शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्बोच्चको आदेश

निर्माता छविराज ओझाकी श्रीमाती तथा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ गरि कारबाही अगाडि बढाउन दिएको आदेशविरुद्ध शिल्पा उच्च अदालत पुगेकी थिइन् । तर, उच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गरेपछि उनी सर्वोच्च पुगेकी हुन् ।

आइतबार प्रधानन्यायधीश चोलेन्द्र शम्शेरको इजलासले उनलाई तत्काल पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो । निर्माता ओझाकी जेठी श्रीमती हेमा ओझाले साउन पहिलो हप्ता महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी हालेकी थिइन् । दुईलाई तत्काल पक्राउ गरि कारबाही गर्न उनको माग थियो ।

हेमाले बहुविवाहको उजुरी हालेपछि काठमाडौं जिल्ला अदालतले शिल्पा र छविलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि फरार भएकी अभिनेत्री पोखरेलले आफूलाई पक्राउ नगर्न माग गर्दै ‘निषेधाज्ञा आदेश पाऊँ’ भन्दै साउन १६ गते अभिवक्ता रमेश गुराँगाईमार्फत् उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन् । तर, उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गर्‍यो ।

उच्च अदालत पाटनले निषेधाज्ञा दिन अस्वीकार गरेपछि शिल्पाले २९ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सर्वोच्चले तत्काल पक्राउ नगर्न आदेश दिए पनि यससम्बन्धमा थप छलफल गर्न दुबै पक्ष (छविराज ओझा र शिल्पा पोखरेल) लाई भदौ १५ गते उपस्थित हुन भनिएको जानकारी प्राप्त छ ।फिल्मीखबर