बुढेसकालमा ‘अधिवक्ता’ बन्ने इच्छा

नाति–नातिनासँग रमाउने उमेरमा बलभद्र वलीलाई अधिवक्ता बन्ने रहरले दाङबाट नेपालगञ्ज पु¥याएको छ । कालोकोट लगाएर अदालतमा बहस गर्ने तीव्र इच्छाले ७२ वर्षे वलीलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पससम्म पु¥याएको हो ।

महेन्द्र बहुमुखी क्याम्पसबाटै विसं २०७२ मा स्नातक गर्नुभएका वलीले दाङबाटै विसं २०७४ मा स्नातकोत्तर गरिसक्नुभएको थियो । दाङको बबई गाउँपालिका–३ रामपुर (घट्टेखोला) का वली गत मङ्सिरमा नेपालगञ्ज आएर क्याम्पस भर्ना हुनुभएको थियो । उहाँ कक्षाकै जोशिला विद्यार्थीमा गनिनुहुन्छ ।

भर्ना हुने क्रममा क्याम्पस प्रशासनले नियमित पढाइ हुन कम्तीमा १० विद्यार्थी उपस्थित हुनुपर्ने जानकारी वलीलाई दिएपछि नियमित कक्षा लिन चुनौती थपियो । उहाँले नयाँ उपाय सोच्दै भर्ना भएका सबैको नाम र फोन नम्बर टिपेर क्याम्पसबाट निस्किनुभयो । कक्षामा पढ्न नआए पनि एलएलबीमा भर्ना हुने विद्यार्थीको सङ्ख्या एक हजार १८८ थियो ।

उहाँले भन्नुभयो, “कोठामा आएर सबैलाई फोन गरे । नियमित कक्षा लिन आउनुप¥यो भने । प्रायः सबै जागिरे रहेछन् । नजिक–नजिक भएकाले आउँछु भने । केही आए पनि । मेरै पहलमा अहिले तीन महीनादेखि क्याम्पसमा एलएलबीको कक्षा नियमित चलेको छ ।” वलीले कक्षा लिन आएका विद्यार्थीको उपस्थिति पनि गराउँदै आउनुभएको छ ।

“हालसम्म ९७ विद्यार्थीले कक्षा लिनुभएको छ”, वली भन्नुहुन्छ, “कक्षामा दैनिक ५० जनाको हाराहारीमा उपस्थिति हुने गरेको छ ।” वलीले अहिलेसम्म कक्षा छोड्नुभएको छैन । वलीकै कारण महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा १५ वर्षपछि कानून सङ्कायको कक्षा चलेको छ । यसअघि विद्यार्थी त भर्ना हुन्थे, पढ्न आउँथेनन् । परीक्षा दिनमात्रै आउँथे । तर अहिले वलीले कुनै शिक्षक पढाउन आएनन् भने फोन गरेर ‘किन नआएको’ भनेर प्रश्न गर्नुहुन्छ ।

क्याम्पसमा कार्यविधि कानून पढाउने लोकबहादुर शाह भन्नुहुन्छ, “हजुरबा उमेरका वलीको अनुशासन लोभलाग्दो छ । ७२ वर्षका व्यक्तिको पढ्ने जाँगर देख्दा हामीलाई पनि जोश पैदा गरेको छ ।”

शाहका अनुसार, वली कक्षामा अनुशासित तरिकाले बस्ने, उठेर मर्यादित तरिकाले प्रश्न गर्ने गर्नुहुन्छ । नेपालगञ्जमा कोठा भाडामा लिएर पढ्न बसेका वलीलाई घरपरिवारले बुढेसकालमा किन दुःख गरेको भनेर कराउँछन् । “छोरी अधिवक्ता नै छन् । किन दुःख गर्नुहुन्छ बुबा भनेर सम्झाँउछिन् । छोरा लेखनदास छन् । बेकारमा किन पढ्नुप¥यो भन्छन्”, वलीले भन्नुभयो ।

पढाइमै ध्याउन्न भएकै कारण ७२ वर्षे वली बिहान ४ बजे उठेर क्याम्पस जानका लागि तयारी शुरु गर्नुहुन्छ । “बिहान ६ बजेको कक्षा नछुटोस् भनेर मोबाइलमा चार बजेको घण्टी लगाएको छु । अब त बानी भइसक्यो, घण्टी नबज्दै ब्युुझिहाल्छु”, वलीले भन्नुभयो । उहाँ अरु युवा विद्यार्थीभन्दा पहिले नै कक्षा कोठामा पुुगिसक्नुहुन्छ ।

“जुवातास खेलेर गाउँमा समय फाल्नुभन्दा ज्ञानका लागि पढ्नु राम्रो होइन र ? हामीजस्ता बुढाले पढ्दा युवाहरुमा पनि जोश जाँगर आउँला नि ।” प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म भइसक्नुभएका वलीको ध्यान राजनीतिभन्दा पढाइतिर धेरै छ । “राजनीतिमा सक्रिय हुन्न, पढाइतिरै लागेको छु । पढाइ सकेर वकालत गर्ने धोको छ”, उहाँले भन्नुभयो ।

राजनीतिमा वलीको अस्थिरता

विसं २०२३ मा लोकसेवा आयोगको कार्यालयमा कार्यालय सहयोगी हुनुभएका वली विसं २०२४ मा मालपोत कार्यालयमा अस्थायी बैदार हुनुभयो । २०२५ मा लोकसेवाबाट बैदारमा नाम निकालेर अदालतमा काम थाल्नुभयो । त्यसबेला छ महीना तत्कालीन भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा मुखिया भएर काम गर्नुभयो ।

विसं २०२७ देखि २०४२ सम्म शिक्षक रहनुभएका वली त्यसपछि जागिर छाडेर राजनीतिमा लाग्नुभयो । “विसं २०४३ मा दाङको पुरन्धारा गाउँपञ्चायतको प्रधानपञ्च भएँ । बहुदल आएपछि पार्टीतिर लागेँ”, वलीले भन्नुभयो, “प्रधानपञ्चमा एक हजार ५०० मत ल्याएँ । त्यतिबेला काङ्ग्रेसको जगजगी थियो ।”

नेकपा एमालेबाट २०४९ को पहिलो स्थानीय चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिँदा जम्मा एक हजार मत आयो र हार व्यहोर्नुप¥यो । विसं २०५४ मा पुनः गाविस अध्यक्षमा चुनाव लड्नुभएका वली त्यसबेला भने दुई हजार ४०० मत ल्याएर विजयी हुनुभयो । त्यसपछि भने वली एमाले छाडेर राप्रपातिर हानिए ।

विसं २०६४ को चुनावमा राप्रपाबाट सांसदको उम्मेदवार बन्नुभएका वलीको मत क्रमशः घट्दै जान थाल्यो । उहाँले भन्नुभयो, “दुर्भाग्य, सांसदमा चुनाव लड्दा ५५० मत मात्रै आयो । २०७४ को स्थानीय चुनावमा गाउँपालिका अध्यक्षमा चुनाव लड्दा झन् १५० मत मात्रै आयो ।” २०७४ को चुनावपछि वली पुनः तत्कालीन एमालेमै फर्किनुभयो । “पार्टीले उचित जिम्मेवारी दियो भने राजनीतिमा सक्रिय हुन्छ, नदिए पढाइ पूरा गरेर वकालत गर्छु”, उहाँले भन्नुभयो ।