ईश्वर फकाउँदै छु

-भागवत खनाल

हे सदाशिव ! हे भोला
हे भस्मेश्वर ! हे ध्वस्तेश्वर
मै सत्यवादी मै धार्मिक
मै इमान्दार मै सुलक्षण
मैलाई सुखी बनाऊ फकाउँछु
बेलपत्रको बदला नियुक्ति माग्दछु ।

हे गणपति ! हे गजानन
हे लम्बोदर ! मालिस लाउँछु
हे बक्त्रतुन्ड ! जोडले फकाउँछु
अमिर बनाऊ दुई लड्डु चढाउँछु

हे शनिदेव ! तेल घस्दछु
हे कालेश्वर ! पाउ पर्दछु
हे शंकटेश्वर वेदना पोख्दछु
कालो टालोको बदला
रेशमी बैभव माग्दछु

लमतन्न सुतेका हे नीलकन्ठ !
हे नारायण ! सहस्रनाम भज्दछु
छिमेकी बलियो भो
आँखा तर्‍यो अनिष्ट गर
तेजोवध गर ! हे दामोदर
एकबित्ता पिताम्बर लेऊ , तीनथुङ्गे माला लेऊ
हे लक्ष्मीपति !
मालामाल बनाऊ

हे कालभैरव ! हे संहारक
हे कालदेव हे प्रताडक !
नतमस्तक मुदित नयन ली फकाउँछु
चीसो पानी कानमा हाली मन्साउँछु
कालो बोका खाऊ चुनाव जिताऊ
निस्काम कामनासाथ कामना सुनाउँछु
वैरीको कोट फुकाल ! पाउ मल्दछु ।

जय हनुमान सिन्दुर चढाउँछु
हे कपिश्वर ! चाकरी बजाउँछु
तिमी नै दाता तिमी विधाता
संटमोचन हे तिमी रखवाला
अरु पाँच चढाउँछन , म दश चढाउँछु
“भीआइपी” भक्तको पहिचान बनाउँछु
कल्पबृक्ष हल्लाऊ माल झार
तिमी वन पस मेरो घर सजाऊ

हे देउराली ! दुई फूल लेऊ
बतास र वैरीवायुको कोपबाट बचाऊ
रिसानी दबाऊ पिचास भगाऊ
शत्रु नास गर बङ्गारा झार
मै सोझो अरु बाङ्गा शेखी उतार

हे उन्मत्त भैरव ! वलियो बनाऊ
तेल लगाउँछु कामदेव जगाऊ
कहिल्यै वृद्ध नहुने तथास्तु सुनाऊ
प्रवल होस कामवासना चिरस्थायी बनाऊ
हातजोडी फकाउँछु ! रति रिझाऊ
तिमी ब्रह्मचारी बनी ! मैलाई सजाऊ

हे शरच्चन्द्र ! हे कालीघटा
हे नाग हे रिसानी ! हे पिचास
म खान्छु म लाउँछु म नाच्छु म बाँच्छु
धन वर्साऊ मान बर्साऊ
यौवन वर्साऊ शक्ति वर्साऊ
तिमी वर्साऊ म थाप्दछु
हे संरक्षक मन ठूलो बनाऊ
दिनु तिम्रो काम उदार हृदय बनाऊ
शत्रुका छातीमा खटिरा सजाऊ
ती वैरी बिलौना गरुन यो सुनाऊ