आहा ! सोदु पोखरी

ताप्लेजुङ, बजार र बाक्लो बस्तीबाट धेरै टाढा हिमालको काखमा काठले बनेका लहरै घरहरु रहेको एक्लो बस्ती । काठकै छाना हालिएका घरहरु रहेको बस्तीमा प्रायः धूप, सुनपाती, भैरुङपातीको सुगन्ध आइरहेको हुन्छ ।

प्रत्येक घरमा रहेका ध्वजा (थाच्यो) मन्द बतासमा फिरफिर गरिरहेका हुन्छन् । नजीकै कञ्चन पानीसहित छङ छङ गर्दै छाँगा झरिरहेको छ । हिमाली चराचुरुङ्गीको चिरबिर उत्तिकै । यो परिवेश अन्त कतैको नभई ताप्लेजुङको हिमाली बस्ती तोक्पेगोलाको हो । पुग्ने जो कोहिले भन्छन् – ‘आहा तोक्पेगोला ।’ एकपटक पुगे पछि उतै रहुँ रहुँ लाग्ने तोक्पेगोला बस्तीबाट १० मिनेट उकालो चढ्दा फुत्त तराईको फाँट पुगे झैँ लाग्छ ।

त्यहाँबाट केही पाइला अघि सरेपछि वरिपरि अग्ला पहाडका टाकुरा भेटिन्छ । कतै भञ्ज्याङ जस्तै देखिने त कतै हिमालको चुचुरो जस्तै देखिने । यिनै पहाडका टाकुराबीच तराईको फाँट झै लाग्ने भूमिमा ऐना झैँ टल्किने सोदु पोखरीले सबैलाई आफ्नो मुहार देखाइरहेको हुन्छ । पोखरीकै आसपासबाट चीनको तिब्बत र संखुवासभा जाने बाटोभरि लस्करै याक र चौँरी हिँडिरहेको देख्दा जो कोहीको मन फुरुङ्ग भएर आउँछ ।

यिनै सुन्दरताले होला सदरमुकाम फुङलिङबाट दुई दिनको यात्रामा पुगिने सो क्षेत्रमा पुग्दा थाकेको शरीर एकाएक चङ्गा जस्तै भइदिन्छ् । हिउँदमा हिउँले सेताम्मे हुने उक्त पोखरी बर्खा लागे सँगै ढकमक्क भएर फुल्ने लेकाली प्रजातिका फुलहरुले सजिएको हुन्छ । जेठ असारदेखि असोज कात्तिकसम्म पोखरीको दर्शन गर्न निकै सहज हुने गरेको छ । त्यस बाहेकका समयमा भने निकै चिसो हुने भएकाले पुग्न र दर्शन गर्न कठिन हुने गरेको छ ।

करीब चार हजार दुई सय मिटरको उचाइमा रहेको सोदु पोखरी हिउँदका पुस, माघ र फागुन महीनाभर हिउँले पूरै ढाकेको हुन्छ । बर्खाको समयमा पोखरीमा चखेवाको जोडीसमेत देख्न पाइन्छ । अर्ध वृत्त आकारमा रहेको पोखरी झण्डै ३०० मिटरको लम्बाइमा फैलिएको स्थानीयवासीको अनुमान छ । पोखरीको दक्षिण दिशाको निकासमा उच्च बाँध बाँध्न सके पोखरीको क्षेत्र बढ्ने समेत उनीहरु बताउँछन् ।

सोदु पोखरी नजीकै भूतपोखरी, छ्यजुङ पोखरी, छोइला पोखरी, रुपा पोखरी, सानोखोला पोखरी, लामपोखरी, तीन पाखरी, पाँच पोखरी, साउने पोखरी, युमिक्मा पोखरी, जलाम पोखरीलगायतका दर्जनौं पोखरी छन् । सोदु पोखरी पुग्दा ती स–साना पोखरीको समेत दर्शन गरेर फर्किन सकिन्छ । भूत पोखरीको छुट्टै विशेषता रहेकाले सोदुमा पुग्दा भूत पोखरीको पनि दर्शन नगरी फर्कने कमै हुन्छन् ।

गोलो आकारमा रहेको भूत पोखरीमा पानीको निकास कतै देखिँदैन । वरिपरि बोट बिरुवाका पातले घेरिएर बीच भागमा मात्रै पानी रहेकाले अन्य पोखरीको तुलनामा यो पोखरी निकै फरक छ । पहिले पहिले उक्त पोखरी नजीकै पुगेका पशु वा प्राणी पोखरीतिरै तानिएर हराउने गरेकाले उक्त पोखरीको नाम भूत पोखरी रहन गएको किंवदन्ति रहेको छ । सोदु पोखरी सुन्दर त छ नै यसको धार्मिक महत्व पनि उत्तिकै छ ।

बुद्ध धर्मावलम्बीहरुको पात्रो अनुसार हरेक वर्षको ६ महिना पूरा हुँदा आउने औँसीको चौथो दिन अर्थात् चर्तुदशीका दिन यहाँ ढुक्पाछेसी पर्व मनाउने गरिन्छ । उक्त पर्वको पहिलो दिन सोदु पोखरीमा (छ्योदे ग्याबु) भन्ने देवताको पूजाआजा गरिनाका साथै (लाप्सो) पूजा समेत हुने गर्छ । छ्योदे ग्याबुको पूजा गर्नाले रोग तथा महामारी नहुने, दैवी तथा प्राकृतिक प्रकोप नआउने जनविश्वास रहिआएको छ । यस्तै, दोस्रो दिन छ्योतेङ्गो अर्थात् गुम्बामा पूजाआजा गरी त्रिपिटक (धोमाङ) लाई शीरमा राखी बस्तीको परिक्रमा गर्ने गरिन्छ ।

यसो गर्नाले गाउँघरमा शुभ हुने विश्वास छ । तेस्रो दिन भने कोदो र गहुँको मात्रै पिठोबाट बाजे र बोजुको नाम दिएर बनाइएको मूर्तिलाई बस्तीको उत्तर दक्षिण दिशामा लगेर छुट्टा–छुट्टै राखिन्छ । नागपञ्चमीकै समयमा यो पर्व मनाइने भएकाले नागको समेत पूजाआजा गरिन्छ । तोक्पेगोला बस्ती कहिलेदेखि रह्यो भन्ने यकिन नभए पनि यहाँका बासिन्दाले परापूर्वकालदेखि नै वर्षेनी यस्तो पूजाआजा गर्दैआएका छन् ।

यस समयमा ताप्लेजुङसहित संखुवासभा, तेह्रथुम, पाँचथर, काठमाडौँ, सिक्किम, दार्जिलिङ लगायतबाट सयौँ भक्तजनहरु पुग्ने गरेका छन् । यस पर्वमा बौद्ध धर्म मान्ने मात्रै नभई अन्य धर्मावलम्बीहरुसमेत पुग्ने गरेका छन् । ढुक्पाछेसी पर्व साउन, भदौमा पर्ने भएकाले सोही समयमा धेरै पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । अन्य समयमा समेत प्राकृतिक सुन्दरताको अवलोकनका लागि पर्यटकहरु जाने गर्छन् । बाटैमा फुङफुङे झरना रहेका कारण पनि उक्त क्षेत्रमा जान मानिसहरु लालायित हुने गरेका छन् ।

यो वर्ष पनि साउन महीनाको १९–२३ गतेसम्म पूजाआजासहित खेलकूद तथा साँस्कृतिक कार्यक्रम गरी ढुक्पाछेसी पर्व मनाउने तयारी भएको ढुक्पाछेसी पर्व तथा तोक्पेगोला जात्रा आयोजक समितिका संयोजक ग्यान्जे शेर्पाले जानकारी दिनुभयो । यसपटकको पर्वमा मौसमले साथ दिएको खण्डमा सरकारका उच्च पदस्थ व्यक्तिहरुलाई समेत हेलिकप्टरबाट तोक्पेगोला ल्याउने आयोजकको तयारी छ ।

तोक्पेगोलामा तोङ्बा, याकको सुकुटी, हिमाली साग (लोङ्मा), केन्जो (छ्योमा) साथै जिम्बु, चिम्फिङ, खानक्पाको अचार, याकको महीबाट बनाइने सेरगेम, पिठो, मासु र स्थानीय मसलाबाट बनाइने याबाले लगायतका स्थानीय परिकारहरु खान पाइन्छ । यस्तै, घीउ, पिठो, नून र चियाबाट बनाइने भोटे चिया (सोज्या) समेत चाख्न पाइन्छ । घरमा पुगेका अतिथिलाई सोज्या पटक पटक थपेर खुवाउने परम्परागत चलन छ ।

चीनको तिब्बतबाट ल्याइएका खाद्य तथा पेय पदार्थ समेत प्रशस्तै सेवन गर्न पाइन्छ । यस्तै, पर्वका समयमा भोटे जातिको परम्परागत स्याब्रु नाच हुन्छ । एक अर्कामा हात समाएर भोटे भाषामा गीत गाउँदै स्याब्रु नाच्ने गरिन्छ । अर्को आकर्षण धुन्ज्याङ हो । उत्सवमा भाग लिन आएका अतिथिलाई स्याब्रु नचाउँदै र नाच्दै विभिन्न परिकार खाँदै र खुवाउँदै रमाउनुलाई स्थानीय भाषामा धुन्ज्याङ भन्ने गरिन्छ । मिक्वाखोलाको पापुङमा रहेको तोक्पेगोला अर्थात सोदु पोखरी पुग्न ताप्लेजुङ सदरमुकामबाट दुई दिनको समय लाग्छ ।

सदरमुकामदेखि मेरिङ्देनको सक्रान्तेसम्म सवारीसाधनमा र त्यस पछि पैदल यात्रा गरेर पुग्न सकिन्छ । त्यहाँ पुग्न ताप्लेजुङ सदरमुकामबाट हान्द्रुङ, मिक्वाखोलामा पर्ने फुङफुङे झरना र पापुङका विभिन्न बस्ती हुँदै जानुपर्छ । यता गुफा, संखुवासभाको भोटखोला लगायतका ठाउँबाट समेत पुग्न सकिन्छ ।

तोक्पेगोला चीनसँगको सीमा क्षेत्र नजीकै पर्ने व्यापारिक केन्द्र हो । तोक्पेगोला हुँदै संखुवासभा, गुफा, ताप्लेजुङ लगायतका मानिसहरु व्यापारका लागि चीनको तिब्बतमा जाने आउने गर्छन् । तोक्पेगोलादेखि उत्तर पश्चिमतर्फ संखुवासभा जिल्ला रहेको छ । संखुवासभाको भोटखोला, थुदाम पुग्न तोक्पेगोला बस्तीबाट झण्डै ५ घण्टाको पैदल दूरी हिँड्नु पर्छ । बस्तीमा पुगेपछि त्यहाँका मानिसको न्यानो स्वागतसँगै रैथाने भाषा, वेशभूषा, रहनसहनको अवलोकनसँगै भलाकुसारी गरेर बस्न पाउँदा छुट्टै मज्जा आउँछ ।

पर्यटन प्रर्वद्धनका दृष्टिले राम्रै सम्भावना बोकेको यस क्षेत्रको प्रचारप्रसार र भौतिक पूर्वाधार विकासका लागि विशेष चासो दिएर काम गरिरहेको पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा पैदल मार्गको स्तरोन्नति, विभिन्न ठाउँमा पुल निर्माण लगायतका काम गरिएको थियो ।

यस क्षेत्रलाई उजिल्याउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरुसमेत सञ्चालन गर्दैआएको उहाँको भनाइ छ । “भौगोलिक हिसाबले विकट यस क्षेत्रमा पुग्ने सडक निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले प्रदेश र सङ्घीय सरकारले सहयोग गर्नुपर्छ,” उहाँ भन्नुहुन्छ ।