अमेरिकाको आठौं विभत्स घटना:अन्धाधुन्ध गोलीबाट २० मिनेटमा २० को मृत्यु,२६ घाइते

एजेन्सी -अन्धाधुन्ध गोलीबाट अमेरिकामा २० मिनेटमा २० को मृत्यु भएको छ भने २६ घाइते भएका छन् । अनलाइनमार्फत् आप्रवासी विरोधी घोषणापत्र सार्वजनिक गरेको केही घण्टापछि अमेरिकामा एक श्वेत व्यक्तिले शनिबार एल पासो वालमार्टमा अन्धाधुन्ध गोली प्रहार गर्दा २० जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका हुन् ।

घटनाको संलग्न भएको आशंकामा संदिग्धलाई पक्राउ गरिएको छ जसको पहिचान २१ वर्षे प्याट्रिक क्रुसिएसको रुपमा गरिएको छ ।सिसिटिभी फुटेजमा देखिए अनुसार  क्रुसिएस एके–४७ एसल्ट राइफलसहित सिएलो भिस्ता मल वालमार्टको अगाडिको इन्ट्रान्सबाट प्रवेश गरिरहेको देख्न सकिन्छ ।

एक प्रत्यक्षदर्शीका अनुसार त्यसपछि उनी निकै शान्त र आत्मविश्वासी भएर अगाडिको ढोकाबाट प्रवेश गरे । उनले भने, ‘उनलाई हेर्दा यस्तो लाग्थ्यो कि उनी कुनै मिसनमा थिए ।’२० मिनेटको उक्त नरसंहार अमेरिकाको इतिहासको आठौं भयानक घटना हो ।

ग्रेगले आरोपीद्वार लिखित घोषणापत्र आफूहरुसँग भएको र त्यो ‘हेट क्राइम’ सँग सम्बन्धित हुनसक्ने बताएको छ ।

उक्त घोषणापत्र घटना हुनु केही घण्टाअघि सोसल मिडियामा सेयर गरिएको थियो जसमा क्रुसिएसले ‘टेक्ससमा स्पेनिस भाषा बोल्नेहरुको अतिक्रमण’ का कारण गोलीबारीको मुख्य उद्देश्य बताएका छन् ।

मेक्सिकोका राष्ट्रपति एन्द्रोस म्यानुएल लोपेज ओब्रादरले आफ्ना तीन नागरिकको हत्या भएको र ६ जना घाइते भएको बताएका छन् ।

द सिएलो भिस्टा मल अमेरिका–मेक्सिको सीमामा रहेका दुबै देशका नागरिकको चर्चित सपिङ गन्तव्य हो ।

‘अब म धेरै कुर्न सक्दिनँ,’ क्रुसिएसले पोष्ट गरिएको घोषणापत्रमा लेखिएको छ ।‘मलाई राम्रोसँग थाहा छ, मिडियाले मलाई गलत तरिकाले चित्रित गर्न खोज्नेछन् तर तिमीहरु सबैलाई सत्यता थाहा हुनेछ । सायद आज म मर्नेछु,’ क्रुसिएसले लेखेका छन् ।

बन्दुकधारीले पहिलो गोली चलाएको ६ मिनेटपछि पुलिस घटनास्थल पुगेको थियो । पुलिसको नियन्त्रणमा आएपछि उनले आत्मसमर्पण गरेका थिए ।

पुलिस अधिकारीले उनलाई पक्राउ गर्नेबेला कुनै गोली नचलाएको अधिकारीले बताएका छन् ।उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरिएको छ ।