आमासङ्ग

मानव जातिका लागि प्रलयको बेला छ । अनेक रुन मन लाग्ने र हृदय पग्लिने समाचार आउँछन । यहाँ शिशु जन्माउनासाथ सुत्केरी आमालाई  कोरोनाले मार्छ । शिशुको बाबु आफै कोरोना पीडित छ । नवजात टुहुरो छोरालाई छुन मिल्दैन । यो त्यही विवश शिशुको करुण क्रन्दन हो । किन्तु सुनिदिने कोही छैन ।

म हेर्छु नि आमा नछेक मलाई
हे बाबा नछेक नछेक मलाई
त्यो घुम्टो उठाऊ न आमा लुकाऊ
हे आमा नजाऊ नजाऊ नजाऊ

किन सुन्दिनौ सुन्दिनौ सुन्दिनौ नी
हे माता किन  बोल्दिनौ बोल्दिनौ नी
उठ कि उठाऊ तिमीमै सजाऊ
यहाँ  बस्दिन बाँच्दिन भो उठाऊ

अहो चीर निद्रा अहो बज्रपात
लगिस् निर्दयी हा छुटाइस् नि साथ
के आइस् अदृश्य कति क्रूर काल
लतारिस् नि आमा नदेखी मुहार

हरे निष्ठुरी निर्दयी हे विधाता
शिशु जन्मिदैमा पछारिस् नि माता
मेरो दोष के हो बता क्रूर पापी
अहो बैंसमै मार्दिइस धन्य जाली

हे माता  नजाऊ उधारेर आऊ
ति बन्धन मरणका फुकालेर आऊ
ल आऊ फकाऊ उचाल मलाई
ति अमृतधारा चुसाऊ मलाई

ति तिम्रा नरम सासमा सल्बलाउँ
यि आँसु बहुन्  बेसरी  गुनगुनाउँ
सुकेका नयन कोखिमा त्यो लुकाउँ
घरी सुक्क रोई पछ्यौरी भिजाउँ

म पेटमा छटपटिमा चलेको
मुसार्थ्यौ अनि भन्दथ्य्यौ आऊ छिटो
तिमी कस्ती छौ त्यो अनुहार् देखाऊ
नरम हात तिम्रा शिशुमा फिंजाऊ

भयो पुत्र पैदा न पाई बधाई
भयो मृत्यु फेरि न कुनै रुवाइ
म जन्मेर एक्लै बेवारीस आज
बन्यौ हा बिधाता बेवारीस लास

के खाउँ के लाउँ को पाल्ला मलाई
हे छोरा भनी को उचाल्ला मलाई
को गर्ला नि माया जननी गुमाई
स्याहार्लान पराई घिनाई घिनाई