रवि लामिछाने सहित तीन जनालाई अदालत पेश गरिदैं

आत्महत्या दुरुत्साहन अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनमा हिरासतमा रहेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आज जिल्ला अदालत चितवनमा पेश गरिँदैछ ।

प्रहरीले सरकारी वकिलमार्फत तीनैजनालाई अनुसन्धानको लागि थप म्याद माग्ने तयारी गरेको छ । तीन जना अभियुक्त मध्ये युवराज कँडेल र अस्मिता कार्कीको बयान पूरा भएको भए पनि रविको बयान आंशिक रुपमा मात्रै सकिएको छ ।

प्रशानले भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ तर रविका समर्थकले चौबीसकोठी चोकमा ठूलो प्रदर्शनको तयारी गरिरहेका छन् ।

उनीहरुले रविलाई रिहा गराउन दबाब दिने तयारी गरेका छन् । रवि समर्थकको तयारी र प्रशासनको तयारी हेर्दा आज चितवनमा ठूलै झडप हुन सक्ने आशंका गरिएको छ । प्रशासन सम्भावित अप्रिय घटना रोक्न प्रयासरत छ ।

सम्भावित अप्रिय घटना रोक्न र रविको पक्षमा हुने प्रदर्शनलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय परिसरमा बिहानैदेखि तयारी अभ्यास भइरहेको छ । जुन भवनको आँगनमा अभ्यास भइरहेको छ त्यही भवनभित्र एक कोठामा रहेका रवि लामिछानेले आफ्ना समर्थकलाई रोक्न भइरहेको तयारी महसुस गरिरहेका छन् ।

रवि न्यायिक हिरासतमा अन्य बन्दीसरह सामान्य अवस्थामा छन् । उनलाई अन्य ८–१० जना बन्दीसँगै राखिएको छ । उनले हिरासतमा बस्दाको समय पुस्तक पढेर बिताइरहेका छन् ।