आस्थाको अयोध्या

यात्रा वर्णन

 

 

भागवत खनाल

 

परिचय:

 

अकारो ब्रह्म रुपस्य यकारो विष्णुरुपते

धकारो रुद्र रुपस्य अयोध्या नाम राजते

जुन बखत नील नदीको किनारमा पिरामिडको अस्तित्व थिएन, युरोपीय सभ्यताका केन्द्रबिन्दु युनान र रोम बिल्कुल असभ्य थिए, त्यस बखतमै भारतीय सभ्यता आफ्नो चरम उत्कर्षमा थियो । भारत र नेपालका विभिन्न स्थानहरुमा शिक्षा, संस्कृति र साहित्यको विकास भइसकेको थियो । अपार बैभव र ऐश्वर्यले परिपूर्ण त्यस बखतको सभ्यताको उच्च शिखरमा थियो अयोध्या । सभ्यताको पहिलो पहिलो किरण सर्वप्रथम यतैबाट युनान र त्यसपछि सारा युरोपभरि प्रसारण भएको थियो । यो प्राचीन सूर्यबंशी राजाहरुको राजधानी थियो । अयोध्या समस्त हिन्दूमात्रको लागि उच्चतम आस्थाको केन्द्र रही आएको छ । यही पुरीमा मर्यादा पुरुषोत्तम रामको जन्म भएको थियो ।

 

हालको राजनीतिक विभाजन अनुसार अयोध्या भारतको उत्तर प्रदेशमा पर्दछ । करिव पौने छ लाख जनसंख्या रहेको यो पुरी केही दिन अगाडिसम्म फैजावाद जिल्ला अन्तर्गत पर्दथ्यो । उत्तर प्रदेश सरकारले हालै फैजावाद जिल्लाको नाम ”अयोध्याजी” कायम गरेको छ । यो नगर सरयु नदीको किनारमा अवस्थित छ । नेपालका महाकाली, कर्णाली र वबई नै भारतमा प्रवेश गरेपछि आपसमा मिली ”सरयु” बन्दछन् । सरयु हिन्दूहरुको लागि पवित्रतम नदी हो । अयोध्याका आठ नाम छन्; हिरण्य, चिन्मया, जया, अयोध्या, नन्दिनी, सत्या, राजिता र अपराजिता । यो नगर साकेत, कोशल या अवध कहलिने ठूलो भूभाग ओगट्ने राज्यको राजधानी थियो । यो पवित्र प्राचीन सप्तपुरीमध्य पर्दछ । अयोध्या, अवन्ती या उज्जैन, काँची, द्वारिका, काशी, माया या हरिद्वार र मथुरालाई प्राचीन सप्तपुरी मानिन्छ ।

 

नेपाल – भारतको सिमानामा पर्ने सुनौलीबाट लगभग दुई शय किलोमिटर टाढा पश्चिमतर्फ थोरै दक्षिण कुनामा पर्दछ अयोध्या । नेपालगंज तर्फबाट जाँदा बाँके जिल्लामा पर्ने सीमावर्ति जमुनाहापारी भारतको रुपइडिहाबाट करिव एकशय साठी किलोमिटर पर दक्षिण पूर्व दिशामा पर्दछ । सुनौलीबाट सिधा बस पाइन्छ, छ सात जनाको समूह छ र खर्च गर्न सक्ने क्षमता भएमा पाँचदेखि छ हजार भारतीय रुपैयामा कार पनि भाडामा लिन सकिन्छ । नेपालगंज तर्फबाट सिधा बस सेवा छैन, बहराइच भन्ने ठाउँमा अर्को बस चढ्नु पर्दछ ।

अयोध्याको प्राचीनता

 

राम रामेती रामेती रमे रामे मनोरमे

सहस्र नाम तत्तुल्यम रामनामे वरानने

भगवानका सातौँ अवतार मर्यादा पुरुषोत्तम रामको जन्म अयोध्यामा भएको थियो । सत्यवादी राजा दशरथका ज्येष्ठ सुपुत्रको रुपमा भगवान राम रानी कौशल्याको गर्भबाट जन्मनु भएको हो । श्रीरामको चरित्रको सम्बन्धमा महर्षि बाल्मिकिले आफ्नो अमर कीर्ति ”रामायण” मा विस्तारपूर्वक वर्णन गर्नुभएको छ ।  हाम्रा आदिकवि भानुभक्तले पनि नेपाली भाषामा रामायण लेखेर समस्त नेपालीलाई ठूलो गुन लाउनु भएको छ । जुन बखत असभ्य र बर्वर युरोपियनहरु वन वन घुमेर जीवन निर्वाह गर्दथे सोभन्दा धेरै पहिले अयोध्या सभ्यताको शिखरमा थियो । अयोध्याले मानव जातिलाई मर्यादा, अनुशासन, सदाचार र सत्यनिष्ठाको पाठ सिकाएको छ । अयोध्याले परापूर्व कालदेखि नै चिन्तित र शोकग्रस्त मानवलाई शान्ति र मानसिक स्थिरता प्रदान गर्दै आएको छ । सहनशीलता र शालीनता नै अयोध्याका जग हुन । अहिले पनि शोकले जर्जर, दुखी र मानसिक विसादमा परेका व्यक्तिहरु अयोध्या जान्छन र जीवनको अर्थ थाहा पाउने प्रयास गर्दछन ।

 

 

भनिन्छ, श्रीरामको परमधाम गमनसंगै अयोध्या उजाड भएको थियो । पछि राजा बिक्रमादित्यले पुनः अयोध्यालाई हराभरा बनाए । वनभित्र आफ्नो अस्तित्व छिपाएर बसेका सम्पूर्ण भग्नावशेषहरुको जिर्णोद्धार गरे । उनैले अयोध्या महात्म्य भन्ने पुस्तकको रचना गर्न लगाए, र बिक्रम सम्बतको सुरुवात गरे । त्यसपछिका केही शताव्दिमा अयोध्याको महत्व झन् बढ्दै गयो र यसको नव निर्माण हुँदै रह्यो । तर लगभग आठौँ शताव्दिदेखि विदेशी आक्रमणकारीहरुको शिकार हुँदै गयो अयोध्या । शाह फिरोज, मुहम्मद तुगलक, सिकन्दर लोदी, बावर र औरंगजेव आदिले पटक पटक कठोर आक्रमण गर्दा पनि अयोध्याले आफ्नो गरिमालाई जोगाई राख्नु अत्यन्तै आश्चर्यको कुरा हो । भौतिक संरचना तहसनहस होलान, तर  जनताका आस्थाका किल्लाहरू जति शक्तिशाली बादशाहले पनि भत्काउन सक्दा रहेनछन  । अटल आस्था अजेय हुन्छ भन्ने उदाहरणको रुपमा आफ्नो शिर ठाडो पारेर झन् जीवन्त रुपमा खडा भइरह्यो अयोध्या ।

 

 सहृदयी जनता, अहंकारी सरकार :

रामो राजमणि सदा विजयते रामम रमेशम भजे

रामेणभिहता निसाचर चमु रामाय तस्मै नमः 

  हिन्दू सनातन धर्ममा आस्था राख्ने समस्तजनको श्रद्धाको संगम हो अयोध्या । सनातनका अनुयायी नेपाली जनताको लागि पनि अयोध्या अगाध श्रद्धाको केन्द्रभूमि हो । अयोध्या भारतमा पर्दछ, तर यो समस्त हिन्दूको गन्तव्य हो । भारतमा अयोध्या मात्र हैन बद्री, केदार, रामेश्वर र जगन्नाथ जस्ता चार धाम, काशी विश्वनाथ लगायत द्वादश ज्योतिर्लिंग, हरिद्वार र द्वारका जस्ता तीर्थ पनि छन्, जहाँ हजारौं वर्षदेखि नेपालीहरुले यात्रा गर्दै आफ्नो आध्यात्मिक सन्तुष्टि प्राप्त गर्दै आए ।

 

शैयों वर्षसम्म भारत विदेशीको गुलाम रह्यो । भारतमा निकै बहादुर भनी इतिहासमा नाम कहलिएका कुनै पनि  ”वीर” ले आफ्नो सार्वभौमसत्ता जोगाउन सकेनन, विधर्मी विदेशीहरुलाई आफ्नो सत्ता सुम्पे । तर नेपाल सानो भए तापनि एसियाको सानको रुपमा सगरमाथालाई सिरानीमा राखेर सानदार रुपमा स्वतन्त्र रह्यो । बडामहाराजको शव्दमा असली हिन्दुस्तान हो नेपाल । अयोध्यामा बसोवास गर्ने प्रत्येक साधु सन्त र सर्वसाधारण जनता नेपाल र नेपालीप्रति अगाध श्रद्धा राख्दछन । उनीहरु भन्दछन नेपाल र भारत भाइ भाइ हुन, तर बडे भाइ र छोटे भाइ नभई बराबरीको दर्जाका भाइ हुन । नेपाल जगज्जननी सीताको जन्मथलो भएकाले पनि जसले रामलाई मान्दछन तिनले नेपाललाई सम्मान गर्दछन ।

 

 

धेरैलाई भारतले नेपालमाथि गर्ने गरेको थिचोमिचो र नाकाबंदी’bout जानकारी छैन, तर जसलाई यो कुरा थाहा छ, उनीहरु भारत सरकारको रवैयाप्रति तीव्र आक्रोश व्यक्त गर्दछन् । भारतीयहरु आधुनिक युगमा पनि मानसरोवर जस्ता धार्मिक स्थान आफ्नो कव्जा बाहिर पुगेकोमा चिन्तित छन् र ठूलो पछुतो मान्दछन । छिमेकी देशले आफ्नो भूभागमाथि बलात कव्जा गरेको भन्दै आलोचना गर्दछन । तर भारत सरकार भने अर्को शान्तिप्रिय छिमेकी नेपालप्रति ब्रिटिश राजले गरेकोभन्दा पनि कठोर हस्तक्षेप गरिरहन्छ । भारत सरकार आफ्नो शक्तिको अहंकारमा नेपालजस्तो शान्तिपूर्ण छिमेकी देशको आन्तरिक मामिलामा दखल दिइरहन्छ, आफूलाई ठूल्दाइ र नेपाललाई सानभाइको दर्जामा राख्न उद्द्यत भइरहन्छ, जुन कुरा स्वाभिमानी नेपालीलाई किमार्थ स्वीकार्य छैन । आस्थाको अयोध्या सम्झेर भारत भ्रमण गर्दा अहंकारी भारत सरकारको सम्झना आउँदो रहेछ र भारतको दया हैन, सद्भाव र बराबरीको हैसियत चाहिएको हो भन्ने कुरा मनमा आउँदो रहेछ ।

 

भग्न संरचना भग्न हृदय :

 

मङ्गलम कौशलेन्द्राय महनीय गुणाव्दय

चक्रवर्ति तनुजाय महाधीराय मङ्गलम

अयोध्या घाइते छ । मुगल बादशाह बाबरको पालामा सन् १५२७ तिर अयोध्यास्थित रामजन्मभूमी मन्दिर तोडफोड़ गरी मस्जिद निर्माण गरियो । बावरको बिजयपताका फहराइरहेको त्यस समयमा मन्दिर तोडी मस्जिद बनाउन कसैले रोक्न सक्ने कुरा भएन । स्थानीय श्रद्धालुले भरसक कोशिश त गरे, तर व्यर्थ ! बावरको युद्ध नायक मीर बाँकीले मस्जिद बनाएरै छाड्यो, रामजन्मभूमिमा मस्जिद ठडियो । अयोध्याको नाभीमा स्थित रामजन्मभूमिमा मस्जिद खडा हुँदा समस्त हिन्दू प्रजामा अत्यन्त निराशा फैलियो, आफ्नै अगाडि आफ्नो अटल आस्थाको केन्द्रमा अर्कै धर्मसंग सम्बन्धित धरोहरको स्थापना पीडादायी थियो ।

 

 

 

 

यो भौतिक संरचना त तयार भयो, तर जनताको आस्थाको धरोहर ढलेन, हिन्दू जनता विसम परिस्थितिमा झन् झन् रामभक्त हुँदै गए । रामजन्मभूमि बावरी मस्जिद विवाद अनवरत रुपमा चली रह्यो । अंग्रेजको शासनकाल देखि नै विभिन्न मुद्दा पर्दै रहे, तर टुंगो लागेन । हिन्दूहरु कुनै पनि हालतमा बावरी मस्जिदको ठाउँमा राम मन्दिरको पुनर्स्थापनाको लागि अभियान चलाउँदै गए, अदालतले मुद्दाको किनारा लाउन सकेन । यस्तैमा आजभन्दा छब्बीस वर्ष अघि सन् उन्नाइस शय बयानब्बे डिसेम्बर छ तारिखका दिन हिन्दू युवाहरुको ठूलो जमातले बावरी मस्जिद तोडिदियो ।

 

 

यो घटनापश्चात भारतको विभिन्न स्थानमा ठूला ठूला हृदय विदारक साम्प्रदायिक दंगा भए र हिन्दू र मुस्लिम दुवै सम्प्रदायतर्फ धेरै जनधनको खति भयो । अहिले विवादित स्थान भग्न अवशेषको रुपमा रहेको छ । राम जन्मभूमिको दर्शन गर्न चाहने लाखौँ लाख भक्तजनहरु अत्यन्त कडा सुरक्षावीच त्यही भग्न अवशेषको दर्शन गरेर चित्त बुझाउन वाध्य छन् । लगाएको लुगा बाहेक कुनै सामान लिएर जान पाइन्न, चार ठाउँमा कडा चेकिंग हुन्छ, त्यो इलाका कमान्डो दस्ताको सुरक्षा घेराभित्र रहेको छ । तथापि आस्था र श्रद्धा कति बलशाली हुँदोरहेछ भन्ने कुरा त्यो लाइनमा उभिने श्रद्धालुले महसुस गर्दछन । विवादित विषयलाई कसरी किनारा लाइने हो र यसको परिणति के हुने हो, भविष्यको गर्भमै छ ।

 

 

दर्शनीय स्थान, मठ मन्दिर र सुविधाहरु :

 

जो आस्था र श्रद्धा बोकेर अयोध्या जान्छ, उसको लागि समस्त अयोध्या दर्शनीय र प्रशंसनीय हुन्छ । तथापि यहाँका मुख्य स्थानहरुमा रामजन्मभूमि, हनुमानगढ़ी, नागेश्वरनाथ, सरयु नदी र तट, छाउनी बाल्मिकी भवन, कनक भवन, छोटी देवाकाली आदि पर्दछन ।यहाँ असंख्य मन्दिर र अखाडा छन्, जहाँ सामान्यतया आवास् र प्रसादको व्यवस्था हुन्छ । धेरै मठ मन्दिर र भवनहरु स्याहार सम्भारको अभावमा जिर्ण भएका छन् । अयोध्यामा धेरै मठ मन्दिरमा दिनको एक छाक खाना निशुल्क दिने चलन छ । खाना बाड्ने बेलामा जो कोही पनि लाइनमा बसेमा बिना भेदवाद खान पाइन्छ । खाना पातबाट बनेको थ्याप्चो पत्तलमा बाडिन्छ ।

 

अयोध्यामा केही सुपथ मूल्यका धर्मशाला पनि छन्, तर ठूला होटेल छैनन् । फूलपाती बेच्नेहरुले अलि धेरै मूल्य असुल्ने सम्भावना हुन्छ, माग्नेहरू प्रसस्त छन् र परेसान पनि गर्दछन । केही मात्रामा चोर उचक्काहरुबाट डर हुन सक्छ, यस बाहेक अयोध्या सुरक्षित र सस्तो छ । सामान्य र पथ्य तीर्थाहार गर्न पचास रुपियाले एकछाकलाई पुग्छ । स्थानीय यातायात सस्तो छ, सामान्यतया छलकपट गर्दैनन् ।

उत्पाती बाँदर :

 

अयोध्या नगरभरि जताततै बाँदर उत्पात देख्न पाइन्छ । सवै घरहरुमा बाँदर पस्न नसक्नेगरी जाली राखिएको हुन्छ । धोएका कपडा जालीभित्रै सुकाउनु पर्दछ । फलफूलका बगैंचा, बालीनाली सवै  लथालिङ्ग पारिदिन्छन यिनीहरु । यात्रुहरुलाई झोला, फलफूल र सरसामान जोगाउन हम्मे पर्छ, बानरले चश्मा समेत खोसेर भाग्दछ । जति गरे पनि बानरको कारण नगरलाई सफा सुग्घर राख्न गाह्रो छ । खोसेका खानेकुरा,  प्रसाद, लत्ता कपडा, फलफूल जथाभावी फाल्ने र मलमुत्र त्याग गर्ने हुँदा सर्वत्र फोहोर छ । तर भावनात्मक कारणले गर्दा बाँदरलाई लौरो देखाएर लघार्ने बाहेक कुनै कारवाही गरिंदैन । बाँदरबाट आफ्नो सुरक्षा आफै गर्नु पर्दछ ।

गुरुकूल शिक्षा :

 

अयोध्याले प्राचीन गुरुकूल शिक्षा प्रणालीलाई केही हदसम्म जोगाएर राखेको छ । थुप्रै मठ, मन्दिर र अखाडामा निशुल्क बस्न, खान र अध्ययन गर्न पाइन्छ । प्राप्त शिक्षालाई औपचारिक उपाधिमा परिणत गर्न स्वीकृति प्राप्त विद्द्यालायमा नाम लेखाउने र परीक्षा दिने प्रचलन छ । गुरुकूलको अनुशासन कठोर हुन्छ । गुरु सेवा, गौसेवा, सरसफाइ, पूजाआजा र पकाउने काम विद्द्यार्थीले नै गर्नु पर्दछ । तर यसरी खारिएका युवाहरु नै पछि ठूला ठूला विद्वान हुन्छन । अहिले पनि वैदिक सनातन धर्म र संस्कृत भाषालाई यिनै कर्मठ हस्तीहरुले बचाएर राखेका छन् । अयोध्याले आर्थिक हैसियत कमजोर भएका, तर शिक्षा आर्जन गर्न चाहने नेपाली विद्द्यार्थीहरुलाई समेत आश्रय र विद्यादान गरिरहेको छ । अयोध्यामा प्रदान गरिने शिक्षाको मूल उद्देश्य ”शिक्षार्थ आइए, सेवार्थ जाइए” भन्ने रहेको छ ।

 

हम समदर्शी हैं, किन्तु समवर्ति नहीं, यही हमारा समाजवाद है :

 

मैले अयोध्यामा सुनेका कुरामध्य सवैभन्दा मन पराएको वाक्य हो यो । अचेल लोकतन्त्र, समाजवाद, जनतन्त्र, साम्यवाद जस्ता राजनीतिक शव्दावलीको खुव प्रयोग हुन्छ । राजनीतिक नेताहरु जनतालाई गुमराह पार्न अनेकौं लफ्फाजी प्रयोग गर्दछन । समाजवाद र साम्यवादका गीत गाउँदै असंख्य जनताको बलिदान गर्ने नेताहरु जव सत्तामा पुग्दछन, सारा औकात बिर्सेर अदना जनताको पसिनामा पौडी खेल्न किन्चित मान्दैनन । तर अयोध्याले यस्ता विद्वान र त्यागी सन्त तयार गर्दछ, जो जति धनी भयो त्यति त्यागी, जति विद्वान भयो त्यति नम्र र जति शक्तिशाली भयो त्यति नै शालीन बन्दछन । उनीहरु परमात्मामा विश्वास गर्दछन र सवै जीवलाई अविनाशी ब्रह्मका सन्तान मान्दछन । उनीहरु सवैलाई समान देख्छन र सवैको आफ्नै इज्जत, प्रतिष्ठा र स्थान हुन्छ भन्ने कुरामा विश्वास गर्दछन ।

 

 

उनीहरुको उद्देश्य नै सेवा हो । तर उनीहरु भन्छन, हामी समवर्ति या सवैलाई समान व्यवहार गर्ने भन्ने कुरामा विश्वास गर्दैनौं । उनीहरु भन्छन समान व्यवहार सम्भव नै छैन । उनीहरु भन्छन तपाईं कसरी एउटा बालक र जवानवीच समान व्यवहार गर्नुहुन्छ ? एउटा विद्वानले पाउने सम्मान अरु सर्वसाधारणले पाउनेभन्दा भिन्न हुन्छ । कसरी पुरुष र नारीवीच समान व्यवहार गर्नुहुन्छ ? पुरुषको सम्मान भए पुग्छ भने नारीलाई सम्मान र सुरक्षा दुवै आवश्यक पर्दछ । एउटा कमजोर र रोगीलाई अलग्गै सेवा आवश्यक पर्दछ भने बलिष्ठलाई भिन्न । जति समान भने पनि प्रधानमन्त्री र सिपाहीलाई समान व्यवहार गर्न सम्भव छैन । एउटा हात्तीलाई कमिला समान मानेर खाना दियो भने ऊ बाच्दैन । त्यसैले निरपेक्ष समानता असम्भव छ । नेताहरुले जनताको अगाडि सवैलाई समान सम्मान र दर्जा दिन्छौं भन्नु जति झुठ कुरा केही हुन सक्दैन । सापेक्ष समानता, सम्मान र सुविधापूर्ति नै वास्तविक समाजवाद हो ।

 

बेसहाराको सहारा अयोध्या :

 

चरितम रघुनाथस्य शतकोटी प्रविस्तरम

एकैकमक्षर पुसाम् महापातकनाशनम  

मानव जीवन वस्तुतः दुखी नै छ । आजको भौतिक उन्नतिले मानिसलाई सुविधा त दियो, तर सुख, सन्तुष्टि र खुसी दिन सकेन । धनी गरिव शिक्षित अशिक्षित समग्र  मानव समुदाय तनावमा छ । मानिस प्राप्तिको लागि दौडधुप गरिरहेछ, तर अन्ततोगत्वा प्राप्ति नै दुखको स्रोतमा परिणत हुन पुग्दछ । आफ्नो लागि सहाराको जोहो गर्दागर्दै आफै बेसहारा बन्दछ मानव । अयोध्या यस्तो ठाउँ हो जहाँ पुगेर दुखी मानवरुपी जीवले शान्ति र सन्तुष्टि पाउँछ । अयोध्या आचरणको व्यवस्थापक, सम्पन्नतामा संरक्षक र विपन्नतामा शान्तिदायक हो, भय, शोक र चिन्तामा रहेकालाई सान्त्वना र अभय प्रदायक हो ।

 

 

 

अयोध्या यस्तो धाम हो जहाँ अहंकारको नास हुन्छ, मानिसले जीवनको सार फेला पार्दछ र शान्ति प्राप्त गर्दछ । किनकि यो यस्तो संगम हो जहाँ दीन दुखी, परित्यक्त, प्रताडित, व्यथित, रोगी र अपहेलितले सहारा पाएको अनुभव गर्दछन  । यहाँ आएपछि जीवनमा जानी नजानी पाप गरेको मनुष्यले पनि मनमनै प्रायश्चित्त गर्दछ । यही त्यो धाम हो जहाँ जीवनको महत्व थाहा हुन्छ, यसको क्षेणभंगुरताको ज्ञान हुन्छ र सेवा भावनाको उदय हुने सम्भावना हुन्छ । कहीं सहारा नपाएका हजारौं मानिस अयोध्यामा सहारा पाएर बसेका छन्, अध्यात्मको सहारा जति ठूलो आधार केही नहुने रहेछ । सम्पन्नताको शिखरमा पुगे तापनि मनको शान्ति नपाई मानसिक पीडा र विसादमा रहेकाहरुको लागी पनि अन्तिम सहारा र घाउमा शीतल मलम हो अयोध्या !

 

    सन्त वचन :

 

चन्चलम् ही मन: कृष्ण प्रमाथी वलद्दृढम्

                                   तस्याहम् निग्रहम मन्ये वायोरिव सुदुस्करम – गीता / छ / चौंतीस

 

अयोध्या आश्चर्यजनक ठाउँ हो । अयोध्यामा जति पनि मठ, मन्दिर र अखाडा छन्, ती सवै सन्त महात्माका देन हुन । कुनै संरचनामा पनि सरकारको योगदान छैन । मठ, मन्दिर र अखाडाका सन्त, महन्त र पूजारीलाई हजारौं लाखौँ भक्तजनले चढाएको दश, बीस, शय पचासको रकमबाटै करोडौं जम्मा हुन्छ र त्यसैबाट, खाना, आवास, धर्मशाला पूजापाठ चल्दछन । निशुल्क अस्पताल समेत चलेका छन् । बिशेष गरेर आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेका आबाल ब्रह्मचारीबाट संचालित मठ मन्दिरहरु व्यवस्थित रुपमा चलेका छन् । सन्तहरु भन्दछन ;-

 

  • हामी सवै धर्मको रक्षा होस् भन्ने चाहन्छौँ । भगवानले हामीलाई स्वधर्ममा चल्नु भन्नु भएको छ । हामी स्वधर्ममा चल्छौं, अन्य कुनै धर्मका बिरोधी हैनौं ।
  • श्रीरामका मन्दिर त हजारौं छन्, तर उहाँको जन्मभूमि एकमात्र छ । श्रीराम करोडौंका प्राण हुनुहुन्छ, उहाँको जन्मस्थानमा उहाँकै मन्दिर बनाउने माग गर्नुलाई अन्यथा मान्नु सरासर गलत हो । अरु धर्मलाई हस्तक्षेप गर्दैनौं, हस्तक्षेप सहन्नौं ।
  • सनातन वैदिक धर्मको रक्षा गर्नु हाम्रो कर्तव्य हो ।
  • दुर्भाग्यको कुरा छ आजकल सत्य बोल्नेलाई साम्प्रदायिक र असत्य बोल्नेलाई धर्मनिरपेक्ष भनिन्छ । जुन देश झुठ र धोखाधडीको आधारमा खडा हुन खोज्दछ, त्यो छिटै नस्ट हुन्छ । अन्तमा सत्यकै जित हुन्छ ।
  • संस्कृत समस्त भाषाको जननी हो । यो ब्राह्मणको मात्र नभई समग्र मानवको भाषा हो । यसको संरक्षण र सम्बर्धन गर्नुमै सवैको कल्याण निहित छ ।
  • जसरी पर्दाले छेक्दा नजिकैको वस्तु पनि देख्न सकिंदैन, पर्दा हट्ने बित्तिकै सवै कुरा छर्लंग देखिन्छ, त्यसैगरी जीवात्मा र परत्मात्माको वीचमा मायाको पर्दा रहेको हुनाले जीवात्मा र परमात्माका वीच साक्षात्कार हुन नसकेको हो ।
  • मानव जीवनको सुखलाई भष्म गर्ने सवैभन्दा ठूलो स्रोत नै क्रोध हो । क्रोधाग्नीले हाम्रो ऊर्जालाई जलाएर खरानी पार्दछ । क्रोधरुपी विषबाट बाच्ने सरल उपाय मौन हो ।
  • अर्काको दोष खोज्नमा र निन्दा गर्नमा हामीले जति समय खर्च गर्दछौं, त्यति समय आफ्नो दोष र कमजोरी खोजी आफ्नो चरित्र सुधार्नमा लगाउने हो भने झगडाको अस्तित्व रहदैन । सन्त कविरले भन्नु भएको छ, ”बुरा जो देखन मै चला बुरा न मिलिया कोय, जो दिल देखुँ आपनो मुझसा बुरा न कोय” । अर्थात खराव मानिस खोज्दै जाँदा कोही खराव फेला परेन, जव आफैलाई खोजें बल्ल थाहा भयो, मभन्दा खराव कोही रहेनछ ।
  • भगवान गर्वाहारी हुनुहुन्छ । धन, बैभव, नाम, शक्ति र पदको गर्व या घमण्डलाई भगवानले एकदिन अवश्य नास गर्नुहुन्छ । आफ्नो कर्म गर्दै जाऔं, यस्ता नश्वर कुरामा अहंकार नराखौं ।