ओलीले प्रधानमन्त्री पद नछाड्ने, आलोपालो सहमति धरापमा

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को निर्वाचनसम्म आफू नै सरकारको नेतृत्वमा रहने स्पष्ट पारेका छन् । उनले आगामी निर्वाचनपछि मात्र आफू प्रधानमन्त्री पद छोड्न तयार रहेको बताएका छन् ।

आईतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अर्को निर्वाचनपछि आफूलाई पदमा बस्न रुचि नभएको पनि स्पष्ट पारेका छन् ।

नेकपा संगठनको मुख्य विभागहरुको जिम्मेवारी तोकिएकै भोलिपल्ट ओलीले अर्को निर्वाचनसम्म आफूले सरकारको नेतृत्व नछाड्ने संकेत दिएका छन् । यसबाट नेकपाका अध्यक्षद्वयले आलोपालो सरकारको नेतृत्व गर्ने भनी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालवीच भएको भनिएको सहमतिको भविष्य के हुने भन्ने चर्चा सुरु भएको छ ।

संगठनका मुख्य विभागीय जिम्मेवारीको टुंगो लगाएको भोलिपल्ट अध्यक्ष प्रचण्डले पार्टी एकिकरण गर्न हतारिएको र यसबाट आफूलाई राजनीतिक रुपले नाफा नभएको भनी घुमाउरो शैलीमा असन्तुष्टी प्रकट गरिसकेका छन् । अब ओलीले पूरा कार्यकाल नै सरकारको नेतृत्व गर्ने घोषणा गरेको अवस्थामा दाहालको के प्रतिक्रिया आउने हो,यो भने प्रतिक्षाको बिषय बनेको छ ।

प्रधानमन्त्री ओलीले कथित प्रतिगामी शक्तिको हवाला दिँदै आफ्नो सरकारको वचाउ गर्दै पदमा सधैं कोही पनि बसिनरहने भन्ने प्रसंगमा अर्को निर्वाचनसम्म आफू सरकारको नेतृत्वमा कायम रहने स्पष्ट पारेका हुन् ।

केही साता अघि प्रधानमन्त्री ओली नयाँदिल्ली गएका बेला प्रचण्डले सत्तामा आलोपालोको लिखित सहमति पत्र नै सार्वजनिक गरिदिएका थिए । त्यसपछि दुइजना अध्यक्षको पटक पटकको वार्तापछि त्यो बिषय सेलाएको थियो र एकताका अरु बिषयमा उनीहरु प्रवेश गरेका थिए । अहिले आएर संगठनका मुख्य विभागीय जिम्मेवारी वाँडफाँड हुँदा प्रचण्ड किनारामा परेको टिप्पणी भैरहँदा ओलीको पूर्णकार्यकाल प्रधानमन्त्री पदमा रहने स्पष्टोक्तिले फेरि शीर्ष नेतृत्वमा तनाव आउने चर्चा सुरु भएको छ ।

ओलीको भनाई छ– “पद नजाने कोही छैन । राजतन्त्रदेखि जनप्रतिनिधिहरुको पनि पद जान्छ, मेरो पनि पद जान्छ । धैर्य गर्नुहोस्, अर्को निर्वाचनपछि मलाई बस्नु छैन ।”

ओलीले वर्तमान सरकार कसैसँग नकाँपेको पनि बताए । ओलीले भने–“सरकार लगलग काप्यो भनेर प्रतिगामी शक्तिहरुले भनिरहेको सुन्छु । तर, सरकार काँपेको छैन ।”

अहिलेको संविधान, लोकतन्त्र, संघीयता नचाहनेहरुले सरकार काँपेको हल्ला चलाएको प्रधानमन्त्रीको आरोप थियो ।

केही प्रतिगामी तत्व सडकमा आए भन्दैमा जनताले सुम्पिएको जिम्मेवारीबाट सरकार नभाग्ने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्रीले भने– “सरकार भाग्छ भन्ने कुरा दिवा स्वप्न हो । यस्तो दिवा स्वप्न नदेखे हुन्छ ।”

यो सरकार ठूलो चुनौतीहरुको सामना गरेर आएकाले बेमौसमको बाजा नबजाउन आग्रह गरे । ‘यो बेमौसमको बाजा नबजाए हुन्थ्यो । सरकारले चाहँदा संविधानको रक्षा गर्न सडकमै उत्रन तयार छ’, प्रधानमन्त्रीले भने ।