धौलागिरीमाथि उभिएर हेर्दा
मुक्तिनाथ
दामोदर कुण्ड
प्राचीन पाल्पा
कुमार सिद्धार्थ जाने बेला
अबोध छोरा हेरेको देखियो निशामा
कति कठोर !
सुन्दरी यशोधरा
एक चुम्बन नदिई हिँड्यो
लोग्ने रे !
गन्डकी प्रस्रवणको सौन्दर्य
मुनि बन्यो मुकुन्द
राज्य बाँड्यो टुक्रा पार्यो
जोगी सुत्यो देउघाटमा मस्त
अलि पर पाँच पाण्डव उकालो लाग्यो
द्रौपदी ढली
निर्मम युधिष्ठिर फर्केर हेरेन अविरल चढिरह्यो
टाढा मैदानमा कृष्ण ढल्यो
सानो वाणले ढल्यो सर्वशक्तिमान
समयको थप्पड हो कसैलाई बाँकी राखेन
अर्जुन विवश गाण्डिव झर्यो
यदुकूल रमणी लुट्यो गोपले
बलिन्द्र रोयो कर्महारा अर्जुन
खायो समयको निर्दयी थप्पड
फेरि देखिई निर्दोष सीता
सधैको परीक्षा सधैको अपवाद
रावणसित सुती ? सधै प्रश्न
अब सहन सकिन फाल हाली
देवाधिदेव महादेव रे !
पत्नीको मृतदेह बोकेर
अरण्यरोदन सुन्ने कोही छैन
अङ्ग अङ्ग झरे होस छैन
भौंतारिइरह्यो रोइरह्यो विवश शिव
अनि गण्डकीको घाटमा सती पोले
फेरि कमारा बेचिए बोकावत
दुलही रोई दूरदेशको यात्रामा
जन्ती हाँस्यो उन्मादमा
कालीपारीबाट अमरसिंह फर्क्यो लाचार
कता गयो त्यो वीरता ?
के गरिस् भीमसेन यो ?
म आउन्न अब तेरो खाल्डोमा तैं बस्
लाग्यो अमर गोसाईथानतिर चोला बदल्न
वाममार्गीको जुलुस गयो घोर निशामा
म्याग्दी कब्जा गर्यो डोल्पा हान्यो
अब कोही दरिद्र हुँदैन रे
सर्वजन समानता सपना
खेर जाने मिथ्या प्रयत्न
अनि पर चौपारीमा भुरे राजा
पिर्कामा उभियो सलामी खान
झुकेको मस्तक लज्जानत प्रजा
देख्नेलाई लाज
फेरि देखिए क्ट्टूको परिधानमा साँढेहरु
मदोन्मत्त प्रमत्त साँढेहरु
आफ्नो कट्टु आफै तानेर फाले प्रमादमा
कट्टू खोज्दैछन् रे फेरि
परन्तु कट्टू गण्डकीमा बग्यो चितवनको बाटो हुँदै
त्रिवेणीपारी बगरमा छ रे कट्टू
उताको साँढेले दियो भने पाइन्छ
नत्र गयो