उद्घाटन
बूढो मजदुर
टाढाबाटै नियालिरहेछ
हिजै त हो यिनै हातले मन्च बनाएको
सुनसान छ
दुई जना दौरा सुरुवालवाला मन्चमा
रिहर्सल गर्दैछन्
एक हात अर्कोमाथि खप्टेर
अनुशासित देखिने प्रयत्न शिर झुकाउने अभ्यास
मजदुरले झन नियालेर हेर्यो
अहो!
ठेकेदारसाब र हाकिमसाब ?
बूढो मजदुरले बुझ्यो
आज आउँदै छ कोही यिनीहरुभन्दा ठूलो
तब न आज त्रस्त छन्
फेरि सिपाही आए
तुल आयो रिबन आयो
ज्युनारको सामग्री आयो सुवासित
बूढो मजदुर हेरिरह्यो
सिपाही सरले भन्नुभयो
भाग बूढो मजदुर देखा नपर !
यहाँ उहाँको सवारी हुने रे
मजबुर बूढो मजदुर पछि हट्यो
आफ्ना हत्केलाहरु हेर्यो
ठेला परेका कठोर खस्रा हातहरु
फेरि सम्झ्यो मजदुर नन्कौ हरिजनलाई
जो
साम्यवादी कुरा गर्दथ्यो
श्रम गर्दागर्दै तल खसेर मर्यो
बूढो मजदुरलाई मनमनै
नन्कौको ईर्ष्या लाग्यो
भाग्यमानी थिइस् साथी !
आज यिनीहरूको मुख देख्नु परेन
फेरि शान्त र सौम्य हलचल भयो
उहाँको सवारी भएछ
उहाँ मन्चमा राज भयो
यताउता चारैतिर नजर फिराइबक्स्यो
उपस्थित सबै सुकिला सबै खुसी
सबै अनुशासित सुन्दर शान्त विशाल
समृद्ध नेपाल सुखी नेपाली
बूढो मजदुर अलि अगाडि सर्यो
बोल्यो हिम्मत जुटाएर
सात वर्ष यहीँ पसिना बगाएको छु
उहाँ मेरो पुरानो कमरेड हो
मलाई चिन्नुहुन्छ
दुई “डाइलग” दिन्छु
म पनि उद्घाटन हेर्छु
सिपाहीले मर्जी भयो
बक्स्योस् भन्न आउँछ ?
हुकुम होस् भन्न आउँछ ?
राजसी बोल्न आउँछ ?
श्रमिक बोल्यो
आउदैन हजुर !
मजदुर भन्न आउँछ
किसान भन्न आउँछ
सर्वहारा भन्न आउँछ
मूर्ख मजदुर !
“राजसी रातो” भाषा बोल्न आउँदैन
समृद्ध र सुकिलो बन्न आउँदैन
खुराफात गर्न आउँदैन
निन्दा दाउपेच र घोचपेच गर्न आउँदैन
उहाँको सम्मान गर्न स्तुति गाउन आउँदैन
देखा नपर मैलो मजदुर !
उहाँको चस्मा नयाँ हो चिन्नुहुन्न
उहाँ “कम रेड” लाई मात्र चिन्नुहुन्छ
पसिना तिम्रो श्रम तिम्रो
उद्घाटन उहाँको