दुबईका शासककी कान्छी पत्नीद्वारा ‘बलपूर्वक गरिएको विवाह’ विरुद्ध जोगिन यूकेमा मुद्दा

बिबिसी -दुबईका शासकसँग आफ्नो विवाह बलपूर्वक भएको दाबीसहित दुबई छोडेर भागेकी राजकुमारी हायाले त्यसबाट आफ्नो रक्षा खोज्दै यूकेमा एउटा मुद्दा हालेकी छन्।

शेख मोहम्मद अल मक्तुमकीकी पत्नी राजकुमारी हाया बिन्त अल-हुसेन राजपरिवारबाट भाग्ने तेस्री महिला सदस्य हुन्।

यसै महिना उनी लन्डनमा लुकेको बताइएको थियो। उनी आफ्नो ज्यान असुरक्षित भएको भनेर चिन्तित भएको बताइन्छ।

उनले दायर गरेको मुद्दा मङ्गलवार लन्डनमा सुरु भएको छ।

उच्च अदालतमा के भयो?

राजकुमारी हायाले संयुक्त अरब इमिरेट्स (यूएई)मा आफूले छाडेका छोराछोरीको अभिभावकत्व लिन पाउनुपर्ने माग गरेकी छन्।

उनले जबरजस्ती गरिएको विवाह र दुर्व्यवहारबाट बच्ने आदेश पनि माग गरेकी छन्।

राजकुमारी हायाद्वारा गरिएका मागहरूको विस्तृत विवरण भने सार्वजनिक भएको छैन।

यसबीच शेख मोहम्मदले चाहिँ आफ्ना सन्तानको दुबई फिर्तीका लागि आवेदन दिएका छन्।

उनले अदालतले दिने आदेशहरूको विस्तृत विवरणहरूको जानकारी सार्वजनिक गर्ने कार्यमा पनि रोक लगाउन माग गरेका थिए। तर त्यसलाई न्यायाधीशले खारेज गरिदिए।

सर एन्ड्र्यु म्याक्फार्लेनले यो “सार्वजनिक सरोकारको विषय” भएको भन्दै अदालतमा गइसकेपछि त्यसको व्यापक अर्थ रहने आदेश दिएका थिए।

राजकुमारी हाया को हुन्?

राजकुमारी हायाको जन्म जोर्डनमा भएको थियो। उनले ब्रिटेनका निजी विद्यालयहरूमा अध्ययन गरेकी हुन्।

उनी जोर्डनका वर्तमान शासक अब्दुल्लाह द्वितीयकी सौतेनी बहिनी हुन्। उनी ओलम्पिक्समा घोडचढीमा सहभागी पनि भएकी थिइन्।

शेख मोहम्मदसँग उनको सन् २००४ मा विवाह भएको थियो। उनी शेख मोहम्मदकी छैटौँ र कान्छी पत्नी हुन्।

सत्तरी वर्षका शेख गोडोल्फिन घोडादौड कम्पनीका अर्बपति मालिक हुन्। उनका विभिन्न पत्नीमार्फत् २३ सन्तान रहेको बताइन्छ।

पैँतालीस वर्षीय हाया सुरुमा शरण खोज्न जर्मनी पुगेकी थिइन्।

अहिले उनी लन्डनको प्रमुख क्षेत्र केन्सिङ्टन प्यालेस गार्डेनमा झन्डै १० करोड ७० लाख अमेरिकी डलर पर्ने भवनमा बसेर कानुनी लडाइँ लडिरहेको बताइएको छ।

उनी यूकेमा नै बस्न चाहन्छिन् भन्ने अनुमान गरिएको छ।

यद्यपि उनका पतिले दुबईमा उनको फिर्ती चाहे भने यूएईसँग निकट सम्बन्ध रहेको ब्रिटेनका लागि कूटनीतिक टाउको दुखाइ बन्नसक्छ।

राजकुमारी भागेपछि शेख मोहम्मदले आफ्नो इन्स्टाग्राममा एउटा आक्रोशपूर्ण कविता पोस्ट गर्दै नाम उल्लेख नगरीकन एक महिलाले ‘धोखा दिएको र विश्वासघात गरेको’ आरोप लगाएका थिए।

राजकुमारी हाया किन भागिन्?

उनीनिकटस्थ सूत्रहरूका अनुसार हायाले यसै वर्ष शेखकी एक छोरी शेखा लतिफा’bout चिन्ताजनक तथ्यहरू फेला पारेकी थिइन्।

शेखा लतिफा एक फ्रान्सेलीको सहयोगमा डुङ्गामार्फत् दुबईबाट भागेकी थिइन्। तर उनलाई भारतीय तटबाट सशस्त्र रक्षकहरूले हिरासतमा लिएर दुबई फर्काइदिएका थिए।

उक्त घटनालाई लिएर त्यस बेला राजकुमारी हायाले दुबईको प्रतिरक्षा गरेकी थिइन्।

उनले शेखा लतिफा ‘शोषणको सङ्कटमा रहेको’ र दुबई फर्केपछि ‘सुरक्षित भएको’ दाबी गरेकी थिइन्।

मानव अधिकारकर्मीहरूले चाहिँ शेखा लतिफालाई उनको इच्छाविपरीत अपहरण गरिएको बताएका थिए।

यस घटनापछि राजकुमारी हायालाई कैयौँ नयाँ तथ्य थाहा भएको र उनको पतिको ठूलो परिवारबाट उनीमाथि दबाव बढ्दै गएको बताइएको छ।

त्यसपछि उनले आफूलाई दुबईमा असुरक्षित अनुभूति गर्न थालेको बताइएको छ।

सन् २००० मा शेख मोहम्मदकी अर्की छोरी शेखा शाम्सा अल मक्तुम दक्षिण पूर्वी इङ्ल्यान्डस्थित घरबाट भागेकी थिइन्।

झन्डै एक वर्षपछि उनी क्याम्ब्रिजमा फेला परिन् र दुबई फर्किइन्।