च्यातिदेऊ पर्दाहरु

-भागवत खनाल

तिम्रा नङ्ग्राले खोल्स्याएका मेरा खुसीहरु
निको नहुने बगिरहने तिमी प्रदत्त  घाउहरु
माम्री लाग्दा तिमीले उप्काएका नरम पाप्राहरु
सधै सधै वृद्धिमान छन तिम्रा अनाचारहरु

म रुपमाधुरी देख्छु तिमी पत्थर देख्छौ
म बेणुमाधुरी सुन्छु तिमी हुङ्कार सुनाउँछौ
म  प्रेम माधुरी महसुस गर्छु तिमी वासना सुन्छौ
म लीला माधुरी चाल पाउँछु तिमी घण्टा बजाउँछौ

भो  पुग्यो  नदेखाऊ तिम्रा अनुहारहरु
चाहिएन च्यातिदेऊ शब्दवाणका  प्रहारहरु
पुगिसक्यो नल्याऊ ती खस्रा उपहारहरु
विथ्या लाग्छन मिथ्या लाग्छन झूटा  आशीर्वादहरु
हेर्दिन  दिग्दार लाग्छ नदेखाऊ भग्नताहरु
सिकसिको लाग्छ  प्रदर्शन नगर अश्लील नग्नताहरु

      बरु सुन !
विधाताले लेख्ने कलमको मसी सकिने समयको  प्रतीक्षा गर्दै छु
अविभाज्य पीडा दिने नियन्ता थकित हुने
समय कुर्दै छु
जिन्दगीको परीक्षामा अनुत्तीर्ण  हुने
सुविधाको उपाय खोज्दै छु ।
जीवनका नग्न यथार्थ सुनिदिने पात्रको खोजी गर्दै छु
सत्य तथ्य लेख्न मिल्ने कलमको  खोजी गर्दै छु
सबै चीत्कारहरु ओकल्न मिल्ने कापीको खोजी गर्दै छु
छातीभित्र दबाएर राखेका झूटा आडम्बरलाई
छ्याल्ल ब्याल्ल पोख्न मिल्ने  भाँडोको खोजी गर्दै छु
मैले बमन गरेको दुर्गन्धलाई सहन गर्न सक्ने
धैर्यवान पात्रको खोजी गर्दै  छु
मभित्रको चिहान खन्न सिपालु खनकको खोजी गर्दै  छु

मान्दिन तिम्रा संस्कारहरु चिन्दिन भगवानहरु
मन पर्दैन चाहिन्न तिनका  मिथ्या चमत्कारहरु
इच्छा छैन तिमी भोग तिम्रा खुसहालहरु
नपुछ आँसु बग्न देऊ फ्याँकिदेऊ रुमालहरु
म सोझो बन्दा मूर्ख ठान्ने तिमी प्रज्ञावानहरु
सरल मलाई बक्र देखाउने हटाऊ चोर औंलाहरु
जान देऊ धेरै नफकाऊ छाडिदेऊ चर्चाहरु
अब पुग्यो विदा देऊ हटाइदेऊ उपचारहरु
मर्न देऊ धेरै नसताऊ मिल्क्याइदेऊ पर्चाहरु 
अँध्यारो भो उज्यालो देऊ च्यातिदेऊ पर्दाहरु