महामूर्खलाई दश रुपियाँको ट्यूसन

भागवत खनाल 

यी हुन देवीप्रसाद, देवीप्रसाद शर्मा ।यी स्नातक हुन । सरकारी सेवामा अफिसर थिए, सात आठ वर्ष भयो अवकाश भएको ।अहिले पैसट्ठी नाघे, स्वास्थ्य त्यति अनुकूल छैन, तर बूढा अझै पनि जोसिला नै छन् । आज के मन लाग्यो लाग्यो बूढाले टन्न रक्सी खाए । देवी बूढा मान्छे मायालु र दयालु नै हुन, तर रिस सधै नाकको टुप्पामा वसेको हुन्छ । यी हार्न तयार हुन्नन्, जित्नै पर्छ, जित्न नसके रिसाउँछन । रिसाएको बेलामा यिनीसंग जसले जोरी खोज्यो, त्यो पर्यो यिनका फेला ! त्यसै त अग्निशर्मा स्वभाव, अझै एक्लै रक्सी खाएर झुम्म परेको बेला ! आज वैदेही बजै सतर्क छन् बूढासंग । बजैलाई थाहा छ, यो बेलामा यिनीसंग जोगिनु नै वेश । बजै जान्दछिन बाजे जति  रिसाहा र मुखाले छन्, यिनको हृदय त्यति नै कोमल छ ।यी दयालु छन्, कसैलाई दुख दिने, सताउने, लोभलालच गर्ने र लडाउने भिडाउने काम गर्दैनन् । झनक्क गर्छन, एकछिनपछि आफै पछुताउँछन्, तर रिसाएको मौकामा निहुँ खोज्यो र घिउ थप्ने काम भयो भने यिनको रिस एक दिनसम्म टिक्न बेर लाग्दैन ।

रक्सी खाएर मस्त छन् बाजे, गफगाफ गर्ने मन पनि छ । तर कोसंग गफ गर्नु ! बजै डरले परपर छन्, घरमा अरु कोही छैन ।छोरा, बुहारी, छोरी सवै विदेशतिर छन् । सुरु सुरुमा त छोराछोरी विदेश जाँदा बूढा पनि भित्र भित्र मक्ख परे, तर अहिले खुसी छैनन् । त्यस्ता प्रतिभासम्पन्न छोरा, बुहारी, छोरी र ज्वाईंहरु आज स्वदेशमा भएको भए कत्रो नाम, दाम, सान र इज्जत हुन्थ्यो, अहिले फिरंगीको नोकर भएर बसेका छन् सात समुद्र पारी I

आज निद्रा लाग्ने छाँट छैन, बूढाले फेरी ठूलै प्याग सटक्क पारे । यही नशाको मादकतामा बूढा आफ्नो वचपनमा पुगे ।

देवे ( वचपनमा साना ठूला सवैले देवी प्रसादलाई बोलाउने नाम ) अहिले बाह्र पुगेर तेह्रमा छ ।मङ्सिरको महिना, स्कूलमा अन्तिम परीक्षा सकियो । देवेले छ कक्षाको परीक्षा दियो । उसले यसै वर्ष मात्र तीनओटा स्कूलमा पढ्यो । देवेको घरबाट चारै दिशामा बढीमा एक घन्टाको बाटोमा दुईओटा माध्यमिक, एउटा निम्नमाध्यमिक र एउटा प्राथमिक गरी चारओटा विद्द्यालय छन् । देवे कहीं पनि टिक्न सक्दैन । जुन स्कूलमा जान्छ, उसलाई मास्टर मन पर्दैनन्, मास्टरले उसलाई मन पराउँदैनन् । देवेले स्कूल छोडदाको दिन कुनै कुनै मास्टरको लागि त जीवनकै खुसीको दिन हुन्छ सवै केटाकेटी मास्टरले पढाएको बुझे पनि नबुझे पनि चुपचाप सुनेर बस्छन् । मास्टरले बुझ्यौ ? भनेर सोध्दैनन, छात्रछात्राले बुझिम या बुझेनम केही पनि भन्दैनन ।

तर देवे कहिल्यै चुप लागेर नबस्ने । उसले बुझेको कुरा अझै बढी बुझ्न खोजेर प्रश्न गर्ने, नबुझेको कुरा बुझिन मास्टरजी भनेर सोध्ने, मास्टरलाई सोधेको मन नपर्ने ।देवे यस्तो चोथाले कि मास्टरले चुप लागेर बस् भन्यो भने नबुझेको कुरा नसिकाउने भए किन मास्टर भएर आको ? घरमै बसेर भकारो सोहोर्नु, खरबारीको काँडा फांडनु नि भनेर मुख खेलाइहाल्ने । यस्तो सुनेपछि सवका सव केटाकेटी गलल्ल हाँस्थे, किसानका छोराछोरी यी काम ’bout जानकार थिए, रमाइलो मान्थे हाँस्थे । मास्टरले  रातोपिरो हुँदै चुप लाग भन्दै लौरो देखाएपछि सवका सवै डराउँथे, तर देवेले मास्टरको मुखमा हेरिरहन्थ्यो, डराए पो ! मास्टरले हेड मास्टरलाई देवेको कारण सारा कक्षा दूषित भएको कुरा सुनाउँथे । मास्टरले कितावमा लेखेको कुरा पढेर सुनाउने हो,  दायाँ बायाँ जाने पो जवाफ दिनु भन्ने कुरा देवेलाई के थाहा ।

मास्टर बिचरा पनि के गरुन, केटाकेटीको अगाडि जान्दिन भन्नु भएन, नजानेको कुरा हेडमास्टरलाई सोधम लाज हुन्छ, अरु मास्टरलाई सोधम उनीहरु झन् आफै त महादेव ! कतै पढेर तयारी गरम गाउँमा न पुस्तकालय न पुस्तक । हेडमास्टर थोरै बुझेका र पढेलेखेका नै हुन्थे तर उनको सफलता शान्तिसंग स्कूलको प्रशासन चलाउनु र विद्द्यार्थीलाई अनुशासित राख्नुमा आधारित हुने हुँदा मास्टरकै कुरा सुन्ने भए ।कारवाहीको भागी हुन्थ्यो देवे ।

देवेका बाबु गौरीप्रसाद उपाध्याय आजित छन् देवेसंग । उनलाई यत्ति थाहा छ आफ्नै छोरो बदमास हो । नत्र जुन स्कूलमा भर्ना भयो तीन चार महिना पनि नटिक्ने कहीं हुन्छ ?  अरु कसैका छोराको विषयमा केही सुनिदैन, आफ्नो छोरो यस्तो लन्ठु छ । गौरी बूढालाई थाहा छ यो देवेको लागि अन्तिम स्कूल हो ।यो स्कूलबाट पनि निस्क्यो या निकालियो भने देवे अरु कुनै स्कूलमा जान मान्ने छैन । कदाचित उनले लतारेर लगे भने पनि भरसक एउटा निहुँ बनाएर कुनै स्कूलले पनि देवेलाई भर्ना गर्ने छैन । गौरीप्रसाद आफू बस्ने टोलका पाका मानिसमध्य   विद्द्यालय भर्ना भई शिक्षा प्राप्त गरेका एक मात्र व्यक्ति हुन ।हुनत उनको टोलमा उनका छिमेकी र दाजुभाइ  जागिर खाएका, जिम्मेवाल र पटुवारीको जिम्मेवारी पूरा गरेका पनि छन्, तर उनीहरु कोही पनि विद्द्यालय भर्ना भएर पढेका हैनन् ।

गौरीप्रसाद पन्ध्र सोह्र वर्षको हुँदा काठमाडौं गई तीनधारा पाकशालामा पढेका थिए । उनले करिव चार वर्ष नेपाल  बसेर पढे । तर शैक्षिक उपाधि प्राप्त हुनु अगावै पढाइ छाडे । उनलाई आफ्नो घर भएको स्थान पाल्पाबाट नेपाल आउन नौ दश दिन लाग्ने, आउन जानकै हैरान हुन्थ्यो । उनले राजा त्रिभुवनलाई देखेका रहेछन, महाराज जुद्ध शमशेरलाई देखेका रहेछन नेपाल बस्दा ।सिंहदरवार, हनुमान ढोका, धरहरा, घन्टाघर, रानीपोखरी, पशुपति, केशर महल र जुद्ध सडकको खुव बखान गर्थे । जुद्ध सडक उनी नेपाल बस्दाको समयमै बनेको हो, धरहरा पनि उनले देख्दा देख्दै मर्मत भएर ठडिएको रहेछ ।

नून बोक्न बटौली जानु बाहेक गाउँ छोडेर कहीं नगएका गाउँलेहरु राजालाई देखेको, राजा महाराजको हातबाट टिका थापेर सिंगै एक रुपियाँ दक्षिणा पाएको मान्छे आफ्नै अगाडि देख्दा रोमान्चित हुन्थे । गौरी प्रसाद जति इमान्दार, सत्यवादी, दयालु र सहृदयी थिए त्यत्ति नै रिसाहा र झोंकी पनि । तर यी बाजे रिसाउने ठाउँ भने एउटा मात्र थियो, त्यो थियो आफ्नो घर आँगन । बाहिर त यिनीजस्तो शान्त र सौम्य मान्छे पाउन गाह्रो थियो । यिनको सिद्धान्त थियो कसैको एक सुको लोभ नगर्नु, बरु भोकै बस्नु, तर ढाँटेर, छलेर र लुटेर नखानु ।

गौरीप्रसादले स्कूलका मास्टरलाई चिन्दथे । एक दिन उनले एकजना नाम चलेको मास्टरलाई सोधे, बाबु देवेको पढाइ कस्तो छ ? मैले बेसरी हकारिरहन्छु, कहिलेकाहीं थप्पड पनि हान्छु, कान पनि निमोठ्छु । बा मैले केही गरेको छैन, केही बिराएको छैन, मलाई त्यसै दोष दिन्छन भन्छ । अहिले त अलि बेहोरा सप्र्यो कि ? मास्टरले भने हेर्नुस पण्डितजी तपाईंको छोरो सुध्रिने मान्छे नै हैन ! अनुशासन छैन, मास्टरहरुले भनेको मान्दैन, चाहिने नचाहिने प्रश्न सोध्ने, किलासमा त्यत्रा केटाकेटीको अगाडि मास्टरहरुलाई लाजको मर्नु गराउने बानी छ । कुरा धेरै जान्ने तर पढाएको कुराको मतलव नगर्ने आदत छ । मास्टर भनेका गुरु हुन्, गुरुले भनेपछि पटकपटक सोधेर सताउने स्वभाव त राम्रो हैन नि ।

एकदिन झन् केटाकेटीले जानुन भनेर नेपालको प्रधानमन्त्री को हो थाहा छ ? नेपालको प्रधानमन्त्रीको नाम डा. तुलसी गिरी हो भनेको, अरु सवैले कापीमा लेखे, देवेले त प्रधानमन्त्री भनेको के हो भनेर पो सोध्छ ! सोध्ने काम मास्टरको हो, सुन्ने काम केटाकेटीको हो भन्ने पनि थाहा छैन तपाईंको छोरोलाई ।देवे लफंगो छ, यसलाई अलि तहमा राख्नुस है, नत्र स्कूल छोड्नु पर्ला । बाजेले सोधे, बानी त म पिटपाट गरेर पनि सुधारम्ला, पढाइ कस्तो छ बाबु ? मास्टरले भने पढाइमा झन् राम्रो छैन, अस्तिन अर्धवार्षिक परीक्षामा सात विषयमध्य चार विषयमा मात्र टुपुक्क पास भयो, तीन विषयमा आलु खायो । सजिला सजिला प्रश्नको जवाफ पनि जे पायो दिने, कि रित्तो कापी बुझाउने । अव मङ्सिरमा वार्षिक परीक्षा छ, यस्तै तालले कसरी पास हुनु ? महामूर्ख छ तपाइंको छोरो ।

विचरा गौरी बाजे ! आफूले धेरै पढ्न नसके पनि रुद्री, चण्डी, दुर्गा सप्तशती मुखाग्र छ । कर्मकाण्ड सम्बन्धी सवै कार्य गराउनको लागि कितावको आवश्यकता पर्दैन । निर्णयसिन्धुमा लेखिएका कुरा सवै याद गरेका छन्, फुटालेर भागवतको पद लाउन त सक्तैनन् तर शुद्ध पाठ गर्न सक्छन । गीतापाठ मुखाग्र गर्छन । सानोतिनो किसानी र यही पढाइबाट प्राप्त ज्ञानको आधारमा कपोतवृत्ति गरेर जहानबच्चा पालेका छन् । बाजेलाई आफूले वीचैमा पढाइ छाडेकोमा ठूलो पश्चाताप छ । अरु चार वर्ष नेपालमा टिकेको भए अथवा काशी हरिद्वारतिर गएर पढेको भए अहिले व्यासको आशनमा बस्न पाइन्थ्यो । पूरा लवज फोरेर पद लाउन नसक्ने भएकाले भागवत पुराणमा उपवाचकमा चित्त बुझाउनु परेको छ, अलि बढी पढेको उपवाचक खोज्नेले त त्यो पनि पत्याउँदैनन्, गणेशमा सीमित हुनुपर्छ, कहाँ व्यासको आशन, कहाँ द्वारपाल जस्तो गणेश !

यही सम्झेर बाजेले जेठो छोरालाई पण्डित बनाइछाड्ने शंकल्प गर्दै मटिहानी पठाए ।जेठा अलिवर्ष मटिहानी बसेर हरिद्वार पुगे । पढ्नमा राम्रै थिए, तर पढाइ छाडेर हिन्दुस्थानको फौजमा भर्ति हुन पुगे । छोरा पढेर आउला, व्यास होला, भागवत भन्ला, चारै दिशामा फलानाको छोरो त ठूलो पण्डित भएछ भन्लान, आफ्नो शाख चल्ला भनेर कत्रो आशा लिएर बसेका गौरीप्रसादको सपना जेठो छोराले तुहाइदियो । उनले मनमनै अठोट गरे बाँकी छोरालाई दशसम्म गाउँमै पढाउँछु, त्यसपछि देखाजाला ।बरु गोवर सोत्तर गरेर खालान, निधार थापेर खालान, मुग्लान त मरे पठाउन्न ।

यसरी तुषारापात गर्दै छन् छोराले पालैपालो बाजेको सपनामा । बाजेलाई खपिनसक्नु भएको छ । यो देवे माइलोलाई  कसरी तहमा राख्ने होला ? सोह्र श्राद्ध शुरु भइसक्यो, वार्षिक परीक्षा आउन जम्मा दुई महिना बाँकी छ । संयोगले बाजेको स्कूलका हेडमास्टर पछिका नामी मास्टरसंग भेट भयो । उनले मास्टरलाई सोधे, बाबु देवेको पढाइ कस्तो छ ? मास्टरले जवाफ दिए तपाईंको छोरो तपाईं जस्तो सिधा लाइनको छैन । ऊसंग धेरैजसो किताव छैनन्, फोल्टिन कहिल्यै गतिलो हुन्न, कापीभरि कोर्सबाहिरका के के हो के के लेखेर भर्छ, महामूर्ख छ ।बाजेले भने बाबु यो एक वर्षलाई जसरी पनि किलास चढाइदिनु पर्यो, अर्को वर्ष त म जसरी पनि ठीक पार्छु यो कुलंगारलाई । मास्टरले भने हेर्नुस, अरुको छोरो भए कहिले स्कूलबाट निकालिन्थ्यो, तपाईं चिनेजानेको र सज्जन मान्छेको छोरो, पछि सुध्रिहाल्छ कि भनेर ननिकालेको पो त । तर पास हुन त मुस्किलै छ । बाजेले हात जोडेर भने, के उपाय छ त बाबु ? मास्टरले भने, ट्यूसन पढाउनुस ।

आजभन्दा बाउन्न त्रिपन्न वर्ष अघिको समय । विगत आठ वर्षको दौरानमा पाल्पाको त्यस इलाकामा शिक्षाको खुव प्रचार भएको थियो ।सवै जनतामा केटाकेटीलाई पढाउनु पर्छ भन्ने चेतना फैलिएको थियो । अशिक्षित र अकिन्चन जनतालाई यत्ति थाहा थियो छोरा पढाउनै पर्छ र सके छोरी पनि ।स्कूलको कोठा र बेन्च डेस्क बनाउँन मास्टरहरु आफै चन्दा उठाउन हिड्थे, न कुनै पारिश्रमिकको आशा, न लोभ , न कुनै स्वार्थ ।शुद्ध समाजसेवाको उद्देश्यबाट स्कूल खुले ।स्कूल त खुले तर पढाउने कसले ? सरकारले दिएको अनुदानले दुई जनाभन्दा बढीलाई तनखा दिन पुग्दैन , एक देखि दशसम्म पढाउन कम्तीमा दश जना मास्टर चाहिन्छ ।स्थानीय युवकहरु कोही बल्ल तल्ल आई ए पास गरेका , कोही आई ,एस्सी पास गरेका र हेडमास्टर एकजना बी ए पास गरेका जुटेका छन् ।

अरु छ सात जना त कोही दश पास कोही आठ पास र कोही त अनुभवको आधारमा मात्र छ सातसम्म पढाउँथे ।स्नातक गरेका हेडमास्टर र आई ए, आई एस्सी गरेका मास्टर आठ, नौ र दशलाई पढाउन ठीक्क हुन्थ्यो ।त्योभन्दा तलका कक्षामा जो भेटियो त्यसैबाट काम चलायो । तर यस्तो वातावरणमा पनि कताबाट ट्यूसन पढाउने हावा पुग्यो गाउँमा । एक दुईजना हुनेखाने गाउँलेले आफ्ना बिग्रेका केटा सपार्न सकिन्छ कि भनेर घरमै मास्टर बोलाएर बिहान छ सात बजेदेखि नौ बजेसम्म ट्यूसन पढाउने व्यवस्था मिलाएका थिए ।उनीहरुको मूल उद्देश्य बिहानभरि कडा मास्टरलाई ल्याएर घरमा राखेपछि केटाहरु अनुशासनमा बस्छन, केही न केही सिक्छन, र परीक्षामा पास पनि हुन्छन भन्ने थियो । केटाकेटीहरुले कति पढे र जाने भन्दा पनि कति अनुशासनमा बसे र क्लास चढे भन्नेमा ध्यान थियो अभिभावकको ।

गौरी बाजेले पनि एकजना तुलसीराम  सुस्केरा भन्ने मास्टरलाई देवेलाई ट्यूसन पढाउने जिम्मा लगाए ।ट्यूसन फी महिनाको दश रुपियाँ तय भयो ।पहिलो किस्ता बाजेले तत्कालै पेस्की दिए ।अर्को किस्ता दोस्रो महिना पूरा हुनुअघि बुझाउने कवुल गरे ।यी तुलसीरामले काशीतिरबाट हाईस्कूल पास गरेका थिए ।हिन्दी बोल्न जान्ने , हिन्दुस्थानतिरका अनेक  कुरा गर्ने गफाडी थिए ।यी कडा भएको हुँदा केटाकेटीहरु यिनीसंग थर्कमान थिए , तर यिनले के के जान्दथे र कस्तो पढाउँथे भन्ने कसैलाई पनि पत्तो थिएन । शिक्षक कति योग्य छ भन्दा पनि केटाकेटीलाई कति कावुमा राख्न सक्छ भन्ने कुराबाट उसको मूल्यांकन हुन्थ्यो ।तुलसीरामलाई सवैले सुस्केरा मास्टर भनेर चिन्थे ।यिनको नाम तुलसीराम हो भन्ने त थोरै मानिसलाई मात्र थाहा थियो ।बाजेले पनि सुस्केरा मास्टरले देवेलाई पढाइमा तगडा बनाउलान भनेर हैन , एउटा  कुरा कावुमा राखेर बानी सुधार्लान र अर्को कुरा देवे पास भएर सात किलासमा जाला भन्ने आशा थियो ।

देवेको ट्यूसन त सुरु भयो , तर मास्टरलाई नै थाहा थिएन ट्यूसन भनेको के हो र कसरी पढाउने ।उनी बिहान सातै बजे केटाहरु पढाउने घरको दलानमा पुग्थे ।बरा केटाहरु आँखा मिच्दै जम्मा हुन्थे र थपक्क मास्टरको अगाडि बस्थे ।मास्टरले आफ्नो मूड अनुसार पाठ दिन्थे ।उनको काम कुनै पाठ पढाउने र सिकाउने भन्दा पनि फलानो कितावको फलानो पाठको पाना पल्टाएर पढ केटा हो , हल्ला बात भन्थे ।केटाहरु पाना पल्टाएर कितावमा हेर्न थाल्थे , सास पनि विस्तारै फेर्थे विचराहरु ।उनीहरुको परम उद्देश्य केही सिक्ने भन्दा पनि जन तन यो बिहान सुस्केरा मास्टरको लट्ठी र बेल्टको प्रहारबाट जोगिने हुन्थ्यो ।देवे पहिलो दिन ट्यूसन जाँदा ऊसंग कोर्सका सातवटा कितावमध्य तीनओटा मात्र बाँकी थिए ।फागुनमा छमा भर्ना हुँदा पूरा सेट नया किताव किनेको , स्कूल फेर्दा कता हराए छुटे उसलाई केही थाहा छैन ।

बालाई किताव हराएको कुरा भन्न भएन , कसैसंग मागेर पढ्न उसको घमण्डले दिदैन ।सुस्केरा मास्टरले उसलाई येसो घुरेर हेरे , उसले पनि हेर्यो ।बाफ्रे , सुस्केरा भनेपछि सारा केटा डरले काप्थे , यो त आँखा झिम्म नगरी सुस्केराको आँखामा आँखा मिलाउंदै छ ।सुस्केराले नै विस्तारै आँखा झारे , उनलाई थाहा थियो , यो देवेसंग निहुँ खोज्यो भने यी कावुमा बसेका केटाले पनि आँखा जुधाउन थाल्नेछन् ।उनले देवेलाई केही भनेनन् , मात्र यिनीहरुले जे गर्छन तैंले पनि त्यही गर्नु है देवे भने ।देवेले हस मास्टरजी भन्यो ।दुई महिनाको ट्यूसन अवधिमा उनीहरुवीच भएको संवाद यत्ति हो ।देवेले आफूसंग किताव नभएको कुरा सुस्केरा मास्टरलाई भनेन , अरु केटाले सम्बन्धित कितावको पानामा हेर्थे , उसले आफूसंग जुन किताव थियो , त्यसैको पाना हेर्थ्यो ।उसले बुझिसकेको थियो , यो ट्यूसन मास्टरले केही हेर्ने र सोध्ने वाला छैन ।

देवी प्रसाद आफ्नो अतीतको तन्द्राबाट झल्यास्स भए , आफ्नो अतीतमा डुवेर सवै कुरा सम्झना गर्दा राति बाह्र बजेको पत्तै भएन ।उनी उठे , बत्ती बाले र पानी पिए ।वैदेही पनि निद्राबाट ब्युझिछन् , सोधिन आज सुत्नु पर्दैन ? बजैलाई थाहा छ , अव बूढालाई जे भने पनि हुन्छ ।बूढाले भने आज रक्सी खाएको खेर गएन हेर बूढी बुझ्यौ ? आज म आफ्नो वालापनको यात्रामा छु ।सुन्दर र आनन्दिलो यात्रा ।यस्तो यात्रा कि सपनीमा गर्न पाइन्छ कि दारु पियो भने ।खाने हो ? तिमी पनि स्वर्णिम यात्रामा जान पाउँछ्यौ ।बूढीले भनिन भो मलाई चाहिएन स्वर्णिम यात्रा , रक्सी खा सिधा स्वर्ग जा भने पनि खान्न म त ।भगवान नै प्रकट भएर खाउ नानी केही हुन्न , औषधि त हो नि भने भने के गर्छेस नि ? बूढीले भनिन भगवानले भने पनि खान्न ।बूढाले भने नखाउ नखाउ , खान पनि हुन्न , म पो बिग्रेको बाहुन परें , तिमी त सप्रेको बाहुनी हो नि , कसो ? बूढालाई दारुले छपक्कै छोप्दा त निद्रा नलागेको , अव दारुले पनि छोड्यो , झन् चीसो पानी खाएपछि के निद्रा लाग्थ्यो ।बूढेसकालमा त्यसै त अतीत प्यारो र मीठो लाग्ने , अझ यो शान्त रातमा कसैको डिस्टर्व नहुने समयमा स्वप्नचिन्तनमा रमाउन पाउँदा कसलाई आनन्द नलाग्ला ? बूढा फेरी अतीतको तन्द्रामा मस्त भए ।

बाबु गौरी प्रसाद ट्यूसन पढेको देवे पास हुनेमा ढुक्क थिए ।उनलाई सम्झना छ सेकेन्ड हेडमास्टरले ट्यूसन पढे पास हुन्छ भनेका छन् ।वास्तवमा बाजेलाई ट्यूसन पढ्ने भनेको के हो भन्ने थाहा छैन ।ट्यूसनको कहर सहेका छ जना केटा चार महिना ट्यूसनमा बसे , तर उनीहरुले पनि त्यसको प्रयोजन बुझेनन् ।बाबुआमा केटाहरु बिहानभरि शान्त भएर बस्ने र भात पनि ज्ञानी बनेर खाने हुँदा मक्ख थिए ।केटाहरु चुपचाप खान्थे ’cause बिहानको भात  सुस्केरा मास्टर पनि उनीहरुसंगै खान्थे ।केटाहरुलाई थाहा थियो जवसम्म यो जेमराज मास्टर नजिकमा हुन्छ , तवसम्म चानुमानु लाएर आफ्नो आफ्नो ज्यानको हिफाजत गर्नुमै कल्याण छ ।तर देवे र सुस्केरा मास्टरको सम्बन्ध भने जोगीसंग भैंसी डराउने र भैंसीसंग जोगी डराउने जस्तो थियो ।

भोलि वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित हुँदै छ ।बाले दोस्रो महिनाको ट्यूसन फी बुझाउनु भनेर देवेलाई दश रुपियाँ दिनुभयो ।बाले भन्नुभयो , आजै जा र यो पैसा सुस्केरालाई बुझा , फेरि रिसाएर फेल गराइदेला , यत्रो खर्च गरेर ट्यूसन पढेको बिथ्यामा खेर जाला ।पैसो भएर ट्यूसन पढाएको हैन देवे मैले ।तेरो दाइले धोखा दियो , वाचकको आशनमा बसेर भागवत भन्ला भनेको मान्छे मुगलानमा खुकुरीको धारमाथि बस्नुपर्ने नोकरीमा लागेको छ ।तेरो दाइ सज्जन निस्केर खुरुखुरु पढेको भए तँ पनि उतै जान पाउँथिस ।पुर्पुरोमा पण्डित हुन लेखेको भा पो बुद्धि आउंथ्यो ! यहीं पनि गाउँमै खुलेको स्कूलमा पढेर सालिन्दा पास हुँदै गए पो इजेत पनि हुन्छ , तँ कुलंगार जुन स्कूलमा गए पनि टिक्दैनस ।धन्न ट्यूसन पढाएको हुँदा किलास सम्म चढेर सातमा जालास कि भन्ने आस छ ।देवेले राता राता एक एकका दश ओटा नया कटकटे नोट समात्यो ।

भर्खर परीक्षा सकिएको हुँदा आज अरु केटाकेटीहरु स्कूल जाने कुरा भएन , भोलि भने सवै रिजल्ट बुझ्न स्कूल जानेछन ।देवे विस्तारै स्कूलतिर जाँदै छ । सुस्केरा मास्टरलाई स्कूलमै भेटेर ट्यूसन फी बुझाउनु पर्छ उसले ।उसले एउटा हातले कट्टुको गोजामा राखेको दशोटा नया नोटलाई वीच वीचमा छाम्दै छ ।उसको दिमागमा तुफान उम्लीरहेको छ अहिले ।के म पास हुँला ? के मलाई भैगो पास गराम भनेर पास गराइदेलान ? बा त ढुक्क हुनुहुन्छ ।देवेलाई थाहा छ सुस्केरा मास्टरले एक अक्षर ट्यूसन पढ़ाएनन र उसले पनि पढ़ेन ।वास्तवमा देवेलाई के पढ्ने र कसरी पढ्ने भन्ने थाहा नै छैन ।अरु केटाकेटीलाई पनि थाहा छैन , अझ साच्चै भन्ने हो भने अरुलाई त देवेलाई जति पनि थाहा छैन ।प्रत्येक क्लासमा दुई तीन जना थोरै थोरै पढाइ बुझेका केटाकेटी छन् ।’em मास्टरले पढाएर भन्दा पनि आफ्नो प्रतिभा र अनुशासनको कारण अलिकता बिसेक मात्र छन् ।देवे पनि अनुशासित र शान्त स्वभावको भएको भए उनीहरुभन्दा कम हुन्नथ्यो , तर उसको बानी र मास्टरसंग सोध्ने प्रश्नले गर्दा उसलाई मास्टरले मनै पराएनन ।यही कारणले गर्दा ऊ पनि विद्रोही हुँदै गयो र कितावको जतन पनि गर्न खोजेन ।यो स्कूलमा आएपछि उसले अति धेरै सोध्ने र मुख खेलाउने त गरेन तर पढ्नमा ध्यानपनि दिएन ।

उसले परीक्षामा सोधिएका प्रश्न र आफूले दिएका उत्तरको सम्झना गर्दै छ ।उसलाई इतिहास विषयको अरु धेरै प्रश्नको त सम्झना छैन तर एउटा रमाइलो प्रश्न र आफूले दिएको उत्तर अझै याद छ ।प्रश्न थियो सानो पिट को थियो ? इतिहासको किताव त किनेको हप्तादिनपछि नै हराएको थियो , पढेकै थिएन , उसले अनुमानमै हावा उत्तर लेख्यो , सानो पिट ठूलो पिटको मित थियो ।तर पछि केटाहरुले कुरा गरेको सुनेर थाहा पायो , सानो पिट त ठूलो पिटको छोरो पो रहेछ ।उसलाई थाहा छ ऊ इतिहासमा पक्का पक्की आलु खान्छ ।अनि उसलाई संस्कृत विषयको सम्झना भयो ।संस्कृत र नेपालीका गुरु नमुनाका थिए ।उनको नाम त तीर्थराज थियो तर साह्रै दुव्ला पातला भएको हुँदा केटाहरुले उनको नाम तित्रे गुरु राखेका थिए ।देवेसंग संस्कृतको किताव भएको हुँदा केही केही कुरा पढेको थियो ।संस्कृत कितावको सवैभन्दा पहिलो पाठ थियो गौ माता ।

त्यस् पाठको पहिलो वाक्य थियो गौ अश्माकम माता ।तित्रे गुरुले पढाउँदा अर्थ लाउँदै भनेका थिए गाई हाम्री आमा हुन् ।गुरुलाई यो वाक्यको अर्थ गाई हाम्री आमा हुन् भन्ने हुन्छ भनेर कसैले भनेको हुँदा ’til त बुझेरै भनेका थिए , तर केटाकेटीको अगाडि अलि तेजिलो भएर रवाफ जमाउन उनले भनेका थिए , गाई हाम्री आमा हुन् , गोरु हाम्रा बा हुन् ।अरु केटाकेटी त चुप लागे , तर यो मुखाले देवेले भनिहाल्यो हाम्रा तित्रे गुरुका बा त गोरु पो रहेछन , सवै केटाकेटी बेपत्ता हाँसे , गुरुले लट्ठी देखाए पछि बल्ल चुप लागे ।संस्कृतको अर्को कुनै पाठमा चौरम पलायेते भन्ने वाक्य थियो , गुरुले त्यसको अर्थ चौर पलाउँछ भनेर पढाए ।परीक्षामा यिनै प्रश्न आएका थिए , देवेले राम्रै उत्तर दिएको थियो  ।तर तित्रे गुरुले साह्रै मन दुखाएको हुँदा फेल गराउछन कि भन्ने डर थियो ।चौरम पलायेतेको अर्थ चौर पलाउँछ हैन , चोर भाग्छ हुने रहेछ भन्ने थाहा पाउन देवेले अरु पांच वर्ष कुर्नु पर्यो ।

देवेलाई अंग्रेजी विषयको परीक्षा याद आयो ।अंग्रेजी पढाउने मास्टर अरुभन्दा अलि जान्ने र छात्रछात्रालाई बुझ्यौ ? नबुझे सोध है भन्थे ।Translate Into English भनेर नेपालीलाई अंग्रेजीमा उल्था गर्न लगाउँथे , मानेहरु लेखाउँथे  र घोक्न लगाउँथे ।तर देवेले यिनलाई पनि छाडेन ।मास्टरजी Put पुट हुन्छ भने But बुट किन नभाको ? Tiger टाइगर हुन्छ भने River राइभर किन नभाको  ?  To टु हुन्छ भने Go गु किन नभाको ? एकदिन त कोदाको ढेडोलाई अंग्रेजीमा के भन्नु पर्छ , तित्रे गुरुको अंग्रेजी के हुन्छ ? भनेर सोध्यो ।तर यी मास्टर विचलित भएनन् र रिसाएनन पनि ।उनले भने पख म भोलि भन्छु , उनले भोलि सवै कुरा सम्झाए र चित्त पनि बुझाइदिए ।देवेले अंग्रेजीमा राम्रै गरेको थियो र सर पनि नरिसाएको हुँदा अंग्रेजीमा पास हुने पक्का थियो ।हिसावको जांच पनि राम्रै गरेको थियो उसले ।उसको हिसावको किताव हराएको थिएन , कितावको अन्तिममा सवै हिसावको उत्तर दिएको हुन्थ्यो ।

अरु प्रोसेस नमिले पनि उत्तर मात्र मिलाउनेलाई आधा नम्बर दिने चलन भएको हुँदा हिसावमा पनि जेन तेन पास हुने आशा छ देवेलाई ।यस्तै सामाजिक विषयको परीक्षामा सोधिएका प्रश्न सम्झ्यो ।प्रश्न थियो लोखर्के कोसंग तास खेल्यो ? उसले सामाजिकको किताव पनि पोलेर खाएकै थियो , उत्तर थाहा थिएन , उत्तर लेखिदियो लोखर्के पनि कहीं तास खेल्छ र ? बाहिर निस्केपछि केटाहरुले हल्ला गर्दा पो थाहा भयो लोखर्के त न्याउरीमुसोसंग  तास खेलेको रहेछ ।अर्को प्रश्न थियो भीमे जुवामा कति पैसा हारेछ ? उसले  अनुमानित उत्तर दिएको थियो , भीमे जुवा खेल्न नहुने , तर जुवा खेलेछ र एक मोहर हारेछ ।

तर किताव अनुसार भीमे एक रुपियाँ सोह्र पैसा हारेको रहेछ ।अव सवै विषयको विचार गर्दा ऊ कसैगरी पनि सातमध्य चार विषयभन्दा बढी पास गर्ने अवस्थामा थिएन ।दुई विषयसम्म लाग्नेलाई क्लास चढाउने चलन भएकाले देवेले आफू फेल हुने अनुमान गर्यो ।उसले विचार गर्यो , फेल भैयो भने त सुस्केरा मास्टरलाई दिएको दश रुपियाँ खेर जान्छ ।धेरै सोचविचार गरेपछि ऊ भोलिको रिजल्ट कुर्ने , पास भए सुस्केरालाई रुपियाँ दिने नत्र आफैले राख्ने विचार गर्यो ।स्कूल पुग्ने पुग्ने बेला भएको थियो , देवे फनक्क फर्केर घर गयो र बाबुलाई ट्यूसन फी बुझाएर आएँ बा भन्यो ।गौरीप्रसाद देवे सात किलासमा उक्लने कुरामा ढुक्क भए ।

आज रिजल्ट हुने दिन ।देवेको टोलका केटाकेटीहरु सेरोफेरोका तीन ओटा स्कूलमा बाँडिएको हुँदा देवेको स्कूलमा पढ्नेको संख्या जम्मा छ जना थियो ।भरखर भरखर शिक्षाको प्रचार भइरहेको वखत हुँदा छोरीलाई पढाउने थोरै  मात्र थिए ।स्कूलमा केटा केटी सवै एकै ठाउँमा बस्थे , बाहुन , मगर , घर्ती , क्षेत्री , नेवार , कामी , दमाई र सार्की सवै एउटै बेन्चमा लहरै बस्थे ।पढाइको स्तर जेजस्तो होस् , समाजमा भाइचारा , सद्भाव र सानो सानो समभाव र समानताको विकास हुँदै थियो ।स्कूलको सुन्दरता थियो समानता र मेलमिलाप ।धनी , गरिव , कथित माथिल्लो र तल्लो जातको भेद थिएन ।स्कूल एक सुन्दर फूलबारीजस्तो थियो ।धनी र गरिवको भेद बढाएर समाजलाई फुटाल्ने बोर्डिंग नामका स्कूल खुलेका थिएनन ।

सवैजना रिजल्ट लिन जाँदै छन् ।छ जनामध्य एकजना सातमा पढ्ने छ , अरु सवै ऊ भन्दा तल्लो क्लासका छन् ।यीमध्य दुईजना पढाइमा राम्रै भएको हुँदा पास हुनेमा ढुक्क छन् ।देवेको मन उथल पुथल छ , पास हुनेमा चालीस साठीको अवस्था छ ।ट्यूसनको कारण पास गराइदिन्छन् कि भन्ने हो नत्र त पास हुने आशै गर्ने थिएन उसले ।अरु बाँकी केटालाई त केही थाहा छैन , के के लेखियो याद पनि छैन , मनमा कुनै अन्योल छैन र चिन्ता पनि छैन ।यत्ति थाहा छ पास भैयो भने किलास उक्लिन्छ , नत्र पुरानै किलासमा बस्नु पर्छ ।समूहमा हिड्दा सधै अगुवा हुँदै हिड्ने , रवाफ देखाउने , हिम्मतिला कुरा गर्ने , मनोरन्जनका अनेक योजना बनाउने देवे आज चुपचाप छ ।

उनीहरु स्कूल पुगे ।स्कूलका जम्मा दुईशय पच्चीस विद्द्यार्थी सवै जम्मा भएका छन् ।स्कूल बाहिरको ठूलो पिपलको रुखमुनि सात आठ ओटा कुर्ची र टेवुल राखिएको छ ।चार पाँचवटा बेन्च पनि राखिएका छन् लहरै ।सवा दुईशयमध्य करिव चालीसजना केटी र अरु केटा छन् ।विस्तारै मास्टरहरु आएर बेन्चमा बसे ।हेडमास्टर र सहायक हेडमास्टर पनि आएर कुर्चीमा बसे ।आज रिजल्ट हुन्छ भन्ने सुनेका प्रधानजी पनि नबोलाएको भए तापनि आइपुगे ।सवै जम्मा भएपछि देवेले यसो मास्टरहरु बसेको कुर्चीतिर हेर्यो ।यतिका विद्द्यार्थीमा प्रत्येक मास्टरले चिन्ने केटो देवे मात्र हो ।हेर्दै जाँदा सुस्केरा मास्टरसंग उसका आँखा जुधे , आज पहिलो पल्ट ऊ सुस्केरा मास्टरसंग डरायो , उसको जिउ सिरिङ्ग भयो ।

रिजल्ट सुनाउन सुरु भयो । हेडमास्टरले एक कक्षादेखि लगातार प्रत्येक विद्द्यार्थीको रिजल्ट सुनाउंदै फस्ट हुनेदेखि फेल हुनेसम्मको नाम भन्दै गए ।प्रत्येक क्लासमा दुईतीनजना मात्र फेल भएका थिए ।पाँच क्लासको रिजल्ट सुनाउन थालेपछि देवेको मुटुको धडकन बढ्यो ।उसले दयालाग्दो आशावादी नजरले सुस्केरा मास्टरतिर हेर्यो , तित्रे गुरुतिर हेर्यो तर उसलाई कसैले हेरेन ।पाँच कक्षामा को पास भए को फेल भए उसले सुन्दै सुनेन , जडजस्तो उभिइरह्यो ।अव छ क्लासको पालो आयो , देवेको मुटु झन् जोडले ढुक ढुक गरिरहेको छ ।देवे सोच्दै छ बाले बेकारमा ट्यूसनको भाउँतो नगरेको भए आज मलाई यत्रो पिर पर्ने नै थिएन ।

उसले बालाई सम्झ्यो , खेतीपातीको महिना छ , बा छोरो पास हुन्छ भनेर ढुक्क हुँदै खेतमा गहुँ छर्न गएका छन् , आफ्नो हालत भने यस्तो छ ।फस्ट , सेकेन्ड , थर्ड , पास र प्रोमोटेड हुँदै सवैको नाम पढ्दै छन् हेड सर , अव धेरै जनाको नाम बाँकी छैन  चार पाँच जनाको मात्र बाँकी छ ।हेड मास्टर डण्डप्रसाद न्यौपाने नाम पढ्दै छन् धन प्रसाद नेपाल प्रोमोटेड  , खिमकुमारी सार्की प्रोमोटेड , चुन बहादुर दर्लामी प्रोमोटेड , कुन्ती पचभैया प्रोमोटेड , चिल बहादुर झेंडी प्रोमोटेड , देवी प्रसाद शर्मा फेल !!! छ क्लासमा देवे मात्र फेल भयो ।

देवे चुपचाप त्यहाँबाट हिंड्यो ।ऊ अव यो स्कूल , यी मास्टर , साथीहरु र स्कूल ओरिपरिको वातावरणसंग सदाकालको लागि बिदा हुँदै छ ।रिजल्ट सुनेको एक मिनेटभित्रमा उसले यो ठाउँमा फर्केर आउने बाटो सदाका लागि बन्द भएको कुरा बुझ्यो ।हो ऊ अलि चोथाले छ तर केही सोध्न नपाइने , बुझ्न नपाइने , सिक्न नपाइने भएपछि के गर्ने त ? खै अंग्रेजी सरले त उसलाई केही पनि भन्नुभएन , बरु मन पराउनु भयो ।अव उसलाई बाको मात्र चिन्ता छ ।उसलाई बाले पिट्लान र गाली गर्लान भन्दा पनि ट्यूसन पढाएर पनि फेल भइदिंदा परेको चोट कसरी सहलान , गाउँ समाजमा कसरी शिर ठाडो पार्लान भन्ने चिन्ता छ ।हिजै मात्र त हो बाले तेरो दाइ मुग्लानी  फौजमा नगएर खुरुखुरु पढेको भए तँ पनि उतै जान पाउँदोहोस्  , पण्डित हुँदोहोस्  भनेको ।हिजै त हो छोरालाई व्यास आशनमा देख्ने धोको पूरा नभएकोमा पछुतो मानेको र पुर्पुरो बलियो भए पो वुद्धि आओस भनेको ।

आज आफ्नै बानीको मारमा पर्यो देवे ।उसलाई हरेक कुराको उत्तर चाहिने , जे कुरालाई पनि उधिनेर छोड्नु पर्ने ।मास्टरहरुको ज्ञानको सीमा देवेलाई के थाहा ।मास्टरहरुको ज्ञानको सीमा थियो , तर उनीहरु यो कुरा केटाकेटीले थाहा नपाउन भन्ने चाहन्थे ।नजानेको कुरा सिक्ने ठाउँ मास्टरहरुसंग पनि थिएन ।उनीहरुको दोष मात्र यत्ति थियो , उनीहरु जानेजस्तो अभिनय गर्दथे र विद्द्यार्थीहरुले केही पनि नासोधुन भन्ने चाहन्थे ।वास्तवमा उनीहरु थोरै पारिश्रमिकमा धेरै श्रम गर्दथे , जे जान्दथे त्यही पढाउँथे ।यो कुरा देवेलाई के थाहा !

जिज्ञासु देवेले जता पनि प्रश्न गरेरै हैरान पार्थ्यो ।जनै पूर्णिमामा पुरेत धागो बाध्न आउंथे , देवे आफै पनि धागो बाध्न जान्थ्यो , तर धागो बाध्दा पढिने मन्त्रको अर्थ जान्ने इच्छा उसले कहिल्यै पूरा गर्न पाएन ।पुरेत दानबद्धु बलीराजा दानपुण्य महावल भन्दै फलाक्थे ।उसले यसको अर्थ सोध्थ्यो , पुरेत बा भन्थे यसको अर्थ जति दान गर्यो त्यति बलियो भइन्छ र पुण्य प्राप्त हुन्छ , बुझ्यौ बाबु ! तर देवेलाई यो उत्तरले  शान्त पार्न सकेन ।

ऊ परै पुगेपछि अरु केटाहरु पनि छिटोछिटो हिंडेर उसलाई भेटाउन आए ।उनीहरु सवै पास भएछन , एकजनासम्म फेल भएको भए पनि देवेले चित्त बुझाउने बाटो त पाउँथ्यो ।देवे बाहेक सवै खुसी छन् ।हरेक कुरामा तर्क गरेर हराउने र आफ्नै नेतृत्वमा लिएर हिड्ने देवे आज सवैसंग हारेको छ ।केटाहरुलाई देवे फेल भएको पिर पनि छ , तर भित्र भित्र खुसी छन् , अव यो तह लाग्यो , अव ठाउँमा आयो , यसका शेखी झरे भनेर ।केटाहरु छिटै घर पुगेर देवेको बाबुलाई ऊ फेल भएको खेल लाउन आतुर छन् ।देवेलाई भने बाबुले कमसेकम आजको दिन फेल भएको कुरा थाहा नपाउन भन्ने इच्छा छ ।आज बा राति अवेर खेतबाट थाकेर आउँछन् , आउने वित्तिकै फेल भएको कुरा सुने भने त बा खाना पनि नखाई सुत्नेछन ।

अकस्मात देवेले केटाहरुलाई भन्यो ए केटा हो मेरो कुरा सुन त ! केटाहरु सवैले उसलाई हेरे ।उसले भन्यो आज म तिमीहरुलाई टन्न गडी , छोहाडा , मिस्री , बिस्कुट र चकलेट खान दिन्छु , खान्छौ ? केटाहरुले दङ्ग परेर एकै स्वरमा भने , खान्छम ! देवेले भन्यो , तर तिमीहरुले मैले भनेको कुरा मान्नु पर्छ , मान्छौ ? केटाहरुले फेरि एक स्वरमा भने , मान्छम  ! देवेले भन्यो फरक पर्यो भने तिमीहरु सवैलाई काँचो सिस्नै सिस्नाले हान्नेछु , बाँसका सिप्किनाले तिघ्रै तिघ्रामा हान्नेछु र कनसिरीका रौँ तान्नेछु , हुन्छ ? केटाहरुले झन् जोसिएर जोडले भने , हुन्छ ! देवेले सवै केटाहरुलाई आफ्नो नजिकमा जम्मा गरेर विस्तारै भन्यो , मैले सुस्केरा मास्टरलाई ट्यूसन फीस दिएको छैन , पास भए दिन्छु नत्र दिन्न भनेर राखेको छु ।

उसले ल हेर भन्दै राता राता नया दशोटा कटकटे नोट हावामा फैलाएर देखाइदियो ।बाफ्रे ! केटाहरुको सातो उड्यो ।उसले भन्यो ल केटा हो यो सवै पैसा सक्ने हो , म एक पैसा पनि बाँकी राख्दिन , सव बाँडीचुडी खाओ ।तर तिमीहरुले मेरो घरमा र आफ्नो घरमा पनि म फेल भएको कुरा नभन्नु ।को को पास भयौ ? भनेर सोध्लान , सवै पास भैयो भन्नु ।सवैले जनै समातेर किरिया खाओ त ! चार जना बाहुन केटाले जनै समातेर किरिया खाए ।ठान्दार घर्तीले भन्यो , मेरो त जनै छैन ! के समातेर किरिया खाम ? देवेले भन्यो तैंले टुप्पी समातेर किरिया खा , ठान्दारले टुप्पी समातेर किरिया खायो ।

क्रमश: