भिजेको सुर्ती

शिल्पी पैसा लिएर गई।उसले सङ्कोच मान्दै भनी  “मामा यो स्याउको पैसा !” उसले पैसा लिएर अलग्गै खल्तीमा राख्यो।शिल्पीले एउटा हिङको खाली डब्बा दिँदै भनेकी थिई “मामा तपाईंलाई यो सुर्ती राख्ने डब्बा उपहार !” उसले फेरि भनी  “मामा अब हामी नयाँ घर बनाएर सर्ने।बाबाआमा पर्सि नक्सा बनाउन जाने रे।हाम्रो पनि काठमाडौँमा घर हुन्छ अब।घर बनाएपछि म तपाईंलाई घरमा लिएर जान्छु।तपाईं हाम्रै घरमा बस्ने ल !”


-भागवत खनाल

पाँच वर्ष अगाडि :

तीनकुने सुविधानगर । बागमती पुलको पूर्वतर्फ बस बिसौनीमा एउटा फलफूलको ठेला छ।एकजना मानिस ठेलामा कुहिनु टेकाई दुवै हत्केलामा चिउँडो अड्याएर बसेको छ।थोत्रो मोबाइलमा हिन्दी गीत बजिरहेको छ – ‘ये महलों ये तख्तों ये ताजोंकि दुनियाँ ये इन्सांके दुस्मन समाजों कि दुनियाँ ये दौलतके भूखे रवाजों कि दुनियाँ ये दुनियाँ अगर मिल भि जाये तो क्या है !’

स्कूल छुटेका केटाकेटी हतार हतार गर्दै बाटो काटिरहेछन्।एक जना विद्यार्थी केटो ठेलाबाट एउटा स्याउ ट्याप्प टिपेर ‘बाइ शिल्पी’ भन्दै  भाग्यो।शिल्पीले ठेलावालालाई हेरी।ऊ गीत सुन्नमै मग्न  थियो।शिल्पीले विस्तारै दुईओटा स्याउ समाई।उसले आँखा मात्र उठाएर शिल्पीतिर हेर्‍यो।शिल्पीले न स्याउ उचाल्न सकी न त छाड्न नै।ऊ यन्त्रवत काँतर भएर उभिइरही।ठेलावालाले टाउको उठायो।उसले भर्खरै परेको पानीले भिजेको खल्तीबाट सुर्तीको पुडिया निकाल्यो।एक चिम्टी सुर्ती झिकेर निचोर्दै भन्यो “दुईटा होइन एउटा लैजाऊ ! घर गएर  धोएर मात्र खानू ।”

शिल्पी डेरामा पुगी।कोठाको साँचो खोलेर भित्रबाट ढोका बन्द गरी। डेरामा दुई कोठा छन्।एउटा मझौला साइजको कोठाभित्र अर्को सानो कोठा पनि छ , जसलाई उनीहरु ‘किचेन’ भन्छन्।किचेनको एउटा छेउमा शिल्पीको ‘बेड’  छ ।शिल्पीले स्याउ धोई।स्याउ खानु पर्‍यो भनेर के आँ मात्र गरेकी थिई उसको मुखसम्म पुगिसकेको हात तलतिर झर्‍यो।शिल्पीले केही बेरसम्म स्याउलाई हेरेर तकियामुनि राखी ।

भोलिपल्ट पनि त्यही समयमा विद्यार्थीहरुले बाटो काटे।तर हिजो स्याउ चोर्ने केटो अर्कै बाटो गयो।उसले शिल्पीलाई भनेको थियो ‘मैले स्याउ चोरेको कुरा कसैलाई पनि नभन है ! फेरि केटाहरुले स्याउ चोर भनेर जिस्क्याउन थाल्छन ।’  शिल्पी विस्तारै हिंडेर ठेलावालाको नजिकै पुगी।उसलाई ठेलावालासँग डर र लाज लागिरहेको थियो।ठेलावाला उसै गरी गीत सुनिरहेको थियो।उसले यसो आँखा उठाएर शिल्पीलाई हेर्‍यो।शिल्पीले लाज मान्दै भनी ‘नमस्ते’। काठमाडौँ बसाइमा उसले पाएको पहिलो नमस्ते थियो यो।उसले  मुसुक्क हाँस्दै  भनेको थियो ‘हेलो शिल्पी !’ ठेलावालाले दिएको एउटा स्याउ हातमा लिएर ऊ डेरातिर लागी।आज पनि शिल्पीलाई स्याउ खान मन लागेन।

शिल्पीका बाबुआमाको खिचापोखरीमा फेन्सी पसल छ।उनीहरु असाध्यै परिश्रमी छन्।बाबा बिहानै उठेर पसल खोल्न जान्छन्।आमा खानासाना पकाइवरी शिल्पी र आफूले खाएर बाबाको लागि टिफिनामा खाना बोकेर पसलतिर जान्छिन् ।शिल्पी स्कूल छुटेपछि घर आएर बिहानका जुठा भाँडा सफा गर्छे।आफ्नो लागि आफै खाजा बनाउछे।बाहिरको खाने बानी छैन।शिल्पी अनुशासित छे।शालीन र विनयशील छे।पढाइमा पनि अब्बल छे।बाबाआमाको दु:ख बुझ्छे ।

शिल्पीलाई आश्चर्य लागेको छ आज।त्यो  ‘मधेसी’ ठेलावालालाई  उसको नाम कसरी थाहा भयो ? ऊ त पाल्पातिरको होइन।मधेसतिर शिल्पीको जग्गा जमिन पनि छैन ।उसले जानेको मधेस भनेको पाल्पाबाट बस चढेर आउँदा देखिने बुटवलदेखि नारायणघाटसम्मको समथर जमिन मात्र हो।शिल्पीलाई कताकता ठेलावालाको मायाँ लागे जस्तो भयो।सोची ‘ऊ पनि त एउटा मानिस नै हो।परिश्रम गरेर खान्छ।कहिले पानीले भिजेर बसेको हुन्छ त कहिले पसिनाले।एउटा छाता पनि छैन बिचरासँग।सुर्ती खानु स्वास्थ्यको लागि हानीकारक छ भन्ने थाहा नभएर होला कि !  भिजेको सुर्ती निचोरेर खान्छ।जान्दैन भनु भने स्याउ धोएर मात्र खानु भनेर पनि सिकाउँछ।दाह्री पाल्नेसँग मानिसहरु  डराउँछन्।डरलाग्दो दुकानदारकहाँ सामान किन्न को जान्छ ? यो कुरा उसलाई थाहा नहुन सक्छ।उसको ठेला सधै एकै ठाउँमा हुन्छ।ग्राहकहरु आए ठीक छ , नत्र गाना सुन्यो बस्यो ।’

अर्को दिन।उसले ‘हेलो  शिल्पी’ भनेर बोलायो।शिल्पीले मुसुक्क हाँस्दै भनी “तपाईंलाई मेरो नाम कसरी थाहा भयो ?” उसले भनेको थियो “मेरो भान्जीको नाम शिल्पी हो।मैले मेरो भान्जी जस्तो देखेर पो शिल्पी भनेको त तिमीलाई।के म तिमीलाई भान्जी भनेर बोलाउन सक्छु ?”  शिल्पीले भनी ‘ओके !  म तपाइंको भान्जी तपाईं मेरो मामा ।’ शिल्पीले झोलाबाट एउटा फोटो निकालेर देखाउँदै भनेकी थिई  ‘माइ पापा एण्ड ममी ।’  ठेलावाला मामाले भन्यो “प्लिज गिभ मी दिस फोटो ! आई विल गिभ यु ब्याक टुमारो ।” उसले फोटो दिई।

भोलिपल्ट फेरि केटाकेटीहरुले बाटो ‘क्रस’ गरे।ठेलावालाले शिल्पीको बाटो हेरिरह्यो।किम्तु आज शिल्पी आइन।उसलाई शिल्पीको मायाँ लाग्न थालेको छ।त्यही एकजना नानी त छे  , जो उसलाई हेरेर मुसुक्क हाँस्छे।यो बिरानो र स्वार्थी नेपाल शहरमा न आजसम्म उसलाई कसैले ‘हेलो’ भन्यो , न त धन्यवाद नै।उसका  ‘दोस्त’ हरुलाई यस्ता औपचारिक शब्द नै थाहा छैन।ऊ गैरागाउँभित्र सुकुम्बासीहरुको ‘झोपडपट्टी’ मा बस्छ।महिनाको तीन हजारमा एउटा दश बाइ दशको कच्ची कोठामा अरु दुईजना साथीहरुसँग बसेको छ ऊ।उनीहरु साँझ आठ बजे कोठामा जम्मा हुन्छन्।भात र आलुको झोल पकाएर एक एक थाल खाएर सुत्छन् सबै।उसका ‘रुम मेट’ हरु  ‘भाते अल्छी’ को समयमा  भिजेको सुर्ती कागजमा फिजाउछन्।दिनभरिको व्यापारको चर्चा गर्छन् र फलफूल किन्ने सिलसिलामा हेपेर गाली गर्ने ‘पहाडी’ हरुलाई सत्तोसराप गरेर बदला लिन्छन्। रातभरि अश्लील भोजपुरी गीत बज्छन् त्यो सुकुम्बासमा।रक्सी खाएर हल्ला र मारामार गर्नेहरुको राज्य चल्छ राति बाह्र एक बजेसम्म।उनीहरु बिहान सबेरै उठेर बोराले बेरेको माटे चर्पीमा दिसा गर्छन्।फेरि आलुको झोल र भात पाक्छ।फेरि सुरु हुन्छ दिनभरिको ‘अफरातफरी’ ।

पर्सिपल्ट  शिल्पी आई।ऊ मुसुक्क हाँस्यो।‘हिंजो किन नआएको ?’।शिल्पीले भनेकी थिई  “मलाई झाडाबान्ता भयो ।”  ऊ थर्र काँप्यो।कतै मैले दिएकै स्याउको करामत त होइन ? बाटैमा खाँदै पो गइन् कि भान्जी।उसले भन्यो  “मैले राम्रारी धोएर मात्र खानु भनेको बिर्स्यौ ? बजारमा किनेको कुनै पनि कुरा राम्ररी धोएर मात्र खानुपर्छ ।”  शिल्पीले भनी  “मैले हजुरले दिएको स्याउ एउटा पनि खाको छैन।“  उसले भनेको थियो  “किन घिन लाग्यो ?”  उसले भनेकी थिई “होइन मामा मायाँ लागेर ।”  उसले सुर्ती निचोरेर मुखमा हाल्यो।फेरि  फनफनी  बेरेको प्लास्टिक फुकायो।शिल्पीको बाबाआमाको फोटो र त्यही फोटो जस्तै स्केच निकालेर दिँदै भन्यो “मेरो तर्फ़बाट उपहार ।”

शिल्पीको डेरामा एक केजी जति स्याउ जम्मा भइसक्यो।जम्मा गरेको स्याउ देखेपछि आमाले सोधेकी थिइन्  “यो के हो ? कहाँबाट ल्याइस ?”  शिल्पीली भनी  “यो मेरो मामाले दिएको स्याउ हो।दिनको एउटा दिनुहुन्छ।तर मलाई खान मन लागेन , मायाँ लाग्यो ।”  उसले स्केच निकालेर देखाई।स्केच देखेर  दङ्ग पर्दै बाबाले सोधे  “कसले बनायो यो ?”  उसले भनेकी थिई “मामाले ।”  को मामा ? उसले भनी  “भिजेको सुर्तीवाला मामा ।”  बाबाआमाले स्याउ जोखे।बजारभाउ अनुसारको पैसा हिसाब गरेर पठाइदिए ।

शिल्पी पैसा लिएर गई।उसले सङ्कोच मान्दै भनी  “मामा यो स्याउको पैसा !” उसले पैसा लिएर अलग्गै खल्तीमा राख्यो।शिल्पीले एउटा हिङको खाली डब्बा दिँदै भनेकी थिई “मामा तपाईंलाई यो सुर्ती राख्ने डब्बा उपहार !” उसले फेरि भनी  “मामा अब हामी नयाँ घर बनाएर सर्ने।बाबाआमा पर्सि नक्सा बनाउन जाने रे।हाम्रो पनि काठमाडौँमा घर हुन्छ अब।घर बनाएपछि म तपाईंलाई घरमा लिएर जान्छु।तपाईं हाम्रै घरमा बस्ने ल !” उसको मोबाइलमा ‘जाना तुम्हारी प्यारमे सैतान बन गया हुँ , क्या क्या बन्ना चाहा था बेइमान बन गया हुँ’  बजिरहेको थियो।शिल्पीको कुरा सुनेर ऊ धेरै रोयो।उसले भनेको थियो “भाग्यले न्याय गर्‍यो भने तिम्रो घर हेर्न अवश्य आउनेछु ।”

भोलिपल्ट शिल्पीले  भनी “ममा मेरो बाबाआमा तपाईंलाई भेट्न चाहनुहुन्छ ।” उसले भनेको थियो “अच्छा ! राम्रो कुरा हो ।” उसले सुर्ती मुखमा हाल्यो।शिल्पीलाई सजल आँखाले हेर्‍यो।एउटा सानो प्याकेट निकालेर शिल्पीलाई दिँदै भन्यो “यो तिम्रो बाबाआमा र तिमीलाई उपहार ।“  फेरि उसले एउटा गमले टाँसेको खाम दिँदै भन्यो  “यो खामभित्र एउटा चिट्ठी छ।तिमीले एसएलसी पास गरेपछि मात्र यो खाम खोल्नु र चिट्ठी पढ्नू  ।”  आज उसले स्याउ दिएन ।

 शिल्पी दौडेर डेरा पुगी।उसले सबैभन्दा पहिले बन्द खामलाई अर्को ठूलो खामभित्र राखी।फेरि बाबाआमालाई दिएको उपहारको कागज  खोलेर हेरी।कागजमा घरको नक्सा कोरेको थियो। प्याकेटको बाहिर सानो स्लिप टाँसेको थियो।‘भान्जीले दिएको स्याउको पैसाले  किनेको उपहार ! यसको महत्व कहिल्यै नबिर्सनू ।’  प्याकेटभित्र सुन्दर कलम थियो।

भोलिपल्ट शिल्पी बाबाआमालाई लिएर मामा भेट्न गई।तर ऊ त्यहाँ थिएन।

पाँच वर्ष पछि :

शिल्पीले अत्युत्तम ग्रेडमा एसएलसी पास गरी।अहिले उनीहरुको आफ्नै सानो घर छ।बैठककोठाको भित्तामा मामाले दिएको कलम सजाएर राखेकी छ उसले।कलमको ठीक तल मामाको अक्षरमा लेखिएको सन्देश चप्काएर राखेको छ ‘यसको महत्व कहिल्यै नबिर्सनू ।’ अर्कोतर्फ मामाले बनाएको स्केच टाँसिएको छ।शिल्पीको घर मामाले बनाएको नक्सा अनुसार बनेको हो।सबैले ‘कति राम्रो घर’ भनेर प्रशंसा गर्दा ऊ प्यारो मामालाई सम्झेर दङ्ग पर्छे।

उसले डराइडराई खाम खोली।त्यसमा दुई पाना फूल्स्केपमा यस्तो लेखिएको थियो :-

“प्यारी भान्जी ! मलाई विश्वास छ यो चिट्ठी पढ्दा तिमीले एसएलसी पास गरिसकेकी हुनेछौ।मेरो भित्री मनसाय तिमीले सानो उमेरमा यस्तो दर्दनाक घटना पढ्यौ भने कलिलो मनमा नराम्रो असर पर्ला भन्ने हो।मेरो नाम अरविन्द मोहन दास हो।मेरो घर भारतको झारखण्ड भन्ने राज्यमा पर्दछ।मेरा बाजे भारतीय स्वतन्त्रता आन्दोलनका योद्धा हुनुहुन्थ्यो।बीपी कोइराला र उहाँ एउटै जेलमा बस्नुभएको थियो।मेरो बाबा शिक्षक हुनुहुन्थ्यो।बाबाले ट्यूसन पढाएर हामीलाई पाल्नुभयो।शिक्षकको तलबमध्ये बीस प्रतिशत सामाजिक काममा लगाउनुहुन्थ्यो बाबा।पच्चीस  वर्ष लगाएर बचाएको बाँकी तलबबाट उहाँले शहरमा सानो घर बनाउनु भयो।तर विधाता मेरो बाबाको शहर बसाइमा मन्जुर थिएन।नयाँ घरमा बस्न थालेको छ महिना मात्र पुगेको थियो।एक दिन बाबा साइकल चढेर बजारतिर जानुभएको थियो।बाटोमै उहाँलाई एउटा बसले हान्यो।बाबा घर फर्कनु भएन ।

 विवाह हुँदा मेरो बाबा आठ वर्ष र आमा पाँच  वर्षको हुनुहुन्थ्यो रे।आमा सत्र वर्षकी हुँदा मेरो जन्म भयो।त्यसको डेढ  वर्षपछि  बहिनी चन्द्रिका जन्मेकी थीई।बाबा बितेपछि हाम्रो जीवनको मोड नै बदलियो।हामी झनै अनुशासित , परिश्रमी र मित्यव्ययी बन्दै गयौं।बा बित्त्दा म ‘स्कलरशिप’ पाएर सिभिल इन्जिनियरिङ पढ्दै थिएँ।बहिनीको हाई स्कूल गर्ने बित्तिकै विवाह भइसकेको थियो।

म मेरो कलेजको सबैभन्दा मेधावी छात्र थिएँ।मलाई मेरो विषय बाहेक इतिहास , भूगोल , सङ्गीत र कलामा पनि ठूलो चाख थियो।मैले नेपालको इतिहास पनि सोही समयमा पढिसकेको थिएँ।मैले विभिन्न प्रतियोगितामा ‘प्राइज’ पाउन थालेको हुँदा खर्चको दु:ख  पनि हुन छाड्यो।म अन्तिम वर्षको अध्ययन गर्दै थिएँ , अचानक मेरो जीवनमा अर्को जीवन ठोकिन आयो।कसरी भयो कसरी ! तेस्रो वर्षमा पढ्ने वान्छिनी मेरो जीवनमा आई।हुनेखाने घरकी ऊ पनि पढाइमा राम्रो थिई।उसलाई मेरो आर्थिक र पारिवारिक अवस्था थाहा थियो ।

एक दिन वान्छिनी र उसका साथीहरु आपसमा गफ गरेर बसेका थिए।म नजिकै पुग्नासाथ उनीहरु उठे , तर वान्छिनी त्यहीँ बसिरही।एउटीले मैले सुन्ने तर वान्छिनीले नसुन्ने गरी भनी “गुण्डाकी बहिनी ।”  मलाई कस्तो कस्तो लाग्यो।मैले वान्छिनीको दाजुलाई भेटेको थिएँ।ऊ प्रथम दृष्टिमा सरल र भलाद्मी देखिन्थ्यो।मैले वान्छिनीलाई भनेको थिएँ “तिम्रो दाइलाई गुण्डा भन्छन् नि थाहा छ ?” ऊ रुन थाली।उसले भनी  “मलाई मेरो दाइलाई कसै कसैले गुण्डा भन्दछन् भन्ने थाहा छ र मेरो दाइ गुण्डा होइन भन्ने पनि थाहा छ।हाम्रो देशमा राजनीति गर्ने सबै मान्छे गुण्डा हुँदैनन् तर  थोरै ‘दवङ्ग’ नभई राजनीति चल्दैन।म द्विधिमा परें।म न वान्छिनीलाई पूर्ण रुपमा अपनाउन सक्ने अवस्थामा थिएँ न त छोड्न नै।वास्तवमा ऊ निर्दोष थिई।राजनीति गर्ने मानिसलाई आरोपहरु लाग्नु पनि स्वाभाविकै थियो।

एक दिन वान्छिनीको दाजु मेरो घरमै आयो।ऊ अवर्णनीय रुपमा शालीन थियो।आमालाई धेरै सम्मान गर्दै कुरा गरेको थियो उसले।उसले स्वराज आन्दोलनमा मेरो बाजेको भूमिका र मेरो बाबाको गान्धीवादी चिन्तनको पनि प्रशंसा  गर्‍यो।दिवालीको समय थियो।मेरो फाइनल परीक्षा सकिएको हुँदा  ‘फ्री’ भएको थिएँ।त्यसै समयमा एक दिन एकजना साथी आएर भनेको थियो ‘वान्छिनीको दाइको समाजमा ठूलो प्रभाव छ।उसले धेरै गरिबहरुलाई उद्धार पनि गरेको छ।तर उसको एउटा बानी साह्रै नराम्रो छ भन्छन् मानिसहरु।उसले धेरै परिचित महिलाहरुलाई आफ्नो यौन पिपासाको शिकार बनाएको छ रे।धेरै जसो इज्जतको डरले चुप लाग्दछन्।कोही बोल्न खोज्यो भने उसले ठेगान लाइदिन्छ ।’

ऊ एक दिन साँझ मेरो घरमा आयो।मैले उसलाई चिसो स्वागत गरें।मेरो बहिनी पनि हामीसँगै थिई।तीन वर्षकी भान्जी शिल्पीले घरै उज्यालो पारेकी थिई।ऊ गर्मी भयो छतमा जाऔं भन्दै छततिर लाग्यो।यन्त्रवत उसलाई पछ्याउनु बाहेक मेरो कुनै उपाय थिएन।यत्तिकै सङ्का गरेर केही भन्नु पनि सम्भव थिएन।केही बेरपछि उसका तीनजना साथिहरु आए।उनीहरुले मलाई प्लास्टिकको डोरीले बाँधे र मुखमा पट्टी बाँधिदिए।हेर्दा हेर्दै तीनै जनाले मेरो आँखा अगाडि पालै  पालो आमा र बहिनीलाई बलात्कार गरे ।

गुण्डामा कुनै पनि अपराधबोध थिएन।मेरो मुखको पट्टी फुकाउँदै उसले भनेको थियो ‘चुपचाप बस्नु र यिनीहरुलाई पनि चुप लागेर बस्न भन्नू।हामी कहीँ पनि दोहोर्‍याएर आउने गर्दैनौं ।’ तर मैले भनेको थिएँ ‘कान खोलेर सुन् म तँलाई छाड्नेवाला छैन ।’ ऊ अच्छा ! भन्दै गयो।हामी रातभरि रोएर बस्यौं।बिहान उज्यालो हुने बित्तिकै पुलिस आएर मलाई समातेर लग्यो ।

पुलिसको भनाइ थियो  मैले नै पैसाको लोभमा परेर मेरा गुण्डा साथीहरु ल्याएर आमा र बहिनीलाई बलात्कार गर्न लगाएँ।पुलिसको भनाइ थियो बाँधिनु र मुखमा पट्टी लगाउनु त मेरो नाटक मात्र थियो।पुलिसले मेरो घरमा गएर पैसा बरामद गरेको मुचुल्का समेत बनायो।शहरभरि मेरो बेइजती भइरहेको थियो।मैले बलात्कार गराएको भनेर पत्याउनेहरु मेरो घोर निन्दा गर्दै थिए भने विश्वास नगर्नेहरु चुप थिए।पुलिसले मिडियाले मलाई  ‘हैबान’ को रुपमा प्रस्तुत गरेका समाचारहरु  ‘ल हेर्’  भन्दै देखाइरह्यो।मसँग रुनु बाहेक कुनै उपाय बाँकी थिएन ।

भोलिपल्ट पुलिसले मलाई  ‘कोर्ट’ मा लिएर गयो।त्यहाँ औपचारिकता पूरा गर्नु  बाहेक गर्नुपर्ने केही थिएन।समाजसेवामा नाम कमाएको बलात्कारी गुण्डा सिढी चढ्दै म भएतिरै आउँदै थियो।मेरो एउटा हातमा हतकडी थियो।मेरो वरिपरी आठ दश जना पुलिस थिए।एक जनाले हकडीको सिक्री समातिरहेको थियो।ममा कहाँबाट शक्ति आयो थाहा छैन।मैले गुण्डालाई एउटा हातले उचालेर सिढीको रेलिङ नघाएर खसालिदिएँ ।ऊ फर्समा पछारिएर मर्‍यो।पुलिसको ध्यान गुण्डातिर गएको मौका छोपेर म बिजुली जस्तै गतिमा भागें।एउटा झोपडपट्टी मा केटाहरुले भिडियो खिचेर रमाइलो गर्दै थिए।मैले त्यही समूहको कलाकार जस्तो स्वाङ्  गरेर एक जनालाई हतकडी काट्न लगाएँ ।

मसँग जम्मा बाह्र सय रुपियाँ थियो।त्यही पैसाको भरमा देहातको बाटो हुँदै सात दिन लगाएर नेपालको सिमानाभित्र पस्न सफल भएँ।मलाई पूरै भारतको पुलिसले खोजिरहेको छ।मेरो आमा, बहिनी र भान्जी कहाँ छन्, के गर्दै छन्, उनीहरुको मप्रतिको धारणा के छ,  वान्छिनी के गर्दैछ मलाई केही थाहा छैन। परिचित हुनसक्ने हरेक सम्भावनालाई पराजित गर्नु नै अहिलेको लागि मेरो एक मात्र उपाय हो।मैले तिम्रा बाबाआमालाई भेट्नु  उचित हुँदैन।म भोलिदेखि सायद बालाजुतिर जान्छु होला ।

र अन्त्यमा – तिमीले दिएको डिब्बा मेरो जीवनको अमूल्य उपहार हो।अब म कहिल्यै भिजेको सुर्ती खाने छैन ।”

शिल्पी दौडेर बालाजुतिर गई।किन्तु मामा कतै थिएन।उसले हुलिया बताउँदै  ठेलावालाहरुलाई सोधिरही।चार घण्टाको प्रयासपछि एकजनाले भनेको थियो  “सायद इन्डियाका पुलिस पकरके ले गया ।”