सरकारले लुकायो महत्वपूर्ण सूचना !

 मन्त्रीपरिषद्का औपचारिक निर्णय पनि सातामा एकपटक संवाददातामाझ सार्वजनिक गर्न थालेको सरकारले कतिपय महत्वपूर्ण सूचना चैं लुकाउन थालेको छ । राजनीतिक महत्वका त्यस्ता सूचना लुकाएर आफूलाई विवादबाट बचाउन चाहे पनि सरकारका कतिपय गुप्त भेटघाट सार्वजनिक हुँदै आएका छन् । 

केही समयअघि अनौपचारिक रुपमा नेपाल आएर विभिन्न भेषमा सबैजसो नेतालाई भेटेर फर्केका भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखले काठमाडौंमा राजनीतिक तरंग ल्याईदिएका थिए । प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु र अरु दलका नेतासँग ‘रअ’ प्रमुखले भेटेको कुरा बिस्तारै प्रष्ट भैरहेको छ–सबैले लुकाउन चाहे पनि ।

यसैबीच एक धार्मिक सम्मेलनमा भागलिन काठमाडौं आएका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक उच्च नेतासँगको भेटघाटलाई पनि सरकारले लुकाउन चाह्यो । भाजपा नेता तथा राज्यसभा सदस्य डा.सुब्रमन्ह्य्म स्वामी र प्रधानमन्त्री केपी ओलीको भेटवार्तालाई सरकारले पूरै लुकाउन चाहेको प्रष्ट भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको दुइ नेताको भेटघाटको सूचना भने भारतीय नेताको ट्वीटर हेरेर नेपाली जनताले थाहा पाउनु परेको छ ।

सुरु भयो हिन्दू धर्मको अभियान

भारतले फरक भूमिकामा रहेका आफ्ना दूतहरुलाई छोटो समयान्तरमा नेपाल पठाएर आफू हिन्दू धर्मको एजेन्डामा गम्भीर चासोसहित सक्रिय हुन लागेको सन्देश पठाएको एक उच्च सूत्रले बताएको छ । 

भाजपा नेता स्वामीले पनि प्रधानमन्त्री ओलीसँग यही सन्देश सुनाएको बुझिएको छ । स्वामीले मित्र राष्ट्र चीन समेत यसमा भारतसँग सहमत रहेको गम्भीर सन्देश सुनाएका सूत्रले दावी गरेको छ ।

उच्च समाचार सूत्रको भनाई छ– ‘स्वामीले नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने भारतको स्पष्ट सन्देश सुनाएका छन् ।’ उनले भूगोल र इतिहासका आधारमा पनि नेपाल हिन्दू राष्ट्र हुनैपर्ने कुरामा प्रधानमन्त्रीसँग जोड दिएर कुरा गरेका थिए । प्रधानमन्त्री ओली र नेता स्वामीले शनिबार बिहान चिया पिउँदै आधा घण्टा कुराकानी गरेका थिए । 

भारतीय गुप्तचर प्रमुखले पनि भर्खरैको भेटमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग यही धर्मकै बिषयमा गम्भीर कुराकानी गरेको बुझिएको छ । उनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि यसैमा केन्द्रित भएर निकैबेर चर्चा गरेको बुझिएको छ । तर देउवाले आफूले रअ प्रमुखसँग भेट्दै नभेटेको झुटो दावी गरिरहेका छन् ।

भाजपा नेता स्वामीले विश्व हिन्दु महासंघ र विश्व हिन्दू परिषद्ले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल जुनसुकै हातलमा हिन्दू राष्ट्रमा फर्कनुपर्ने चाहना भारतको रहेको बताएका थिए । स्वामीले उत्तर छिमेकी चीनसमेत नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने पक्षमा रहेको दाबी गरेका थिए । ट्विटमा स्वामीले प्रधानमन्त्री ओलीसँग नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको उल्लेख गर्दै भेटका बेला खिचेको तस्बिर पनि पोष्ट गरेका छन् ।

तर प्रधानमन्त्री ओलीको सचिवालयले भने यो भेटघाटको सूचनालाई अहिलेसम्म पनि सार्वजनिक नगरी लुकाएको छ । उच्चस्तरीय भेटघाट ’bout परराष्ट्र मन्त्रालय समेत बेखबर रहेको बुझिएको छ ।