उसको सपना
सपनीमा ऊ
द्रौपदीको छैटौं पति हो
जालन्धरलाई बेहोस पारी बृन्दा भेट्छ
ब्रह्माको कामुकतामा रुष्ट हुन्छ
सुकरातसँगै हेमलक पान गर्छ
प्लेटोसँग वार्ता गर्छ
अरस्तुलाई तर्कमा हराउँछ
सपनीमा ऊ दक्षको यज्ञ ध्वस्त गर्छ
अहङ्कारी शासकको टाउको झिकेर
बोकाको टाउको जोडिदिन्छ ऊ
समुद्रमन्थनबाट निस्केकी युवतीमा बेहोस हुन्छ
ऊ पार्वती विवाह गर्ने शिवको जन्ती हो
पार्वतीका दासीमा आँखा झिम्क्याउँछ
नवराजलाई पर्ने चिट्ठा मलाई किन परेन प्रभु ?
क्रोधित हुन्छ ऊ
कहिले ऊ चन्द्रावती जस्तै मैमत्त हुन्छ
कहिले कुन्ती बनेर नवजात शिशु बगाउँछ
ऊ कामोन्मादमा
कहिले ययाती त कहिले शन्तनु बन्छ
उसले व्यासको प्रतिभाको डाह गरेको छ
देवकोटाको पागल कविता मेरै हो भनेको छ
शेक्स्पियर उसको दाइ बनेर आउँदा
सँगै नाटक खेलेको छ
ऊ दुर्योधनको पक्षमा कर्ण बन्छ कहिले
कहिले बिदुर बनेर हितोपदेश दिन्छ
कहिले भीष्म बनी
आफ्नै भावावेशको प्रतिज्ञा सम्झेर पश्चाताप गर्छ
ऊ गुरु द्रोणलाई दुत्कार्छ एकलव्यलाई प्रणाम
सपनीमा ऊ शम्बूकलाई मार्ने रामलाई
अविरल प्रश्न गर्छ
उसलाई दाजुको बलि चढ्ने दु:शासनमा टीठ लाग्छ
विभीषणसँग रिस उठ्छ
अभिमन्युकी उत्तरामा दया लाग्छ गान्धारीको माया
उसलाई युवती दाइजो दिने जनकसँग
कुस्ती खेल्न मन लाग्छ
ऊ हनुमानमा करुण हुन्छ
बालिमा पछुतो
बलराम विवश लाग्छ कृष्ण बाठो
युधिष्ठिर बनावटी दुर्योधन वास्तविक
ऊ क्षीरसागरमा सर्पमाथि सयन गर्छ कहिले
महादेव बनेर सतीदेवीको देह बोक्छ
तक्षक बनी धूर्त शासकलाई टोकिदिन्छ ऊ
फेरि परीक्षित बनेर भागवत सुन्छ
कहिले जन्मेजय बनी अन्यायी सर्पहरुको
सर्वनाश गर्छ
ऊ सिंहदरबारको सिंहमाथि आरुढ हुन्छ
धरहराको थाप्लोमा चढेर अहड्ढार गर्छ
कहिले ऊ आकाशतर्फ अनन्तको अध्ययन गर्छ
कहिले पूर्णिमाको जूनलाई
रातभरि नियालिरहन्छ
ऊ नारायण गोपाल हो सपनाको
ऊ गोर्की हो लुसुन हो सम हो
ऊ आइन्स्टाइन हो एडिसन हो
ऊ सगरमाथा हो धौलागिरी हो सपनीको
हो ऊ लुम्बिनीको शिशु सिद्धार्थ हो
वृन्दावनको मुरलीधर