मोटर मोहनी

मैले एकदिन मेरा बाले पिढीमा बसेर मोटरको गफ लाएको सुनें । बा भन्दै हुनूहुन्थ्यो – “मैले मोटर देखेको तीस वर्ष भयो ।” छेउमा बसेका बाजस्तै बूढाले उत्सुक हुँदै सोधे – ” चढ्नु भएको छ त ” ? बाले भन्नुभयो – चढेको त यतै बटौलीमा हो, तर छोएको तीस वर्ष भयो । म काठमाडौँमा पढ्न बस्दाको कुरा हो, एकदिन लहरै दश बाह्रओटा मोटर हिंडे । हामी दौडेर गयौं, मोटर रोकिए । राजा त्रिभुवन पनि रहेछन । गुरुहरु भन्दै थिए, त्रिभुवन सरकार महाराजाधिराज भएको पच्चीस वर्ष पुगेको खुसियाली रे ।

भागवत खनाल

घुम्दै घुम्दै वसन्तपुरतिर पुगेको थिएँ । अचानक कसैले बोलायो ए भागवत ! म झसङ्ग भएँ । पुरानो मित्र रहेछ । उसले भन्यो – ‘धेरै वर्षपछि भेट भयो आऊ एकछिन संगै बसम ।’ मित्र बूढो भएछ ! तैपनि मैले भनें – ”तिमी स्वस्थ र चङ्गा रहेछौ, खुसी लाग्यो । उसले भन्यो – ‘तिमी त झन पैंतीस वर्षपछी पनि उस्तै ।’ यी सामान्य सिष्टाचार मात्र थिए, मानवीय । वास्तवमा न ऊ चङ्गा थियो न म उस्तै थिएँ । उसले भन्न थाल्यो – ‘जीवन बडो डामाडोल छ । जति जान्यो त्यत्ति नै तनाव । मन एकत्रित छैन, तर जिम्मेवारीका पहाड छन । मन खण्ड खण्ड छ, वुद्धि विभाजित छ । केही पाउने आशामा जवानी गयो । केही प्राप्त पनि भयो, तर वुद्धि झन खण्डित भयो । सन्तोष छैन, चैन छैन, जुनसुकै कुरामा तर्क गर्न मन लाग्छ । कतै केही छ जो प्राप्त भएको छैन । केही छ जो वर्तमानले दिन सकेन । मसिना मसिना धागाले उनिएका सजिलै तोड्न सकिने बन्धनहरू समयक्रममा झन वलवती हुँदै गए, झन मजबुत र मोटा हुँदै गए । छिनाल्नै मुस्किल , जन्जीर जस्ता ! विस्तारै विस्तारै भविष्यप्रति समेत भरोसा लाग्न छाड्यो ।’

ऊ भन्दै गयो – ‘बुझ्यौ ? मैले यी सव झमेलाबाट मुक्ति पाउने बाटो निकालेको छु ।’ म उत्सुक भएँ । मैले भनें – ‘भन न त त्यो युक्ति के हो ? म पनि त्यही युक्ति किन नअपनाऊँ ?’  उसले सहज जवाफ दियो – ‘अतीतमा बाँच्ने, अतीत गाउने, अतीत नाच्ने, अतीत नै हाँस्ने र रुने ।’ उसले भन्यो,  ‘जीवन पनि अजीव छ यार, वचपनमा भविष्यको कल्पनामा खुसी, उमेर ढल्केपछि अतीतको सम्झनामा खुसी !’ मलाई पनि हो कि जस्तो लाग्यो, मित्रको तर्कमा दम छ है जस्तो लाग्यो । ऊ वर्तमानदेखि ज्यादै निराश थियो । तर उसले निकालेको युक्ति निराशाको घाउमा सानो मलमजस्तो लाग्यो मलाई । ऊ भन्दै गयो – ‘यी सवै कुरा तिमी मेरो पुरानो मित्र भएकाले मात्र भनेको हुँ । अरुसंग त भन्ने गर्छु म बडो मस्त छु , जीवन आनन्दमय छ । मजा छ एकबारको जुनीमा । अरुलाई उपदेश दिने गर्दछु, जीवनप्रति आशावादी हुनु पर्छ । सकारात्मक हुनु पर्छ, जे हुन्छ सवै राम्रो हुन्छ, यसैमा सवैको भलाइ छ । उसले घडी हेर्यो अनि ल त है !’ भन्दै सरासर गयो, पछाडि फर्केर पनि हेरेन ।

म रत्नपार्कबाट भक्तपुर जाने बस चढें । पल्लो बसको खलाँसी भाइले ढ्याप ढ्याप हान्दै थिए – कुलेसोर काल्माटी – कलङ् कलङ् कलङ् । बिचरालाई कलंकी भन्ने फुर्सद थिएन । बसमा त चढियो तर भिड थियो, सिट कहाँबाट पाउनु । फुर्तिला खलाँसी भाइले भने,’ ओ अंकल अलि पछाडि जानुस न, अलि मिलाएर उभिनुस ।’ मैले भनें  -‘ बाबु सिट मिल्दैन म बूढो मान्छेको लागि ?’ उनी फुर्तिलो मात्र हैन चोथाले पनि रहेछन,  भने – ‘केको बूढो मान्छे नि, कपाल कालो छ । भेस्ट र जिन्स लाएर हिरो भएर हिड्नु भएको छ ।’ यात्रु गलल्ल हाँसे । आज पहिलोपल्ट कपालमा कालो पालिस लाएकोमा पछुतो लाग्यो । यस्तैमा एउटी कलेजको ड्रेस पहिरेकी नानीले आफ्नो सिट छोड्दै भनिन – ‘यता बस्नुस बुवा बूढो मान्छे !’ भर्खरै त्यही उमेरको केटो भन्छ केको बूढो मान्छे ? केटी भन्छे बूढो मान्छे ! त्यो केटालाई के थाहा बूढो मान्छे के हो ! नानी उभिएर एउटा सानो कागजको टुक्राले आफ्नो अनुहारमा हम्कदै गर्मी धपाउने असफल प्रयास गर्दै थिइन । बस गुड्यो, तर सहजै अनुमान गर्न सकिन्थ्यो आज लोकन्थली पुग्न कम्तीमा तीन घण्टा लाग्नेछ । सिट पाएपछि मलाई ठूलो राहत मिल्यो । म घोप्टो परेर उघ्न थालें । अनायास मित्रको याद आयो , उसले सहारा लिने गरेको अतीतको याद आयो । आज म हजारौं मोटरको जंगलमा छु । जता हेर्यो उतै मोटर, सर्वत्र मोटरकै भागाभाग । अनि मनमा आयो, ती भैरव अर्यालले कुन सास्ती भोगेहुन र त्यो उस जमानामा पनि मोटर व्यंग्य लेखे होलान ? ‘पथ सात फुटे बस नौ गजको सिट बीस भए भिड शौ तकको ।’  उनले उसैबेला बसलाई बस हैन उठ भन्नुपर्छ भनेर सानो सकस नव्यहोरी के लेखे होलान !

मैले कतै पढेको थिएँ, बेलायती युवराज एडवर्ड आठौँ नेपाल तराईमा शिकार खेल्न आउँदा भारतबाट मोटर चढेर आएका थिए रे । अनि राणाहरुलाई पनि मोटर चढ्ने रहरले छोप्यो । काठमाडौँसम्म मोटरबाटो थिएन । बाटो बनाएर आवतजावत सजिलो बनाउने र फिरंगीको पहुँच सहज पार्ने इरादा पनि थिएन राणाहरुको । किन्तु राणाहरुले मोटर चढ्ने युक्ति निकाले, बलिया बलिया युवा रैतीलाई थोरै ज्याला दिएर बोकाएर मोटर ल्याउने । जसले बोकेर काठमाडौँसम्म मोटर ल्याए, ती चढ्न पाएनन, जसले बोकाए, तिनीहारु नै शोखले चढे । राजा त्रिभुवनलाई जर्मन तानाशाह हिटलरले मर्सडिज बेन्ज कार उपहार दिएछन । त्यो मोटर पनि रैतीली नै बोकेर ल्याए । यस्तै गुन्दागुन्दै म आफ्नो अतीतमा पुगेंछु, मोटर मोहनीको अतीत ! बी ए मा पढ्दा मोटरबाटोले गर्दा उठीवास भएकी र श्रमदान गर्दा घाइते भई उपचारविहीन दारुण जिन्दगी विताउन वाध्य पारिएकी एकजना दलित महिलाको कथा लेखेको थिएँ । कथाको शीर्षक ‘ मोटरबाटो ‘ थियो, तर सम्पादकले विकास विरोधी ठानेर हो कि ‘ गरिवको जिन्दगी ‘ भन्ने शीर्षक राखेर छापिदिए।    

म जन्मे हुर्केको गाउँ सुगम थियो । बुटवलबाट तन्केर हिड्यो भने रित्तो मान्छे एकै दिनमा मेरो गाउँसम्म पुग्न सक्थ्यो । बुटवलबाट तीन दिन हिंडेर मात्र आफ्नो गुल्मीको गाउँसम्म पुग्ने मेरा कुटुम्बका मान्छेहरु हाम्रो सुविधा देखेर रहर मान्थे । म छ सात वर्षको हुँदा मोटर भन्ने कुनै जिनिस हुन्छ र त्यसले मान्छे बोक्छ भन्ने सुनेको थिएँ । मान्छेहरु भन्थे, मोटरले मट्टीतेल जस्तै अलि अर्कै तेल खान्छ रे । मेरो दिमागले छिट्टै कुरा बुझेको थियो, त्यो मोटर भन्ने जन्तु अवश्य पनि ठूलो भूत होला । अवश्य कुनै भयङ्कर राक्षस होला । यस्तैमा एकाएक हल्ला चल्यो, बुटवलबाट तानसेनसम्म आउने मोटरबाटो खन्न थालियो रे । तर मेरो छिमेकमा कसैले पनि मोटर आउला भनेर पत्याएन । त्यत्रो भिर पाखा पार गर्दै मोटर आउला भन्ने कसैलाई विश्वास थिएन । खै किन हो अहिले जस्तै सरकारले के गर्ला, के सक्ला भन्ने भावना त्यसबेला पनि थियो । वनमा गाई चराउने युवाले गएका थिए – के आउला पाल्पामा मोटर के ल्याउला नेपाले सारकार ।

दुई तीन वर्ष बिते, म अलिअलि बुझ्ने हुँदै गएँ । म नजिकैको स्कूलमा दुई कक्षामा भर्ना भएँ । कुरा सुन्ने र बुझ्ने दायरा अलि फराकिलो भयो । यस्तैमा अचानक हल्ला भयो, तानसेनसम्म मोटर आयो, अव पोखरा पनि जान्छ । अनि अर्को रोमान्चकारी हल्ला आयो, मोटर आएपछि सुविस्ता हुन्छ, बटौलीबाट नूनतेल बोक्नु पर्दैन, तानसेनबाट बोके पुग्छ । धेरै खुसी पनि भए । तर भारी बोकेर खानेहरुको मुहार मलिन भयो । एकथरीले हल्ला गरे, अव जहान छोरीहरु जोगाउन धौ हुने भयो । मोटरका ड्राइभरहरु त जादु गर्छन रे, मोहनी लाउछन रे ! ड्राइभर भनेका ठूला मान्छे हुन, उनीहरु ठाउँठाउँमा स्वास्नी राख्छन रे ! मेरा लागि यी सवै रोमान्चक र विष्मयकारी कुरा थिए । मलाई डर पनि लाग्यो, अव कसरी तानसेन जाने ? मोटरले लग्यो भने ? ड्राइभरले च्याप्प समातेर लग्यो भने ?

मैले एकदिन मेरा बाले पिढीमा बसेर मोटरको गफ लाएको सुनें । बा भन्दै हुनूहुन्थ्यो – ” मैले मोटर देखेको तीस वर्ष भयो । ” छेउमा बसेका बाजस्तै बूढाले उत्सुक हुँदै सोधे – ” चढ्नु भएको छ त ” ? बाले भन्नुभयो – ” चढेको त यतै बटौलीमा हो, तर छोएको तीस वर्ष भयो । म काठमाडौँमा पढ्न बस्दाको कुरा हो, एकदिन लहरै दश बाह्रओटा मोटर हिंडे । हामी दौडेर गयौं, मोटर रोकिए । राजा त्रिभुवन पनि रहेछन । गुरुहरु भन्दै थिए, त्रिभुवन सरकार महाराजाधिराज भएको पच्चीस वर्ष पुगेको खुसियाली रे । पछि एकदिन गुरुले एउटा ठूलो घरमा लिएर जानुभयो । त्यो ठूलो राणाको घर थियो । राणाकी आमाले टीको लाइदिन कुमार बाहुन केटाहरु लिएर आउनु भनेकी रहिछन । राणा बूढीले टिका लाएर लौ बाहुननानी ठूलो पण्डित भए भन्दै एक मोहर दक्षिणा दिइन । गुरुले रानीलाई बिन्ती गर्नुभयो – ‘ हजुर यो चेलाले मटर हेर्छु भन्छ के गरौँ प्रभु ‘ ? रानीले एकजना मानिसलाई बोलाएर ल बाहुननानीलाई मोटर देखाइदे भनिन । उसले मोटरको नजिकै लिएर गयो, सवै कुरा देखाइदियो, ड्राइभर बस्ने सिट, मान्छे बस्ने ठाउँ सवै । वास्तवमा मैले गुरुलाई मोटर हेर्छु भनेको थिइन, उहाँ आफैलाई हेर्न मन लागेको रहेछ, मेरो नाम लिनु भयो । गुरुले मोटरको बाहिरको भित्तो विस्तारै छाम्नु भयो र भन्नुभयो, ‘ए सारो पो हुँदो रैछ !’ मैले पनि छामे । “

त्यस बखत हाम्रो मनोरन्जनका साधन थिए पाता खेल्ने, ब्याटमार चुरोटको खोस्टालाई फोल्ड गरेर त्यसको खोपी खेल्ने, डण्डीवियो खेल्ने । म स्कूल जान थालेपछि विस्तारै एक दुई पैसा फालेर खोपी खेल्न सिक्दै गएँ । केही समयपछि एक पैसाको बाजी राखी जुटपत्ति खेल्न सिकें । त्यस बखतका मीठा खानेकुरा भनेको दशैं तिहारमा पाक्ने रोटी, दशैं, चैते दशैं र साउने संक्रान्तीमा खान पाइने मासुको झोल, खिर र कसैले पाहुरमा ल्याउने कुरौनी थिए । अहिलेजस्तो जंकफुड थिएन । नेवार साहुको पसलमा पाइने गडी छोहारा, चकलेट र नेबिको बिस्कुट दुकाने मीठा खानेकुरा थिए । किनुवा वस्तुहरुको लोभले गर्दा धेरै केटाहरु ‘चोर’ भएका थिए । बाबुआमाहरु आफ्ना पटुका र कन्तुरहरु राम्रैसंग जतन गर्दथे तर चोरसंग के चल्थ्यो, अलि अलि त चोरिहाल्थे । साहुजी कुनै केटो लुसुक्क आयो कि कुरा बुझिहाल्थे र हात थाप्थे । केटाले दिएको पैसा खोत्र्यांग कन्तुरमा हालेपछि मात्र यथोचित खानेकुरा दिन्थे र भन्थे – गइहाल गइहाल !

केटाहरुको अर्को रमाइलो स्थान थियो गाई चराउने वन । वनका कुनै पनि फलफूल राम्रोसंग पाक्न नपाउँदै केटाहरुले सखाप पार्थे । मेरो गाउँको सवैभन्दा रमाइलो समारोह हुन्थ्यो लगातार एक महिनासम्म उखु पेल्ने समय । फागुको समय विशेष रमाइलो चाड हुन्थ्यो । रातिको समयमा गाउँको वीचमा हुँदासम्म  ‘अयोध्यामा हरिसका बाजा बजे sss अयोध्यामा हरिसका बाझा बजे ‘ भन्दै गाउँदै हिड्ने बूढाहरू अलिकता कोल्टोमा पुग्ने बित्तिकै भयानक रुपमा फोहोर फाउ गाउन थाल्थे । फुच्चेहरु गीतको बोलको अर्थ थाहा नभए तापनि बाहरुले गोप्य मानिएका शारीरिक अंगहरुको नाम लिंदै बारम्बार गएको सुन्दा खुव रमाउथे । आफ्नो बाबु नै यतिसम्म फोहोर बोल्न सक्दा रहेछन भन्ने थाहा पाएर केटाहरु आश्चर्यचकित हुन्थे । बाहरु आफ्ना दश बाह्र वर्षका छोराहरुले आफ्नो त्यो भयानक शव्द सुनेर पेट मिचिमिची हाँसेको थाहा पाएपछि ‘ तँलाई साइदुवा ‘ भन्दै लघार्थे । तर सवै पर्दाफास भैसक्थ्यो ।

फेरि अचानक हाम्रो गाउँमै मोटर ल्याउने रे भन्ने हल्ला चल्यो । कसैले भन्न थाले, कस्तो जमाना आयो गाँठे ! हाम्रो गाउँमा मटर ? कसैले भन्थे यो घोर कलि हो, अव राक्षसहरु आउँछन् र सवैको हुर्मत लिन्छन । एकदिन मैले हाम्रो गोठ छाउन आउने खेतालाहरुले आपसमा कुरा गरको सुनें । एकजना मगर दाइ भन्दै थिए ‘ अव मटर ल्याउने गरे माइला । पर्धानले भनेको, सवैले सात दिन सर्मदान गर्ने गरे, जेला एक पैसा नपाउने गरे, घरै आटो खाएर आउने गरे, अर्नी पनि आफै बोकेर ल्याउने गरे ।  माइलाले भने – ‘ अव यी साउमाराहरुलाई मटर चढ्न मन लाओ भनेर हामी निमुखाले सर्मदान गर्न जानी ? मत मोरे पनि जान्न, जाँदै जान्न । बरु लाँकुरीको बोटाँ झुण्डाउन, म त जान्न । हाम्लाई के काम तो मटर ? सित्तैमा चढ्न पाइने हैन केरे । ए गाउँमा मटर आओ देख्न पाइन्छ भन्न पनि परेन, त्यस्ता जावा मटर बटौलीमा देखेकै त हो । ‘  अर्काले भने ‘ नगएर सुख पाउलास, तेरो पुठामा घोचो रोपेर लएन भने मलाई भन्लास । राजाके आगे बापकी द्वाई ! सवैलाई घोक्र्याएर लान्चन ।’

जनताले बाटो खने, पंचहरुले कज्याए । बारी कान्ला बाङ्बुङ् पारे, खीतीयोग्य जमीन पनि बाँकी राखेनन । एउटा तप्का जसरी पनि मोटर ल्याउने फिराकमा थियो भने अर्को विवस । मोटर ल्याएर के हुन्छ, फाइदा बेफाइदा के हुन कसैलाई थाहा थिएन । तर लहर चल्यो बाटो खनियो । बाह्र फिट चौडा धुले बाटो तयार भयो । गाउँमा हल्ला हुन थाल्यो अव मोटर आउँछ । सवैभन्दा पहिले जंगे साउको मोटर आउने रे । जंगे साहु साधारण परिवारका थिए, तर अनेक तिकडम जान्ने हुँदा सजिलै हुनेखाने भएछन । धेरैलाई जुवा खेलाए, धेरैको व्यवहार चौपट पारे, तर उनै समाजका इज्जतदार भए । जसको उठीवास भयो ती समाजको नजरमा नालायक ठहरे, जसले जित्यो त्यही राजा भन्ने भनाइ चरितार्थ भयो । जंगे साहु धनी भएपछि मधेस झरे । यदाकदा गाउँमा आउँदा उनको चाकरीमा लाम लाग्थ्यो, कोसेलीपात लिएर भेट्न जान थाले मानिसहरु । जंगे साहुको घर आँगनसम्म जान सक्नु पनि प्रतिष्ठाको विषय बनायो समाजले । उनै जंगे साहु मोटर लिएर आउने हल्ला चल्यो, तर मिति पक्का थिएन । हामी सवै केटाकेटीहरु जंगे साहु, उनको मोटर चलाउने ड्राइभर र मोटर हेर्न आतुर थियौं । मैले सुनेको थिएँ मोटर रातीमा पनि हिंड्छ रे । डर लाग्थ्यो कतै राति नै आएर रातारात फिर्ता गयो भनें ?

एकदिन हामी केटाकेटीहरु वनमा गाई चाराउन गएका थियौं । अचानक माथि तेर्सो बाटोमा एकपछि अर्को गर्दै पांचओटा मोटर हिंडेको देखियो । सवै केटाहरु पन्ध्र मिनेट लाग्ने बाटो हस्यांग फस्यांग गर्दै पाँचै मिनेटमा उक्ले, तर मोटरले उडाएको धुलो मात्र अलिअलि बाँकी थियो । त्यसदिनको लागि मोटरका पाइला हेरेरै चित्त बुझाइयो । त्यही पाइला’bout पनि केटाहरुले सुन्दर सुन्दर व्याख्यान दिए । एकजना बूढाबाले त चक्काको बुट्टा भएको माटो विस्तारै उठाएर लगे । उनले कताकता सुनेका रहेछन, यस्तो माटो लगेर घर वरिपरी रेखी हाल्यो भने भूतप्रेतले सताउन्न रे । एकजना अझै जान्ने बूढा भन्दै थिए, ए केटाहो मटरको पाइलाको बुट्टामाथि नटेक्नु है ! फेरि  घरमा लक्ष्मीको वास हुन्न । सांझ घर पुगियो । संयोगले मोटर हेर्न पाउनेहरुले क्या गफ दिए ! तर आफू भने बन्चित भैयो । राति मोटर चढेको सपना देखें ।

हाम्रो स्कूलमा धेरै दिनसम्म मोटरकै प्रसंग छाइरह्यो । क्लासमा आएर मोटर देखेको गफ दिने मास्टरलाई प्रश्न सोधी सोधी हैरान पारे केटाहरुले । एक दिन मैले पनि सोधेको थिएँ ‘सर मटरलाई अंग्रेजीमा के भन्छन ?’ विचरा सर ! बल्ल बल्ल आठ क्लास पढेर महिनाको पचास रुपैयाँको जागिर खानेलाई के थाहा कि मोटर आफै अंग्रेजी शव्द हो । उनले भनेका थिए –  ‘चुप लागेर माने घोक भाते ।’ म त चुप लागें, तर ज्ञानको भोक कहाँ मर्थ्यो, अर्को केटाले सोध्यो –  ‘त्यसो भा डाइबरलाई अंग्रेजीमा के भन्छन माड्साव ?’ मास्टरले भनेका थिए किताबाँ नभा कुरा किन सोधेको हँ ? ल माने घोक, poor = पूर पूर माने गरीव,  book = बूक बूक माने किताव , crow = कोरो कोरो माने कौवा ।’ ती शिक्षक जति जान्दथे इमान्दारीसाथ पढ़ाउँथे, सज्जन, शालीन र ‘स्वादे मानिस’ थिए।     

एकदिन स्कूल जाँदै थिएँ । मेरो घरबाट स्कूल जान करिव पन्ध्र मिनेट लाग्थ्यो, जंगे साहुको घर पुग्न सात आठ मिनेट । स्कूल जाँदै थिएँ, जव जंगे साहुको घर नजिकै पुगें, त्यहाँ आँगनमा मोटर अड्याएर राखेको ! अस्ति टाढैबाट देखेको हुँदा मोटर नै हो भनेर ठम्याउन गाह्रो पेरेन । तर आङ् सिरिङ्ग भयो, डर लाग्यो । सुस्तसुस्त अघि बढ्दै थिएँ, अचानक एकजना कालो कालो मान्छे मोटरभित्रबाट बाहिर निस्क्यो । उसले मोटरको ढोका ढ्याम्म लगायो, त्यो आवाजले मेरो सातो लियो । धन्न त्यही मान्छेले भन्यो – जाऊ जाऊ केही गर्दैन । म विस्तारै गएँ, छुने पनि हिम्मत भएन । त्यो दिन पढाइमा मन गएन, मास्टरहरु पनि आज मोटर हेर्नु पर्छ भन्दै हिंडे । म विस्तारै त्यही बाटो फर्कन थालें । बिहान पश्चिम फर्केको मोटर अहिले पूर्व फर्केको रहेछ । एकजना पधेर्नीले अर्की अलि लाटी पधेर्नीलाई भन्दै थिइन् – ‘ मुखाँ घाम पर्छ भनेर यता फर्काका गरे कान्छी ! ‘ हामी दुई तीनजना केटाहरु थियौं । समूहमा भएको हुँदा बिहान जस्तो डर लागेन । हामीले मोटर छोयौं । अगाडि, पछाडि, कोखातिर सवै छामेपछि अलि हिम्मत बढ्यो । ड्राइभर त्यहीं थिए । मैले भनें –’ ए डाइबर काका यसमा चढम ?’ ड्राइभर पनि कम्ताका थिएनन, भनिहाले – ‘ एक मोहर छ ? ‘ हामी कसैसंग पनि एक मोहर थिएन । ड्राइभरले भने – ‘ जा बाउन काठा ! चढ्न पाउन्नस । ‘ हामी निराश हुँदै लुरुलुरु गयौं ।

अव मेरो मनमा एउटा कुरा पक्का भएर बस्यो । मोटर चढ्ने हो भने एक मोहर तयारी अवस्थामा राख्ने । दुई चार दिन मोटर आउने जाने गरिरह्यो, तर चालीस पैसाभन्दा धेरै जम्मा हुन सकेन । जव मोहर पुग्यो साहुको मोटर आउन छाड्यो । तर मैले कुनै पनि हालतमा साथमा एक मोहर नछुटाउने प्रण गरिसकेको थिएँ । एकदिन मिनपचासको विदाको बेला एउटा मोटर आयो । मोटर पश्चिमतिर गएको थियो । म एउटा चिया पसलको बाहिर मोटर फर्केर नआउँदासम्म बसिरहें । संयोगले मोटर फर्केर आयो र त्यही पसल अगाडि रोकियो । चिया साहु ड्राइभरसंग नेवारी भाषामा कुरा गर्दै थिए । भूमिसुधार भन्ने अफिसको मोटर रहेछ । मोटर कहाँबाट आयो र कसलाई लिएर गयो भन्ने मेरो सरोकारको कुरा थिएन । मलाई त जसरी पनि मोटर चढ्नु थियो । मैले के मात्र बुझेको थिएँ भने यदि मोटर चढ्ने हो भने एक मोहर दिनुपर्छ । मैले मोहर देखाउंदै ड्राइभरलाई भनें ‘ म चढ्छु है !’ हिस्सी परेका ड्राइभर मुसुक्क हाँसे । मोटरमा अरु कोही थिएन । उनले मलाई आफ्नो बगलमै बसाले र मोटर स्टार्ट गरे । आहा मोटर गुड्यो !

हार्थोक पुगेपछि मोटर रोकियो । ड्राइभरसाव मोटरबाट निस्के, तर म बसिरहें । उनी बाल प्रसाद साहुको पसलमा छिरे र फलैंचामा बसे । कति सान, कस्तो व्यक्तित्व उनको ! सवैले पहिले मोटर हेरे, फेरि उनलाई । अलि हिम्मतिला बूढाहरुले उनीसंग विस्तारै कुरा गरे । ‘ठूला मान्छे’ संग कसरी कुरा गर्नुपर्छ भन्ने कुरा उनीहरुलाई थाहा थियो । अरु पसलमा  चियाको भाउ सुका गिलास थियो, तर बाल प्रसाद श्रेष्ठको पसलमा मोहोरको तीन गिलास । उनले पछिसम्म भाउ बढाएनन । अरुले मोहोर गिलास बेच्दा पनि उनले पुरानै भाउमा बेचिरहे । थोरै ‘क्वालिटी’ घटाए । त्यस बखत चियामा दुई चक्के नेबिको बिस्कुट घोलेर खाने चलन थियो हाम्रो इलाकामा । यसरी बिस्कुट घोलेर चिया माग्नु पर्यो भने ग्राहकले ‘फेटेर दिनुस’ भन्ने चलन थियो । फेटेको चियाको भाउ थियो एक सुका ।

ड्राइभर गफ गर्दै चिया खान थाले, म मोटरमै बसिरहें । बाल प्रसाद साहु एउटा मचियामा बसेर चिया पकाउँथे । उनी ग्राहकको हात हातमा चिया दिन जाने गर्दैनथे । चिया छानिदिन्थे  र ‘ई’ भन्दै आफ्नो हातले भ्याउनेसम्मको दुरीमा राखिदिन्थे । आफै ट्याप्प गिलास उठाएर खानु पर्थ्यो र खाएपछि त्यही ठाउँमा राखिदिनु पर्थ्यो । वृद्ध साहु ‘आइया आइया’ भन्दै कम्मरमा हात राखेर उठे, मुस्किलले जिउ सोझो पारेपछि उनले मलाई देखे । मोटरको अगाडिको सिटमा बडो सानले बसेको मलाई देखेर उनले साहुनीलाई सोधे ‘ ठो मजं सु ख हाँ ?’साहुनीले भनिन  ‘ठो चिरिबाया क्या ख ।’ साहुनी पुस महिनाको घाममा बाहिर बेन्चमा बसेकी थिइन् । उनले घामबाट आँखा जोगाउन निधारमा हत्केलाको पाली हाल्दै भनेकी थिइन् ‘ ठो न मोटरे चोन, बर्मु ला गुली जक्क मक्ख ! ‘ मलाई सधै हेप्ने केटाहरु आज मलाई मोटरमा बसेको देखेर छक्क परे । उनीहरुको अनुहारमा मेरो सफलताप्रति ईर्ष्या र आफूले गुमाएको अवसरप्रतिको दु:ख प्रष्ट झल्किन्थ्यो ।

ड्राइभर फेटेको चिया खाएर मोटरमा बसे । मोटर फेरि दगुर्न थाल्यो । आधा घन्टामा तानसेन पुगियो । ड्राइभरले मलाई उत्रन भने । मलाई यस्तो असल मानिसलाई धन्यवाद दिनुपर्छ भन्ने थाहा थिएन । कृतज्ञ आँखाले उनलाई हेरें र मोहर झिकेर उनीतिर बढाएँ । उनले भने – ‘पर्दैन तिमी नै च्या बिस्कुट र जिलेफी खानु ।’

अतीतको यात्रामा मग्न हुँदा लोकन्थली पुगेको थाहै भएन । खलाँसी भाइले – ‘ओए अंकल निद्रा पुगेन ?’  भन्दै हकारेपछि पो तन्द्रा भंग भयो ।