मदन पुरस्कार पायो रणहारले, बैरागी काइँलालाई जगदम्बाश्री

मदन पुरस्कार गुठीले २०७५ को मदन पुरस्कार योगेश राजको ‘रणहार’ लाई दिने निर्णय गरेको छ।

२०७५ को मदन पुरस्कारका लागि सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिलपात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र, ध्रुव सापकोटाको ‘विचारको लास’ मनोनयनमा परेका थिए।

त्यसैगरी, जगदम्बा श्री पुरस्कार बैरागी काइँलाले पाउने भएका छन् ।आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस वर्षको जगदम्बा-श्री बैरागी काइँलालाई तथा मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो।

पब्लिकेसन नेपालयको ‘रणहार’का मुख्यपात्र भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल थिए। रणजीत मल्लकै पालामा पृथ्वीनारायण शाहले उपत्यकाकै उतिबेलाको सबैभन्दा शक्तिशाली र बैभवशाली राज्य भक्तपुरमा कब्जा जमाएका थिए। भक्तपुर हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो।

लेखक योगेश राजको यस पुस्तकले नेपाली इतिहासको आजसम्म भनिँदै आएको भाष्यसमेतकै विनिर्माण गरेको छ।पुस्तकमा प्रयोग भएको भाषा यसको अर्को आकर्षण रहेको छ।