आऊ साथी सिल्ली बनौं

सर्वत्र दुख्छ साथी चिलाउँछ
मलाई देख्दा लुते कुकुर घिनाउँछ
पशुपतिको थोत्रो टिन बजाउँने शिशु वानर
खिसी गर्छ दाँत देखाउँछ

एउटा बूढो गिद्द मलाई भन्छ
ए खुस्केको मान्छे !
म पनि तेरा काका जस्तै हुँ नमस्कार गर् !
एउटा कुखुराको चल्ला मतर्फ लात देखाउँदै भन्छ
भाग् ! नत्र खालास् !
एउटा घिउ कमिलाले हरदिन
मेरो बाटो छेक्दै भन्छ
ए छुसी ! तेरो नेतालाई कमिला राज्यमा पठाइदे
यहाँको कनिष्ठ कमिला प्रशिक्षक तेरो अगुवालाई
नेतृत्व विकास तालिम दिन तत्पर छ
एउटा छाडा साँढे मलाई
तिखा तिखा सिङ् देखाउंदै भन्छ
कता गए मेरा मीतहरु ?
अचेल लुकेर गर्न थाले कि क्या हो ?
मुकार शव्दहरु भुले कि क्या हो ?

एउटा झुसे बारुला मेरो कानैमा भन्छ
टोकौं ? !
एउटा मौरी भुनुनु भुनुनु आएर भन्छ
अप्ठेरो ठाउँमा चिलिदिऊँ ? !
अनि एउटा कुरौटे भमरो
मेरो शिरमाथि चक्कर लाउँदै सुस्तरी भन्छ
काकाहरु बौलाइसके
अब तँ बौलाउँछस

सबै बोले सबैले डर देखाए
तैपनि किन किन काग दाइ बोलेन
मलाई घोर चिन्ता लाग्यो
कुरौटे मौन बस्दा शङ्का लाग्यो
मैले भनें केही त बोल
कागले यता उता हेरेपछि कानैमा साउती गर्दै भन्यो
कसैलाई नभन्नु हल्ला नगर्नु मैले मेरो काकवृत्ति
तेरो काकालाई सुम्पिसकें

हिंड्दा हिंड्दै एकजना गुरु भेटिए
हे गुरु साराले थर्काउन थाले
चल्लाले पनि लखेट्न थाले
गुरुले मलाई हेरे मैले गुरुलाई हेरें
हेर्दाहेर्दै गुरु रोए हेर्दाहेर्दै म रोएँ
फेरि गुरु हाँसे फेरि म हासें
गुरुले चोरी औंलो ओठमाथि राखे
मैले टाउको कन्याएँ

सर्वत्र निराशा मिल्यो सहारा मिलेन
अनि हठात् आकाशवाणी भयो
हे मूर्ख !
बुद्धि सिक्ने ढोका खोल्
बुद्धिमान बन्छस ? बोका खोज्
शुद्ध बोली सिक् सामयिक बन्
भेएएएए भेएएएए व्याकरण मिला
चतुरो दिमागलाई धतुरो खिला
सक्छस महिमा गा सक्दैनस दुलोभित्र जा
डेढ इन्चको मुख सिला

म बेतहासा देवपत्तन पुगें
उनै चौकीदारको पाउमा झुकें
हे नाथ सकिएकै हो ?
पिनाकीले शिर उठाए डराए झैं चौतर्फ हेरे
फेरि नटराज नाचे ताण्डव गरे
हे भक्त यो समय म जस्तै सिल्लड बन्
घोर अँधेरको पिचास बन्
बौलाउने समय हो पागल बन्
वाइन खा मुरली बजा समृद्ध भइस् केक काट्
होस गुमा बेहोस बन् सुख पाउँछस सिल्ली बन्

हे साथी आऊ गला मिलाऊ
भोलेको लयमा लय मिलाऊ
आऊ सबै मिली बौलाहा बनौं
आऊ साथी सिल्ली बनौँ