नाइजेरिया हिंसा: बोको हराम आक्रमणमा अन्तिम संस्कारमा सहभागी ६५ जनाको मृत्यु

बिबिसी -नाइजेरियामा सन्दिग्ध बोको हराम लडाकु समूहको आक्रमणमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ।

त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार बोर्नो प्रान्तमा एउटा अन्तिम संस्कारमा सहभागीहरूमाथि ‍गोली चलाइएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार मोटरसाइकल र गाडीमा आएका बन्दुकधारीहरूले शनिवार बोर्नो प्रान्तको माइदुगुरीनजिकै रहेको गाउँमा गएर उक्त आक्रमण गरेका हुन्।

त्यहाँ कैयौँ मलामीहरूको गोली लागेर मृत्यु भयो भने आक्रमणकारीलाई लखेट्दा अरूले पनि ज्यान गुमाए।

उक्त क्षेत्रमा इस्लामवादी लडाकुहरूले केही समययता हिंसात्मक घटना बढाएका छन्।

स्थानीय सरकारी अधिकारी मोहम्मद बुलामका बुझाइमा उक्त आक्रमण दुई साताअघि स्थानीय बासिन्दाहरूद्वारा ११ जना बोको हरामका लडाकु मारिएको घटनाको बदला लिन गरिएको हुन सक्छ।

समाचार संस्था एएफपीका पत्रकारहरूले घटनास्थलमा जलिरहेका घरहरू र मारिएका मानिसको शव आफन्तहरूले सङ्कलन गरिरहेको देखेका छन्।

नाइजेरियाका राष्ट्रपति मुहमदु बुहारीले आक्रमणको भर्त्सना गरेका छन्।

समाचारसंस्था रोएटर्सका अनुसार उनले सेना र वायुसेनालाई आक्रमणकारीहरूको खोजी गर्न आदेश दिएका छन्।

एक दशक लामो द्वन्द्वका कारण दशौँ हजार मानिस मारिएका छन् भने २० लाखभन्दा बढी विस्थापित भएका छन्।

सरकार विस्थापित गरेर आफ्नै राज्य बनाउने उद्देश्य लिएको बोको हराम नाइजेरियामा मात्र सक्रिय छैन।

छिमेकी चाड, निजर र क्यामरुनमा पनि सक्रिय छ।

बोको हरामको शाब्दिक अर्थ “पश्चिमी शिक्षामा प्रतिबन्ध” हुन्छ।

उक्त समूह पश्चिमी शिक्षामा प्रतिबन्ध लगाउने र पश्चिमी शिक्षा र सभ्यतासँग नजोडिएको छुट्टै खाले इस्लामिक अभ्याससहितको राज्य बनाउन चाहन्छ।

बोको हराम विद्यालयमा अध्ययनरत बालबालिकाको अपहरणका लागि कुख्यात छ।

बोर्नो प्रान्तकै चिबोक सहरबाट सन् २०१४ मा झन्डै तीन छात्राहरूको अपहरण गरेपछि बोको हरामको संसारभरिका सञ्चारमाध्यमा चर्चा भएको थियो।

उक्त क्षेत्रमा सो सशस्त्र समूह धेरै सक्रिय रहेको छ।

इन्टिट्युट फर इकोनोमिक्स एन्ड पीसले सन् २०१५ मा उक्त समूहलाई विश्वकै घातक आतङ्ककारी समूहका रूपमा राखेको थियो।

पछिल्ला वर्षहरूमा उक्त समूहको कब्जामा रहेको भूभाग कम भएको छ।

बोको हराम आफैँ विभिन्न प्रतिस्पर्धी गुटहरूमा विभाजित छ।