बा र बिम्बहरू

               

भागवत खनाल

बाहरु धेरै प्रकारका हुन्छन । ठूलाठूला बाहरु कुनै कवि, कुनै हाकिम, कुनै  लेखक, कुनै दार्शनिक, कुनै वेदान्ती पण्डित, कुनै चिकित्सक, कुनै  इन्जिनियर, कुनै शिक्षक, कुनै राजनीतिक नेता, कुनै  व्यापारी, कुनै जमिन्दार र कुनै बा धनाड्य सामन्त हुन्छन । एकजना मित्रले भनेको थियो यस्ता ‘क्याटेगरी’ का बाहरु चर्चा गर्न लायक हुन्छन । अरु बाहरुको ’boutमा लेख्ने कुनै विषय नै हुँदैन । मलाई मेरो बाको सम्बन्धमा सानो आलेख तयार गर्ने इच्छा थियो । किन्तु मेरा बा माथि उल्लेख भएकामध्य केही पनि थिएनन । मैले विचार गरें, के मेरा बा र मेरा बा जस्ता असंख्य बाहरु लेखिन लायक नै छैनन ? के  मेरो बा जस्ता पात्रहरुको जीवनचरित्र समाजको लागि थोरै पनि पथप्रदर्शक र प्रेरणाको स्रोत हुन सक्दैन ? के ती पात्रहरुको परिवार, छिमेक, कुटुम्ब र समाजको लागि कुनै योगदान नै थिएन?

मैले मेरो बाको ’boutमा लेख्न लायक बुँदाहरु टिपोट गरें । मलाई आश्चर्य लाग्यो ! मेरो बाको सम्पूर्ण जीवनी एउटा सानो निबन्ध हैन ठूलै महाकाव्यमा पनि अटाउँदैन । संसारका सवै बाहरु प्रेरणाका स्रोत हुन्छन । सवै बाहरु महान हुन्छन र सवै बाहरु लेखिन र वर्णन गरिन लायक हुन्छन । बा तथाकथित ‘ठूलो बा’ हुनु पर्दैन । बाको लागि बा हुनु नै काफी छ । मेरो बा मेरो समाजका बहुसंख्यक बाहरुका प्रतिनिधि पात्र हुन । मैले विचार गरें, माथिको ‘क्याटेगरी’ का बाहरुको ’boutमा चर्चा गर्न धेरैजना अरुकै छोराहरुले तँछाड मछाड गर्लान । किन्तु मेरो बाको ’boutमा कसले लेख्छ ? अनि मैले अठोट गरें, अव म मेरै बालाई नलेखी अरु कसैको बाको ’boutमा लेख्दिन।

बाको जन्म नव्वे सालको महाभूकम्पभन्दा सोह्र वर्ष अघि  तत्कालीन परिवेशमा सामान्यतः ‘खान लाउन पुग्ने’ परिवारमा भयो । हाम्रा पुर्खा पाल्पाली राजा मणि मुकुन्द सेनको पालामा तत्कालको राजधानीसंगै जोडिएको खस्यौलीमा आएर राजाका आश्रित भई बसेका रहेछन । बाको जन्म हुँदा यसरी बस्न थालेको चारशय वर्ष बितिसकेको थियो । अग्लो शिखरमा उभिएको यो गाउँ देख्दा जति सुन्दर र मनमोहक छ, उब्जनीको मामिलामा त्यति नै कृपण ! यस ठाउँमा मेरा पुर्खा र धर्तीवीच निरन्तर संघर्ष चलिरह्यो । छुच्चो र रुखो धर्ती जसरी हुन्छ उत्पादन गर्न नमान्ने, मानव जसरी हुन्छ उत्पादन लिएरै छाड्ने संघर्षमा अथक परिश्रमी मानव छुच्चो धर्तीमाथि विजयी भएको ठाउँ हो यो ।

छ पुगेर सात वर्ष लाग्दा बाको व्रतबन्ध गरिदिए । यति भएपछि पढ्ने, लेख्ने र सिक्ने बाटो खुल्यो । साधारण आँखाले हेर्दा नेपालको विकट गाउँमा जन्मेका बाहुनहरू समेत सुविधाभोगी र सुनौलो अवसर प्राप्त वर्ग जस्ता प्रतीत हुन्थे । किन्तु यो कथित अवसर हरेक बालक र किशोर बाहुन केटाहरुको लागि कहर बनेर आउंथ्यो । मेरो बाको लागि पनि यो अवसर दशाको रुपमा आयो । केटाकेटी उमेर, अग्लो शिखरको बस्ती, सधै जाडो हुने, बालाई बिहान सवेरै चिसो पानीले नुहाउन अनिवार्य थियो । दिनदिनै लंगौटी फेर्नु पर्ने, एकसरो धोती फेरेर खानुपर्ने । अक्षर चिनाउनेले कुनै दया माया गर्ने ‘चान्स’ थिएन । पाठ बुझाउन नसके पाइने सजाय कडा हुन्थ्यो । घरमा आइपर्ने अन्य काममा नसघाई खान पाइने गुन्जायस थिएन । समाजमा साधनसम्पन्न भनेर चर्चा गरिए तापनि बाहुन परिवारको खाना न उसबेला पोषिलो हुन्थ्यो, न अहिले छ।

बाको व्रतबन्ध भएको थोरै समयपछि नै हजुरबालाई पिसाव पोल्ने रोगले च्याप्यो ।  हजुरबा वुद्धि प्रसाद ‘जेठो’ हुनुहुन्थ्यो । कान्छो हजुरबा केशवराज त्यस बखत सरकारी जागिरमा हुनुहुन्थ्यो । उहाँले त्यो जमानामा पनि प्यारो दाजुलाई जसरी पनि बचाउने ध्येयले बडो सकसले लखनौसम्म पुर्याउनु भयो । ठूलो खर्च गरेर फिरंगी डाक्टरलाई समेत देखाउनुभयो, तर हजुरबा बाँच्नु भएन । खाउँखाउँ लाउँलाउँ र केही गरौँ भन्ने उमेरमै छ जना नाबालक ‘बचेराहरु’ कान्छो भाइलाई जिम्मा लाएर हजुरबा परलोक हुनुभयो । कान्छो हजुरबा गोमती किनारमा दाजुको सतगत गरेर शोकाकुल अवस्थामा एक्लै फर्कनु भयो । मेरो बा कान्छो भएको हुँदा सवैको प्यारो हुनुहुन्थ्यो । अलि ठूलो भएपछि कान्छो हजुरबाले बालाई काठमाडौँ तीनधारा पाकशालामा भर्ना गरिदिनु भयो ।

बा जन्मेको छ सात वर्षपछि श्री ३ महाराज चन्द्र शमशेरले करिया उन्मुलनको घोषणा गरे । लगभग साठी हजार कमारा कमारीमध्य करिव एकाउन्न हजार कमारा कमारीको रकम सरकारले व्याहोरिदियो भने करिव आठ नौ हजारलाई ‘मालिकहरु’ ले नै बिना मूल्य छाडिदिए । यो चन्द्र शमशेर महाराजले गरेको अविस्मरणीय र युगान्तकारी निर्णय थियो । त्यस बखत हाम्रा पुर्खाहरु पनि यस्तै कर्मवीरहरुको पसिनामा बाँच्दा रहेछन । धेरै चाकरी गरेर मात्र केही फलाउन सकिने त्यो रुखो जमिनमा काम गर्ने कामदार स्वतन्त्र भएर हिंडेपछि मेरा पुर्खाको शेखी झर्यो । अनुर्वरमध्य झन अनुर्वर जमिन आफ्नो लागि र तुलनात्मक रुपमा मलिलो जमिन ‘मालिक’ को लागि खनजोत गर्ने कर्मवीरहरु स्वतन्त्र भएपछि जमिन बाँझा हुन थाले । खनजोत, मलजल र चाकरी पुगेन, धर्ती झन छुच्चो भयो ।

पहिले कान्छो हजुरबासंग र त्यसपछि आफ्नै दाइसंग छुट्टीभिन्न भएपछी मेरो बाको हैसियत एउटा निम्नमध्यम वर्गको निम्छरो किसानमा झर्यो । छुट्टिएर निस्कँदा जेठाबातर्फ छोराछोरी हुर्किसकेका थिए । यता बातर्फ डेढ दुई वर्षको अन्तरालमा पालैपालो हामी जन्मन थाल्यौं । सौभाग्यवस बाको भागमा छुट्टिदाका बखत पचासी वर्षकी आमा पनि पर्नुभयो, जो लगभग एकशय वर्षको उमेर पुगेपछि बित्नुभयो । प्यारी हजुरआमाको विषयमा मैले ‘हजुरआमाको भाइटीका’ लेखेर प्रकाशन गरिसकेको छु । बचपनको समय सम्पन्नतामा र युवावस्था पनि सन्तोषजनक स्थितिमा बिताएका बा जीवनको सवैभन्दा बढी स्रोत साधन आवश्यक पर्ने अधबैंसे बेलामा अकस्मात झन्डै अभावग्रस्त अवस्थामा पुग्नुभयो । बीस वर्षको अवधिमा जन्मेका नौजना सन्तान, नब्बे वर्ष काटेकी आमा, स्वभावैले आमा बस्ने घरमा लाग्ने पाहुनाको वीचमा बा कति विवश र लाचार  हुनुभयो होला कल्पना मात्र गर्न सकिन्छ । सायद त्यो समय बाको लागि पर्खेर बस्ने परिस्थितिमा सीमित थियो ।

बा नौ दश दिन पैदल हिंडेर काठमाडौँ पढ्न जानुभयो । तर टुहुरो भतिजालाई जुन उद्देश्य प्राप्तिका लागी कान्छो हजुरबाले पढ्न पठाउनुभयो , त्यो उद्देह्य पूरा हुन सकेन । कान्छो हजुरबा कान्छो भातिजोलाई ठूलो पण्डित बनाउन चाहनुहुन्थ्यो । उहाँले बालाई बिदा गर्दा यस्तो आशीर्वाद दिएर पठाउनुभयो :-

  स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु

  गौवाजिरत्न धनधान्य समृद्धिरस्तु

  ऐश्वर्यमस्तु वलमस्तु रिपुक्षेयोस्तु

  सन्तानसौख्यशततं हरिभक्तिरस्तु

त्यस बखत पढ्न जानु भनेको गुरुको शरणमा जानु हुन्थ्यो । गुरुहरु भित्रभित्र दयालु भए तापनि साह्रै कडा स्वभावका हुन्थे । त्यस बेलाका बाहुन केटाको अवस्था अहिलेको समयका खलासी केटाको जस्तै हुन्थ्यो । धेरै दुख गरेर, गाली र निन्दा सहेर र अविरल सेवा गरेर खुसी नपारी ड्राइभर गुरुले गाडीको स्टेयरिंग समाउन दिंदैनन । गुरुले खारेको चेलो भविश्यको पक्का पण्डित, ड्राइभर गुरुले खारेको खलासी भविष्यको पक्का ड्राइभर ! बा भन्ने गर्नुहुन्थ्यो ‘गुरुलाई खुसी पार्न कठिन छ । राम्रोसंग पढेर मात्र, सेवा गरेर मात्र गुरु खुसी हुँदैनन, गुरुले चाहेको कुरा के हो मनसाय बुझेर काम गर्न मुस्किल हुन्छ । तर अर्को उपाय पनि छैन :-

  देवो रुष्टे गुरुस्त्राता गुरो रुष्टे न कष्चन

  गुरुस्त्राता गुरुस्त्राता गुरुस्त्राता न संशय : ।’

बाले काठमाडौँ वस्दाका धेरै प्रसङ्ग सुनाउनुभयो, तर आफ्नो पढाइको प्रसङ्ग कहिल्यै निकाल्नु भएन । कान्छो हजुरबाले बालाई जुन कामनासाथ ‘नेपाल’ पठाउनुभयो उहाँले त्यो पूरा गर्न सक्नु भएन । काठमाडौँको पढाइ सकी बा थप अध्ययनको लागि काशी जानुपर्थ्यो । कान्छो हजुरबाको अभिलाषा ‘कान्छो’ लाई ठूलै पण्डित बनाउने थियो होला । अथवा काशी पढ्न नगए  ‘कान्छो’ दरवार पस्ला र सरकारी ‘सिन्दूर’ पहिरला भन्ने आशा थियो होला । किन्तु बाले उहाँको अभिलाषामाथि तुषारापात गरिदिनु भयो । बा न त धेरै पढेर ‘भागवत भन्ने’ पण्डित हुनुभयो, न त सरकारी जागिर नै खानु भयो । मानिस भरसक आफ्ना कमजोरीहरु लुकाउन चाहन्छ । बालाई राम्ररी थाहा थियो, पढाइ पूरा गर्न नसकेर उहाँले ठूलो अवसर गुमाउनु भएको छ । पढाइ पूरा गर्न नसकेकोमा बालाई आजीवन पछुतो भयो, तर त्यस पछुतोलाई उहाँले सधै लुकाउनु भयो ।

पढाइ’bout फुट्टी कुरा नगर्ने बाले राणाको सान, ठूलाठूला दरवार, बग्गीमा हुने सानदार सवारी, राजा त्रिभुवन र श्री ३ जुद्ध शमशेर मोटरमा यात्रा गरेको देखेका कुरा, भरखरै बन्न लागेको जुद्ध सडक, रानीपोखरी, पशुपतीनाथ, नारायणथान, असन इन्द्रचोक आदि ’boutमा जिज्ञासु गाउँलेहरुलाई खुव सुनाउनु भयो । बा भन्ने गर्नुहुन्थ्यो, ‘जो दरवार पसो तो फंसो’ । भित्ताका पनि पनि कान हुन्छन, बोले जिब्रो थुतिन्छ भनेर त्राहीमाम हुने राणाकालीन समयमा पनि शासन, सत्ता र शक्ति’bout खुसखुसे चर्चा हुन्थे । बाले गुरुहरुले बन्दकोठाभित्र जंग बहादुरले आफ्नै मामा माथवर सिंहलाई मारेको,  भिमसेन थापाले पाल्पाली राजालाई झूटा आरोप लगाई  काठमाडौँमा काटेको, पछि पाल्पामै तैनाथवाला भई वस्ने खड्ग शमशेरले आफ्नै काका महाराज रणोद्दीप सिंहलाई मारेको, चन्द्र शमशेरले दाइ महाराज देव शमशेरलाई लघारेको जस्ता घटना’bout कुरा गरेको सुन्नुभयो ।

बामा शक्तिमा वस्नेहरु निर्दयी, अहंकारी र स्वार्थी हुन्छन भन्ने छाप पर्यो । लेखापढी गर्न र बहीखाता राख्न सक्नेसम्मको योग्यता थियो, घरमा निजामती सेवामा जागिर खाने अग्रज पनि थिए , जागिरको अवसर पनि सहजै मिल्दोहो, तर बालाई जागिर खान मन लागेन । बा गुरुसंग राणाका दरवारमा ‘टीको लाउन’ जानु भयो, तर सिंहदरवारभित्र पस्नु भएन । म सानै हुँदा बाले आफ्ना दौंतरीहरुसंग कुरा गरेको सुनेको थिएँ ‘राजा महाराजाहरुको जिन्दगानी यसो हेर्दा खुबै सुखी देखिन्छ । तर हामीले देखेजस्तो सुखी हुँदैनन उनीहरु । धनले त सुखी होलान, तर मन सुखी हुँदैन । मलाई एकपल्ट गुरुले ठूलो राणाको घरमा लिएर जानुभयो । राम्री, झपक्क गहना लाएकी रानीसाहेवले मलाई टीको लाइदिँदै भनिन ‘मलाई धेरै आसिक देउ है बाउन नानी !’ मैले पुलुक्क रानीसाहेवको अनुहारमा हेरें, उनका आँखाबाट आँशु वगिरहेको थियो । त्यसबेला मलाई रानी पनि रुँदा रहेछन भनेर आश्चर्य लाग्यो । मैले के आसिक दिनु, मैले दिएको आसिक के लाग्नु !’ ककनीमा, पूर्व एक नम्बरमा र कलकत्तामा अघोषित श्रीमती राख्ने जरसावकी  रानी रुनुको कारण बाले पत्तै पाउनु भएन ।

बाले भद्रकाली मन्दिरको पूर्वतिर उभिएर सिंहदरवारलाई नियाल्नु भयो । बा झसंग हुनुभयो । त्यो हजारकोठे ‘आलिशान’ दरवारले मेरो बालाई आकर्षण गर्न सकेन । बाले त्यो महललाई ‘डरलाग्दो राकस’ देख्नुभयो । बाले अड्डा अदालत, कचहरी र सरकारी झमेलाबाट सधै टाढा रहने प्रयास गर्नुभयो । हामी छोराहरुलाई पनि सरकारी जागिरे बनुन भन्ने अभिलाषा राख्नु भएन । आजभन्दा करिव असी वर्ष अघि बाले टाढैबाट ‘टाटा’ गरेर हिंडेको सिंहदरवारभित्र मैले झन्डै बीस वर्ष काम गरें । अहिले म आफैलाई सोध्दै छु, सिंहदरवारलाई बाले टाढैबाट जति चिन्नुभयो  मैले दरवारभित्रै बीस वर्ष काम गर्दा त्यति चिनें त ?

बाले आफूले गुमाएको अवसर आफ्नो जेठो छोरामा खोज्नुभयो । किन्तु जीवनयात्रा  चाहेजस्तो लयमा किन हिंड्थ्यो ! मानिसको जीवनका अविस्मरणीय र निर्णायक घटनाहरु संयोगले सिर्जित हुन्छन । प्रायः विवाह, पढाइ, नोकरी, वसोवास र पेशा व्यवसाय नियोजितभन्दा पनि संयोगका उपज हुँदा रहेछन । मेरो बा मेरो जेठो दाइलाई ठूलो पण्डित भएको देख्न चाहनुहुन्थ्यो । बाको यो नियोजित अभिलाषा थियो । जेठो छोरो कहिले आचार्य उत्तीर्ण गरेर आउला र अम्बिका प्रसादको छोरो भनेर चौतर्फी ख्याति फैलिएला भन्ने मनसायले कुरेर बसेका बाको सपनामा त्यस दिन तुषारापात भयो जुन दिन ऋषिकेशमा पढ्दापढ्दै सत्रवर्षे दाइ भारतीय फौजमा भर्ति हुनुभयो ।

बा फेरि हार्नुभयो । सायद यही हारको कारण हो कि, बाले अरु छोराहरुलाई संस्कृत पढ्न पठाउने प्रयास गर्नु भएन । बा चाहनुहुन्थ्यो, छोराहरु गाउँ नजिककै स्कूल कलेजमा  पढुन र असल शिक्षक बनुन । बा बाँचिरहेको समय, समाज, वातावरण, उहाँको हैसियत र विश्वास अनुसार बाले जे सोच्नुभयो त्यो ठीक थियो । नियतिलाई  बाको सुखी र आनन्दको जीवन स्वीकार भएन । बाले अल्प वयका सन्तान गुमाउन भयो । दुर्दैवले धेरै कुरा खोस्यो, धेरै पटक हरायो, धेरै पल्ट छाती चिरिने वातावरण सिर्जना गर्यो,  निरन्तर भित्रभित्रै रुवायो । निष्ठुर नियतिसंग बा हार्नुभयो, तर हरेस खानु भएन, आफ्नो कर्ममा डटिरहनु भयो ।

किसानको जीवन खेती र पशुधनमा अडेको हुन्छ । कुनै वर्ष अनावृष्टि, अतिवृष्टि, खण्डवृष्टि भयो, पहिरोले खडा बाली सोहोरेर लग्यो, मकै धानमा किराको महामारी फैलियो भने के खाने ? आम्दानीको अतिरिक्त स्रोत नहुने साना र मझौला किसानलाई दैवी संकष्टले छाती पिटी पिटी रुने गराउँछ  । कुनै वर्ष गाई भैंसी व्याएनन, भैंसी, गोरु, गाई, बाच्छाबाच्छी ,पाडापाडी र पाठापाठी अकालमा मरे भने किसानको विचल्ली हुन्छ । हाम्रो घरमा सामान्यतया वर्षेनी एउटा भैंसी र एक या दुईओटा गाई व्याउंथे । प्रायः एउटा लैनु एउटा बकेर्नु भैंसी र एउटा या दुईटा गाईको समेत गरेर साँझ बिहान दश बाह्र माना दूध हुन्थ्यो । आधा दूध खाएर भ्याए तापनि बाँकी दूध जमाएर एकदिन बिराएर मही पार्न पुग्थ्यो । गोरस छेलोखेलो भएका बखत हामी आआफ्ना कचौरा या रिकापी लिएर लाइन लाग्थ्यौं । बाले एक एक डाडु घिउ हालिदिनिहुन्थ्यो । तर कुनै वर्ष भैंसीले ‘बाँठ मार्यो’, तुह्यो या मर्यो भने बरबाद हुन्थ्यो । मेरो हजुरआमा परिहास गर्दै भन्नुहुन्थ्यो ‘बाउआमा मरे घिउ र भात, हलको गोरु मरे पुर्पुराँ हात !’

म सानै थिएँ । साउनको महिना थियो । हाम्रो घरमा बडो दुधालु ठूलो कालो भैंसी थियो, साह्रै गुनी । प्रत्येक दोस्रो साउनमा ब्याउने र बीस महिना दूध दिने । ब्याएको करिव आठ नौ महिना एकपाथी, त्यसपछिको आठ नौ महिना चारमाना र थाक्ने बेलामा पनि दुईमाना पच्चीसमुठी दूध दिन्थ्यो । एक दिन विहानै भैंसीलाई बेथा लाग्यो । भैंसी उठ्दै बस्दै गरिरह्यो । बिहान छ बजेदेखि बेथा लागेको भैंसीले आठ बजेतिर मात्र खुर देखायो । आमा ‘यसको बेथा जाद्रै लाँबो छ, अझै दुई तीन घडी पाडो फाल्दैन’ भन्दै कतै जानु भयो । पन्चानव्वे वर्षकी हजुरआमा पिढीको भित्तामा अडेस लाएर बस्नु भएको थियो । हजुरआमा पाँच पाँच मिनेटमा ‘पाडो फालो ?’ भन्दै सोधिरहनु भएको थियो । म ठूलो कौतुहलमा थिएँ । भैंसी बस्दा दुइटा खुर बाहिर देखिन्थे, उठ्दा भित्र पस्थे । यस्तैमा कार्की बा ‘ ए कान्छबाउ’ भन्दै आए । कार्की बाले यसो हेरेर भने ‘ओहो कान्छबाउ पाडो त उल्टा छ । खुर देखियो, तर पाडाको मुख देखिएन, यी त पछाडिका खुट्टा पो देखिए । छिप्पिएको भैंसी रैछ बल गरेर पाडो बाहिर घुचेट्न सक्ला जस्तो छैन । राम्रोसंग ब्याओ भनी यसो हाम्ले पनि चाखम्ला भनेको त खै’ भन्दै गए बूढा । बाह्र बज्यो । भैंसी उठ्न छाड्यो, तर एक बित्ता खुट्टा देखिनु बाहेक कुनै प्रगति भएन । बा गम्भीर देखिनु भयो । एकातर्फ भैंसीले पाइरहेको सास्ती र अर्कोतर्फ पाडो फाल्न नसकेर मर्यो भने ? गाई ब्याउने मङ्सिरमा मात्र हो, तैपनि हजुरआमालाई गाईको दूध खुवाउनु हुँदैन, खोकी लाग्छ । बा जुरुक्क उठ्नुभयो । बाले एउटा पुरानो सिरकको खोल लिएर आउनुभयो र पाडाको खुट्टा त्यही कपडाले बेरेर च्याप्प समातेर ‘हे ईश्वर पाप नलागोस’ भन्दै जोडले तान्नुभयो । ‘च्वालालाल्ल’ आवाजसाथ पाडो बाहिर निस्क्यो । उल्टे पाडो ठूलो रहेछ । दुई मिनेटमा भैंसी जुरुक्क उठ्यो, पाडो पनि बाँच्यो ।  दुई बजे बाले दशमाना दूध दुहुनु भयो ।

बाको स्मरण शक्ति अद्भुत थियो । बालाई एकदुई पल्ट पढेपछि श्लोकहरु मुखाग्र हुन्थे । रुद्री, चण्डी, गीता, विष्णुसहस्रनाम र भागवतका ईश्वरस्तुति सम्बन्धी प्रायः श्लोकहरु मुखाग्र थियो । बिहान तीनबजेतिर जागेर एकघण्टा :-

  करारबिन्देन पदारबिन्दं मुखारबिन्दे विनिवेशयन्तं

  वटस्य पत्रस्य पुटे सयानं बालं मुकुन्दं मनसास्मरामी

  संहृत्य लोकान वटपत्रमध्ये सयानमाद्यान्तविहीनरुपं

  सर्वेश्वरं सर्वहितावतारं बालं मुकुन्दं मनसास्मरामी

इत्यादि श्लोक मुखाग्र पाठ गरेपछि उठेर तमाखु भर्न थाल्नुहुन्थ्यो । बा निरन्तर तमाखु तानिरहनुहुन्थ्यो । भनेको बेलैमा प्रशस्त अडिलो आगो चाहिने हुँदा आगोको जगेर्ना गर्ने काम बडो कठिन हुन्थ्यो । सांझ सुत्नुभन्दा अघि नै राम्रो खाले मोटो दाउरो भुकभुके खरानीमा पुरेर राखिदिनु पर्थ्यो ताकि बिहान चुलोमा आगो खोस्रंदा गजवको आगाको डल्लो फेला परोस । बा उस्तो शारीरिक श्रम गर्न सक्नुहुन्नथ्यो, तर खाली बस्ने बानी थिएन । पिढीमा वसेर तमाखु तान्दै दाम्ला बाट्ने, सिजनमा जनै बाट्ने, चोया काढ्ने जस्ता काम गरेर बिताउनुहुन्थ्यो ।

मेरो व्रतबन्ध सात वर्ष पुगेर आठ वर्ष लाग्ने बित्तिकै भयो । एउटा सेतो कपडाभित दुवै जनाको टाउको लुकाएर कान्छो हजुरबाले मलाई गायत्रीमन्त्र सुनाउनु भयो । मलाई गायत्री मुखाग्र पार्न बडो मुस्किल परेको थियो । उच्च स्वरमा घोक्न नमिल्ने, मनमन घोक्दा धेरै समय लाग्यो । ‘यस्तो मन्दवुद्धिले के पढ़ला’ भनेर बाले निकै निन्दा गर्नुभयो । बाह्रखरी लेख्न जान्ने हुने बित्तिकै बाले :-

त्वमेव माता च पिता त्वमेव

त्वमेव  बन्धुश्च सखा त्वमेव

त्वमेव विद्द्या द्रविणम् त्वमेव

त्वमेव सर्वम्मम देव देव : श्लोक घोकाउनु भयो । बाले जति चांडो यो श्लोक घोकिस त्यति चांडो छुट्टी पाउँछस भन्ने, आफूले घोक्यो फेरि अर्को श्लोक तयार ।

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर :

गुरुर्साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः 

अनि हुँदा हुँदा :-  

सावर्णि: सूर्यतनयो यो मनु: कथ्यतेsष्टम:

निशामय तदुत्पत्तिम् विस्तराद्गदतो मम:

महामायानुभावेन यथा मन्वन्तराधिप:

स बभूव महाभाग: सावर्णिस्तनयो रवे:

भन्दै दुर्गा सप्तसती समेत घोकाउन थाल्नुभयो । धन्न जेठो दाइ ऋषिकेशमा उत्तरमध्यमा पढ्दापढ्दै इन्डियन आर्मीमा भर्ना भएको हुँदा यो घोक्ने कामबाट छुट्टी पाइयो । म घर नजिकैको सरस्वती स्कूलमा दुई कक्षामा भर्ना भएँ । मेरो शैक्षिक जीवनको यो ठूलो कोशेढुंगा थियो । मलाई अहिले महसुस हुन्छ , मैले कि संस्कृत नै पढ्नु पर्थ्यो या विज्ञान । तर त्यो मेरो नियतिलाई स्वीकार थिएन । दुई कक्षामा म ‘सेकेन्ड’ भएँ । मभन्दा पछि भर्ना भएका अग्रज लोकनाथ गौतम अंकल ‘फस्ट’ हुनुभयो । म सेकेन्ड हुँदा पनि खुसी नै थिएँ, किनकि लोकनाथ अंकल हर तरहले मभन्दा उम्दा हुनुहुन्थ्यो । तर बा खुसी हुनु भएन । पाँच कक्षासम्म म निरन्तर सेकेन्ड भइरहें, लोकनाथ अंकल फस्ट भइरहनु भयो । बाले पनि सधै ‘लोकनाथालाई जित्न नसक्ने भइस’ भन्न छाड्नु भएन ।

हाइस्कूलमा मेरो पढाइ राम्रो भएन ।  सानैदेखि पाता खेल्ने, ब्याट खेल्ने, खोपी खेल्ने र तास समेत बाँकी नराख्ने बानी बस्यो । मेरा कितावहरु प्रायः पहिलो छ महिनामै च्यातिन्थे । कापीका पानाहरु दुवैतिरबाट च्यातिएर सकिन्थे । कलम भाँचिन्थ्यो या हराउँथ्यो । गणितमा म सवैभन्दा खराव विद्द्यार्थी थिएँ । कलेज पढ्न थालेपछि मेरो पढाइ सप्र्यो । पहिलो सेमिस्टरमै प्रथम भएर त्रिभुवन विश्वविद्द्यालयबाट त्यस जमानाको पाँचशय पुरस्कार पाउँदा पनि बाले ‘स्यावास’ भन्नु भएन । ‘अर्कोपल्ट पनि हुनु परो नि’ भन्नुभयो । अर्कोपल्ट समेत प्रथम हुँदा पनि बा खुसी लुकाउन सफल हुनुभयो । आमा भन्ने गर्नुहुन्थ्यो ‘बाहरु खुसी, माया र आँशु लुकाउछन, आमाहरु आफ्ना सन्तानहरुको खुसीको लागि भोक, तिर्खा र रिस लुकाउँछन ।’

बा बुधबार बार्नुहुन्थ्यो । बुधबारको दिन सापटी दिने, लिने, तिर्ने, नया काम सुरु गर्ने र साइत गर्ने काम गर्नुहुन्नथ्यो । बा पन्चक, तिथि मिति, मेलापर्व, रुद्री, विवाह, व्रतबन्ध, चौरासी पूजा आदिको मुहुर्त हेरिदिएर आफूले सक्ने समाजसेवा गर्नुहुन्थ्यो । शनिबार र सोमबार पूर्व, आइतबार र शुक्रबार पश्चिम, मंगलबार र बुधबार उत्तर र बिहीबार दक्षिणको यात्रा गर्न पूर्ण मनाही थियो हाम्रो घरमा । आमा भन्नुहुन्थ्यो ‘बिहीबार त दक्खिनतिर सकभर दिसा गर्न पनि नजानु । धेरै कडा दिक्सुल पर्छ ।’ इन्डियन आर्मीमा काम गर्ने जेठा दाइ छुट्टीमा आउँने बित्तिकै बा सोध्नुहुन्थ्यो ‘कैले फ़र्कनेओस् ?’ दाइले फलानो दिन भन्नासाथ बा पात्रो फिंजाउनुहुन्थ्यो । दाइ फर्कने दिन सम्बन्धमा प्रायः बाबुछोराको वीचमा वादविवाद पर्थ्यो । दाइ भन्ने ‘त्यो दिन नहिड्ने हो भने मलाई ढिलो हुन्छ, म त कोर्टमार्सलमा पर्छु ।’ बा भन्नुहुन्थ्यो ‘बरु दुई दिन अगाडि जा , त्यो दिन त जान पाउन्नस ।’

बा आखत हेर्ने, चिना हेर्ने, बीर हेर्ने जस्ता काम गर्नुहुन्नथ्यो । बालाई जडीबुटी र औषधि बनाउने’bout केही ज्ञान थियो । बाले नजानेको कुराको गफ लाउनुभन्दा फलानालाई भेटेर सोध्नु भनेर आफूले पत्याएको मानिसकहाँ पठाउनुहुन्थ्यो । कहिलेकाहीं सक्दिन, जान्दिन भन्दाभन्दै पनि उछार नपाइने । एक दिन रातिको नौ बजेको हुँदोहो, एकजना काका आएर तल आँगनबाट ‘सान्दाजी सान्दाजी’ भन्दै बोलाउनुभयो । बालाई जरो आएको हुँदा सुतिसक्नु भएको थियो । मैले ‘फलाना बा हो’ भनेपछि बाले काकालाई माथि नै डाक्नुभायो । काका दाँत दुखेर छटपटाउनु भएको रहेछ । ‘सान्दाजी मलाई गोरुपुरबाट ल्याको दाँतको औसधि दिनुस’ भन्न थाल्नुभयो । बा दाँत दुख्ने रोगले धेरै पीडित हुनुहुन्थ्यो । सुरु सुरुमा गोरखपुर गएर औषधि गराएपछि नक्कली दाँत राख्नुभयो । नक्कली ‘बत्तिसी’ राखेपछि बाले जुनी फेर्नु भएको थियो ।

त्यस बखत सामान्यतया डाक्टर भेट्न गोरखपुर पुग्नु पर्दथ्यो । बाले गोरखपुरबाट ल्याएको दाँत सम्बन्धी तीन चारओटा एलोपेथिक औषधिका सिसीहरु  खाली नहुन्जेल प्रयोग गरिए । औषधिको म्याद जान्छ भन्ने कुरा के थाहा ! काकाले त्यही औषधि बाँकी होला भनेर माग्नु भएको थियो, तर औषधि सक्किइसकेको थियो । काका दर्दले छ्टपटाइरहनु भएको थियो । उहाँले भन्नुभयो ‘केही न केही उपाय गर्नु परो सान्दाजी । मलाई ‘अत्ति’ नै दुखिरहेको छ । फुकेर हुन्छ कि बुटी बाँधेर हुन्छ कि केही न केही गरिदिनुस ।’ बाले उहाँलाई ‘तँ तल जा म यसलाई सिकाएर पठाउँछु’ भनेर मतिर इशारा गर्नुभयो । काका तल झरेपछि बाले भन्नुभयो ‘यसले केही गरी मानेन । तँ काकासंगै जा । यसको घरपछाडि खुर्सानीका सुकेका ठुटाहरु छन् । एक्लै गएर एउटा टुक्रो खुर्सानीको जरा निकालेर यो धजोमा बाँधेर काकाको घाँटीमा झुन्डाएर आ ।’ म काकासंगै गएँ, टर्च लिएर ‘यता नहेर्नुहोला है’ भन्दै पछाडि गएँ । देख्यो भने औषधि लाग्दैन भन्ने विश्वासले गर्दा उहाँले चियो गर्ने कुरो भएन । म खुर्सानीको जराको जन्तर बाँधेर फर्कें । भोलिपल्ट बिहानै काका आउनुभयो र भन्नुभयो ‘ओहो सान्दाजी धेरै बिसेक भयो नि !’

सात आठ वर्षको उमेरमा म बासंगै तानसेन गएँ । तानसेनमा बाका मामाका छोरा जगन्नाथ पन्थीले ‘जनप्रिय होटेल’ खोल्नु भएको थियो । सायद त्यो तानसेनकै पहिलो ‘लज’ थियो । मैले पहिलो पल्ट कलधारा र पक्की चर्पी देखेको त्यही होटेलमा हो । अलि पछि तानसेनमा बिजुली बलेपछि मैले पहिलोपल्ट बिजुली बत्ती देखेको पनि सोही होटेलमा नै हो । पश्चिमतिरबाट तानसेन जाँदा सुरुमा चुत्राभन्ज्याङ् भन्ने बजार आउँछ । अचेल कैलाशनगर भनिने त्यो बजारमा अरु केके खानेकुरासंगै पहेंलो रंगको देख्दै खाउँ खाउँ लाग्ने कुरा पनि बेच्न राखेको रहेछ । मैले ‘बा म ऊ तो खान्छु’ भनें । बाले ‘धत् ! त्यस्तो पनि खान्छन ? जात जान्छ’ भन्नुभयो । बाको कुरा काट्ने र जिद्दी गर्ने हिम्मत थिएन, चुप लागें । तर मेरो मन चुप लागेको थिएन । पछि मैले आमासंग त्यो खानेकुरा र जात जाने विषयमा सोधेको थिएँ । आमाले भन्नु भएको थियो ‘त्यो त कुखुराको फुल हो । बाहुनले कुखुरो खान हुँदैन, जात जान्छ ।’

बा स्नान, जप, ध्यान, पूजाआजा आदि कुरामा अत्यन्तै कट्टर हुनुहुन्थ्यो । जतिसुकै जाडो होस्, जतिसुकै कामको ‘माचो’ होस्, जति टाढा जानुपर्ने होस बिहान पन्चायन पूजा नगरी कहिल्यै केही खानु भएन । तमाखुको लागि जस्तै धुप हाल्नको लागि सांझ बिहान असली आगो चाहिन्थ्यो बालाई । यस मामिलामा आमाले धेरै दु;ख पाउनुभयो । बा जातपातमा विश्वास गर्नुहुन्थ्यो । किन्तु जातपातकै आधारमा हेप्ने र भेदभाव गर्ने कुराको बिरोध गर्नुहुन्थ्यो । अझैसम्म जातपातको आधारमा भेदभाव र छुवाछुतको कलुषित भावना बोक्ने समाजमा एकशय वर्षभन्दा अघि जन्मेका मेरो बामा त्यो भावना हुनु नितान्त स्वाभाविक थियो । बाले आफूभन्दा जेठा कामी, सार्की र दमाईलाई क्रमश सम्मानसाथ सावंत, साहु र कम्पनी भनेर बोलाउनुहुन्थ्यो । यी शव्दहरुको के अर्थ होला भनेर अनुमान लगाउन सकिन्छ, तर मलाई ठ्याक्कै अर्थ अझै पनि थाहा छैन । अलि पछि यी शव्दहरु प्रयोग भएको सुनिन छाड्यो ।

बा भन्ने गर्न्य्हुन्थ्यो ‘कसैको सुको नखानु । बरु आधा पेट खानु, तर आफ्नो इमानजमान नछाड्नु । धेरै पैसा हुँदैमा कोही सद्धे मानिस बन्दैन । कसैलाई आपद पर्दा सहयोग नगरी थुपारिने धन र माटाको डल्लोमा कुनै फरक छैन । बेइमानी नगरी कोही धेरै धनी हुन सक्दैन । राणाहरु काटमार गरेर, कुटुम्ब मारेर, रैतीलाई कंगाल बनाएर धनी बनेका हुन । ठूला साहुहरु धेरै नाफा खाएर धनी भएका हुन । जिम्दारहरु जोताहा मारेर धनी भएका हुन । अर्कालाई ठगेर, खोसेर, झुक्याएर र घात गरेर यस लोकमा धनी भएर के गर्नु ? पछि यमका दूतले लतार्दै लैजान्छ, कुम्भीपाकमा जाक्छ, जीव्रो थुतेर पीपको कुण्डमा डुवाउँछ ।’

बाले राणा शासन, सातसालपछिको अन्तरिम शासन, पन्ध्र सालको चुनावपछिको संसदीय शासन, निर्दलीय शासन र छयालीस सालपछिको बहुदलीय शासन देख्नुभयो । बामा राजनीतिप्रति खासै लगाव थिएन र यसका बक्ररेखाहरु’bout धेरै कुरा थाहा पनि थिएन । तर शासन र सत्ता सधै निर्दयी, लोभी, अहंकारी र जनतामारा हुन्छ भन्ने बाको पक्का विश्वास थियो । बाले ‘नबुझिकनै’ सत्ता ‘राजनीति’ बुझ्नुभयो , मैले राजनीतिशाश्त्र पढेर र ‘बुझेरै’ पनि अझै बुझ्न सकेको छैन । देशमा बहुदलीय शासन प्रणाली स्थापना भएपछि राजनीतिको कारण घर घरमा, टोल टोलमा, कुटुम्ब र मित्रहरुवीच भएको झगडा, मनमुटाव र पानी बाराबारको अवस्था देखेर बा धेरै दिक्दार हुनु भएको थियो । बालाई धन्न लोकतान्त्रिक गणतन्त्रको तमासा देख्नु परेन ।

मेरो हजुरआमाको उमेर दशौँ दशक पूरा हुनै लागेको थियो । तलमाथि गर्न असमर्थ भएपछि उहाँलाई बाले तल दलानमा सार्नु भयो । हजुरआमा बिहान लगातार खोकिरहनुहुन्थ्यो । घाम लागेपछि अलि बिसेक हुन्थ्यो । बाले हजुरआमालाई बिहानै चिया, भैंसीको दूध, र महमा फेटेको अदुवाको रस खुवाउनुहुन्थ्यो । हजुरआमाको शरीर सुकेर मसिनो भएको थियो, बाले उचालेर भान्सामा भात खान लानुहुन्थ्यो । हजुरआमाले आधा घण्टा लाएर मुस्किलले चारगास भात निल्नुहुन्थ्यो । मंसिरको महिना थियो । सधैजस्तो बिहानै बाले हजुरआमालाई महमा फेटेको अदुवाको रस चटाउन खोज्दा जिब्रोले ‘ल्याप्प’ चाट्न सकेन, जिब्रो लुलो भयो । बाले हजुरआमाको नारी छाम्नुभायो । बा भित्र पसेर आमालाई भन्नुभयो ‘आज आँबैलाई अर्धजल लाने हो छिटो भात पका ।’ त्यसबखत मर्न लागेका व्यक्तिको अधोअंगबाट प्राणवायु ननिस्कियोस भनेर कम्मरदेखी मुनिको भागलाई नदीको जलमा डुवाउने क्रियालाई अर्धजल भन्ने गरिन्थ्यो । अहिले पनि बाँच्ने आशा मरेका बिरामीलाई आर्यघाटको ब्रह्मनालमा आधा शरीर पानीमा डुब्नेगरी सुताउने चलन छ ।

केही बेरमा जेठाबा आउनुभयो । उहाँले यसो हजुरआमालाई हेरेर भन्नुभयो ‘आँबैलाई अझै केहीदिन केही पनि हुन्न । यस्तो जाडोमा त्यो रिडीको बगरमा को कुरेर बस्छ ?’ बाले भन्नुभयो ‘आज आँबैको जिउरो लुलो भयो, औषधि चाटिएन । आँबै तीन दिनभन्दा पर जानुहुन्न । बस्नै पर्ने भएछ भने म रुँगेर बस्छु ।’ हजुरआमालाई डोलीमा चढाएर रिडी लगियो । हजुरआमालाई आफूलाई अर्धजल लाँदै छन् भन्ने जानकारी थियो, उहाँ असाध्यै खुसी हुनुभयो । उहाँले को को आएका छौ ? कहाँ आइपुगियो ? मलाई फलानो फलानो चौपारीमा बिसाउनु, फलानो मन्दिरमा लैजानु भन्दै बडो हर्षकासाथ अनन्तयात्रा अघिको अन्तिम जीवनयात्रा गर्नुभयो । भोलिपल्ट बिहान भगवान ऋषिकेशवको दर्शन गराएपछि हजुरआमाले भन्नुभयो, ‘अव मेरो मनोरथ पूरा भयो, मलाई ‘गन्नई’ लैजाओ ।’ आधा शरीर गण्डकीमा डुवेको थोरै बेरमा हजुरआमा बैकुन्ठे चतुर्दशीको भोलिपल्ट औंसीको दिन परलोक हुनुभयो । यो घटनापछि बाको ख्याती ‘नारी हेर्न जान्ने’ को रुपमा फैलियो । संयोग हो या बाको विशेष ज्ञान हो थाहा छैन, तर धेरै कमजोर र वृद्ध बिरामीहरुको मृत्यु’bout बाले गरेको अनुमान प्रायः मिल्थ्यो । तर आफ्नै मृत्युले बालाई झुक्यायो ।

बा भन्ने गर्नुहुन्थ्यो ‘सकेसम्म कसैको प्रतिग्राही नबन्नु । कसैको प्रतिग्रह ग्रहण गर्नै पर्यो भने त्यसको सट्टा आफूले पनि दानपुण्य गर्न नचुक्नु । कसैको उपकार र दान गरेको विषयमा गुड्डी नहाक्नु, अहंकार नगर्नु ।’ बा जजमानी काम पनि गर्नुहुन्थ्यो । बाका बडो हितैषी, दानी र अत्यन्त प्रीति गर्ने जजमानहरु थिए । बाको मनमा आफू पढाइ पूरा नगरी फर्केको कारण ‘भागवत भन्ने’ सामर्थ्य भएन, पुरोहित्याईं गर्नुपर्यो भन्ने हीन भावना लुकेको हुन सक्दछ । सिधा नभने पनि बाका अभिव्यक्तिहरुबाट यस्तो अनुमान गर्न सकिन्थ्यो । बा भन्नुहुन्थ्यो ‘जसले आफूले गर्न लागेको काम वीचैमा छाड्छ, जो आफ्नो कर्तव्यबाट भाग्छ, जो गरुङ्गो भयो भनेर बोकेको भारी फालेर हिंड्छ, त्यसले अवश्य दुख पाउँछ । समयले कसैलाई पर्खंदैन, समय नचिन्ने मान्छेको हातमा पश्चाताप बाहेक केही आउँदैन । अल्छीको इज्जत हुँदैन, लोभको भाँडो भरिन्न, चोरको मन शान्त हुँदैन, समय नचिन्नेको भाग्य हुँदैन । दु:खी र पीडितलाई नसताउनु, के थाहा समयले आफैलाई कहाँ लगेर पछार्ने हो । आफू कसैको आँशुको कारण नबन्नु । चारधाम गरेर कमाएको पुण्य एकजना निर्दोषको आँशुले बगाउँछ । सके उपकार गर्नु, तर कसैको अपकार नगर्नु । अष्टादश पुराणेषु व्यासस्य वचनद्वयं परोपकार पुण्याय पापाय परपीडनं ।’

बा भन्नुहुन्थ्यो ‘मानिसको जन्म उसका बाबु आमाले चाहेको ठाउँमा हुनसक्छ, तर मृत्यु कहाँ कुन अवस्थामा हुने हो के थाहा !’ उमेर अलि कम भएको समयमा जरो आयो भने पनि हतास हुँदै ‘अव म बाँच्दिन’ भन्ने बा सत्तरी वर्ष नाघेपछि अव म बाँच्दिन भन्न छाड्नुभयो । मानव जीवन यात्रामा रोजीरोटीको लागि जहाँ पुगे तापनि आफ्नै माटोमा मर्न चाहन्छ । मानिसलाई आफ्नो जन्मभूमि, आफ्नो देश, आफ्नो मातृभाषा र आफ्नो संस्कार प्यारो हुन्छ । ठूलाठूला पद र जिम्मेवारी सम्भालेका व्यक्तिहरु पनि संकष्टमा, विपदमा र जीवनको अन्तिम समयमा माता र मातृभूमि याद गर्दछन । बाले जीवनको नव्वे प्रतिशत समय आफ्नो जन्मभूमिमा बिताउनु भयो । अझ हजुरबाले त आफ्नो जीवनको उनानशय प्रतिशत समय जन्मभूमिमा नै बिताउनु भयो । उहाँहरु दुवैजना आफ्नो मृत्यु खस्यौली या रिडीमा र दाहकर्म कालीगण्डकी किनारमा होस् भन्ने चाहनुहुन्थ्यो । किन्तु त्यो उहाँहरुको ‘नसीव’ मा थिएन । बा घुम्दै माहिलो छोरा, बुहारी र नातिनातिना भेट्न गएको मौकामा सतहत्तर वर्षको उमेरमा अकस्मात मुटुको बेथाले बाँकेमा परलोक हुनुभयो । अविरल वर्षाले चौतर्फी पहिरो गई बाटो बन्द भएको समयमा बाको पार्थिव शरीर रिडी लैजान सम्भव भएन । बाको अन्तिम पार्थिव यात्रा गोमतीको नजिकै नेपालको राप्ती किनारमा समाप्त भयो ।