‘विप्लवको सबै पक्ष थाहा छ, मेरै घरमा बस्थे’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लेखराज भट्टले आफूले पूर्व सहयोद्धा नेत्रविक्रम चन्द विप्लवलाई सबल र दुर्बल पक्ष दुबै आफुलाई थाहा भएको बताएका छन् । जनयुद्धदेखि शान्ति प्रक्रियासम्म सँगै काम गरेकोे फ्रन्टलाइनसँग बताउँदै उनले पूरानै बाटोबाट हिँडे क्रान्ति नहुने बताएका छन् ।

‘हिजो सँगै काम गरेको, शान्ति प्रक्रियामा आइसकेपछि पनि सेतीमहाकाली कमाण्ड इन्चार्ज भएर पनि जानु भएको थियो । मेरै घरमा बस्नुभएको थियो । उहाँको सबल र दुर्बल पक्ष थाहा छ । अहिलेको अवस्थामा फौजी रुपमा जाँदा कति सफल हुने हो के हो ? सधैं हामी यहीँ बाटोबाट जाँदा क्रान्ति सफल हुन्छ भन्ने कुरा बहसको विषय हो । उहाँहरुले पनि सोचिरहनुभएको होला ।’

विप्लवलाई वार्तामा ल्याउन अहिलेको वार्ता समितिले नसके विप्लवलाई बुझेको मान्छे राखेर उच्चस्तरीय वार्ता समिति बनाउनुपर्ने माग गरे। ‘एकातिर वार्तामा ल्याउने भन्ने अर्काेतिर उनीहरुमाथि दमन, धरपकड गर्ने त्यसरी वार्ता हुन सक्दैन। राज्यले स्पष्ट नीति बनाउनुपर्छ, उहाँलाई वार्तामा ल्याउनुपर्छ’, भट्टले भने। 

नेता भट्टले कुमार पौडेलको हत्या हो कि इन्काउन्टर छानविन हुनुपर्ने बताए । ‘त्यो घटना हुनुहुन्थेन । हत्या हो भने गम्भीर कुरा हो छानविन हुनुपर्छ’, उनले भने, ‘हिजोका सहयोद्धाहरुलाई शान्तिको बाटोमा कसरी ल्याउने भनेर सोच्नुपर्छ । छलफल गर्नुपर्छ । वार्तामा जानुपर्छ ।’ 

त्यस्तै उनले पूर्वएमालेका कारण पार्टी एकतामा ढिलाई भएको बताएका छन् । नेता भट्टले साविकको एमालेमा नेतागत गुट हुँदा एकताले गति लिन नसकेको जिकिर गरे । ‘पार्टी एकता ऐतिहासिक आवश्यकता थियो । हाम्रो हिजोको माओवादीमा जेसुकै गुट भए पनि अन्तिममा प्रचण्डमा केन्द्रीत हुन्थ्यो । साविकको एमालेमा मैले त्यो देखिन’, उनले भने, ‘केन्द्रीत नहुँदा समस्या आउँछ । त्यो समस्याले एकतालाई ढिला गरिरहेको छ तलैसम्म ।’

‘तत्कालिन एमालेमा स्थायी प्यानल, नेतागत गुट छन् । कसको भागमा पर्यो, को कति पर्यो भन्ने छ । त्यसले एकतालाई तन्काएको हो कि ?’ नेता भट्टले प्रश्न गरे । तत्कालिन माओवादीमा जतिसुकै विवाद भए पनि अन्तिममा प्रचण्डमा केन्द्रीत हुनेगरेको तथ्य प्रस्तुत गर्दै उनले थपे, ‘यता (एमाले) केन्द्रीत भएको देख्दिन् । कसले के राख्ने अध्यक्षमा केन्द्रीत हुनुपर्ने हो, तर त्यसो भइरहेको छैन। त्यसले केही समस्या पैदा भएको छ । एकता प्रक्रियालाई पनि लम्ब्याएको छ ।’

अहिले पार्टीमा साविक माओवादीले कति लिने, एमालेले कति लिने, को ले लिने भन्ने समस्या देखिएको र त्यो विवाद स्कुल विभागमा छताछुल्ल भएको बताउँदै भट्टले अगाडि भने, ‘स्कुल विभागमा प्रतिस्पर्धा भएको छ । को सक्षम छ, कसको आवश्यकता हो ? छलफल र बहसबाट सामूहिक निर्णय लिनुपर्नेमा अलि तानातान भएको छ ।’ 

नेता भट्टले स्कुलिङमात्र नभई अन्य विभागमा पनि कुरा नमिल्दा एकता लम्बिएको स्वीकार गरे । ‘तीन महिनामा मिल्ने भनेको एकता अहिले डेढ वर्षसम्म पनि पुरा भएन । किन भएन भनेर समीक्षा गर्नैपर्छ ।’ नेता भट्टले आफूहरु हिजोको सिद्धान्त र व्यवहारमा नहिँडेको र बाटो बिराएको पनि स्वीकार गरे । पार्टी एकताको काम नटुंगिँदा तथा सामूहिक निर्णय नहुँदा सरकारका निर्णयहरु विवादमा परेको उनले बताए ।