सत्यवादी शव

म ब्रह्मनालमा छु
मेरो मृत मुखमा पवित्र वागमतीको (जल ? )
कुशका टुक्रा अबीर कोच्दै छन
हो मलाई घोच्दैन महामारीले छुदैन
मेरो नाममा मेरै मान्छेहरु
मेरो भूत नलागोस भनी
वागमतीमा फलामको टुक्रा फाल्दैछन

मेरो कुनै कर्तव्य छैन न त अधिकार
मेरो दायित्व छैन
मलाई कसैको डर छैन लोभ छैन
काम क्रोध लोभ मोह मद मात्सर्य
मसङ्ग छैन
भन्छन मृत्यु भयानक हुन्छ
किन्तु
झूट बोल्छन जीवितहरु !
आज मलाई थाहा भयो मृत्यु त
शान्त , मृदु , शालीन र सत्य हुन्छ
हो मृत्यु इमान्दार हुन्छ

यी म चितामाथि छु
यो मलाई ठूलो माला पहिराउने मान्छे !
यसले मेरो लाख खाएको छ
मनमनै खुसी छ अब तिर्नु पर्दैन
ऊ पर कुनामा बलिन्द्र रुने मेरी गुप्त प्रेमिका हो
उसलाई रुने मात्र छुट छ सत्य बोल्न मिल्दैन
किनकि
ऊ अझै जीवित छ

म जीवित हुँदा ,
म पनि बनावटी थिएँ
मेरो मुखबाट अमृत बर्सन्थ्यो
तर मन ?
घोर चन्चल असत्य अविवेकी
मैले मेरो उन्नति मात्र होइन
कसैको अवनतिका लागि प्रार्थाना गरेको छु
धिक्कार मेरो त्यो जीवनलाई !

जीवितहरु भन्छन
स्मसानमा एकक्षण
जीवन वैराग्यपूर्ण हुन्छ
प्राय:झूट बोल्छन ती !
ऊ ती दुईजना एकान्तमा बसेर साउती गर्नेहरु
स्वार्थ धोका घात अन्तर्घातका
योजना बुन्दै छन
स्मसानमा कपट योजना तर्जुमा गर्न सजिलो छ
कसैले शंका गर्दैन
हो आज मानव घातक प्रबन्ध गर्न
मसानघाट धाउँछ
पशुपति पनि शंका गर्दैन
उतै पश्चिम द्वारतर्फ
करबद्ध कपटीहरुको चालमा भुल्दै छ

मेरो महायात्रा हेर्न उपस्थित यी जीवनहरु
जति मलिन देखिन्छन
धेरैजसो त्योभन्दा मलिन मनका धनी छन
ऊ मेरो पत्नी नजिक बसेर एकजना
मेरो महिमा गाउँदै छ
किन्तु
म जीवित हुँदा उसले गरेका धेरै निन्दा असत्य थिए
आज उसले गरेका
धेरै प्रशंसा असत्य छन

यी यो आयो नेताजी आयो माला पहिरायो
चितातर्फ आँखा चिम्ल्यो
नमस्कार मुद्रामा उभियो
भन्यो
मेरा अनन्य मित्र आज
मलाई झुक्याएर गयो
एउटा इमान्दार असल र निष्ठावान साथी गयो
राष्ट्रलाई अपूरणीय क्षति पुर्‍याएर गयो

कति चिप्लो घस्छ लासमाथि जीवन !
कति लफ्फाज !
मेरो जीवनलाई हरपल भ्रष्ट भनेर नथाक्ने मान्छे
आज निष्ठावन भनी नाटक गर्छ !
मलाई जुरुक्क उठ्न मन लाग्यो
होइन मेरो जीवन इमान्दार होइन
छोड् यी नक्कली कुरा नगर्
म जीवनमा इमान्दार थिइन साथी
मैले जीवित हुँदा जीवनलाई मात्र होइन
भोलेनाथलाई पनि झुक्याएको छु
हो ! 
अब इमान्दार छु सत्यवादी छु

यो आयो एक अर्को जीवन
मलाई तीखातीखा ढुङ्गा हानेर नथाक्ने
मेरो जीवनको अविचल निन्दक
आज फूलको थुङ्गा हान्न आयो
हात जोडेर भन्यो
आँखामा नबिझाउने मानिस गयो
संसार रित्तो पारेर गयो !
अनि ऊ अलि पर पुगेर अर्को जीवनको
कानै नाजिक पुगेर भन्दै छ
एउटा निकम्मा वानरको पुच्छर गयो
भार हलुङ्गो पारेर गयो

ऊ हेर परबाट एउटा भलाद्मी ( ? ) आउँदै छ
म जीवित हुँदाको प्रतिद्वन्द्वी जीवन आउँदै छ
हातमा महङ्गो माला लिएर आउँदै छ
मेरो लासलाई आफ्नै आँखाले हेरेर
निश्चिन्त हुन आउँदै छ