स्कूल विभाग’bout बादलको त्यो प्रस्ताव:नारायणकाजी र इश्वरलाई झट्का

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया अझै टुंगिन सकेको छैन् । तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्ष बढी बितेपनि बाँकि रहेका एकताको काम टुंगिन नसकेको हो ।

अहिले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मुख्य टाउको दुखाई विभागको नेतृत्व टुंग्याउने बिषयमा छ । नेकपाको रहेको ३२ विभागमै विवाद रहेपनि स्कूल विभागमा सबैभन्दा बढी विवाद रहेको छर्लङ्गै देखिएको छ । विभागको नेतृत्व टुंग्याउन साउन ५ गतेदेखि लगातार सचिवालय बैठक बस्ने भन्दै स्थगित गरिएको छ । हिजो बसेको सचिवालय बैठक पनि बिना निष्कर्ष टुंगिएको छ ।

नेकपाको स्कूल विभागमा शुरुमा पूर्वमाओवादीबाट पार्टी प्रवक्तासमेत रहेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य इश्वर पोखरेलले दाबी गरेका छन् । स्कूल विभागमा विवाद बढ्दै गएपछि पछिल्लो समय स्थायी समिति सदस्य घनश्याम भुसाल र बेदुराम भुसालले पनि दाबी गरेका छन् । घनश्यामले सार्वजनिक कार्यक्रममै पूर्वमाओवादीले स्कूल विभाग लिए आफ्नो दाबी नरहने र पूर्वएमालेले लिए कुनै हालत नछाड्ने बताएका छन् ।

हिजो बसेको सचिवालय बैठकले खासै ठोस निर्णय भने गर्न सकेन । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलले बैठकमा केन्द्रीय सदस्यहरुलाई स्कूल विभाग दिनुपर्ने प्रस्ताव गरेका थिए । गृहमन्त्री बादलको भनाइ उदृत गर्दै ति सदस्यले भने ‘कसैले पनि विभागीय जिम्मेवारी नलिई स्थायी समिति सदस्य भन्दा तलका नेताहरुलाई जिम्मेवारी दिउँ ।’ बादलको उक्त प्रस्तावको बिषयमा बैठकमा खासै छलफल भने नभएको ति सचिवालय सदस्यले बताए ।