बिचरो चरो   

भागवत खनाल

बिचरो चरो

बिचरो वृद्ध चरो खुला आकाश हेर्दै

सुदूर क्षितिजतर्फ आफ्नो गन्तव्य निहार्दै छ

अवको भेट को संग कस्तासंग होला

त्यहाँ कस्ता होलान पात्रहरु ?

अवको बास कहाँ होला ?

अज्ञात त्यो तिलस्मी दुनियामा के के होला

नियतिले  कस्तो कर्तव्य सुम्पने होला ?

कल्पना गर्दै छ रे बिचरो चरो

बिचरो बृद्ध चरो अझै पनि भुत्ते पंख फडफडाउदै

अग्लो वृक्षको सर्वोच्च शाखासम्म पुग्ने चाहनाले

उडान गर्न बलात प्रयास गर्दै छ रे

किन्तु

नियतिले उसलाई त्यो गगनचुम्बी वृक्षको

सबैभन्दा तल्लो , मक्किएको  शाखाभन्दा माथि जान रोक्दै छ

अव बिस्तारै बृद्ध चरोले आफ्नो गन्तब्य चिन्दै छ रे

बचेराहरु दूरदेशतिर उडेर गए , यताको चारो मन परेन रे

आज बबुरो चरो आफ्ना बचेराको पेट भर्न

आफूले पटुका कसेर पर परबाट चारो बटुलेको याद गर्दै छ

अरुको पोषणमा आफू पोषित भएको याद गर्दै छ

अरुको रमणमा आफू रमाएको याद गर्दै छ

आफ्नो खाउँ खाउँ लाउँ लाउँ भन्ने यौवनको समयमा

आफ्ना इच्छाहरु अरुका लागि समर्पण गरेको याद गर्दै छ

अरुको किलकारीमा स्वर्ग देखेको याद गर्दै छ ,

कसैको विस्टामा सुवास छाएको याद गर्दै छ

काँधमा चढी कसैले सु सु गर्दा अमृतधारा वर्षेको याद गर्दै छ

उत्सर्ग प्रेम याद गर्दै छ रे

तर आज बृद्ध चरो पित्तलसरी भएको छ रे

ठूलो कोलाहलवीच निरालाम्ब निराधार र एक्लो  ऊ

बिहानै ” सन्चै हुनुहुन्छ नि ” भन्ने दूध पसलेको मायाको सहारामा छ रे

बिचरा बृद्ध चरो

शीला खोजेर बनाएको आफ्नो बेवारिसे हुने संघारमा पुगेको गुणतिर

डवडवाउंदा नयनले निहार्दै छ

अचेल बृद्ध चरो कसैले दूरदेशबाट ” हाई , नाउ आई एम बिजी कल यु लेटर ” भन्छ कि भनी

रातभरी ” अनलाइन ” बस्छ रे , स्वार्थी जो छ

आफ्नै मिथ्या महत्वाकांक्षा र अहंकारको  शिकार भएको छ  , आफ्नो राम आफै हेर्दै छ

आज ऊ आफैमा आफैलाई खोज्दै छ , म को हुँ भनी चिन्ने व्यर्थ प्रयाश गर्दै छ

बेदना कसैलाई सुनाउदैन , घरको मामिला गोप्य राख्नु पर्छ

सार्वजनिक स्थलमा रुनु हुदैन , आज बिचरो चरो अन्धकार कुनामा लुकेर एक्लै रुन्छ रे

कालको निर्मम प्रहार सहँदै , हातबाट गाण्डिव झरेको अर्जुन बन्दै छ

आफ्नो ” लावारिस जनाजा ” आफै  कुर्दै छ रे  

आफूलाई आफैमा समेट्ने अनधिकार चेष्टा गर्दै

आज बृद्ध चरो

आफू जन्मनु र अरुलाई जन्माउनुको कारण खोज्दै छ , बिधातासंग जवाफ माग्दै छ

जीवनको यस मुकाममा आज ऊ आफ्ना दिवंगत जनक र जननीसंग

आफूलाई जन्माउनुको प्रयोजन सोध्दै छ र

” हे विधाता मलाई यहाँ पठाउनुको उद्देश्य बता ” स्पष्टीकरण माग्दै छ रे

तर विधाता मौन  छ

             विधाता पनि स्वार्थी छ क्या रे चुपचाप उसको राम हेर्दै छ रे

             अव अर्को मिथ्या र प्रयोजनहीन जिम्मेवारीको लेखा कोर्दै छ कि ?

शायद विधाता पनि अर्को निष्ठुर बिधाताको

विधानको बन्धनमा बद्ध छ रे ।