देश खोज्दै छु

एकजना परदेशीले सोध्यो

‘कहाँ बस्छस् ?’

मैले विनम्र उत्तर दिएँ – ‘म मेरो देशमा बस्छु’

परदेशी हाँस्यो , अनि भन्यो -’ ये ये देशमा पो ?’

तेरो देश कहाँ छ ?’ 

ऊ अलप भयो

अनि म देश खोज्न थालेँ

 सिंहदरवारमा खोजेँ , भेटाइन

आठै राजधानीमा छामछाम छुमछुम गरें

देश त्यहाँ पनि थिएन 

महान नेताको प्रखर बाणीमा मेरो देश भेटिएन

अर्को प्रदीप्त र प्रचण्ड आवाज पनि सुनें

किन्तु त्यहाँ त अर्कै देश भेटियो

फेरि मैले अघोर मन्त्रीको उग्र आवाज सुनें

त्यहाँ देश थिएन  , बरु धम्की थियो

म थर्कमान भएँ

 बिरामी हुँदा सरकारी अस्पतालमा देश खोज्छु

अशान्ति हुँदा  प्रहरीमा देश खोज्छु

अन्याय पर्दा न्यायालयमा देश खोज्छु

काम पर्दा सरकारी अड्डामा देश खोज्छु

जब म गाउँमा पुग्छु साथी

म मेरो वडा अध्यक्षको डोजरमा देश खोज्छु

तर दु:ख लाग्छ साथी मेरो देश त्यहाँ पनि छैन

मैले तरकारीमा देश खोजेँ मन्दविष भेटियो

दूधमा देश खोजेँ पानी भेटियो

मैले मिठाइमा देश खोजेँ किरो भेटियो

सरकारी विद्यालयमा देश खोजेँ ‘जिरो’  भेटियो

तथापि म निराश भइन

म बेतहासा वनमा पुगेँ

हो ! गोठालो दाइमा देश भेटियो

मेरो देश माटोको सुवासमा भेटियो

हो ! मेरो देश भरिया दाइको पसिनामा भेटियो 

मेरो देश पाखामा भेटियो देउरालीमा भेटियो

ठण्डा हिमालमा देश भेटियो

मेरो देश झलकमानको सारङ्गीमा  भेटियो

झ्याउरे र मादलमा  भेटियो

मेरो देश शिशुको तोते बोलीमा भेटियो

मेरो देश भेटियो लक्ष्मी प्रसादमा बालकृष्णमा

हो मेरो देश माधव घिमिरे र सत्य्यमोहनमा भेटियो

मेरो देश अवधी , भोजपुरी , मैथिली , राजवंशीमी भेटियो

मेरो देश राइ लिम्बु मगर गुरुङ आदिमा भेटियो

मेरो देश नि ! ‘सुस्ताहरु’ मा दक्षिणतर्फ फर्केर

छाती थाप्ने मधेशी चेलीमा भेटियो

विदेशबाट आउने ‘रेमिट्यान्स’ मा देश भेटियो

हो साथी मेरो देश साउदीमा गधा चराउँदा पनि

‘आमा आमा’  भनी करुण पुकारा गर्ने

मेरो प्यारो भाइमा भेटियो

अनि मेरो देश

विदेशको वेश्यालयमा बेचिएकी चेलीको

‘मलाई मेरो देशमा जान देऊ’  भन्ने

चीत्कार र चिच्च्याहटमा  भेटियो