अचेतन

यो बबई बग्दै बग्दै गएर कर्णालीमा मिसिन्छ । त्यही कर्णाली   अयोध्यामा पुगेपछि पवित्र सरयू बन्दछ । यहाँ न यो बबईको कुनै महिमा छ न त कर्णालीको, तर अयोध्यापुरी पुगेपछि यिनै पवित्र र पावन हुन्छन्  । मर्यादा पुरुषोत्तम श्री रामको सान्निध्य पाएर यस्ता कसैले वास्ता नगरेका नदीहरु पनि मुक्तिदायिनी हुन्छन्  ।


                                          

-भागवत खनाल

राधा आमालाई आज पनि निद्रा लागेन । धेरै दिन भयो, आमालाई अतीतले लखेट्न थालेको छ ।  जुन कुरालाई  बिर्सने प्रयत्न गर्यो तिनै कुरा मनमा आइरहन्छन । चित्त साह्रै विचलित हुन थालेपछि उनले  मनमनै उनै  परमात्मा परमेश्वर श्री कृष्णचन्द्रको बन्दना गर्न थालिन ।  ‘’विक्रेतु कामाखिल गोपकन्या, मुरारी पादार्पित चित्तवृत्ति दध्यादिकम मोहवशादवोचद्  गोविन्द दामोदर माधवेती जिह्वे सदैवं भज सुन्दराणी  नामानी कृष्णस्य मनोहराणी, समस्त भक्तार्ति विनाशनानी गोविन्द दामोदर माधवेती।” आमालाई बल्ल तन्द्रा लाग्यो । आमा हठात् चालीस वर्ष अगाडि पुगिन्  ।

भागवत कथाको प्रवचन भइरहेको छ । वाचक स्वामी मुक्तमाधवमा भक्तहरुलाई अत्यन्तै मुग्ध पार्ने शैली छ । उनी भन्दै छन् – तपाईं जो मोक्षका लागि प्रयत्नशील भक्तजनहरु यहाँ उपस्थित हुनुहुन्छ, उनै राधारमण भगवान श्रीकृष्णको असीम कृपाको प्रतिफल हो । अत्यन्त पवित्र ब्रजभूमि मनमोहन कन्हैयाको क्रिडास्थल वृन्दावनमा उपस्थित भई यो अति मनोहर कथा श्रवण गर्न पाउनु तपाईंहरुको अहोभाग्य हो । वृन्दावन समान भगवानको प्यारो अर्को तीर्थ नेपालमा छ । मुक्तिक्षेत्र नामले प्रख्यात त्यो पावन भूमिमा भगवान विभिन्न रुपमा रमण गर्नुहुन्छ । हे सच्चा भागवतभक्त हो ! एक पटक मुक्तिक्षेत्रको पनि भ्रमण गरी मनुष्य जीवनलाई सार्थक बनाउनु होला ।

भगवान आफ्नो किशोरावस्थामै यो ब्रजभूमि र परमप्रिया राधारानीलाई सदाका लागि छाडेर जानुभयो । किन्तु यस भूमिमा हाम्रा प्रिय वासुदेवका सुन्दर पदचापहरु अहिले पनि सुनिदै छन् । देख्ने आँखा र सुन्ने कान हुनुपर्दछ, अझै पनि व्रजकिशोरका सुन्दर वचन  र मुस्कान  सुन्न र देख्न सकिन्छ । हाम्रो चित्तका अपहर्ता यशोदानन्दनले धेरै सुन्दर र मनमोहक लीला गर्नु भएको छ, मनुष्य जाति मात्र होइन यस जगतमा स्थावर र जंगम जति चराचर प्राणी छन्, सवैलाई मोहित पार्नु भएको छ । ती सवै धन्य र भाग्यमानी हुन् जसले उहाँको अनुपम छटा देख्न पाए र आज पनि त्यसको अनुभव गर्न  पाउँदै छन ।

दीनानाथ देवकीनन्दन यहाँबाट द्वारका जानुभयो । त्यहाँ भगवानले सुन्दर नगरी स्थापना गर्नुभयो । यो समस्त जगत उहाँकै सृजना हो, उहाँ नै यसको निर्माता हो, उहाँ नै पालनकर्ता र संहारक हो । तथापि हाम्रा लीला शिरोमणि  प्रिय वासुदेवले संसारी व्यक्तिले जस्तै विवाह गर्नुभयो, गृहस्थी जीवन बिताउनु भयो र लोक संग्रहका लागि सवै मानवीय कर्तव्य पूरा गर्नुभयो । भगवानको  लीला अपरम्पार छ, जानिनसक्नु छ । श्याम सुन्दरको लीला  हामीजस्ता अकिञ्चन र बुद्धिहीनहरुको लागि अलौकिक छ, दुर्वोध्य छ  । लीलावल्लभ यदुनन्दन वासुदेवले भौमासुरले वन्दी बनाएर राखेका हजारौं राजकन्याहरुलाई कारामुक्त  गर्नुभयो ।

नन्दनन्दनको एक झलक पाउनासाथ ती रमणीहरुले उहाँलाई हर्षले गदगद हुँदै किञ्चित लजालु भावले हेर्दा भए । सहसा ती सवै कन्याहरु दीनवत्सल श्री कृष्णचन्द्रप्रति प्रेमासक्त र भावविह्वल हुँदै मनमनै उहाँलाई आफ्नो पति रुपमा वरण गरे । भगवानले आफ्नो योगशक्तिले जति कन्या थिए, त्यति नै रुप धारण गरी सवैसंग विवाह गर्नुभयो । मदनमोहन श्री बाँकेविहारी प्रभुले अलौकिक प्रेम, मधुर वाणी , सुन्दर मुस्कान र अत्यन्त अनुरागले ओतप्रोत भई अपूर्व प्रीतिका साथ आफ्ना प्रियतमाहरुसंग विहार गर्नुभयो, सवैलाई अनन्य सुख दिनुभयो । तथापि वासुदेवमा कुनै आसक्ति थिएन, भोगको लालसा र लिप्सा थिएन ।’

कथा सुन्दासुन्दै राधा मुग्ध भइन्  । एकातिर वसुदेवनन्दनको लीलामयी कथा अर्कोतर्फ स्वामी मुक्तमाधवको छटा । भरखरै पैंतीस पूरा गरेका ती सुन्दर, स्वस्थ र मेधावी युवकको घर कहाँ हो, बाबुआमा को हुन्, कुन थर गोत्रका हुन् कसैलाई थाहा छैन । तर उनमा अलौकिक र अनुपम आकर्षण छ । लाग्दथ्यो फेरि मुक्तमाधवको रुप धारण गरी उनै वासुदेव वृन्दावनमा पदार्पण गरी मुमुक्षुहरुसंग प्रीति गर्दै छन्, लीला गर्दै छन्, आफ्नो सुन्दर छटा, कटाक्ष र अनुराग व्रजभरि पोख्दै छन । अचानक राधालाई अनुभव भयो, यी स्वामीजी त उनैलाई हेर्दै छन्, मुस्कुराउँदै  असीम प्रेमभाव प्रकट गर्दै छन । अनायास चार आँखा जुधे, स्वामी मुसुक्क हाँसे । राधालाई पसिना आयो । यताउता हेरिन, धन्न कसैले पनि ख्याल गरेको थिएन । स्वामीले भोलि अवश्यमेव सवैजना आउनुहुनेछ र वासुदेवका सुन्दर लीलावर्णन सुन्नुहुनेछ भन्दै विदा मागे ।

आज राधाका पाइला डगमगाएका छन । शरीरको सन्तुलन स्थिर छैन, मन उडिरहेको छ, असीम द्विविधा र किञ्चित आफैसंग लाज लागिरहेको छ । कक्षमा पुगेर राधाले ऐना हेरिन । उनले तिलक लगाउँदा बाहेक अरु समयमा ऐना हेर्नु मर्यादा उल्लङ्घन हो । आफ्नो मात्र होइन अरुलाई हेर्दा पनि उसको रुप, उमेर र शृंगारको भावले हेर्नु रीत अनुकूल होइन । उनले यसो ढोकातिर हेरिन् , कोही आएको थिएन, कसैले देखेन । राधालाई सम्झना छ, धेरै वर्षअघिदेखि युरोप र अमेरिकाका मानिसहरु पनि  वृन्दावनमा आउने गरेका छन् । वृन्दावन अरु तीर्थ जस्तो होइन । यो राधेश्यामको क्रिडास्थल हो, लीलास्थल हो, नृत्य र गायनस्थल हो । यहाँ  विदेशी तिलकधारीहरु  पनि राधे राधे  भन्दै  बाँसुरीको धुनमा नाच्दै गाउँदै हिड्छन । यहाँ किशोर किशोरीको अमर प्रेमको गाथा गाइन्छ, बाललीलाको स्मरण गरिन्छ, यो अरु तीर्थभन्दा रोमाञ्चक र आनन्ददायी छ ।

राधालाई राम्रोसंग याद छ, मुक्तमधवको कथा श्रवण गर्न एकजना पिटर्सन भन्ने अंग्रेज पनि आएको थियो । उसले बडो मन्त्रमुग्ध हुँदै पूरै सात दिन हरिकथा सुनेको थियो । कथाको प्रसङ्ग  अनुसार ऊ धेरै रोयो, हाँस्यो र निकै नाच्यो पनि । उसले भनेको थियो – उसको देशमा जति नै धन र वैभव भए तापनि त्यो समाजमा यस्ता रसमय कथाहरु सुन्न पाइंदैन, उसको समाजमा यस्ता भावातीत हुने खालका गाथा नै छैनन । वृन्दावनमा आफूलाई ‘ मुमुक्षु  पद्मनाभ’ भनेर चिनाउने  ऊ  ‘’ निगमकल्पतरोर्गलितं फलं शुकमुखाद अमृतद्रवसंयुतं  पिवत भागवतं रसमालयं मुहुरहो रसिका भुवि  भावुका ।”  भन्दै द्रविभूत हुन्थ्यो । पिटर्सन पूरै सात दिन स्वामी मुक्तमाधवको मुखारविन्दवाट भागवत सुनेर बस्यो, तर तृप्त भएन ।  किन्तु विदा भएर जाने बेलामा राधासङ्ग  एउटै कक्षमा बस्ने अनन्य साथी रम्भालाई लिएर गयो । उनीहरु अहिले पनि आउँछन, महिना डेढ महिना बसेर फर्कन्छन । वृन्दावनले उनीहरु जस्तालाई पनि रमाउने प्रशस्त ठाउँ प्रदान गरेको छ ।  राधाको  रम्भासंग देखादेख भइरह्यो । रम्भा राधातिर हेर्दै मुसुक्क हाँस्दछिंन, तर राधाले उनलाई  कहिल्यै वास्ता गरिनन् । उनले रम्भालाई वास्ता गर्नु शील र मर्यादाको विरुद्ध हुन्थ्यो ।  पहिले पहिले त उनी रम्भाले आफैलाई पतित गराएको हो कि भन्ने  ठान्दथिन, किन्तु  अहिले  द्विविधामा छन । उनी सोच्दछिन  सायद  रम्भा खुसी छ ,  सायद  उसलाई पश्चाताप छैन, सायद  ऊ पतित होइन ,  सायद  उसलाई पनि  मोक्षको अधिकार छ  ।

आजभन्दा पैसट्ठी वर्ष अघिको कुरा हो । राधा भर्खरै दस वर्षकी थिइन । सल्यान जिल्लामा पर्ने उनको माइती गाउँ पुग्न  दाङको तुलसीपुरबाट डेढ दिन पैदल हिड्नु पर्थ्यो । अचानक दाङबाट उनलाई माग्न आए । आमाले भनेकी थिइन्   ‘’दाङमा त भस्मै गर्मी हुन्छ, औलो लाग्छ, सर्प बिच्छी पनि मस्तै  हुन्छन । यहाँ पहारमा चीसो पानी खाएर हुर्केकी छोरीलाई औलोमा पठाउन्या हैन  । मैले जस्तो दु:ख गरेर खाएँ यसले पनि गर्छे । ।”  तर बूढीआमाले भनेकी थिइन्  ‘’हैन हैन यसलाई दिई फाल्न्या हो । हुनेखाने घर हो भन्छन्, पहारकी केटी सोझा हुन्छन् , मुख खेलाउंदैनन् , भात भान्साको काममा सिपालु हुन्छन्  भनेर माग्न आया हुन्  । केटाकी आमा परार ग्वार  खोलान बगेर मरिन्  भन्थ्या । सासु मान्न पनि नपर्न्या, घरकी मालिक हुन पाइन्या ।  यका भाग्य राम्रा नभया यसरी आफै माग्न किन आउँदा हुन्  ? दिन्या हो,  पठाउन्या हो ।”  हजुरआमाको तर्कले जित्यो, राधाको विवाह नित्यानान्द बाजेका जेठा छोरा  नोखीरामसंग भयो । राधा डोली चढेर पराईघर गइन् ।

राधा घर पुगिन्  । ठूलो तीनतले घर, नपुग्दो केही थिएन ।  काम गर्ने मानिसहरु पनि रहेछन्  । नित्यानन्दका बाबु युवा अवस्थामै हुँदा दाजुभाइबीच धेरै नराम्रो झगडा परेकाले ‘’तिमीहरुको मुख पनि हेर्नु नपरोस” भन्दै आफ्नो भागको जो भएको सम्पत्ति लिएर दाङ् झरेका थिए । सल्यानबाट ल्याएको थोरै धनले पनि उनले प्रशस्त खेतबारी किन्न सके । आफ्नो मातभूमीबाट सदाका लागि बेदखल हुनु परे तापनि उनलाई खान लाउनको दुख भएन । नित्यानन्दको जन्म दाङमै भएको थियो । आफ्ना दाजुभाइ, कुटुम्ब र छिमेक सवै छाडेर बिरानो ठाउँमा आएर बसेका बाबु छोरो जन्मेपछि धेरै खुसी भए । उनले पत्नीलाई भनेका थिए, ‘’यो छोरो हाम्रो सुख रआनन्दको लागि भगवानको उपहारको रुपमा आएको छ,  यसको नाम नित्यानन्द राख्नु पर्छ ।”

घरमा सवैले राधाको मुख हेरे । राधा हिस्सी परेकी थिइन् , सलक्क परेको ज्यान थियो । एघार हात लामो बाक्लो धोतीले बेरिएकी  बालिकालाई आफ्नो शरीरको  कपडा नै भारी भएको थियो । कहिल्यै गर्मी नहुने सल्यानको उच्च पहाडमा जन्मे हुर्केकी राधाले  साह्रै नै गर्मी  महसुस गरिन्  । उनी पसिनाले लुछुप्प भिजेकी थिइन । सवैले उनको मुख हेरे । मुख हेर्नेहरुले उनकै अगाडि अनेकौं टिकाटिप्पणी गरे । कसैले भने ‘मुख उज्यालो छैन । कसैले भने निकै बाठी होली जस्ती छ । कसैले भनेका थिए, पहाडबाट ल्याएकी बुहारी कस्ती होस ! कालीकाली रहिछ, यहाँ दाङमा  दालभात खाएर मोटाइजान्छे, राम्री पनि हुन्छे । नित्यानन्द बाठा मान्छे, त्यसै पहाडकी केटी ल्याएका हैनन् । पहाडबाट आएका केटीहरु जाँगरिला हुन्छन, घर गर्छन ।”   राधाले सवै कुरा चुपचाप सुनिरहिन्  । सवैजना गएपछि नित्यानन्दले भनेका थिए ‘कुरौटेहरु ।’

विवाह भएको दुई वर्षसम्म राधा माइतीमै बसिन् । अव आउने वैशाख महिनामा उनलाई घर गर्न पठाउने निधो भएको छ । बूढी आमैले भनेकी छन्   ‘’जिमदार हुन, हुन्या खान्या घर हो । इजेतदार मान्छ्या हुन्  । उनको इजेत राख्या आफ्नो पनि इजेत रहन्या हो । दाङमा नपाइन्या, दाङकाले बनाउन नाजान्न्या कोशेली बनाएर पठाउन्या हो ।”  चैत्र लागेपछि पाहुरपातको जोहो गर्न थाले राधाका बाबुआमाले । राधालाई केही डर, केही उत्सुकता, केही रोमाञ्च भइरहेको थियो । उनकै उमेरका धेरै दिदीबहिनी घर खाई अनुभव हासिल गरिसकेका थिए । राधाले आफ्नी मिल्ने साथीलाई घर गर्न के गर्नु पर्छ ?  भनेर सोधेकी  थिइन् । साथी गएपछि आफै थाहा पाइहाल्छेस नि भन्दै खुतुतुतु हाँसेकी थिई । किन्तु राधाले केही पनि बुझिनन । घरमा धुमधाम तयारी हुँदै थियो यस्तैमा दाङबाट डोली लिएर दुलही लिन मान्छे आए । राधाका बाबुले भनेका थिए  – ’वैशाखमा त पठाउने भनेकै छौं, यो चैता महिनामा कसरी छोरी पठाऊँ ? न साइत छ,  न कुनै तयारी छ ।”  तर लिन आउने मान्छेले हाम्रो बुहारी हो,  यसलाई जहिलेसुकै लैजाने अधिकार हामीलाई छ भनेर जबर्जस्ती गरेपछि राधालाई डोली चढाएर पठाए । विवाहका बखत नरोएकी राधा आज  रुँदै रुँदै गइन्   ।

उता दाङमा राधाका पति नोखीरामलाई जरो आएको एक महिना भइसक्यो । पिता नित्यानन्दले छोरालाई निको पार्ने अनेक प्रयत्न गरे । झारफुक गराए, धामी बसाले, जरीबुटी घोटेर पिलाए । घोराही र नेपालगन्ज पनि पुर्याए । लखनौसम्म मानिस पठाएर औषधि झिकाएर खुवाए । तर केही लागेन । नोखीराम दिनानुदिन गल्दै गए । अन्नको सितो निल्न नसक्ने भएपछि एकजना पण्डितले भनेका थिए  – ’यसका ग्रह साह्रै नराम्रा छन्, उस्तै परे ज्यानमै पनि  खतरा छ । मैले काशीबाट किनेर ल्याएको ‘’कलत्र ग्रह लक्षण’   भन्ने पुस्तकमा युवा अवस्थामै कडा रोग लागेर थला परेको बिरामीको पत्नी घरमा नभए घरमा ल्याएर राख्नु र उसैबाट स्याहार सुसार गराउनु भनेर लेखेको रहेछ ।”  नित्यानन्दले साइत नजुरे तापनि अन्तिम आशाले बुहारी लिन पठाएका थिए ।

राधालाई केही पनि थाहा थिएन । उनी घर पुग्दा आँगनभरि मानिस थिए । नोखीरामलाई तुलसीको मठ नजिकै गाईको गोबरले लिपेर चोखो पारिएको भुईमा सुताइएको थियो । उनी बोल्न चल्न सक्ने अवस्थामा थिएनन्  । राधालाई लोग्नेलाई ढोग्न लगाइयो । उनले यन्त्रवत नोखीरामको गोडा ढोगिन, तर मुख हेर्न सकिनन्  । दुई वर्ष अघि विवाह भएको समयमा उनलाई लोग्ने भनेको के हो र विवाह किन गरिन्छ भन्ने थाहा थिएन, आज थोरैथोरै थाहा हुँदै गएको समयमा यस्तो अवस्थाको लोग्नेसँग भेट गर्नुपर्यो । नोखीरामले अन्तिम सास फेरे । कसैले भन्यो’’लच्छिनकी रहिछ,  अन्तिम अवस्थामा आफ्नो  पतिको दर्शन  पाई ।”

स्वामी मुक्तमाधव अर्को वर्ष पनि आए । उनी धेरै नै व्यस्त हुने हुँदा यसपाली एकदिनको कार्यक्रम मात्र छ । मुक्तमाधव गीता’bout बोल्नेछन । आज राधा अरु दिनभन्दा चांडै उठिन्  । यमुनामा स्नान गरेर आइन् । नया पछ्यौरा ओढ्ने विचार छ उनको । राधाले बडो जतनले तिलक लगाइन्  । कसैले चाल नपाउने र हो कि हैन जस्तो गाजल पनि लगाइन्  । उनले आज अर्कै भावले ऐना हेरिन् , मुसुक्क हाँसिन्, आफ्ना चम्किला दन्तपङ्क्ति हेरिन्  । पोटिला गाला, उच्च निधार, घना कालो कपाल, लामो सर्लक्क परेको घांटी र सुडोल र पुष्ट छाती । आहा ! आज राधा आफैलाई हेरेर मुग्ध भइन्  । उनी आफूसङ्ग आफै रोमाञ्चित भइन्, लाज पनि लाग्यो।

मुक्तमाधवको प्रवचन सुरु भयो । आज  उनी झनै उज्ज्वल र जाज्ज्वल्यमान देखिए  । प्रदीप्त चेहरा, ओजस्वी व्यक्तित्व र सुन्दर मुस्कानले सवैको मन हरण गर्यो । राधा आफ्नो आसनमा गएर बासिन्  । आज राधालाई धेरै लाज र संकोच लागेको छ । मर्यादा उल्लङ्घन भयो कि भनी किञ्चित डर पनि लागेको छ उनलाई ।

उनलाई कतै मुक्तमाधवले वास्तै नगर्ने हुन् कि, अथवा हेरे पनि निरपेक्ष भावले हेर्ने पो हुन् कि, अथवा मतलवै  नगरी देखे पनि नदेखेजस्तो पो गर्ने हुन् कि ! उग्र मानसिक चन्चलता, लाज, संकोच र अज्ञात आनन्द र रोमाञ्चले उनका गाला राता राता भए ।  उमापति महादेव देवी पार्वतीलाई विवाह गर्न  जन्ती लिएर हिमालय पर्वतमा जाँदा त्यहाँका सवै रमणीहरु जसरी रोमाञ्चित भई  पार्वती जस्तै देखिएका थिए, आज राधा पनि साक्षात् श्यामसुन्दरकी पटवन्धा रुक्मिणी जस्तै सुन्दर देखिइन्  । परन्तु  गीता माहात्म्य श्रवण गर्न जम्मा भएका मर्यादित सज्जनहरुले राधाको त्यो रुपको दर्शन गरे या गरेनन्, या गरेर पनि व्यक्त गरेनन्, थाहा भएन । किन्तु मुक्तमाधवले राधालाई आँखा नचोरी सोझै हेरे, आँखा जुधे,  मुसुक्क हाँसे पनि ।

प्रवचन सुरु भयो ।  स्वामी  मुक्तमाधवले  भनेका थिए  ‘’जो मनुष्य, किट, पतंग, सवै   प्राणीमा  समभाव राख्दछ, जो क्रोधहीन, अहंकारहीन र आडम्बरहीन छ,  त्यही व्यक्ति  यस संसारलाई जित्दछ  । बुद्धिमान व्यक्ति   सुखमा  ज्यादा  हर्षित र दु:खमा  ज्यादा  उद्विग्न र हतास  हुँदैन  । जो मनुष्य यस  शरीरको नाश हुनुभन्दा अघि नै  सांसारिक काम, क्रोध, लोभ, मोह, मद् र मात्सर्यरुपी वैरीहरुबाट  रहित र असीमित सहनशीलताको  पालन गर्दछ, ऊ घरमा  रहेर पनि योगी समान हुन्छ र त्यही नै  सुखी हो  । इन्द्रियजनित सुखको लागि मात्र  चिन्तन गर्ने व्यक्ति  नश्वर र क्षेणिक  सुखप्रति आसक्त रहन्छ  । आसक्तिबाट  लोभ र कामनामा वृद्धि हुन्छ,  कामना पूर्ण हुन  नसक्दा  क्रोध उत्पन्न हुन्छ र  क्रोधबाट  मूढता पैदा हुन्छ  । मूढताले  स्मृति क्षय र स्मृति क्षेयले  ज्ञानको  समूल नाश हुन्छ  ज्ञानका नाशले व्यक्तिको सर्वनाश हुन्छ  । जसले  मान रअपमानलाई   समरुपले हेर्दछ, जो मान प्राप्त हुँदा  अहङ्कार  गर्दैन, जो आलोचित हुँदा पनि  विचलित हुँदैन, जसमा  क्रोध र बदलाको भावना हुँदैन, त्यस्तो समदर्शीको  सुख र शान्तिलाई कोही हरण गर्न सक्दैन । मनुष्यको दुखको कारण अरु कोही होइन, ऊ आफै हो ।

मनुष्यको  ज्ञान  ही नहीं है दु:खके  कारण तो अपने मनके अन्दर ही कुण्डली मारके मजेसे बैठे हैं । जवतक लोगोंमे अपने दु:खके कारण अपने ही अन्दर खोजनेकी प्रवृत्ति नहीं आयगी तवतक ऐसा ही चलता रहेगा । भला राग द्वेष, ईर्ष्या, और वासनासे ग्रस्त मनुष्य कैसे सुखी और समृद्ध हो सकता है ? जिसका चित्त ही समृद्ध नही हो वह धनधान्यकी सम्रिद्धिसे कैसे सन्तुष्ट हो सकता है ? संसारका प्रत्येक व्यक्ति धनी होनेका अधिकार रखता है और गृहस्थको  धनी होनेका सदा प्रयत्न करना चाहिए ।  किन्तु यह सव ऐसा सोचके  करना चाहिए कि ये  सव भोग्य वस्तु एकदिन अपने नहीं रहेंगे, एक दिन यह सुन्दर काया भी वार्द्धक्यको प्राप्त होगा, और आज जो अपने स्वामित्व मे है एकदिन और किसिके स्वामित्वमे चला जाएगा । विनयशाली, शालीन, दानी ,ईर्श्यासे रहित और द्वेशहीन मनुष्य ही स्थिरबुद्धि है, वही स्थितप्रज्ञ है ।। धनी और सम्पन्न होने पर भी जो अपना धन समाज कल्याणमे खर्च न करके जमा करनेमे ही ध्यान देता है उसका संचित धन या  चोर चुराता है, या कुटुम्बके लोग छिनाझपटी करके ले जाते हैं, या आग खा जाता है या राज्य हर लेता है ।

आपलोगोंको जिस  वातमे विशेष ध्यान देना होगा वो है   ‘’विषया विनिवर्तन्ते निराहारस्य देहिनः, रसवार्जम् रसोप्यस्य  परं दृष्ट्वा निवर्तते  ।”  अर्थात इन्द्रियसे विषयभोग न करनेवालेका भोग तो निवृत्त होता है, किन्तु आशक्ति निवृत्ति नही होती । जवतक परमात्मासे साक्षात्कार नही होगा तवतक आसक्तिसे निवृत्ति सम्भव नही है।”   स्वामी मुक्तमाधव कुन बेला विदा भएर गए, राधालाई पत्तै भएन । उनी कताकता निराश  भइन्  । स्वामीजीको कठोरता सम्झेर एक्लै रोइन । राधा धेरै वर्षसम्म स्वामीजीको पुनरागमनको आशामा बसिन्, तर स्वामीजी कहिल्यै फर्केर आएनन्  ।

स्वामी त छलेर  गए, तर राधालाई निद्रा लागेन । उनी भगवान श्यामसुन्दरको भजन गाउन थालिन  ‘’हे राम पुरुशोत्तम नरहरे नारायण  केशव, गोविन्द गरुडध्वज गुणनिधे दामोदर माधव, हे कृष्ण कमला पते यदुपते सीतापते श्रीपते, बैकुन्ठाधिपते चराचर पते  लक्ष्मीपते  पाहिमाम् ।”  राधा अर्धनिद्रामै आफ्नो अतीतमा पुगिन । उनी वृन्दावनमा बस्न थालेको अहिले पचपन्न वर्ष भयो । आफ्नो पतिको मुख पनि राम्रोसङ्ग  नदेख्दै विधवा भएकी राधालाई पतिपत्नीको सम्बन्धको अनुभव नै हुन पाएन । नोखीराम मरेपछि उनलाई सेतो वस्त्र पहिराइएको थियो । राधा पूरा तेह्र दिन किरिया बासिन्, वर्षदिनसम्म घरको आँगनभन्दा पर गइनन्, कसैले छोएको पानी पनि ग्रहण गरिनन्  । निराशा र हतासाका ती दिनमा उनलाई माया गर्ने ससुरा नित्यानन्द बाहेक कोही थिएन । छिमेकी महिलाहरु उनको ’boutमा कुरा गर्थे  ‘’राणों ससुरो राणी बुहारी क्या मिलेको ।”  उनलाई राणी भनेको त थाहा थियो तर राणों भनेको कहिल्यै सुनेकी थिइनन्  । उनले ससुरालाई नै सोधेकी थिइन  ‘’राणों भनेको के हो ?” नित्यानन्द चुप लागिरहे ।

 नित्यानन्दका दु:खका दिन अझै सकिएका थिएनन्  ।  नोखिराम मरेको नौ महिनापछि सात वर्षको कान्छो छोरो पनि हैजा लागेर मर्यो । छिमेकमा राधा ‘टोकाहा’ आइमाइको नामले प्रसिद्ध भइन्  । दशा लागेपछि दशतिरबाट आक्रमण हुन्छ भन्ने उक्ति राधाको घरमा चरितार्थ भयो । नोखीराम मरेको पाँच वर्षपछि शोकाकुल नित्यानन्दले पनि सदाका लागि आँखा चिम्ले । बीचका दुईभाइ देवर हुर्किसकेका थिए । तर उनीहरुको लागि केटी माग्न जाने कोही पनि भएन । कुनै  छिमेकी ‘पिराहा’ घरको लागि विवाहयोग्य कन्या खोज्न तयार भएन  । देवहरहरु यो सारा दुर्भाग्यको कारण राधा नै भएको  निर्णयमा पुगे । उनीहरुले सिधै भन्न थालेका थिए –  ‘तिमी टोक्या’ अव आफ्नै माइतमा गएर बस । राधा माइत गइन्, तर राणी भएकी अभाग्यवती  छोरीलाई राख्न उनका बाबु नै तयार भएनन् ।

एकदिनको कुरा हो । उनको घरमा टाढाको नाता पर्ने गायत्री दिदी आएकी थिइन । राधाका देवरहरुको कटु वचन सुनेपछि उनले भनेकी थिइन्   ‘’मसंग वृन्दावन जान्छ्यौ राधा ? “ राधाले वृन्दावन शव्द सुनेको यो पहिलो पटक थियो । उनले सोधेकी थिइन्  ‘’त्यहाँ गएपछि के हुन्छ दिदी ?”  दिदीले भनिन्   ‘’शरणागत हुन पाइन्छ ।”  राधाले शरणागत भनेको बुझिनन्, किन्तु वृन्दावन जान तयार भइन्  । उनीहरु वृन्दावनको लागि प्रस्थान गरे । बबई  तर्ने बेलामा दिदीले भनेकी थिइन् ‘’यो बबई बग्दै बग्दै गएर कर्णालीमा मिसिन्छ । त्यही कर्णाली   अयोध्यामा पुगेपछि पवित्र सरयू बन्दछ । यहाँ न यो बबईको कुनै महिमा छ न त कर्णालीको, तर अयोध्यापुरी पुगेपछि यिनै पवित्र र पावन हुन्छन्  । मर्यादा पुरुषोत्तम श्री रामको सान्निध्य पाएर यस्ता कसैले वास्ता नगरेका नदीहरु पनि मुक्तिदायिनी हुन्छन्  । हाम्रो मानव चोला पनि त्यस्तै हो । अहिले यहाँ तिमीलाई सवैले हेला गरेको देख्दा मेरो हृदय रोयो । जव तिमी नन्दन्दन श्री कृष्णचन्द्रको क्रिडास्थल वृन्दावन पुग्नेछौ, तिमी पनि पावन हुनेछौ ।  तिमीलाई टोकाहा भनेर निन्दा गर्ने यी छिमेकी र नातेदाररुलाई तिमीले बिर्सने छौ, नबिर्से पनि उनीहरु कसैप्रति पनि तिम्रो प्रीति या वैरभाव हुने छैन । तिमी समदर्शी हुनेछौ । भगवानको पवित्र कीर्तनले तिमीलाई काम, क्रोध, लोभ, मोह, मद् र मात्सर्यबाट मुक्ति मिल्नेछ ।”  राधाले दिदीका केही कुरा मात्र बुझिन ।

गायत्री दिदी भन्दै गइन  ‘’हेर राधा ! यहाँ अनेक किसिमका मानिस हुन्छन्  । हामी अवलाहरु एक्लै यात्रा गर्दा धेरै खतरा छ । भाइले म पुर्याउन जान्छु दिदी भनेको थियो, तर मैले   भनिदिएँ  – म फिरन्ता फकिरलाई कहिलेसम्म र कहाँसम्म पुर्याएर साध्य हुन्छ ?” उनले आफूले लगाएको सुकिलो सारी निकालेर झोलामा राखिन । झोलाबाट एउटा थोत्रो बोरा निकालिन, थोत्रो सारी निकालेर फेरिन, कपालमा बालुवा र माटो दलिन र अनुहारमा थोरै कालो पोतिन । उनले राधालाई पनि आफू जस्तै बनाइन । उनले भनेकी थिइन् ‘’अव हाम्रो आधा खतरा टर्यो, तर ढुक्क हुन मिल्दैन । यताउता कतै नहेरी बहुलाई जस्तो भएर हिड्नु पर्छ ।”

गायत्री दिदी भन्दै गइन्  ‘’मेरा दुईटा छोरा जन्मे, तर मेरो दूध खाएर भ्याएपछि बिते । उनीहरुलाई जति दिनको लागि मानव चोलामा पठाइएको थियो त्यति नै पूरा गरेर गए । श्रीमानले मसंग सल्लाह गरेरै अर्को विवाह गर्नुभयो, तर कान्छीबाट अहिलेसम्म सन्तान भएका छैनन् र हुने छाँट पनि छैन । उहाँले विवाह गर्ने बेलामै मेरो शर्त थियो, म अव अर्कै दुनियामा प्रवेश गर्नेछु । हेर राधा ! मैले त् संसारको भोग गरिसकेको छु, अव ममा भोगप्रति कुनै उत्कण्ठा र जिज्ञासा छैन । जानिसकेपछि फेरि जान्न मन नलाग्न सक्छ तर नजान्दै र अनुभव प्राप्त नगर्दासम्म चन्चल मन उद्विग्न भइरहन सक्छ । त्यसैले तिमीलाई त्यो जिज्ञासाले गाँजिरहने सम्भावना छ । त्यो आक्रमणबाट उम्कन तिमीले योगको सहारा लिनु पर्छ ।” उनीहरु चौथो दिन सुरिक्षित रुपमा वृन्दावन पुगे ।

वृन्दावन पुगेपछि राधाको दिनचर्या नै फेरियो । उनको काम आश्रमको सरसफाइ  गर्ने, सागसव्जी केलाउने, चामल बिन्ने, अतिथि बस्ने कोठाहरुलाई व्यवस्थित पार्ने आदि थिए । आश्रममा ‘आमा’ हरुले ‘प्रसाद’ तयार गर्न वर्जित थियो ।  उनी वैष्णव मत अन्तर्गत निम्बार्काचार्यबाट प्रणीत द्वैताद्वैत सम्प्रदायको सदस्यको रुपमा दीक्षित भइन्  । यस सम्प्रदायको मत अनुसार द्वैत  पनि सत्य हो र अद्वैत पनि । ब्रह्म जीवबाट  अभिन्न पनि छ र भिन्न पनि ।  ब्रह्म सर्वज्ञ छ तर जीव अल्पज्ञ । किन्तु जसरी वृक्षका पातहरु वृक्षबाट भिन्न भएर पनि वृक्षका अंश  हुन्, त्यसैगरी जीव ब्रह्मबाट अलग भएर पनि भिन्न छैन । राधाले केही वर्षमै धेरै कुरा सिकिन । आश्रमकै खर्चमा धेरै तीर्थ घुमिन । उनले सयौं पल्ट भागवत र  रामायण सुनिन ।  उनलाई भागवतका धेरै श्लोक कण्ठस्थ छन् । गीता र विष्णु सहस्रनाम  मुखाग्र छ  । उनले कण्ठस्ठ गरेका हरिभजनहरु दिनभरि भनेर सकिदैनन्  । उनको शालीनता, धैर्य, मर्यादा, दया, करुणा र परिश्रम गर्न सक्ने बानीले गर्दा सवैको  माया पाइन्, सम्मान पाइन्  । समयक्रममा उनलाई आश्रमका सवैले राधाआमा भन्न थाले । अहिले त वृन्दावनका हजारौं भक्तहरुका लागि उनी प्यारी राधाआमा हुन् ।

राधाले त सवै माया मारेर बसेकी थिइन्, तर गायत्री दिदीको  जोडबलले देवरहरुले थोरै खेतबारी पनि दिए । राधाले केही रकम बैंकमा राखेकी छन् । देवरहरुको विवाह गर्नमा पनि गायत्री दिदीले नै ठूलो सहयोग गरिन्  । गायत्री दिदीलाई राधा टोकाहा हैन, सवैले आफ्नो प्रारव्ध भोग्ने हो, कोही कसैको टोकाहा हुँदैन भन्ने प्रमाणित गर्नु थियो। गायत्री दिदी धनी र  इज्जतदार परिवारकी हुन्  । उनलाई धन पैसाको दु:ख भएन ।

राधा वृन्दावनमा बस्न थालेको धेरै वर्षपछि उनका साहिंला  देवर भेट्न आए । उनले त चिन्ने  सकिनन । देवरले पनि राधालाई अन्त कतै देखेको भए चिन्न सक्ने थिएनन । देवरका दुईओटा छोरा काठमाडौँमा पढ्दै छन । देवरले भनेका थिए ‘’भाउजू !  उतिबेला परिस्थिति नै त्यस्तै थियो । आमा ग्वार खोलामा बगेर मर्नुभयो, त्यसपछि सत्र वर्षको कलिलो उमेरमै दाइ जानुभयो । सात वर्षको भाइलाई हैजाले लग्यो । बा शोकै शोकले जानुभयो । हामीसङ्ग  न टेक्ने हाँगो थियो, न त समाउने डालो । छिमेकीहरुले  भाउजू  अलिच्छिना हो, जहिलेसम्म तिमीहरुको घरमा त्यसको बास हुन्छ तवसम्म राम्रो हुने वाला छैन भनेर हामीलाई त्रासमा पारिरहे । हाम्रो लागि केटी खोजेर विवाह गरिदिन कोही पनि तयार थिएन । साह्रै नै हतास र निराश भयौं र हामीलाई लाग्न थाल्यो, हो न हो हाम्रो दुर्भाग्यको कारण भाउजू  नै हो, अव मर्ने पालो हाम्रै हो । सक्नुहुन्छ भने हामी दुई भाइलाई क्षेमा गर्नुहोला ।”

राधाले भनेकी थिइन् ‘’यस संसारमा जे जति जीव छन्, ती सवैले आफ्नो आफ्नो प्रारव्ध भोगेर जानुपर्छ ।  कसैको आयु लामो हुन्छ, कसैको छोटो । जीव अनित्य छ, त्यसैले जीव मर्छ र फेरी जन्म लिन्छ । किन्तु आत्मा अजन्मा, अनादि र अमर छ । सवै जीव जन्मनु अघि अप्रकट थिए, मरेपछि पुनः अप्रकट हुन्छन । जय पराजय सुख दु:ख, लाभ हानी, सवैलाई बराबर मानेपछि त्यसै समत्वभाव आउँछ । म को हुँ तपाइंलाई क्षेमा दिने ? क्षेमा माग्नु छ  भने उनै ब्रजनन्दन मुरलीमनोहरसङ्ग  माग्नुहोस । मलाई तपाईंहरुले जुन व्यवहार गर्नुभयो, त्यो तपाईंहरुको अज्ञान  र मूढताको प्रतिफल थियो । अन्धविश्वासी समाज र कुरीतिको परिणाम थियो । म मेरो प्रारव्ध भोग्दै छु, तपाईं पनि आफनै प्रारव्ध भोग्दै हुनुहुन्छ । तपाईंहरु गृहस्थी हो,  आफ्नो गृहस्थधर्मको पालना गर्नुहोस, अकीर्ती फैलिने र पछि पश्चाताप हुने काम नगर्नुहोस ।

यस संसारमा जे जति पाउनु भएको छ त्यसका लागि उनै  कुञ्जविहारीलाई धन्यवाद दिनुहोस, आफ्नो कर्ममा सधै तल्लीन रहनुहोस, सवै भोग गर्नुहोस, तर आसक्त र स्वार्थी नहुनुहोस । यो चराचर जगतका स्थायी स्वामी उनै  देवकीनन्दन हुन । तपाईंसङ्ग  आज जे छ त्यो पनि उनैको हो र भोलि जे रहने छैन त्यो पनि उनकै हो । हामी मूढहरु अर्काको सम्पत्ति र ऐश्वर्य पाएर आफ्नै हो कि जस्तो गरी अहङ्कार गर्दछौं ।  केही गुम्यो भने पनि आफ्नै गुमेजस्तो गरी शोक गर्दछौं । मनुष्य यस लोकको  मालिक हुन चाहन्छ ।  कोही कोही केही समयका लागि नश्वर वस्तुको मालिक हुन्छन्  र व्यर्थ दम्भ गर्दछन । सम्पत्ति कमाउनुहोस, सदा कर्म गरिरहनुहोस्, किन्तु यो समस्त जगतको सम्पत्ति ईश्वरको हो र यही कारणले मेरो पनि हो भन्ने भावना राख्नुहोस । परोपकारमा पनि धन खर्च गर्नुहोस कहिल्यै दुख हुने छैन ।”  देवरले राधालाई एकोहोरो हेरिरहे र प्रणाम गरेर विदा भए ।   

वृन्दावनमा बस्ने सवैले सोच्दछन, राधाआमाले अव यस संसारमा जन्म लिनु पर्ने छैन । धेरै भक्तहरु सोच्दछन, जुन स्तरको भक्ति राधाआमामा छ त्यो अवस्थामा पुग्न जो कोहीलाई गाह्रो छ । उनले यस धारामा जन्म लिएर जे जे जान्नु पर्ने हो त्यो सवै जानिसकिन्, उनलाई दिव्य ज्ञान प्राप्त छ । राधा आमामा क्रोध छैन, लोभ छैन, ईर्ष्या छैन, वासना छैन, सवैप्रति समभाव छ, उनी समदर्शी हुन्   । उनी न कसैको विषयमा अनुचित टिप्पणी गर्छिन, न त निन्दा । उनी कसैलाई खुसी पार्न मिथ्या प्रशंसा गर्दिनन्  । उनको मति स्थिर छ, उनी स्थितप्रज्ञ छन् ।

 आज श्रीकृष्ण जन्माष्टमी । आश्रममा विशेष कार्यक्रम थियो । सारा भक्तजनहरुले  नन्दनन्दनको लीलामृतको भजन, श्रवण र नाचगान गरे । आज धेरै दिनपछि राधाआमालाई मीठो निद्रा लाग्यो । सपनामा  उनले बालकृष्णको दर्शन पाइन्  । शिशु बालमुकुन्दको भजन स्वतः मुखबाट  निस्क्यो,   ‘’करारबिन्देन  पदारबिन्दं   मुखारबिन्दे  विनिवेशयन्तं  बटस्य पत्रस्य पुटे  सयानं बालं मुकुन्दं  मनसास्मरामी, विक्रेतु कामाखिल गोपकन्या मुरारी पादार्पित चित्तवृत्ति दध्यादिकं मोहवाशाद वोचद्  गोविन्द दामोदर माधवेती, गृहेगृहे गोप बधु कदम्बा  सर्वे मिलित्वा समवाप्य योगं, पुण्यानी नामानी पठन्ती  नित्यं  गोविन्द दामोदर माधवेती ।”

बालकृष्णले अकस्मात युवावस्थाको मदनमोहन रुप धारण गर्नुभयो ।  राधाको आजीवन अटल भक्तिबाट अति प्रसन्न ब्रजनन्दनले मधुर मधुर मुस्कान छर्दै  भन्नुभयो ‘’हे राधा के माग्छ्यौ माग !”   राधा अलमलमा परिन्, उनले भनेकी थिइन्   ‘’हे मदनमोहन !  हजुरको दर्शन नै मेरो लागि ठूलो वरदान हो, मलाई केही चाहिंदैन, सधै हजुरकी चरणारविन्दकी  सेविका हुन पाऊँ  ।”  तर जिद्दी मनमोहनले   ‘’केही त माग” भनेर जोड गरिरहे । राधाले  सपनामै युवावस्थामा पुगेको अनुभव गरिन्  । उनी  सहसा भन्न पुगिन्  ‘’हे कुन्जबिहारी, हे मनमोहन !  हजुर आफै अन्तर्यामीसङ्ग  म के मागौं ? मेरो अन्तःकरण हजुरबाट लुकेको छैन। आफै चिनेर मलाई जे उचित लाग्छ त्यही वरदान दिनुहोस ।” 

अन्तर्यामी भगवान श्री कृष्णचन्द्रले भन्नुभयो  ‘’ तिमी प्रज्ञावान, शीलवान र अनुशासित छौ । तिमी मोक्षको अधिकारी पनि छौ । किन्तु यस मर्त्यलोकमा मनुष्य योनीमा जन्म पाएर पनि तिमीले मनुष्यले गर्न पाउने स्वाभाविक सुखभोग गर्न पाइनौ । तिमी स्वामी मुक्तमाधवसङ्ग मुग्ध हुनु स्वाभाविक थियो । मुक्तमाधवले तिमीलाई हेरेर जसरी मुस्कुराए, त्यसैगरी अरुलाई हेरेर पनि मुस्कुराए । किन्तु तिमीलाई किन्चित भ्रम भयो  कि उनी तिमीसङ्ग आसक्त छन् । तिमीले मुक्तमाधवको पुनरागमन कुरेर यौवन बितायौ । परन्तु हे प्यारी राधा !  मुक्तमाधव सुखभोग गरिसकेका मनुष्य हुन् । सुखभोगको अनुभव गरिसकेका उनीमा  तिमीप्रति कुनै लगाव थिएन, उनी पूर्णतः मुक्त थिए । अझै पनि तिम्रो अचेतनमा गुमेको अवसरले घर बनाएर बसेको छ । धेरै कामना, वासना र इच्छाहरु  दबेर बसेका छन्  । तिमीलाई अर्को जन्ममा यस जन्ममा गुमेको अवसर प्राप्त हुनेछ । तिमी पूर्ण सांसारिक सुखभोगको अधिकारी हुनेछौ । त्यसपछि मात्र तिमी ब्रह्ममा लीन हुनेछौ ”  भगवान अन्तर्ध्यान हुनुभयो ।