प्रभा

 

 

-भागवत खनाल

 

 

आज  सार्वजनिक विदा छ । एउटा युवक भूगोलपार्कमा महाराज जुद्धशमशेरको कीर्तिस्तम्भ पढ्दै छ । उसले चारैतिर घुमीघुमी सवै कीर्तिगाथा पढ्यो र फोटो खिच्यो । युवकले पढेको देखेर मलाई पनि स्तम्भमा कुदिएको इतिहास पढ्न मन लाग्यो । हुनत मैले यो धेरै पटक पढेको छु, तर जति पढे पनि अझै पढौँ पढौँ लाग्दो छ, यो । यसमा नव्वे सालको महाभूकम्पमा भएको नोक्सानी, जिउधनको क्षति, सरकारले देखाएको तदारुकता, प्राप्त सहयोग, पुनर्निर्माणको विषय र धैर्यवान र इमान्दार नेपाली जनताप्रति महाराजको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गरिएको छ । युवक नजिकै सिमन्टीको पक्का बेन्चमा गएर बस्यो, पसिना पुछ्यो, रुमालले चश्मा पुछ्यो र झोलाबाट मोटो डायरी झिकेर पढ्न थाल्यो ।

 

 

म पनि उसको छेवैमा गएर बसेँ । युवक मलाई सजिलो पार्न अलि पर सर्यो र पुलुक्क मलाई हेर्यो । आँखा सरल तर सरस, हेराइमा सहृदयता र अनुहार निर्दोष ! उसले फेरि डायरी पढ्न थाल्यो । आजकलका युवायुवती यसरी पार्कमा वसेर डायरी पढ्दैनन्, एकछिन बसे पनि कसैको प्रतिक्षामा बस्छन र मोबाइल पढ्न थाल्छन । युवक भएर पनि पार्कमा बसेर शान्त र धैर्यसाथ डायरी पढेर बस्ने यो धीर गम्भीर युवकप्रति म उत्सुक भएँ । तर, काठमाडौँ जस्तो आधुनिक शहरमा अपरिचित व्यक्तिसित विनाकाम बोल्नु असभ्यता होला भन्ने डर पनि थियो । मैले बोल्ने निहुँको रुपमा तिनै जुद्धशमशेर महाराजलाई पाएँ ।

 

 

मैले भनें यहाँले यो स्तम्भको इतिहास पढेको देखेर मलाई पनि उत्सुकता जागेर पढेको त कस्तो राम्रो कुरा लेखिएको रहेछ, यहाँलाई धन्यवाद छ मलाई पनि पढ्ने मौन प्रेरणा प्रदान गर्नु भएकोमा । युवकले चिनो राखेर डायरी बन्द गर्यो,  डायरी झोलामा राख्यो र चश्मालाई नाकको डाँडीमाथि सार्यो । उसले भन्यो, मैले नव्वे सालको भूकम्प, त्यसको विनाशलीला र तत्कालीन सरकारबाट भएका पुनर्निर्माण सम्बन्धमा सानो लेख तयार गर्दै छु । मलाई बहत्तर सालको भूकम्पमा घरवास गुमाएका नेपालीहरुले दुख पाइरहेको र यत्रो तामझाम गर्दा पनि आजको सरकारले कुनै उपलव्धि हासिल गर्न नसकेको देख्दा आश्चर्य लाग्यो । अनि योभन्दा ठूलो ताण्डव मच्चाएको नव्वे साले भूकम्पको अध्ययन गरेर तत्कालको र अहिलेको सरकारको उपलव्धिको तुलना गर्न मन लाग्यो ।

 

 

हामी नेपालीहरुको अरुको ’boutमा नाटीकुटी गर्ने स्वभाव छ । विदेशतिर अरुको मामिलामा चासो लिनुलाई राम्रो मानिदैन । मान्छे रुदै बसेको होस्, फलाक्दै हिंडेको होस्, पार्कमा आफ्नो छेउमा बसेको मान्छे बिलौना गर्दै किन नहोस, कसैले मतलव गर्दैन, तर हाम्रो संस्कृति अलि फरक छ । विशेष गरेर पाको उमेर भएका व्यक्तिमा सोधखोज गर्ने र घर परिवार’bout जान्ने उत्सुकता हुन्छ । म पनि पाको उमेरमा प्रवेश गरेको मान्छे, यो ठिटो’bout जान्ने इच्छा जागेर आयो । खासगरी उसका मौन सरस आँखा, निर्दोष अनुहार, नम्र बोली र हेराइको सहृदयताले मलाई तान्यो । मैले विस्तारै सोधेँ, बावुको घर कहाँ होला ? उसले आफ्नो घर दैलेख भएको र अहिले काठमाडौँमा एउटा प्राइभेट बैंकमा काम गरिरहेको कुरा बतायो ।

 

 

दैलेख, मेरो प्यारो देशको अति प्यारो जिल्ला ! यो मेरो अत्यन्त महत्वपूर्ण एवं अविस्मरणीय वसाइ रहेको र अमूल्य अनुभव हासिल गरेको ठाउँ हो । मेरो दैलेखसंग गहिरो भावनात्मक सम्बन्ध रहेको छ । यस जिल्लाका धेरै गाउँमा पुगेको छु र त्यहाँ मेरा धेरै मित्रहरु छन् भन्ने कुरा सुनेपछि युवकलाई पनि रमाइलो लाग्न थाले छ । उसले मेरो नाम सोध्यो, मैले ठट्यौलो पारामा आफ्नो पूर्वकर्मचारी परिचयपत्र देखाइदिएं । उसले मेरो नाम दोहोर्याई तेहेर्याई हेरेर भन्यो, म तपाईंको नामसंग परिचित छु । ऊ भन्दै गयो, म तपाईंलाई चिन्दछु, पहिलो कारण हो तपाईं लेख्नुहुन्छ, अर्को हो मेरो प्रभा दिज्यूको नागरिकता दिने अधिकारीमा तपाईंको सहीछाप छ । मेरो जिल्लाका युवकले त तपाईंलाई चिन्दैनन्त, र पचास पार गरेका धेरैको मुखबाट तपाईंको नाम सुनेको छु ।

 

 

मलाई अव हतार हुन थालिसकेको थियो, तर ऊ एकछिन एकछिन भन्दै थियो । केहीबेरको कुराकानी, दैलेखसंगको मेरो आत्मीयता, मेरो लेख्ने बानी र ममाथिको विश्वासले होला , उसले त्यो ठूलो डायरी मेरो हातमा थमाइदियो । उसले विदा हुँदै भन्यो मेरो नाम आकाश शाही, घर दैलेख डाँडा पराजुल, घरमा मुवा मात्र हुनुहुन्थ्यो । अहिले भरखरै प्रभा दिज्यू पनि घर जानु भएको छ । दिज्यू एक्काइस वर्षसम्म काठमाडौँ वसेर कहिल्यै यता नआउने गरी जन्मभूमि फर्कनु भयो, अरु कुरा यही डायरीमा छ ।

 

 

हो यो प्रभाको डायरी हो, प्रभा शाही । डायरीमा धेरै कुरा छन, आफ्ना पिता पुर्खा, बावु आमा, छर छिमेक, खानपान, संस्कृति, रीतिरिवाज, घरको आर्थिक अवस्था, पेशा र द्वन्द्कालमा भोग्नु परेको अन्याय र एक्काइस वर्षको राजधानी वसाइ एवं आफ्नो मातृभूमितर्फ प्रत्यागमन । मेधावी र प्रतिभाशाली प्रभालाई भाग्य र परिस्थितिले जुन बाटो हिड्न वाध्य पार्यो, त्यो पढ्दा हृदय द्रवित भयो । डायरीमा उनको परिवारले अनाहकमा सहनु परेको अन्याय, खाउँखाउँलाउँलाउँ भन्ने उमेरमा व्यहोर्नु परेको पीडा, उनी र सलील अग्रवालवीचको निस्वार्थ र पवित्र प्रेम’bout सुन्दर वर्णन छ । उनको जन्मस्थान, परिवारलाई दुख दिने पक्ष, सारा समाज र यो देशले थाहा पाउन आवश्यक देखिएको हुँदा प्रभाको जीवनगाथा प्रस्तुत छ ।

 

 

बलीराज शाही गाउँका वेश मानिस थिए । उनी धनाड्य त थिएनन, तर खान लाउनको दुख थिएन । बलीराज धेरै शिक्षित थिएनन, सामान्य साक्षर मात्र थिए, तर बुझक्कड़ । गाउँ छिमेकमा सवै मिलेर वस्नुपर्छ, सानातिना कुरामा मनमुटाव र झैझगडा गर्नु हुदैन भन्दै छिमेकीहरुलाई सम्झाउनेवुझाउने हुँदा सवै उनलाई सम्मान गर्थे र उनको सल्लाह लिन्थे । उनले खेतीपातीको अतिरिक्त सानो कपडा पसल पनि खोलेका थिए । गरिव गाउँलेहरुले उनको पसलबाट तीज, दशैं र तिहार जस्ता पर्वमा उधारो कपडा लैजान्थे, हुँदा तिर्थे । उनका तीनजना सन्तान भए, प्रभा, गगन र आकाश । बावुआमा असल चालचलनका भएको हुँदा छोराछोरी पनि अनुशासित र आज्ञाकारी थिए ।

 

 

बलीराजको तीनैजना छोराछोरीलाई काठमाडौँ पढ्न पठाउने प्रवल इच्छा थियो । तर, यसको लागि अझै धेरै मेहनत र परिश्रमको आवश्यकता थियो । उनले एकदिन राति पत्नीसँग सल्लाह गरे । तीनैजना छोराछोरीलाई काठमाडौँ पठाउने कुरा सुनेर पत्नी लीला हतास भइन । उनले भनिन ओहो ! सवैलाई काठमाडौँ पठाउने ? यहाँ सुनो हुँदैन ? अनि खर्च कसरी पुर्याउने ? बलीराजले भने आँट गर्नुपर्छ, आजको जमानामा शिक्षाभन्दा ठूलो अरु केही छैन । काठमाडौँमा सस्तो डेरा लिएर दुख गरेर, किफायत गरेर पढ्ने त हुन नि ठूला मान्छे बन्नेहरु । सवै धनी छैनन्, हामीजस्तै किसानका बच्चा त हो नि पछि ठूला ठूला हाकिम र प्रोफेसर हुने । लीलाले भनिन पर पोखरेलको छोरो तारानाथ एसएलसी गर्ने बित्तिकै सुर्खेत गएर के के जांच दिएर खरदार भयो, अहिले दैलेखको ठूलो अफिसमा हाकिम छ भन्दै थिइन पोखरेल्नी बजै ।

 

 

धने खत्रीकी छोरी जानुका त एसएलसी फेल हो त, नर्सको तालीम लिएर डाडीमाडीमा हेल्थपोस्टमा काम गर्छे, सवै जानुका डाक्टर भन्छन रे, धने कति मक्ख छ, छोइसक्नु छैन । हाम्री प्रभा त पढाइमा पनि राम्री छे, सुर्खेतबाट जांच दिएर खरदार साव बन्न सक्दिन र ? बलीराजले सम्झाए हेर सानु तिमीले कुरै बुझेकी छैनौ । हाम्री प्रभालाई खरदार हैन एकैचोटी सेक्सन अफिसर बनाउने हो बुझ्यौ ? सेक्सन अफिसर ! गगनेलाई इन्जिनियर र कान्छो आकाशेलाई त डाक्टर बनाउने हो । जसे छ नि जसु थापा, उसको छोरो काठमाडौँमा पढेर सेक्सन पास गरेर आएछ, जागिर खाएको चार वर्ष भयो, अहिले मान्मामा सिडिओ छ रे, जसेका भुइँमा खुट्टा छैनन् ।

 

 

प्रभाले एसएलसी पास गरिन । ढिलोगरी पढाइ सुरु गरेको हुँदा एसएलसी गर्दा प्रभाको उमेर एक्काइस पुगिसकेको थियो । बलीराजले छोरा गगनले पनि एसएलसी पास गरेपछि दाजु बहिनीलाई संगै काठमाडौँ पठाउनेगरी प्रभालाई सुर्खेतमा प्लस टु पढ्न पठाए । प्रभाले बाह्र र गगनले एसएलसीसंगै गरे, उनीहरु काठमाडौँ आए । बलीराजले प्रभालाई पद्मकन्या कलेजमा र छोरो गगनलाई किफायती खालको प्लस टु स्कूलमा भर्ना गरे । प्रभा र गगन काठमाडौँ पढ्न आउँदासम्म गाउँगाउँमा माओवादीको प्रभाव पर्न थालिसकेको कारण द्वन्द्वको अवस्था सृजना भइसकेको थियो ।

 

 

यसै कारण उनको कपडाको व्यापारमा विस्तारै नकारात्मक प्रभाव पर्न थालेको थियो । हुन त बलीराजलाई पत्नी लीलाले छोरीको बिहा गरिदिने हो कि ? उमेर पनि भइसक्यो भनेकी थिइन । धेरै ठाउँबाट माग्न आएका छन्, हुनेखाने घरका मास्टर भइसकेका आफ्नै जातका केटाहरुको लागि कुरा आइरहेको छ, छोरीको जात त्यति टाढा पठाउँदा झन् खतरा पो हुने हो कि ! लीलाले भनेकी थिइन प्रभा साह्रै राम्री छ, छोरी मान्छेको रुपै मित्रु रुपै शत्रु भन्छन, बिग्रने हो कि, कुनै पापीले बितरा पार्ने पो हो कि ! तर, बलीराजले सम्झाएका थिए यो बिग्रने भए अहिलेसम्म बिग्री सक्थी । बिग्रने छोरी सत्र अठारमै बिग्रन्छन, प्रभालाई कालिकोट, अछाम, सुर्खेत जिल्लाको सिडिओ बनेको हेर्नु छ मैले ।

 

 

विस्तारै गाउँ गाउँमा माओवादीको प्रभाव फैलिँदै गयो । साधारण जनता प्रहरी र माओवादीको दोहोरो चपेटामा पर्दै  गए । सुस्तसुस्त गाउँगाउँमा आतंक र डर छाउँदै गयो । बलीराजको कपडा दुकान सुक्दै गयो । गाउँबाट प्रहरी चौकी सरिसकेको थियो । कहिले काहीं दिनको समयमा शाही नेपाली सेनाको गस्तीबाहेक सरकारको कुनै अस्तित्व थिएन गाउँमा । अलिकता पुँजी भएका र सुर्खेत नेपालगन्जतिर आफन्त हुनेहरु गाउँ छोडेर हिंडीसकेका थिए । एकदिन सांझ चार पाँचजना माओवादीहरु बलीराजको दुकानमा आए । उनीहरुले त्यहीं खाना पकाए, खाए र बलीराजलाई आज सल्लाह गर्नुपर्ने हुँदा कतै नजान आदेश दिए । बलीराजले खुरुक्क दुकान बन्द गरे र उनीहरुलाई आउनको कारण सोधे । कामरेड अदम्यले उनको कठालो च्याप्प समात्यो र उनको आँखामा आँखा राख्दै भन्यो, डर लाग्यो ? अनि कामरेड खहरेले भन्यो के डर लाग्थ्यो यी त शाही राजा साहेव ! डराउने भए पन्ध्र पन्ध्र दिनमा दैलेख सदरमुकाम जान्थे ? यी निडर छन्, यी त बावुसाहेव । कसो ए बलीराज ? हाम्रो सुराकी गर्ने ? यति चन्दा दिएँ, उती चन्दा दिएँ भनेर पुलिसलाई खबर गर्ने ?

 

 

बलीराज अचम्म परे । वास्तवमा उनले घरमा श्रीमतीसित पनि माओवादीलाई चन्दा दिएको कुरा बताएका थिएनन । उनले पटक पटक चन्दा दिएका थिए, तर थोरै थोरै । अहिलेसम्म उनलाई कडा खालको धम्की पनि आएको थिएन र प्रहरीसंग उनको कुनै पनि प्रकारको सम्बन्ध र सम्पर्क थिएन । उनले भने हेर्नुस मैले माओवादीलाई बारम्बार  चन्दा त दिएको छु, तर श्रीमतीलाई पनि भनेको छैन । यसरी एक्लो मानिसलाई कव्जामा पारेर जवर्जस्ती हुँदै नभएको र गर्दै नगरेको कुरा गरिस भनेर थर्काउन त भएन नि ! मैले सकेको सहयोग गरेकै छु । उनले यति भन्ने वित्तिकै कामरेड विकरालले उनको गालामा थप्पड हान्यो । झुठो बोल्छस ? हाम्रो अगाडि झुठो बोल्छस ? हामी प्रमाण बिना बोल्छौँ भन्ने ठानेको छस, हेर यता हेर ! उसले आफ्नो दाहिने हातमा बाँधेको पट्टी खोलेर देखायो, हातका पाँचै औंलाका नङ थुतिएका रहेछन ।

 

 

ऊ भन्दै गयो, तँलाई झापड हान्दा दुख्यो हैन ? ल भन् मेरा सवै नङहरु एक एक गरेर चिम्टाले तान्दा मलाई कस्तो पीडा भयो होला ? पुलिसले तेरा साथीहरुको नाम भन् भन्यो, मैले थाहा छैन भन्दा तिमीहरुको ’boutमा सवै कुरा थाहा पाइसकेको छ प्रहरीले, फलाना फलानाले सवैको नाम ठेगाना भनिसके भन्दै तेरो नाम पनि लियो । हिरासतबाट भाग्न सफल नभएको भए आज म यो संसारमा हुने थिइन । बलीराज आश्चर्यमा परे, उनले भने हेर्नुस पुलिसले तपाईंबाट कुरा थुत्न मेरो नाम लिएको हुनसक्छ, म आजसम्म पुलिसको सम्पर्कमा गएकै छैन । कामरेडहरु केही मत्थर भए र अव चन्दा र अरु कुराको सल्लाह गरम भन्न थाले ।

 

 

अव बोल्ने पालो कामरेड चामुन्डाको थियो । उनले भन्न थालिन हेर्नुस बलीराजजी, हामीलाई तपाइंको ’boutमा सवै कुरा थाहा छ, तपाइंको मात्र हैन दैलेख जिल्लामा बस्ने र जिल्ला छाडेर भागेकासमेत सवैको एक एक रेकर्ड हामीसंग छ । हामी गरिव, निमुखा र अपहेलित जनतालाई उनीहरुले गुमाएको अधिकार दिलाउन र उनीहरुको सम्पत्ति लुटेरा र शोषकको चंगुलबाट छुटाई उनीहरुलाई नै फिर्ता गर्न ज्यानको बाजी लाएर हिंडेका छौं । यता दैलेख जिल्लाका अशंख्य किशोरी र युवतीहरु जनताको मुक्तिको लागि स्वेच्छाले छापामार भएर हिंडेका छन् । जनताको मुक्तिको लागि कतिपय वीर नारीहरु शहीद भए । तपाईंको गाउँ वारीपरीकै गोमा, सुमित्रा, खिला, भिमकला, सरिताहरु शहिद भए ।

 

 

कतिपय किशोर र युवकहरु स्वेच्छाले हाम्रो महान फौजमा भर्ना भएर महान जनयुद्धमा संलग्न हुनुभएको छ । कति कामरेडहरु दुश्मनसंग लडेर शहीद हुनुभयो र कतिपय कामरेडहरु फौजको माथिल्लो कमानमा पुगेर दुश्मनको सातो लिंदै हुनुहुन्छ, तर तपाइंले लुसुक्क छोराछोरी दुवैलाई काठमाडौँ पठाएर बुर्जुवा शिक्षा दिंदै हुनुहुन्छ । बलीराजले पनि जे त होला भनेर आफ्नो कुरा राख्न थाले, हेर्नुस बहिनी स्वेच्छाले फौजमा लाग्ने कुरा रहेछ, स्वेच्छा हुने भर्ना भए, मेरी छोरी स्वेच्छाले पढ्न गई । म कुनै शोषक पनि हैन फटाहा पनि हैन, सकेको सानोतिनो सहयोग गरेकै छु । यहाँहरु र प्रहरीको डरले गर्दा राम्रो खेती गर्ने किसान, साना साना व्यापारी र र भिन्न मतको राजनीति गर्ने सवै मानिस गाउँबाट पलायन भए, अव चन्दा दिनसक्ने मान्छे  गाउँमा कोही छैन, यहाँहरुले पनि अलिकता चर्कै गर्नुभएको हो । उनले यति भन्न भ्याएका मात्र थिए, चामुण्डाले टुप्पी समाती हालिन । बर्ता सामन्ती कुरा गर्ने हैन है बलीराज, हामीलाई सिकाउने हैन, धम्काउने हैन र आलोचना गर्नेजस्तो सामन्ती काम गर्ने हैन । अव दुइटा कुरा गर्ने, बुझ्यौ ? एक पर्सीसम्म स्वेच्छा र खुसीराजीले तीस हजार चन्दा दिने र अर्को हो कान्छो छोरा आकाशलाई स्वेच्छाले हाम्रो महान फौजमा पठाउने ।

 

 

यदि तिमीले खुसी राजीले पठाउन्नौ भने पनि केही फरक पर्दैन उनी स्वेच्छाले हामीसंग जानेछन, यदि उनी गएनन् भने चन्दाको रकम डवल हुनेछ । बलीराज एक्लो र निरीह मान्छे के गर्न सक्थे याचना गर्दै भने , त्यत्रो रकम चन्दा दिन सक्दिन हजुर ! आकाश बल्ल चौध  टेकेको छ, फौजमा काम गर्न के सक्ला, अलिकता विचार गरिदिनु पर्यो । कामरेड चामुण्डाले भनिन तिमीसंग कति पैसा छ त्यो हामीलाई थाहा छ, धेरै तर्क बितर्क नगर, पर्सी हाम्रो साथी आउनुहुन्छ, तीस हजार दिएर पठाउनु, आकाशको ’boutमा पछि कुरा गरौंला । बलीराजले त्यति ठूलो रकम दिन नसक्ने कुरा गर्दा उनले भनिन, बाठो नबन बलीराज ! राष्ट्रिय बाणिज्य बैंकको खातामा अठासी हजार छ नि, हो त्यसैबाट तीस हजार दिनु भनेको हो, अव भन छ कि छैन पैसा ? ल है कुरा त्यही भयो भन्दै उनीहरु त्यहाँबाट निस्केर अलप भए ।

 

 

बलीराजले काठमाडौँ छोराछोरीको खर्च पठाउँन भनेर खाई नखाई दुख गरेर वाणिज्य बैंकमा पैसा राखेका थिए । उनी आज आश्चर्यमा परेका छन् । सरकारी स्वामित्व रहेको बैंकमा राखेको रकम कसको नाममा कति छ भन्ने सूचनासम्म माओवादीको पहुँच रहेछ । उनले अर्को दिन बैंकबाट तीस हजार निकालेर ल्याए र पर्सिपल्ट माओवादीलाई दिएर पठाए । चार दिनपछि उनलाई पुलिसले डाक्यो । उनी हाजिर हुन जान पनि भ्याएका थिएनन एकदिन राति फेरि माओवादी आए । उनीहरुले आकाशसंग अन्तरवार्ता लिए, आकाश चुप लागिरह्यो, केही बोलेन ।  बलीराज अर्कोदिन चुपचाप सपरिवार घर छोडेर हिँडे, उनीहरु कोहलपुमा चिया पसल खोलेर वसे ।

 

 

प्रभा काठमाडौँ आएको दुई वर्षमै परिवारको विचल्ली भयो । खर्चको अभावले गर्दा मन लगाएर पढ्ने वातावरण पनि भएन । बाबु बलीराजले वीच वीचमा फोन गरेर चिन्ता नगर्नु, थोरै पैसामा निर्वाह गर्नु र पढाइमा राम्रो ध्यान दिनु भनेर अर्ती दिन्थे । प्रभाले आफूले आधा पेट खाएर पनि भाइ गगनलाई अभावको महसुस हुन दिइनन । उनको डायरीमा लेखेकी छन् । म व्याच्लर तेस्रो वर्षमा हुँदा गगनले प्लस टु पूरा गर्यो । उसले पढेको कलेज उस्तो राम्रो थिएन । घरबाट परिवारको पलायन, बुवा मुवाको दुख र खर्चको अभावको चिन्ताले गर्दा उसले राम्रोसंग तयारी पनि गर्न सकेन ।

 

 

गगनलाई डाक्टर बनाउने बुवाको सपना त त्यसै दिन तुहेको थियो, जुन दिन बुवाआमा आफ्नो शरीरमा लाएको लुगा र आमाको नाक, कान र घाँटीको गहनाको भरमा घर छाडेर हिड्नुभएको थियो । पसिना बगाएर खाने निरपराध, निर्दोष र इमान्दार परिवारलाई यसरी विचल्ली पार्दा सामन्ती भागेको भन्दै बाँकी गाउँलेलाई खुसी मनाउन आदेश दिने साम्यवादी दलबाट केको आशा गर्नु ?  जवर्जस्ती चन्दा माग्ने र नसोधी, विना अनुमति धम्कीको भरमा गास, वास र कपास प्रयोग गर्ने विद्रोही पक्षको अगाडि साधारण जनता निरीह थिए । तैपनि किन चन्दा दिइस, किन खाना दिइस र किन वास दिइस ? ’emको नाम, ठेगाना बता भन्दै यातना दिने सरकार भएको मुलुकमा कुन आशा र भरोसा गर्नु ?

 

 

मेरो नियतीले मलाई मेरा बा आमाले देखेको सपनाभन्दा धेरै पर धकेल्दै थियो । कहाँ मलाई कालीकोट, अछाम र सुर्खेतको सिडिओ भएको हेर्ने मेरो बावुको सपना कहाँको मेरो वास्तविकता ! काठमाडौँ यस्तो खाल्टो रहेछ, जहाँबाट पढ्ने होस् या नपढ्ने, कमाउने होस् या नकमाउने, सज्जन होस् या दुर्जन, गरिव होस् या धनी जो सुकै होस् कोही पनि बाहिर निस्कन नचाहने । मेरो अवस्था पनि त्यही भयो । म तेस्रो वर्षको परीक्षामा एक दिन हाजिर भएर सवै पढाइ अर्को वर्षको लागि स्थगित गरें । मलाई कलेजको साथी शालिनीले एउटा बोर्डिंग स्कूलमा पढाउने काम खोजिदिई । मेरो जीवनको धारलाई मोडेर अर्कै निर्णायक परिणतिमा पुर्याउने काममा शालिनीको ठूलो भूमिका रह्यो । तर, शालिनीको मप्रति सदा माया, सद्भाव र करुणा नै रह्यो, परिणाम जस्तो भए तापनि शालिनीले मेरो हित नै चाहेकी हो । म कलेजमा बिहानको क्लास मिलाएर दिउँसो पढाउन जान थालें । स्कूलमा मैले धेरै मेहनत गरेर पढाउनु पर्थ्यो, तर त्यसको तुलनामा तलव सुविधा साह्रै कम । जति शोषण भए पनि काम गर्न वाध्यता थियो । नेपालका बोर्डिंग स्कूल वौद्धिक शोषणका राम्रा नमुना हुन ।

 

 

 

शालिनीको घर इन्द्रचोकमा छ । उसको मावली, दिदीको घर, भाउजुको माइती र फुपुको घर सवै भारतमा हो । फुपुको घर भारतमा भए पनि पूरा परिवार नेपालमै बस्छ । फुपाजु लोकमान्य अग्रवालको इन्द्रचोकमा ठूलो कारोवार छ । व्यापारिक फर्महरु नेपाली नागरिकको नाममा छन्, तर सवै कारोवार लोकमान्य र उनका छोराहरुले चलाउँछन । शालिनीले मलाई बेला बेलामा असन इन्द्रचोकतिर घुमाउन लैजान्थी । मलाई शालिनीका सवै आफन्तको पसलहरु थाहा थियो । धेरैले मलाई चिन्थे र माया पनि गर्थे । माडवारीहरु अत्यन्त भद्र हुन्छन, उनीहरु खान्दानी व्यापारी भएको हुँदा बोलीले कसैको चित्त दुखाउँदैनन । शालिनी भन्ने गर्थी संसारमा माडवारीले मागेर खाएको सुनिएको छैन । एउटालाई समस्या परे सवै मिलेर सहयोग गर्छन, कसैको व्यवहार बिग्रेमा सवैले टेवा दिन्छन, आफ्नो मान्छेलाई सकभर गरिव हुन दिंदैनन । उनीहरु अत्यन्त चलाख हुन्छन र कस्तो मानिसबाट कसरी काम लिने भन्ने कुरा जान्दछन ।

 

 

एक दिनको कुरा हो शालिनी र म उसको फुपुको छोरो सलील अग्रवालले चलाउने इलेक्ट्रोनिक पसलमा गएका थियौं । हुन त म धेरै पल्ट त्यो पसलमा गएकी थिएँ र सलीलसंग बोलचाल पनि हुन्थ्यो, तर आज सलीलले मलाई एकटक हेरिरह्यो । यसरी एकोहोरो हेरिरहँदा मलाई कस्तो कस्तो लाग्यो । मैले सडकतिर हेर्दै भनें शालिनी म अव जान्छु है ! शालिनीले भनी तँलाई हतार छ भने जा, भोलि भेटौंला । तर मेरो मन पनि कता कता चंचल भएछ, सलीलतिर पुलुक्क हेर्न पुगेंछु । सलीलले अझै पनि मलाई नै हेर्दै थियो, ऊ मुसुक्क हाँस्यो र बाई ! सी यु प्रभा भनेर हात हल्लायो । म लगभग छब्बीस वर्षकी पाको उमेरकी केटी ! बुवा भन्नुहुन्थ्यो बिग्रने केटी सत्र अठारमै बिग्रिन्छन । प्रभा अव बिग्रन्न, अव लभ सभ खेल्ने उमेर गयो । तर, आमा भन्ने गर्नुहुन्थ्यो आइमाई बिग्रन कुन उमेर चाहिन्छ, बूढी कन्ने बसेकी बासे भंडारीकी बहिनी हिमा पचास नाघेको श्रीवास्तव फरेस्टरसंग पोइल गएकी बिर्सनु भयो ? पोहोर छोरो लिएर आएकी थिई, के दशा लागेर मधेसमा पुगेंछु, अरु त ठीकै छ, गर्मीले सतायो भन्दै आँशु झार्दै थिई । आज मेरो मनमा नचाहँदा नचाहँदै पनि सलील आइरह्यो । मैले पढ्छु भनेर किताव झिकें, तर पढ्न सकिन । राम्रोसंग निद्रा परेन ।

 

 

 

अर्को दिन स्कूल सकेर खाना खाइवरी कलेज गएँ । आज हिंजोजस्तो मन चंचल थिएन । कलेजमा पढाइ भएन, शालिनी र म घुम्दै रत्नपार्कतिर गयौं । शालिनीले भनी प्रभा एउटा कुरा भन्छु नरिसा है ! मैले भनें तँसंग रिसाउन सकुँला म ? कल्पना गर त ! तैंले जे भने पनि रिसाउँदिन, भन् । शालिनीले भनी सलील दाइले तँलाई मन पराउनुहुन्छ । मैले भनें, अनि के भयो त ? शालिनीले भनी हुनत केही भएन के हुनु । मैले नभन्नु पर्ने बेकारमा भनें तँलाई । मेरो दादा भन्नुहुन्थ्यो यो औरत जातलाई युधिष्ठिरको श्राप जो परेको छ, मनमा कुरै राख्न सक्दैन । मैले शालिनीको अनुहारमा हेरें, कति निर्दोष र निस्छल छे, कति स्वच्छ र निर्मल छे विचरा । उसमा कुनै स्वार्, लिप्सा, छलकपटको भावना छैन, आफ्नो नारीसुलभ स्वभावको कारण देखे जानेको कुरा प्रकट गरी उसले । बरु ममा पो उत्सुकता जागेर आयो ।

 

 

 

मैले सोधें सलीलले मलाई मन पराउँछ भन्ने कुरा तैंले कसरी थाहा पाइस ? उसले भनी सलील दाइले पहिलेदेखि नै तेरो कुरा गर्नुहुन्थ्यो । त्यो प्रभा कस्तो नम्र र शालीन छ है, बोली मीठो, मुस्कान मीठो, मान्छे सुन्दर । मैले जिस्क्याएर हिन्दीमा भन्थें अरे भैया मैं ऐसी वैसीको साथी बनाती हुँ क्या ? हिँजो तँ हिंडेपछि त भन्नुभयो शालिनी तेरी इस साथीको इधर मत लाया कर ! मलाई साह्रै दिक्क लाग्यो यो सुनेर । मैले भनें भैया दुकानमे तो लोग आय करते हैं ना ? बच्चे, बुढे, जवान, लडका और लड़की सव । ये कौन सी दिमाग खराव करने की बात हुइ ? दाइले भन्नुभयो, देख शालिनी जव भी मैं प्रभाको देखता हुँ मेरे दिलमे कुछ कुछ होने लगता है । ये मुझे बहुत दिनोंसे हो रहा था, पर अव सीमा से बाहर हो रहा है । कृपा करके उसको इधर मत लाया कर, मैं धीरे धीरे भूल जानेकी कोशिश करुंगा । हामी कुरा गर्दै गर्दै अगाडि बढ्दै गयौं, कुन बेला सलीलको पसलमा पुगियो पत्तै भएन।

 

 

 

म झसङ्ग भएँ । सलीलले मलाई हेर्यो र मुसुक्क हाँस्यो । सेतो हाफ शर्ट, बाइफोकल चश्मा, गोरो सुन्दर अनुहार । तर, उसले हिंजो जस्तो मलाई एकोहोरो हेरेन । आज उसले मलाई बाई पनि भनेन ।

 

 

 

उता बुवाको कोहलपुरको चिया पसल पनि राम्ररी चल्न सकेन । त्यहाँका स्थानीयले माओवादीले लखेटेको मान्छे भन्दै  हाम्रो पसलमा चिया खायो भने माओवादीको आँखा लाग्ने डर पालिरहे । प्रहरीले माओवादीको प्रखर सहयोगीकै रुपमा लिइरह्यो, उता माओवादीले एउटा भगोडा सामन्तकै प्रतीक मानिरह्यो । आकाशले राम्रो स्कूलमा पढ्न पाएन, राम्रो खाना र लाउन पाएन, किन्तु बुवा आमाले उसको अगाडि आफ्ना विवशता र लाचारी प्रकट गर्नुभएन । तर गरिवी, पीडा, विवशता र वाध्यता कहाँ लुकाएर लुक्दो रहेछ ! किशोर वयको आकाशले सवै हेरिरह्यो, महसुस गरिरह्यो तर चुपचाप मौन भएर बसिरह्यो । उसलाई थाहा थियो, यो अन्यायपूर्ण र अमानवीय वातावरणमा आफ्ना दुखहरु आफैमा समेटेर राख्नुबाहेक कुनै उपाय थिएन । यस्तो विषम परिस्थितिमा पनि बुवा विचलित हुनु भएन, आधा पेट खाएरै बस्नु भयो तर, कसैसंग दुख देखाउनु भएन । आफू निर्दोष हुँदाहुँदै पनि जवर्जस्ती भंग पारिएका सपनाहरु ’bout कसैसंग गुनासो गर्नु भएन । सधैभरि आफ्नो आँशुलाई रातिको लागि साँचिरहनु भयो, उज्यालोमा कहिल्यै प्रकट हुन दिनु भएन ।

 

 

स्कूल र कलेजमा विदा भएको हुँदा म केही दिनदेखि डेराबाट बाहिर निस्केकी थिइन । मन शान्त पार्न र धैर्यधारण गर्न एकान्तमा बसेकी थिएँ । तर, मनमा तुफान आइरह्यो, मन जता जता नजा भन्यो त्यतै जान थाल्यो । वुद्धिले जुन कुरालाई बिर्सेर बस भन्यो, मनले त्यही कुरा सम्झिरह्यो । छव्वीस वर्षको उमेरसम्म मतलवै नगरेको कुराले सताउन थाल्यो । जताततै सलील सलील सलील । मनमा दोहोरो डर लागिरह्यो, कतै सलीलले मलाई वास्तवमै चाहेको त हैन ? मन सिरिङ्ग भयो ! फेरि मनमा आयो, त्यो सलील धनी र सुन्दर भएर के भो ? ऊ नेपाली पनि त हैन ! सलील अग्रवाल म ठकुरी । फेरि मन सिरिङ्ग भयो, धत्, मायाको पनि देश र जात हुन्छ र । मलाई सलीललाई माया गर्न पनि डर लागिरह्यो, उसलाई माया नगर्न पनि डर लागिरह्यो । एक मनमा सलीलले मलाई माया गर्छ कि भन्ने डर लागिरह्यो, अर्को मनमा उसले माया गर्दैन होला, त्यसै कुरा गर्ने र नजिक हुने बहाना मात्र गरेको पो हो कि भनी त्रास लागिरह्यो । मेरो सोच, शान्त चित्त, सहनशीलता र धैर्य सवै भंग भयो । वुद्धिलाई भावनाले जितेर अशान्त पारि रह्यो । अनि मलाई लाग्यो, अव म बाहिर निस्कनु पर्छ, एउटा अठोट गर्नुपर्छ र भविष्यमा विचलित नहुनेगरी बाटो पहिल्याउनु पर्छ । म बाहिर निस्कें ।

 

 

शालिनीलाई बोलाएँ । भेट हुनासाथ उसले भनी, प्रभा तँलाई के भयो ? किन यसरी फुस्रो अनुहार पारेकी ? सन्चो छैन ? किन फोन नगरेकी ? मैले भनें तँ नि तँ ? प्रभा कहाँ होली, के गर्दै होली, सन्चै होली कि विसन्चो होली, याद पनि त गरिनस ! उसले भनी म त इन्डिया गएर हिजै आएँ । सलील दाइसंग उहांको लागि केटी हेर्न गएकी नि ! म झसङ्ग भएँ । शालिनीले भनी तीन जना केटी हेर्नु भयो दाइले  पालै पालो । एकसे एक पढेका, सुन्दर र धनी । तर, उहाँ त बाबा आमाको मन राख्न मात्र पो जानुभएको रहेछ । तीनै जना सुन्दरीहरु उहाँलाई देखेर मुसुमुसु हाँस्दै थिए, हाउभाउबाट प्रकट हुन्थ्यो उनीहरु दाइलाई मन पराउँदै छन् । तर, दाइ त मूर्ति जस्तो बनिदिनु भयो,  कुनै जवाफै नदिई फर्कनु भयो ।

 

 

बाटोमा प्लेनमा दाइले भन्नु भयो शालिनी प्लिज मेरे लिए एक काम करो ! मैले भने क्या करना है बताइए ? दाइले भन्नु भयो प्रभा से पुछ के बताओ कि वह मुझे चाहती है या नहीं । हेर प्रभा सलील दाइ  धनी हुनुहुन्छ, पढेको हुनुहुन्छ, तँलाई साँचो माया पनि गर्नुहुन्छ, तर उहाँ इन्डियन हो, तेरो र उहांको जात र संस्कार मिल्दैन । किन्तु उहाँ तेरो मायामा यतिसम्म डुब्नु भएको होला भन्ने मैले सोचेकै थिइन । उहाँ तेरो ओके कुरेर बस्नु भएको रहेछ, अनि अरु केटीलाई किन ओके भन्नुहुन्थ्यो । यो तेरो आफ्नो मामला हो, सलील दाइले जति आग्रह गरे पनि तँलाई पनि उहाँको माया लाग्नु पर्यो नि, एकोहोरो रटान र जिद्धी गरेर कसैको माया पाउन सकिँदैन । सम्बन्ध, बोलचाल, वसउठ र लागाव हुनु एउटा कुरा हो तर विवाहसमेत गर्ने र जीवन सुम्पनु अर्को कुरा ।

 

 

सांझ खान मन लागेन । राति बाह्र बजे कोहलपुरबाट फोन आयो । बुवा सिकिस्त हुनुहुन्छ, गगनलाई लिएर तुरुन्त आउनु भनेर एकजना परिचितले खवर गरे । गगनलाई उठाएँ, हामी सवेरै पाँच बजेको बस चढ्यौं । साँझपख अगैया पुग्दा थाहा भयो, बुवा बित्नु भएछ, अगैयामा सतगत गरेर पाँचजना मलामीहरु कोहलपुर फर्कंदै थिए । छिमेक र कुटुम्बको लागि जे पनि त्याग गर्न तत्पर हुने मेरा निर्दोष समाजसेवी बावु आज अचानक चुपचाप एकैछिनको मुटुको व्यथाले बित्नु भयो । बुवा बाह्र वर्षको उमेरदेखि शैयौं मानिस मर्दा मलामी जानु भयो तर, आज आफै मर्दा बिरानो भूमिमा बल्ल बल्ल पाँचजना मलामी फेला परे । आमा बोल्दै बोल्नु भएन, न रुनु भयो । पूरा तेह्र दिन आमाले सुदूर क्षितिजतिर हेरेरै बिताउनु भयो ।

 

 

आकाश निशव्द रोइरह्यो, गगन र म रोएनौं । हामी निष्कासित, प्रताडित, सताइएका र हैरान पारिएको परिवारले रुनु के, शोक गर्नु के ! कसले सुन्ने, कसले सहानुभूति दिने, कसले सम्झाउने ! रुने सुविधा भए पो रुनु । भविष्यमा के गर्ने, कहाँ बस्ने, के खाने, पढाइ के हुने कुनै पत्तो छैन । सल्लाह गर्नको लागि पनि कुनै विकल्प भए पो सल्लाह गर्नु ! हामीवीच कुनै बोलचाल र सल्लाह नभई तेह्र दिनको काम सकियो । आमाले अचानक भन्नु भयो म दैलेख जान्छु, तँ आकाशलाई पनि काठमाडौँ लिएर जा । त्यसपछि पनि हामी बोलेनौं । बोल्ने, सल्लाह गर्ने, एक आपसमा सहानुभूति बाड्ने र मन बुझाउने कुनै शव्द थिएनन । बोल्न, सल्लाह गर्न, माया गर्न र झगडा गर्न पनि विषय र साधनस्रोत चाहिँदो रहेछ ।

 

 

काठमाडौँ फर्केपछि म कलेज जान छोडिदिएँ र साँझ साँझ ट्यूसन् पढाउन सुरु गरें । शालिनीले केही सहयोग चाहिए भन्नु भनेकी थिई तर, त्यस्तो सहयोग लिन उचित लागेन । एकदिन उसले भनी सलील दाइले समवेदना दिनु भएको छ र तँलाई भेट्न चाहनुहुन्छ । बुवाको मृत्युले गर्दा बिर्सिएका कुरा फेरी सम्झनामा आउन थाले । फेरि चन्चल मनमा सलील छायो । सलीलसंग भेट भयो । म त पितृ वियोगले विह्वल भएर शोकमग्न भएँ, तर यो सलीललाई के भएको ? अनुहार फुङ्ग उडेको, एकोहोरो हेराइ, न कुनै उत्साह न उमङ्ग ! पसलमा नबसेको नै दश दिन बितेछ । उसले पुलुक्क मलाई हेर्यो, उसको हेराइ निर्दोष थियो, आँखामा याचना । म पनि बोल्न सकिन, तर उसलाई हेरिरहें ।

 

 

शालिनीले भनी भैया जो कहना है प्रभा से डाइरेक्ट कहो । सलीलले भन्यो प्रभा म तिमीलाई प्यार गर्छु । उसले पूरा टाउको घुमाएर मेरा आँखामा आँखा राखेर भन्यो, मलाई थाहा छ तिमी पनि मलाई माया गर्छ्यौ । अनायास मेरो मुखबाट मी टू सलील शव्द निस्केपछि सलीलले लामो सास फेर्दै भन्यो थ्यांक गड ! ऊ भन्दै गयो म इन्डियाबाट फर्केपछि घरमा ठूलो बबाल भयो । बाबाले साह्रै दुख मान्नु भयो, आमा अत्यन्तै निरास हुनु भयो । दाइले व्यंग्य गर्न थाल्यो, भाउजुले जिस्क्याउन थालिन । बाबाले भन्नु भयो उधर एक से बढकर एक लड़की नहीं पसन्द करने का कारण बताओ सलील । बहुत उंचे घराने के लोग थे, दिल्ली तक पहुँच रखने वाले । अच्छे खान्दान से ताल्लुक रखते थे, लेकिन तुम को रास नहीं आए । इन मे से जिस किसी से सम्बन्ध रखते तो भी हमारे कारोवार मे चार चांद लगता । तुम ने मुह दिखाने लायक नहीं छोडा हमे । बाबाले झन् कडा हुँदै भन्नु भयो सच् सच् बता माजरा क्या है ? म चुप लागेको देखेपछि बाबाले मलाई तानेर अर्को कोठामा एकान्तमा लैजानु भयो र भन्नुभयो अव बता बात क्या है ? मैले घोप्टो परेर भनें मेरा एक लड़की से प्यार हो गया है ! बाबा रिसले आगबबुला हुनु भयो र भन्नु भयो हरामखोर, लाज नहीं है ! कहाँकी लड़की है ? किस जातकी है ? मा बाप का कारोवार कैसा है ?

 

 

मैले भनें पश्चिम नेपाल की ठाकुर है, माओवादी पीडित है, कोइ कारोवार नहीं । बाबाले सोध्नुभयो पहाडी है क्या ? मैले विस्तारै टाउकाको इसाराले हो भनें । बाबा जुरुक्क उठ्नुभयो र मलाई जोडले थप्पड हान्नुभयो । थप्पडको आवाज सुनेर आमा क्या है क्या है भन्दै आउनुभयो । बाबाले भन्नुभयो कोइ इधर मेरे नजदिक नहीं आना । आमा मतिर हेर्दै फर्कनु भयो । बाबा धेरै बेर दुवै हात टाउकोमा राखेर बस्नुभयो, अनि विस्तारै टाउको उठाएर मलाई हेर्दै भन्नुभयो ये क्या किया बेटा तुम ने ? मुझे कहींका नहीं छोडा । अपने बाप का भी खयाल नहीं आया तुझे ! मैले माफी मागें । बाबाले भन्नु भयो देख बेटा तु मेरा लाडला छोटा बेटा है, तुम्हे त्याग भी तो नहीं सकता । बाबाले आवाज दिएर आमालाई बोलाउनु भयो, आमा त झन् स्तव्ध हुनु भयो, एकछिन रुनुभयो, तर केही भन्नु भएन । आमाले सोध्नु भयो तुम तो हरदम दुकानमे रहता था ये इस्क कैसे लड़ाया ? मैले तिम्रो नाम लिएपछि बाबा आमा दुवै जना थोरै मत्थर हुनुभयो र एक स्वरमा भन्नु भयो खैर प्रभा तो अच्छी लड़की है । हाम्रो विवाह भयो, गोप्य र सुटुक्क ।

 

 

मलाई ससुराले धुम्बाराहीमा घर किनिदिनु भयो । सलील र म त्यही घरमा बस्न थाल्यौं । सामाजिक समारोह, पारिवारिक पार्टी र धार्मिक समारोहको बेला म घर जान्थें । घरको काममा सहयोग गर्थें, सवैले मलाई माया र सम्मान गर्नुभयो । सधैभरिसंगै नबस्ने हुँदा कसैलाई पनि खासै समस्या परेन । सलील जस्तो पति पाउनु मेरो अहोभाग्य थियो । मलाई पति र घर दुवै तिरबाट स्कूलमा पढाउन नजानु भन्ने आग्रह थियो । तर, मैले सलीललाई भनें, मेरा भाइ पढाउनको लागि मैले आफै कमाउनु पर्छ । जवसम्म मेरा भाइहरु आफै सक्षम हुँदैनन् तवसम्म म काम गर्छु । उहाँले कुनै दवाव दिनु भएन । मेरा पतिले सधै भन्ने गर्नुहुन्थ्यो प्रभा भाइहरुलाई पनिसंगै घरमा राखौं, बस्ने कोठा छन्, खानको समस्या छैन, काम गर्ने मानिस छन् । तर, मैले मानिन , भाइहरुलाई डेरामै राखें र आफ्नै कमाइबाट खर्च भरिरहें ।

 

 

सानो आकाश त जेने तेन पढ्दै गयो, तर गगनको पढाइ राम्रो थिएन । उसले रक्सी खान सिकेछ, गलत काममा हिड्न पनि सिके छ । उसले पढ्न छोड्यो, दिनभरि घुमफिर गर्ने सांझ डेरा आउने, भाइले पकाएको खाना खाने र सुत्ने गर्न थाल्यो । ऊ मेरो घरमा पनि रक्सी खाएर आउन थाल्यो । थाहा थियो, यो सवै परिस्थितिको मार र अनपेक्षित घटनाहरुको उपज हो, गलत संगत र निरासाको परिणाम हो । तर, भाइ मेरो अनुमानभन्दा बढी बिग्रेछ । एकदिन नचाहिँदो काममा नहिड, केही न केही काम गरेर खानु पर्छ, याद गर त भाइ तिमी कस्तो बावुको छोरा हो भनेर सम्झाएको त तिमी पो कुन अनुशासनमा बस्यौ ?  माडेसित पोइल गएकी हैनौ र ? बुवाले त तिमीलाई पनि कालीकोट अछामको सिडिओ बनाउने सपना देख्नु भएको हो, बन्यौ त ? भनेर जवाफ दियो । भाइको यो वचनवाण चुपचाप सहनुबाहेक कुनै उपाए थिएन, म लगातार तीन दिन रोएँ ।

 

 

देशमा गणतन्त्र स्थापना भयो । गाउँमा थोरै शान्ति बहाली भयो । हिँसाका बादलहरु केही छाँटिए । तर, शहर पसेका विस्थापितहरु गाउँ फर्केनन । मैले आमालाई काठमाडौँ बोलाएँ, आउनुभयो । तर, पन्ध्र दिनभन्दा धेरै बस्न मान्नु भएन । छोरीको घरमा धेरै दिन बस्न हुँदैन, इज्जत रहँदैन र खाएको निल्न सकिन्न भन्नु भयो । तिम्रा भाइहरुले कमाइ गरेछन भने आएर बसौंला भन्दै दैलेख फर्कनु भयो । आफ्नो हात खुट्टा चल्दा चल्दै छोरीको घरमा बस्दिन भन्दै जानुभयो । उहाँमा यो देशको सरकार, नेता, समाजका अगुवा र पार्टीहरुप्रति कुनै विश्वास र भरोसा छैन । जति नै ठूला कुरा गरे पनि र आश्वासन दिए पनि उहाँ नेताहरुको कुरा पत्याउनुहुन्न, उहाँ नेताहरुलाई भन्नुहुन्छ यस्ता कुरा अरुलाई सुनाउनु होला मलाई सुनाउनु पर्दैन ।  मेरो आमाले गाउँमा फेरि बुवाको पालाको परोपकारी कामलाई निरन्तरता दिनु भएको छ, तर उमेर, स्वास्थ्य र आर्थिक कमजोरीको कारण चाहे जति सेवा गर्न सक्नु भएको छैन ।

 

 

हाम्रो जीवन सुखी र समृद्ध थियो । सफल र अनुकरणीय दाम्पत्य जीवन थियो हाम्रो । तर, सन्तान भएन । स्वास्थ्य परीक्षण गराउँदा दुवै जनामा समस्या नदेखिए पनि कोख रित्तै रह्यो । हामीले आशा मारेका थिएनौं, तर दैवको योजना अर्कै रहेछ । एक दिन सलील व्यापारिक साझेदार साथीहरुसंग भैरहवाबाट काठमाडौँ आउंदै हुनुहुन्थ्यो । उहाँ चढेको कार त्रिसुलीमा खस्यो । सवैको लास भेटियो, तर मेरो पति वेपत्ता हुनुभयो । मेरो अन्तरात्माले भन्छ, उहाँ यस संसारमा हुनुहुन्न । तर, न सतगत, न त अन्य संस्कार गर्न पाइयो । यो  असह्य शोकले गर्दा मेरो सासु आमाको मानसिक अवस्था ठीक छैन, ससुरा बुवा कारोवारबाट अलग हुनु भयो । मेरो लागि मेरो बुवाको देहान्त हुँदा जस्तो परिस्थिति थियो, पतिको घटनामा पनि उस्तै भयो । कसको सहानुभूति पाउनु, कसलाई आफ्नो वेदना सुनाउनु, कोसंग रुनु, रोएको आँशु पुछेर कसले धैर्यधारण गर्न प्रोत्साहित गर्नु । शोक गर्न पनि त्यो देखिदिने र सुनिदिने कोही चाहिँदो रहेछ ।

 

 

नियतीले जस्तोसुकै प्रहार गरे पनि मेरो काँधमा रहेको अभिभारा पूरा गर्न बाँकी नै थियो । मैले विवाहपछि पनि आफ्नो योग्यता बढाउंदै समाजशास्त्रमा एमए पूरा गरेकी थिएँ । तर, गगनले पढ्न पनि सकेन र उसको मति पनि स्थिर भएन । सलीलको घटना भएपछि भाइहरुलाई मसंगै बस्न बोलाएँ । आकाशले पढाइ पूरा गर्दै थियो, र उसको पढाइ र बानी व्यहोरा हेर्दा भरोसा गर्न लायक देखिन्थ्यो । तर, गगनले कुनै काममा पनि आफूलाई स्थिर र अनुशासित राख्न सकेन । एकदिन अनायास गगनले भन्यो दिदी एउटा सल्लाह गर्नु थियो, मान्छ्यौ ?  मैले भने भन न भाइ राम्रो कुरा को मान्दैन ? उसले भन्यो म एउटा व्यापारिक फर्म खोल्ने विचारमा छु । दुईजना मिल्ने साथी साझेदार पनि भेट्टाएको छु । मैले भने ठीकै छ नि गर न ! भाइले त्यही मेरा ससुराले मेरो नाममा किनिदिएको घर धितो राखेर बैंकबाट ऋण निकाल्ने योजना सुनायो, म स्तव्ध भएँ । तर, उसले साम, दण्ड र भेद सवै नीति प्रयोग गर्यो । आकाशले पनि भन्यो दाइले गर्छ भने सहयोग गरम न दिदी, त्यसै बेरोजगार बस्नुभन्दा त व्यापार गरेको नै राम्रो हो । धेरै कमाउन नसके पनि सावाँ व्याज त तिर्लान नि ! घर धितो राखियो ।

 

 

पहाडको सोझो र सिधा ठाउँबाट आएको, द्वन्द्व पीडित र दुख पाएको मेरो भाइलाई काठमाडौँको दुषित हावाले ग्रस्त पारेछ । हातमा पैसा भएपछि उसलाई साझेदार लगायतका ऐयासी र विलासी साथीहरुले विचलित पारे । ऊ देख्दा देख्दै बिग्र्यो, राम राम भन्दा भन्दै भीरबाट खस्यो, ए ए भन्दा भन्दै उसको सारा व्यवहार भताभुङ्ग भयो । सुरुमा भनेकै सुनेन, उपदेश बिष भयो, सम्भाल्नै नसक्ने भएपछि सारा साथी र साझेदार लाखापाखा लागे । सावाँ ब्याज केही नतिरेरे बसेको हुँदा घर लिलाम भयो । लिलाम सकार्ने साहुलाई केही महिनाको लागि बस्न दिनुहोस भनेर त्यही घर बहालमा लिएर बस्नु पर्यो । धेरै दुख पाएपछि गगनले मबाट ठूलो गल्ती हुन गयो, अव म साउदी जान्छु भन्यो । सवै उपाय समाप्त भएपछि उसलाई पठाउनै पर्यो । अहिले साउदीमा गधा र उँट चराउने काम पाएको छु, मेरो चिन्ता नगर्नु भनेर खवर पठाएको छ । आकाशले प्राइभेट बैंकमा सानो नोकरी पाएको छ ।

 

 

अव मसंग तीनओटा विकल्प बाँकी छन् । यही स्कूलमा पढाएर एक्लो जीवन बिताउँदै कालको निर्णयलाई कुरेर बस्ने, कुनै पुरुषसंग विवाह गरेर अर्को जीवन सुरु गर्ने या आफ्नो जन्मभूमि फर्केर जन्मभूमि र जन्म दिने वृद्ध आमासंगै वसी समाज सेवा गर्ने । धेरै सोचेपछि मैले जन्मभूमि फर्कने निर्णय गरेकी छु । अव म जन्मभूमि दैलेख फर्कने छु, वृद्ध आमाको सेवा र पालन पोषण गर्नेछु । म दैलेख, अछाम, सुर्खेत र कालिकोट जिल्लाका अशिक्षित महिला, पछाडि परेका र पारिएका जनसमुदाय र छुवाछुत र वहिष्करणमा परेका जनताको उत्थानको लागि काम गर्नेछु । मेरो समाजशास्त्रको शिक्षालाई सकेसम्म समाज सुधारको काममा समर्पित गर्नेछु ।”

 

 

 

प्रभाको डायरी यहीं समाप्त भयो । उनी घर लिलामपछि प्राप्त केही रकममध्ये गगनलाई साउदी पठाएर बाँकी रहेको थोरै रकम लिएर दैलेख गइन । सायद अहिले उनी जीवनको अर्को अध्यायको डायरी लेख्दै छिन् ।