नेपाल आमा र हामी


भागवत खनाल
नेपाल आमा
तिमी सगरमाथाकी जननी हिमशैलकी
छर्दी शीतल कर्णाली गण्डकी महाकालिकी
माइती सती सीताकी कर्मक्षत्र बिराटकी
तिमी नै प्रेरणास्रोत सिद्ध गौतम बुद्धकी
परीकी तिमी फूलबारी शिवकी आश्रयस्थली
सुरम्य उपवनबीच क्रिडास्थल लवकुशकी
कामधेनु सरी दानी बैकुण्ठ मर्त्यलोककी
पुण्य प्रतापले पूर्ण ईर्ष्या स्वर्ग निवासिकी
एसिया बीचकी सान चम्कदी फक्रदी सदा
स्वाभिमान उँचो राखी सार्वभौम सदा सदा
पस्दो फिरंगी फर्काई जोगाई मान देशको
बगाई रक्त औ काढी पसिना देह देहको
तिमी रक्षक हिमाली रुपकी तरवार ली
तिमी भक्षक संहारी काल वन बिकराल ली
तिमी समृद्ध पृथ्वीको माझमा धनधान्यले
तिमी नै करुणा खानी बनेकी स्वाभिमानले
हामी
हरियाली सबै पारी पूरा समाप्त नै झन
भन्नु खै कसरी आज वन नेपालको धन
आमाको छातीमा मुडकी हानी बेस्कन जोडले
पुकार्ने कसरी जय जय जननी कुन मोहले
स्वार्थी दल दलमा व्यर्थै बाँडिई कुविचारको
भन्नु खै कसरी कुर्ली मै सपुत नेपालको
शान्तिप्रिय सबै जाति हाहामा अरुको परी
धापमा भास्सिदै जाँदा कैल्यै न उठने गरी
माटोमै उफ्रदै माटो उदाई बुङ्ग बेगले
सगौरव कसरी भन्नु जय जय जय रास्ट्र वाद रे
चिमोटी मुटुमा किलो ठोकी वीच ललाटमा
सुखमा कसरी बाच्नु दुखाई राष्ट्रको मन
खोसाखोस गरी पारी विरामी राष्ट्रको तन
सुरक्षित कसरी मान्ने विना रोग निदानमा
दुखेको मन आमाको दुखेको शिशुको तन
यी मातृ शिशुको पार लाउने कसले भन
बखानी नाम पुर्खाको सौगरव इतिहासको
पाली आलश्य साँचेर पसिना देह देहको
गरी भाषण विश्वको गनिने धनीमा भनी
यसरी कसरी खाने सधै दिन गनी गनी
