प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । स्वास्थ्य उपचारका लागि बिहीबार पुनः सिंगापुर जान लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार साँझ ५ बजेका लागि बैठक बाेलाएका हुन् ।

उनले सत्य निरूपण तथा मेलमिलाप आयोगको पदाधिकारी नियुक्तिसहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाएको जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘सर्वदलीय बैठक बोलाउनुभएको छ, बैठकको एजेण्डा के हो भन्ने अहिले नै तोकेको अवस्था छैन।’

राजनीतिक दलहरूलाई स्वास्थ्य उपचारका लागि आफू सिंगापुर जान लागेको विषयका साथै प्रधानमन्त्री ओलीले दुई आयोगका पदाधिकारी नियुक्तिका विषयमा पनि कुरा गर्नेछन् । आइतबार संसदमा सम्बोधन गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाका साथै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए ।

२०७१ सालमा आयोग गठन भएको आयोगमा अहिले पदाधिकारीविहीन छ । प्रधानमन्त्री ओली उपचारका लागि जानु पहिला नै पदाधिकारी नियुक्तिको पक्षमा देखिएका छन् ।