सपनीमा रमाउन दे

मन  यात्रा गरिरहेछ अविरल
मनका   ढुकढुकीहरु मनसङ्गै छन्
किन्तु
मनसङ्गै टाँसिएर मनभित्र लुकेर बस्ने
उसको  प्राण
फुत्किने तरखरमा छ

प्राण भन्छ – हे मन ! मलाई जान दे
म तेरो यो जर्जर  कायालाई छाड्न चाहन्छु
अचेल मनको  उसकै  प्राणसङ्ग “डिस्कस” पर्छ
प्राण भन्छ – मलाई जान दे मनुवा
मन भन्छ – पख्  पख्  हे पखेरु ! पख्
म अझै भोको छु  अघाउन दे
म अझै भोगार्थी छु भोग्न दे
मैले अझै धेरैलाई ढोग्न बाँकी छ  ढोग्न दे
मलाई भुसुक्कै गाली गर्न भनी कोही पर्खिरहेछ
भरपेट गाली गर्न दे
कोही शब्दवाणरुपी तीखातीखा ढुङ्गाहरु
दुबै हातमा लिएर
चौबाटोमा व्यग्र प्रतीक्षामा छ  – हान्न दे

अचेल मन आफ्नो  प्राणलाई हातमा समातेर हिंड्छ
प्राण चिप्लिन खोज्छ भाग्न खोज्छ
मनले प्राणलाई  किलो ठोकेर अड्याएको छ
मनलाई धेरै दर्द हुन्छ पीडा छ
किन्तु  प्राणलाई फुत्किन दिन्न
किनकि मनलाई अर्को कोही पर्खिरहेछ
सुन्दर सपनीमा देखिन
सपनामा  यौवन सपनामै प्रेम
र सपनीकै उन्मादमा मनलाई सुख दिन
कोही अँध्यारो रातको आगमन कुरिरहेछ

प्राण भन्छ  – अनि बिपना नि ?
हो ! बिपनामा मनले  प्रचुर गाली खानु छ
निन्दा खानु छ
अहो ! मनले असह्य घोचाइ खानु छ
हे प्राण ! मनलाई सुन् 
मन दिवास्वप्न पनि त देख्छ !
जब सारा जगत जाग्दछ मन भुसुक्क सपना देख्छ
जब सारा जगत सुत्दछ मन जागा हुन्छ
अरु सपनीमा दु:ख पाउँछन् बिपनीमा सुख
मन बिपनीमा दु:ख पाउँछ  सपनीमा सुख
हिसाब बराबर छ

प्राण भन्छ  हे मन ! चाम्रो होस्  ढिठ होस्
मन भन्छ  हे मेरो प्राण ! किन मलाई जन्माइस्
किन ममा बसिस्
किन ममा सास भरिस्  किन हृदय धड्काइस्
किन ममा इच्छा करुणा र दम्भ भरिस्
अनि आज
किन मलाई छड्न आतुर छस्  ?

प्राण भन्छ तेरो समय सकियो
अब मलाई फुत्किन दे धेरै घ्यार् घ्यार् नगर्
मन  भन्छ  हे मेरो प्राण !
समय सकिएर के भो ?
मेरा सपना अझै सकिएका छैनन
म सपना देख्न चाहन्छु
मलाई सपना देख्न दे
हे प्राण ! तेरा सारा मिथ्यालाई म सत्य देख्छु
देख्न दे
अरु  रज्जुलाई रज्जु देखून् त के भो !
मलाई सर्प देख्न दे
अरुका लागि बिपना सत्य सपना झूट
मेरा  लागि सपना सत्य बिपना झूट
हे प्राण !
मलाई सांसारिक भुलभुलैयामा भुल्न दे
मलाई सांसारिक निद्रामा प्रचुर निदाउन दे
मलाई सपनीमा रमाउन दे