राधा राधा      

 

     राधा राधा

   पीडित बहिनी राधा चौधरीमा समर्पित   

 

-भागवत खनाल 

राधा म आततायी हुँ आतंकी हुँ नाराधम हुँ

राधा राधा म निर्लज्ज कुलंगार हुँ बज्रस्वांठ हुँ

म तिमीमाथि अन्यायको कालो इतिहास हुँ

म तिम्रो अस्मिता तान्ने दु:शासन हुँ ।

म बलात्कारी ईन्द्र हुँ

म तिम्रो पाणीग्रहण गरी तिमीलाई मकवानपुरगढ़ीमै छाडेर हिड्ने

बडा महाराज हुँ

म तिमीलाई हेलम्बुबाट घिसार्दै ल्याई आर्यघाटमा पोल्ने भीमसेन हुँ

म हजारौ राधालाई सतीघाटमा बालेर संस्कृतिको जगेर्ना गर्ने इतिहास हुँ ।

म कुरूप फोहोरी लहडी हुँ पिसाच हुँ मलीन हुँ

राधा म समाजरुपी जाली सैतान हुँ ब्वाँसो हुँ कायर हुँ

म मात्रीभूमिको भार हुँ दुर्गन्ध हुँ

राधा म नग्न नृत्य हुँ घाती हुँ पातकी हुँ म दुष्टात्मा नरक हुँ ठग हुँ ।

राधा राधा म मेरै मुहारमा पोतिएको कालिख हुँ

म कुकर्मी हुँ कुसंगी हुँ ढोंगी हुँ

म मिथ्या क्रान्ति गर्ने निशाचर क्रान्तिकारी हुँ

म रुख सूर्य र हसिया हथौडाको लज्जाहीन कार्यकर्ता हुँ

मशाल बोकेर मुलुक अँध्यारो पार्ने मै हुँ , म ढाँट , झुट्ठा र मक्कार हुँ ।

मै सगरमाथाको शिखरमा धव्वा लाउने हरामी हुँ

राधा राधा शिक्षक बनी गाउँमा बोक्सी हुन्छन भनी सिकाउने मै हुँ

तिम्रो चेतनालाई उठ्न नदिने समाज सुधारक मै हुँ

तिमीमाथि अविरल लाठी प्रहार गर्ने धामी मै हुँ ।

तिमीमा निर्मम प्रहार हुँदा ” ठीक छ ” भन्ने तिमीले भोट दिएर चुनेको नेता मै हुँ

तिमीलाई छाउ गोठमा थुनेर परम्परा जोगाउने बेशरम पति मै हुँ

राधा म कपुत हुँ प्रतिगमन हुँ निर्लज्ज आडम्बर हुँ कुकृत्य हुँ ।

राधा म दालमंडीको दलाल हुँ म आमा दिदी बैनीलाई

बम्बाई , अरव र अफ्रिकामा बेच्ने अघोरी हुँ

राधा म दरवारमार्गको बलात्कारी हुँ , म नै ठमेलको मध्यरातको सौदागर हुँ ।

बोक्सीको आरोपमा जैतुननिसा , सुशिला खातुन , सीतादेवी , कुश्मादेवी र कान्तिदेवीलाई

निर्घात कुट्ने मै हुँ , मै ढोगनी देवीको हत्यारा हुँ

राधा म लाज पचेको राजनीति हुँ , नकचरो मानव अधिकार हुँ

म नै शरम हराएको टोल छिमेक हुँ , मै तिम्रो भक्षक हुँ

राधा म मेरै अस्तित्वमा घसिएको कालो मोसो हुँ

म मिथ्याचारी गफाडी नागरिक समाज हुँ , खन्चुवा एनजीओ हुँ

म ” तिमीलाई हिर्काउदा कस्तो महसुस गर्यौ ? ” भनी सोध्ने सम्बेदनहीन पत्रकार हुँ

राधा म तिम्रो घातक हुँ , अस्मिताको पातक हुँ ,

म लाठी प्रहारले तिम्रो रगतको थोपा थोपा झर्दा ” अव भयो नापिट ” नभन्ने पापी बडघर हुँ

राधा म तिमीले थुक्न पनि नसुहाउने अनुहार हुँ

राधा राधा म दुर्मुख बिकराल घोर अन्याय हुँ ।