिहार जस्ता पर्वमा भाग पाउँथे । बाबु कसैको विवाह ब्रतवन्ध बाजागाजा सहित हुने भयो भने बाजा बजाउन जान्थे । दमाईले खुसी हुँदै गर्ने काम भनेको बाजा बजाउने नै थियो, ’cause यस्तो अवसरमा मीठोचोखो खान पाइन्थ्यो र रमाइलो भेटघाट पनि हुन्थ्यो । विवाहको जन्तेबाख्रोमा अलि अलि रक्सी र मासु समेत खान पाइने हुँदा यो अवसर विशेष आनन्दको पनि हुन्थ्यो ।

जुठे अलि फरक स्वभावका थिए । हिउँद याममा आमा विस्टको घरमा लुगा टाल्न जाँदा सानो हुँदा त उनी पछि लागेर पनि गए, तर अलिकता ठूलो भएर बुझ्न थालेपछि उनलाई आमाको पछि लागेर जान मन लाग्न छाड्यो । दिनभरि आमाको छेउ छाउ बाहेक कतै जान नपाइने, ए उता बस छोला छोला भन्दै सवैले हप्काउने, हेला गर्ने र भोक लागेको बेलामा खान पनि नपाइने भएपछि उनको मन मरेको थियो । उनी जव आमासंग छोइएपछि विस्टका केटाकेटीलाई पानीले छ्यापेको देख्थे, उनलाई कौतुहल हुन्थ्यो । एकदिन कुनै विस्टको छोरो जुठेको घरमा आएको थियो, बाबुले लुगा सिलाउन शरीरको नापो लिई केटो हिंडेपछि अवोध जुठेले सोधेका थिए : बा खै त पानी छ्यापेको ? उनीहरुको घरमा हामीले छुँदा उनीहरुलाई छ्यापेपछि हाम्रो घरमा उनीहरुले छोएपछि हामीलाई छ्याप्नु परेन ? बाबुले एकोहोरो छोरालाई हेरे तर केही भनेनन् ।

जुठे बाह्र तेह्र वर्षको भएपछि लुगा सिलाउन र बाजा बजाउन सिके, तर विस्टको घरमा जान रुची थिएन । उनलाई न चलन मन पर्थ्यो न त बोलीचाली । जुठेले ससाना केटाकेटीलाई पनि मान गर्नुपर्ने तर उनीहरुले अपमानजनक बोली बोले पनि हुने । उनको किशोर मनमा विद्रोह पनि जाग्थ्यो तर बाबुले अनुशासनमा बस्न, सधै शान्त रहन र सहन सिकाएका थिए । बाबु भन्ने गर्थे हेर बाबै हामी अछुत जात हौँ , गरिव छौं र दरिद्र छौं । हाम्रा पुर्खाले जे जे गरे त्यही गर्ने हो, निहुँ खोज्न थाल्यो भने अर्को दमाई राख्छन्, अनि के खाने ? को हुन्छ हाम्रो टिठ मान्ने ? आमा भन्ने गर्थिन पुर्खाले मानेको चलन मान्नु पर्छ, विस्टहरु त हाम्रा भगवान हुन । उनीहरुले दिए खान पाइन्छ, नदिए भोकै मर्नु पर्छ । यो जन्ममा दमाई भएर जन्मिस , के थाहा अर्को जन्ममा बाहुन पो हुन्छस कि, राजा पो हुन्छस कि ! अस्ति पोख्रेलनी बजै भन्दै हुनुहुन्थ्यो उस जुनीको पापले आज अछुत भएर जन्मनु पर्यो, अझै पनि विस्टलाई ठग्ने र ढाट्ने गर्यौ भने अर्को जुनीमा झन् सुँगुर भएर जन्मनु पर्ला, विस्टहरुको राम्ररी चाकरी गर्यौ भने अर्को जुनीमा आफै विस्टको कोखबाट जन्मन पाउँछौ कि, के थाहा ? मलाई त कस्तो डर लाग्यो ।

वृद्धाले चिया ल्याइन । तीनै जना चिया खान थाले । बूढालाई चिनीबिनाको चिया बनेको थियो । सुगरको रोगी हुँदा उनले सुगरफ्री बिस्कुट पनि पनि खाए । बृद्धा अलिअलि पढेलेखेकी र सभ्य छन । उनका बाबु जोखन आजाद वसन्तकुन्जका टाठा बाठा व्यक्ति थिए । उनी दलित परिवारका थिए, भीम राव अम्बेडकर र बाबु जगजीवन राम जस्ता महान दलित नेतासंग चिनजान थियो । जवाहरलाल नेहरु, लाल बहादुर शास्त्री, इन्दिरा गान्धी र किसान नेता चौधरी चरणसिंह सम्म उनको पहुँच थियो । उनलाई दलित मात्र हैन गैरदलित जनता पनि सम्मान गर्थे । बैठकको भित्तामा जोखनका चार पांच ओटा तस्वीर झुन्डिएका छन् । संगै जुठ बहादुरको विवाहको फोटो पनि छ, फोटोको तल ठूला अक्षरमा लेखिएको छ जुठ बहादुर और मधुबालाका शुभ विवाह ।

चन्द्रमोहनले चाख लिंदै  फोटाहरु हेरेको देखेर मधुवाला दङ्ग पर्छिन । आफ्नो पचास वर्ष अगाडिको फोटो हेरिदिंदा प्रफुल्ल नहुने बृद्धबृद्धा को होला ? चन्द्रमोहन भन्छन चाची आप तो बहुत सुन्दर दिखती हैं इस फोटो मे , सुन्दर तो जुठ बहादुर चाचा भी हैं, लेकिन आपके आगे फिका लगते हैं । आप तो अभी भी बहुत सुन्दर हैं चाची । मधुवालाले आफ्नो सुन्दर अनुहारलाई अझै सुन्दर र चम्किलो पार्दै भन्छिन हाँ ! सायद मैं सुन्दर थी , इसिलिए तो मेरा नाम मधुवाला रक्खा होगा । अव तो पिचहत्तर साल की हो गई, सुन्दर होना क्या ना होना क्या । सेहत अच्छा है, खाती हुँ, घुम्ती फिर्ती हुँ, मन को शान्त रखती हुँ बस, भगवान का कृपा है ।

चिन्ता है तो इनका है, ये थोडा कमजोर हो गए हैं ,इनका तेज और चमक  सुगर खा गया । जवानी मे तो दिल्ली के हिरो थे ये । इन्हो ने मेरा दिल ऐसा चुराया था  क्या बताउँ, घरमे कोहराम मच गया । ये उस वक्त ड्राइवर थे, बडे चालाक और दिलफेक ! ये बस चलाते थे, उसी बस से मेरा कालेज आना जाना होता था । ये बडे बडे हिरों जैसे लगते थे, पहनावा भी हिरो जैसा होता था । एक बात इनका खास है भैया इन्हो ने येह जो काला टोपी है ना ? क्या गाउँले बोलते हैं, हाँ भातगाउँले ! कभी नही छोडा । घरमे हङ्गामा हो गया, येह कहाँ घर न घाटका गोर्खाली बहादुर के चक्कर मे पड गई कहकर छुडाने का खुव कोसिस हुआ, पर मैने नही माना । बाबुजी से साफ कह दिया सादी करुंगी तो जुठ बहादुर के साथ् बरना कीसी से नहीं । मैने कह दिया अगर आप समाज सुधारक और न्याय के पक्षधर हैं तो मेरे प्यार को क्यों नकारते हैं ? बाबुजी चुपचाप सुनते रहे और मैं सुनाती रही । हमारी सादी हो गई ।

जुठ बहादुर र मधुवालाका दुई छोरा र दुई छोरी छन् । सवैको बिहे भइसक्यो, सवै सरकारी नोकरीमा छन् । जेठा छोरा कानपुरमा फ्ल्याट लिएर बसेका छन्, कान्छा इलाहावादमा बस्छन । छोराबुहारी सज्जन छन् । संगै बस्न बोलाउंछन् तर मधुवाला जवसम्म हातखुट्टा चल्छन आफ्नो जन्म ठाउँ वसन्तकुन्जमै रहने अठोट गरेर बसेकी छन् ।

जुठ बहादुरलाई साठी बैसट्ठी वर्ष अघिको कुरा झलझली सम्झना छ । साउनको महिना, पानी परिरहेको थियो, गोरखाको त्यो पहाडी गाउँमा ठाउँ ठाउँमा पहिरो गयो । अविरल वर्षा भइरहेको थियो, कोही कसैलाई सहयोग गर्ने अवस्थामा थिएन, न त कुनै सुरक्षित स्थान नै उपलव्ध थियो । रातको समय त्यो बिकट गाउँमा पर पर गुहार गुहार भनेको धमिलो आवाज सुनिन्थ्यो, तर कसले कसलाई गुहार दिने ? जताततै दैवी परेको त्यस घडीमा आसन्न बिपदको प्रतिक्षा गर्नु बाहेक केही उपाय थिएन, न यातायातको कुनै सुविधा, न सरकारसम्म सूचना पुर्याउने कुनै उपाय न त सरकारसंग आपतकालीन सहायता दिन सक्ने संयन्त्र, न त जिम्मेवार सरकार । उनीहरुको घरमाथिबाट पनि पहिरो आयो । त्यो घोर अन्धकार रातमा आमा, बहिनी र भाइहरु बगे, जुठे र बाबु दैव संयोगले बाँचे ।

श्रीमती र साना साना नानीहरु बगे, सारा भएको अन्नपात बग्यो, लुगाफाटा बाख्रा, कुखुरा सबै पापी दैवले हरेर लग्यो । जुठेका बाबु पागल जस्ता भए, अव कता कोसँग सहयोग माग्ने ? सवै घरमा संकट परेको छ, समस्त दलित गाउँ भोकै र नांगै शोकमग्न छ । दुक्खको यस घडीमा विस्टहरू दुष्ट भएका छन्, न कोही फर्केर आयो, न कुनै सहयोग आयो, न त कुनै सहानुभूति र समबेदना नै प्राप्त भयो । प्रकृतिको प्रकोपलाई सहनु नै थियो, सवैले सहे ।

विस्तारै विस्तारै जीवन घस्री घस्री अघि बढ्नु नै थियो, बढ्यो । जुठेका बाबुले कताबाट एउटी अधवैसे अपरिचित महिला लिएर आए । जुठेलाई तेरी कान्छी आमा हो भन्दै खुट्टामा ढोग्न लगाए । जुठेले ती महिलालाई निको चालाकी देखेनन्, तर के गर्नु एक्लो बाबुले भित्र्याएको, केही बोल्नु पनि भएन । जुठेका बाबुको त झन् दसा  लाग्यो, ती महिला त बिग्रेकी पो निस्किन । बूढालाई रक्सी ल्याऊ भन्ने, रक्सी खाने, हल्ला गर्ने,  फोहोरो गालीगलोज र जथाभावी  दिसा पिसाव गर्ने । बिचरा बा त तिनै महिलाको धराले पो बन्न पुगे । हैरान भएपछि अचानक बा पनि कता अलप भए जुठेलाई थाहै भएन । यही आपद विपदको वीच एक दिन एकजना हिन्दुस्थानमा काम गर्ने मगरको पछि लागेर दिल्ली पुगेका जुठे आजसम्म नेपाल फर्केर गएका छैनन् ।

सुरु सुरुमा साह्रै दुख भयो जुठेलाई । गोरखाको पहाडी गाउँमा जन्मे हुर्केका, चीसो पानी खाएका, स्वच्छ हावाले सास फेरेका, लामखुट्टे कुन जन्तुको नाम हो भन्ने थाहा नभएका बिचरा जुठे ! बरु भोकै बसौंला जे पर्ला आफ्नै गाउँ फर्कन्छु भनेर कस्सिए । तर गम खाएर रातभरि सोच्दा उनको मनले जा भन्न सकेन, दिल्लीमै बस्ने निर्णय गर्न बाध्य भए । गाउँमा गएर के गर्ने ? घर बग्यो, परिवार बगे, बृद्ध बाबु अलप भए, कहाँ बस्ने के खाने ? कसले माया गर्ला टुहुरो अछुत जातको जुठेलाई ? उनले अथक संघर्ष गरे, अविचलित र धैर्यवान रहँदै सुरुमा भाँडा माझे, होटेलमा खाना पकाए, घर घरमा रंग रोगन गरे, बगैंचामा काम गरे, ड्राइभरी गरे र अन्तमा सानो तिनो ठेकेदारीसम्म गरे । समयक्रममा रासनकार्ड समेत प्राप्त भयो, भोटर लिस्टमा नाम लेखियो ।

चन्द्रमोहनले आजको खाना पनि जुठ बहादुरको घरमै खाए । दुई तीन घन्टाको भेट यति गाढा भयो कि दुवैमा युगौं युगको सम्बन्ध जस्तो महसुस हुन पुग्यो । खानापछि मधुवाला छिमेकीको घरमा हुने सामाजिक कार्यक्रममा सहभागी हुन गइन । जुठ बहादुर फेरी आफ्नो विगतमा पुगे । उनले नेपालबाट भारत आएपछि गर्नु परेको संघर्ष, निरन्तर मेहनत, हेपाइ र सहनु परेको गालीगलोज ’bout भन्दै गए । यस्तो संघर्षको घडीमा आफूले धैर्य नगुमाएको र रातदिन परिश्रम गरेको हुँदा आम्दानी पनि बढ्दै गयो, साथीहरुको संगत र सहयोगमा सामान्य लेखपढ र हिसाव राख्न सिके । ड्राइभर भएपछि त उनी सुकिलो र सुन्दर हुँदै गए । नया नया लुगा, अत्तर, टल्किने जुत्ता, सफासंग दारी फालेर चट्ट जुँघा पाल्ने जुठे दिल्लीकै सुन्दरतम युवक बन्न पुगे । उनी खुव राम्रोसंग मिलाएर काटेको कपालमाथि प्रायः कालो भादगाउंले टोपी लाउंथे । यदाकदा टोपी झिकेर ड्राइभिंग सिट अगाडि राख्दा उनको सुन्दर र नरम कपाल यसरी उड्थ्यो केटीहरु त्यो देखेर भुतुक्क हुन्थे ।

चन्द्रमोहन यी कर्मवीरको कुरा सुनेर चकित छन् । अवसर मिल्यो भने नेपालीले के गर्न सक्तैन ? संसारको कुन कुनामा छैन नेपाली ? कुन ठाउँ छ जहाँ नेपालीले आफ्नो  मेहनत, इमान र सान नदेखाएको होस् ? तर बिडम्बना ! नेपालीको उन्नति एउटा देशमा हुन गाह्रो छ, त्यो हो नेपाल । चन्द्रमोहन सोध्छन तपाइंलाई आफ्नो देशको सम्झना आएन यतिका वर्षसम्म ? जुठ बहादुर सोफाबाट जुरुक्क उठ्छन, भित्र कोठामा जान्छन र एउटा सिलाएको नैनसुतको जीर्ण टोपी, एउटा भोटो र सुर्काउने थैली ल्याएर देखाउंछन् । उनी भन्छन यिनै हुन हाम्रो बा आमा, बहिनी र नेपाल आमाको चिनो । यो टोपी र भोटो बाले सीलाको अनि यो थैली तिहारमा टिका लगाएर बहिनीले दिएको , देख्नुस मखमली फूल पनि छ थैलीभित्र , मैले आजसम्म जोगाएर बहुत जतन से राखेको छु । जव मलाई मेरो बाबुआमाको सम्झना हुन्छ यही हेरेर दिललाई थोडा सुकुन मिल्छ , दिमाग मे शान्ति मिल्छ । बूढा हुँक्क हुँक्क गर्दै रुन्छन । बृद्ध आँखाबाट बगेका आँशुका ती ठूला ठूला थोपालाई चन्द्रमोहनले साक्षात् नेपाल आमाका अश्रुधारा जस्तो देखे ।

जुठे भन्दैछन् थोडा पैसा कमाएपछि एक बार नेपाल जाउँ कि जस्तो पनि लागेको थियो, तर मौका मिलेन । गएर पनि बा, आमा, भाइ र बहिनीलाई देख्न पाइने हैन, बाढी पहिरोले सखाप पारेको दलित वस्तीबाट उसै वक्त धेरै छिमेकी बाहर गइसकेका थिए । अरु जातका तो कौन थिए र मलाई स्वागत, माया र इज्जत गर्ने ? मलाई मानिसको हैन पर डाँडापाखा, वन, हिमाल, नदी, ठण्ड हवा और हाम्रो गाउँबाट रातमा देखिने चन्द्रमाको माया थियो, नेपाल आमाको माया थियो जसको काखमा आफ्नो बचपन बित्यो वही मिट्टीको प्यार थियो ।

जुठ बहादुरलाई आफ्नो जन्म ठाउँ छिमेक र देशै छोडेर मुगलान पस्दाको पीडा अझै पनि छ । आफ्नो जन्म ठाउँमै काम, माम र सम्मान पाएको भए मुगलान पसेर त्यत्रो भुक्तमान व्यहोर्न पर्दैनथ्यो । उनी सानै उमेरमा देश छाडेर हिंडे, आफ्नो जन्मभूमि छाडेर हिड्नुपर्दाको पीडा कसलाई हुँदैन ? तर भोक, सास्ती, समाजमा हुने विभेद, जातपातको आधारमा हुने प्रताडना र अमानवीय व्यवहारको सम्झना गर्दा उनलाई आफूले छोडेको समाजप्रति भने कुनै पछुतो वा थकथकी छैन । उनी भन्दैछन् देख्नुस भाइसाब : यो जो जातपातको प्रथा छ नि ! यो नेपाली समाजको माथमा पोतिएको कालिख हो । अव तो कुछ ठीक हुँदै छ, तर हामी बचपनमा हुँदा त यो बहुतै कडा थियो । हामीलाई उस वक्त नै चित बुझेको थिएन तर आफ्नो काबुमा कुछ गर्न सक्ने ताकत थिएन ।

आज पनि जति हुनुपर्ने त्यति हुन सकेको छैन । बडो दिक्कत लाग्छ मानिसहरुको समझ देख्दा । हामी मूर्ति बनाउने, हामी बाजा बजाउने, हामी लुगा सिलाउने, हामी वर्तन बनाउने, हामी गीत गाउने, हामी नाच्ने, हामी नै कलाकौशल देखाउने, पर हामी नै मन्दिरभित्र पस्न नपाउने ! सुन्छु संसद सदस्य भएको दलितले काठमाडौँ मे डेरा पाउँदैन । छि छि जमाना कहाँ पुग्यो हाम्रो नेपालको समाज कहाँ रुकेर बसेको छ ? लिखेर लिनुस यस्तै पाराले नेपालमा कहिल्यै विकास हुँदैन, समझ्नु भयो भाइसाब लिखेर राख्नुस । हामी त भगवानमा भरोसा राख्ने मान्छे, हेर्नुस यो भेदभाव गर्नेहरुलाई बहुत ठूलो पाप लाग्छ बहुत ठूलो ! भगवानको नियममा कहाँ छ जातपात ?

हामी सानो हुँदा जव बाख्रा चराउन जान्थें त बाहुन लडका पनि संगै हुन्थ्यो । हामी आमाले भुटेको भटमास खान्थें  त बाहुन लडका पनि माग्थ्यो, हामी  भन्थें धत् बाजे हुँदैन हामीले छोएको खायो भने त तिमी बेहोस भएर मरिहाल्छ । बाहुन खोसेर खान्थ्यो, पर बेहोस भएन । अनि हामीले बुझ्यो यो सव झुठा हो । बाहुन लडका भन्थ्यो साथी मेरो घरमा नभन है, मलाई मार्छन । हामीले उनको घरमा मात्र हैन , हाम्रो आफ्नो घरमा पनि बताउन मनासिव लागेन  । एक दिन मेरो कान्छा बाजेको बेटी, रिस्तामे फुपु गाई चराउन वनमा गएकी थिइन हामी पनि पछि लागेर गएको, वनमा सबै जातको गोठाला हुन्थे ।

मेरो फुपू बहुत सुन्दर थियो, बिउटिफुल ! म के देख्छु कि थापा काजी त मेरो फुपुको गाला चाट्दै छ, उनको बाल सुमसुम्याउँदै छ,  हातमा चुम्दै छ । बाप्रे मेरो त सातो गयो, मेरो फुपू भन्दै थियो, काजी कसैले देख्यो भने त तपाईं आजै दमाई हुने भयो । त काजी भन्यो कसैले देख्दैन कान्छी यो वनमा । अरु बेला पो जातपात, मायाजालमा केको जातपात ! काजीले मलाई बोलाएर कसैलाई नभन है भन्दै गडी छोहरा खान दियो । काजीको घरमा श्रीमती, छोराछोरी सवै थिए, मैले कसैलाई पनि भनिन । अरुले थाहा नपाएपछि जात पनि नजाने रहेछ त !

हाम्रो दमाई टोलको किनारमा सार्की टोल थियो । सार्कीहरू झन् सुन्दर जात, एकजना बाहुनी लड़की एउटा सार्कीसंग सल्केछ, पेट बोक्यो । बाहुनहरुले मिटिंग राखेर त्यो बाहुनीलाई कसो कसोगरी एउटा गरिव र लठेब्रो बाहुनसंग पठाइदियो । गाउँमा हल्ला चल्यो यो लठेब्रो सोझो बाहुन भनेर के गर्नु कन्ने केटीलाई भुँडी बोकाइदिएछ भनेर । भित्री कुरा सवैलाई थाहा थियो, तर तै चुप मैं चुप भयो । बाहुनीको जात गएन । कुरा मिलाएपछि सवै चोखो, नमिले जात जाने । सव ड्रामा, फजुलको सान र इज्जत, सव नङ्गा पर पहनावाको नाटक !

वसन्तकुन्जमा धेरै नेपाली बस्छन । कसै कसैले राम्रो प्रगति गरेका छन् भने कसैको बेहाल छ । कामाएको पैसा सवै जुवा, रक्सी र मुजरामा सक्ने त कति कति । मौकामा सर सहयोग गर्ने चलन पनि छ । यता स्वदेशमा जस्तो जातपात, भाषा, धर्म, परम्परा र संस्कृतिको आधारमा भेदभाव गर्दैनन् प्रवासी नेपाली । आपसी एकता छ । तर कोही कोही बदमास पनि छन्, नेपालीले नै नेपालीलाई ठगेर बिचल्ली पार्नेहरु पनि छन् ।  काम गर्ने स्थानमा रोजगारदाताले हेप्ने नैं भए, तर सवैलाई थाहा छ, नेपालीलाई धेरै जिस्क्याउन र हेप्न हुन्न, संगठित भएर प्रतिरोध गर्छन भन्ने । कोही कोही नेपाली त नामुद गुण्डा पनि छन्, कति जेलमा पनि छन् र कतिको त पुलिसमा समेत पहुँच र साँठगाँठ छ । एकजना गुल्मीतिरको युवक त ठूलै गुण्डा छ हिमाली चिता ! जसलाई वसन्तकुन्जका लोकल गुण्डाले पनि आफ्नो आका मान्छन । हिमाली चिता भनेपछि लोकल गुण्डाहरुको सातो जान्छ  ।

चन्द्रमोहनको स्वदेश फर्कने बेला भयो । जुठ बहादुरले सानो भेला बोलाउछन, बिदाइको लागि । दश पन्ध्रजना नेपाली जम्मा हुन्छन । उही पार्कमा सानो कार्यक्रमको आयोजना हुन्छ । जुठ बहादुरले प्रमुख वक्ताको रुपमा मन्तव्य दिन्छन । जव उनी बोल्न थाल्छन, सवैजना शान्तसँग उनको भाषण सुन्छन । जुठ बहादुर भन्छन : प्यारा भाइ बहनहरु, आज तपाईं सवै प्रवासी नेपालीको आगे दुई चार बात बोल्न पाउँदा हामीलाई बहुत सुकुन मिलेको छ । हामी अपने देशको बदहाली, गरिवी र बेरोजगारीके बजह से यहाँ हिन्दुस्थाना मे बस्नु मजबुर भएको ! आफ्नो वतन कसको लागि प्यारो छैन ? पर मजबुरी छ ।

आजको दिन मे पनि बहुत नेपाली लडका लड़की कामको खातिर   मुल्क बाहिर जाँदो रहेछ । नेपालीको एउटा बात हामीलाई चित बुझ्दैन, त्यो के भने नेपाली लोग आफ्नो वतनमा  मेहनत और दुख गर्न पसन्द गर्दैन । अव जव भाई बहन नेपाल जान्छौ तो यो कुरा साफ बताउनु कि आफ्नै मुल्कको तरक्की गर्नुतिर लाग्नु पर्छ । विदेशमा आफ्नो आबरु रहदैन, हेपाइ बर्दास्त गर्नु पर्छ, र आफ्नो पसिना दुसरा देशको तरक्कीमा बहाउनु पर्छ । परदेश मे जति पैसा कमाए पनि मन मे सुख हुँदैन, कता कता दिल मे हमेसा दर्द भइरहन्छ ।

उनी चन्द्रमोहनतिर हेर्दै भन्छन : भाइसाब इतना जान लो हाम्रो आफ्नो मुल्कमा काम , माम , इज्जत आमद, समाज मे सवको बरावर सम्मान, बिन भेदभाव सब जनतालाई आफ्नो देशमै रहने और काम गर्ने मौका मिल्नु जरुरी छ । मुल्कको तरक्की गर्न आफ्नै माटोमा मेहनत गर्नु पर्छ । पर उसको खातिर राजनीतिक पार्टी और सरकारले हालात बेहतर बनाउनु पर्छ, धेरै काम गर्नु पर्छ  । अव नेपाल मे काम देखाउने वक्त छ , बात तो बहुत धेरै भइसक्यो । बातले भात पाक्दैन, उसको लागि तो सवलाई लिएर आगे बढ्नु पर्छ  । तो अच्छा दोस्तों, आजको लागि यत्ति नै । मोहन भाइसाव के लिए जोरदार ताली बजाइहाल्नुस, र भाइसाव और उहाँको परिवारको बढिया सेहत और खुसहालीको लागि भगवानसंग दुआ माग्नुस । जय एकता, जय समता, जय नेपाल आमा !!!