दुई थान जिन्दगी

-भागवत खनाल


                     
कुरुप जिन्दगी :

भद्दा गाली वैरीको ताली हो जिन्दगी
 झूटो सपना फरेबी जाली हो जिन्दगी

करुणाहीन दयाहीन खालास “ईस” हो जिन्दगी
सजिलै मर्न दिदैन नक्कली विष हो जिन्दगी

चुहुने खल्तीमा डढेको भुजा हो जिन्दगी
नाङ्गो शरीरमा जीर्ण धुजा हो जिन्दगी

आशा छैन जलेको उपवन हो जिन्दगी
ममताहीन अरण्यरोदन हो जिन्दगी

भाग्य हराएको झूटा बन्दगी हो जिन्दगी
कुडा कर्कट घोर गन्दगी हो जिन्दगी

अभाव भोक क्रूर् उपवास हो जिन्दगी
रहश्य लुकाउने कोरा बकबास हो जिन्दगी

तारे भीरमा घोच्ने काँडा हो जिन्दगी
फूल नफुल्ने नाङ्गो डाँडा हो जिन्दगी

कठोर दिल्लगी खिसी गिल्ला हो जिन्दगी
नखाएको विषको निष्ठुर बिल्ला हो जिन्दगी

सुन्दर जिन्दगी :

माथि माथि बादलु तिर हेर
कल्पना गर त्यही घनघटामा
 तिम्रो तस्वीर हाँसिरहेछ

कल्पना गर अव शीतल जल  बर्साउने पालो तिम्रै हो
डढेलोले व्याकुल आत्माहरुको आङनमा
सुन्दर कुमुदिनी फुलाउने पालो तिम्रै हो

कल्पना गर तिमी सानो कोमल शिशु हौ
कल्पना गर तिमी निर्मल हौ
तिमी विमल हौ तिमी नै अमल हौ
कल्पना गर तिमी मुक्त हौ
तिमी नै विबन्धन शुद्ध आत्मा हौ

बिहान घामको झुल्कोमा पूर्वतर्फ हेर
लालिमा मुस्कुराउँदै उदाउँछ
थोरै बालक बन थोरै निर्दोष बन
नरम फूलको बास्ना बनेर आउँछ

निर्द्वन्द्व आँखाले दुनियालाई नियाल
निश्शङ्क दृश्टिले जीवनलाई हेर
कोही क्रोधमा छ चिन्ता नगर
 तिमी नै क्रोधमा छौ कि चिन्ता गर
सोच कि म करुणामय हुँ अक्रूर हुँ
म नै निर्विकल्प ॐकार हुँ निर्विकार हुँ

जुनेली रातमा माथि खुला नभस्थलमा हेर
एक्लो चन्द्रमाको सन्देश सुन
“हे मानव अरु केही दिन नसके के भो
शीतल रश्मि दिन सिक्   ,
शिशुसमान मुस्कुराउँन सिक्”