सीताको श्राप

हे मर्यादा पुरुषोत्तम ! तिम्रो महिमामा एउटा ग्रहण लागिरहने छ । अरु कुरामा जति नै उत्तम भए तापनि पत्नीलाई त अविश्वास गरेकै हो, दु:ख दिएकै हो भनेर लोकले मूल्याङ्कन गर्नेछ । शंकालु र अविवेकी शासकहरु सत् र असत् छुट्ट्याउन असमर्थ हुनेछन् । शासकहरु आफ्नो राज्यको वास्तविक परिस्थिति’bout अनभिज्ञ हुनेछन् । कामभन्दा कुरामा विश्वास गर्ने शासकहरुको बोलबाला कायम हुनेछ ।


-भागवत खनाल


एक दिन रामले सीतालाई भने –  हे सीता ! राज्यलक्ष्मीको भोग गर्नेलाई कर्तव्य, सत्कर्म, परलोक, जीवनका सुख -दु:ख, परोपकार, वाणीमा संयम र मृत्युको समेत ख्याल हुँदैन भन्ने शास्त्रको मत रहेको छ । कतै म पनि त्यस्तै अवस्थामा त छैन  ? मलाई घचघच्याई राख ।


सीताले भनिन् – स्वामीबाट अरु सबै कुरामा त ख्याल पुगेकै छ । किन्तु एउटा कुरामा ध्यान नगएको हो या फुर्सद नभएर हो कर्तव्यपालन गर्न छुटेको छ । बाबुले परित्याग गरेको परम्परा थामिराख्न छोरालाई कर लाग्दैन, नातिको पालामा परम्परा नै विलीन हुन्छ । हजुरले गया श्राद्ध गर्न बाँकी छ ।

राम र सीता साधारण जनता बनेर अयोध्याबाट गयातर्फ लागे । लामो यात्रा, धेरै ठाउँ बास पर्‍यो । बाटोमा पर्ने स्थानका जनताको दु:ख देखेर रामराज्यमा सबै सुखी र समृद्ध छन् भन्दै “रिपोर्टिङ” गर्ने आफ्ना मन्त्री र अफिसरहरुको अनुहार सम्झेर रामलाई घृणा लाग्यो ।

लामो वनवास बेहोरेका सीतारामलाई यात्रा उस्तो कठिन भएन । बाटाभरि सीतारामले भुइँमान्छेले जस्तो प्रेम गर्ने अवसर पाए । एक रातको कुरा हो, ठूलो चौतारीको मुनि काम्लो बिछ्याएर दुबै सुते । राम छिट्टै निदाए । सीताको मनमा अतीतका दृश्य फनफनी घुम्न थाले । उनले आफ्नो जीवनसाथीको सुन्दर अनुहार हेरिरहिन् । हठात् उनले सोचिन् – आफ्नो बाबुको आदेश पालना गर्न यिनी वनतिर लागे । जब यिनले धनुको ठोक्रो भिरे मैले भनेकी थिए, जब जोगी भएर वनतिरै जानु छ भने हतियार किन ? तर यिनले मेरो एक सुनेनन । वनमा यी चुप लागेर बसेनन्, दुई भाइ मिलेर खूब शिकार खेले ।


मैले यिनको अगाडि सतित्व प्रमाणित गर्नुपर्‍यो । किन्तु यिनले केही गर्नु परेन । यी पुरुष थिए, त्यसैले चोखा थिए । एकजना अवला सुर्पणखाको पो यिनले नाक काटे, जसको नाक काटेनन् ती को को थिए ? यी यति सुन्दर छन् । महादेवभन्दा आकर्षक युवक, एकान्त वनमा कति युवती फेला परे होलान् ।

 सीता झसङ्ग भइन् । अहो ! म के सोच्दै छु यो ? यो चन्चल मन पनि विचित्रको छ । कहाँकहाँ पुर्‍याउँछ ।

उनीहरु गया पुगे । कलकल बगिरहेको फल्गु नदी, सुन्दर उपवनहरु, विशाल अक्षयवट, लहलह झुल्ने पिपलवृक्षहरु, पंक्तिबद्ध आम्रवन र निर्दोष प्रतीत हुने प्रजा । उनीहरू बजार घुमे, जलकृडा गरे, कुन्जविहार गरे । सीताले विवाह भएको धेरै वर्षपछि पतिसुखको अनुभव गरिन् । सीताले महादेव र पार्वतीलाई सम्झिन् । पार्वतीको भाग्य सम्झेर किन्चित ईर्ष्या पनि लाग्यो । सीताले दुई चार दिन भोगेको सुख त पार्वतीले कति भोगिन् कति ।


श्राद्ध गर्ने दिन आइपुग्यो । उनीहरू फल्गु नदीको किनारमा  कम्मल बिच्छ्याएर बसे । व्राह्मण आएर श्राद्धका लागि तयार पारेको सामान निरीक्षण गरे । व्राह्मणले भने – अहो किसान ! यो के चाला हो ? यस्तो सामग्रीले कहीँ गया श्राद्ध हुन्छ ? जब यति लामो यात्रा गरेर आयौ त थोरै रुपियाँ खर्च गर्नमा केको लोलुपता ?
 
रामले सामग्रीको सूची तयार गरेर भने –  सीता ! म सामग्री खोज्न जान्छु तिमी पनि जान्छ्यौ ? व्राह्मण मुखाले रहेछन्, भनिहाले – हे किसान ! तिम्री पत्नीको नाम पनि सीता रहेछ । कतै तिमी पनि राम जस्तै शंकालु त छैनौ ? यी थकित अबलालाई किन दु:ख दिन्छौ ? यिनलाई आराम गर्न देऊ ।


राम बजारतर्फ लागे । सोचे – अहो! यो पण्डितले त उत्पातै कुरा काट्यो ।  लोकमा को के बोल्छ भनेर पछि लाग्नु पनि मिथ्या रहेछ ।

यता श्राद्धको साइतको मुहुर्त भिड्किन लागिसक्यो । राम आइपुगेनन् । गया तीर्थको ठीक माथिबाट पितृहरु  यात्रा गर्दै जान्छन । उनीहरू माथि आइपुग्ने मुहुर्त समात्न सकिएन भने पार भएर अलप हुन्छन । श्राद्धको प्रयोजन सकिन्छ । सीताले हतास हुँदै व्राह्मणलाई भनिन् – हे पुरोहित ! सामग्री खोज्न गएका मेरा पति आइपुगेनन् । अब कसो गर्नेहोला ? पुरोहितले भने – जो भएको सामग्रीबाट काम चलाऊ ।


सीताले भएको सामग्रीबाट श्राद्ध गरिन् । पितृहरु कल्याङकुलुङ स्वर गर्दै गए । सीताले व्राह्मणलाई दक्षिणा, गाईलाई प्रसाद, नदीलाई फूलपाती र कागलाई काकबलि दिएर श्राद्ध सम्पन्न गरिन् ।

बल्ल राम थप सामग्रीको धोक्रो बोकेर आइपुगे । सीताले श्राद्ध सम्पन्न गरिसकेको र पितृहरु पार भइसकेको बताइन् । राम अकमक्क परे । व्यस्त पुरोहित घुम्दै आए । रामले पुरोहितलाई सोधे – यिनले श्राद्ध गरेको कुरा साँचो हो ? सीताले फेरि मनमनै सोचिन् –  यिनले फेरि मेरो परीक्षा लिन लागे । हेप्नुको पनि हद हुन्छ नि । मलाई मेरा पिताले “नारीको अलङ्कार भनेकै सहनशक्ति हो नानी, सहे जितिन्छ”  भनेर विदा गरेको वचन सम्झना आउँछ र मात्र हो, नत्र कुरा गर्न त मलाई पनि आउँछ ।”

सीताले भनिन्  – श्राद्धको मुहुर्त टरिसक्यो । पितृहरु मैले जो भएको सामग्रीबाट गरेको श्राद्ध र तर्पणले तृप्त भएर कल्याङकुलुङ गर्दै पार भए ।
रामले पुरोहितलाई सोधे – मुहुर्त टरेको हो ?
पुरोहितले भने – यति ठूलो तीर्थमा सधै मुहुर्त हुन्छ ।

हुन पनि मानिसहरू अझै आइरहेका थिए । श्राद्ध भइरहेकै थियो ।
पुरोहितले फेरि भने – यतिका यजमानमध्य कसले श्राद्ध सक्यो, कसले सकेको छैन, म कसरी भन्न सक्छु ?
रामले अन्न टाँसिएको पात चपाइरहेको गाईलाई सोधे – हे गोमाता ! यिनले श्राद्ध गरेको साँचो हो ?
गाईले रामले भर्खरै ल्याएको धोक्रोभित्रबाट आइरहेको सुगन्ध लिंदै भनिन् – खै मैले त ख्याल गरिन ।
रामले नदीलाई पनि त्यही प्रश्न गरे । नदीले हजारौं भक्तमध्य कतिले पत्र-पुष्प भेटी चढाए, कतीले दीप प्रज्ज्वलन गरेर प्रवाहित गरे, त्यसको अभिलेख राख्ने नगरेको बताइन् ।


यस्तैमा अक्षयवटको वरैसम्म फैलिएको शाखामा सानो हलचल भयो । एउटा बूढो काग प्वाँख फ्वार् फ्वार्  पार्दै रामको ध्यानाकर्षण गर्दै थियो ।

कागले भन्यो – धिक्कार छ तिमीहरूलाई ! तिमीहरूको लोभलाई धिक्कार छ ! कति खान पाए तृप्त हुने हो तिमीहरू ? फेरि श्राद्ध होला र खान पाउँला भन्ने लोभले मिथ्या बोल्यौ हैन ?  हे राम ! थोरै होसमा आऊ ! नारीको विश्वास गर्न सिक । आफ्नो विवेकमाथि अत्याचार नगर । सीताले श्राद्ध गरेकै हुन्, यिनीहरू सबैले यथायोग्य पाएकै हुन्, मैले पनि सानो टुक्रो पाएकै हुँ, यी हेर त्यही चपाउँदै छु । काग उडेर गयो ।
सीतालाई अति भयो । उनले फल्गु नदीको जल हातमा लिएर भनिन् – तिमी खानको लागि असत्य बोल्यौ, आजका मितिदेखि खानै नपाउने गरी  भासिएर जाऊ ! अबदेखि तिम्रो माथि आइपुग्दा पितृहरु मौन भएर यात्रा गरुन् । श्राद्धको मुहुर्तको कसैलाई मतलब नरहोस ।


सीताले गाईतर्फ हेर्दै भनिन् – तिम्रो मुख अपवित्र बनोस् । अभक्ष्य खानु परोस् । तिम्रो पवित्रता पुच्छरमा पुगेर बसोस् ।

उनले व्राह्मणतर्फ हेर्दै भनिन् – तिमीमा कहिल्यै लक्ष्मीले वास गर्ने छैनन् । जो भएको धनधान्यको पनि सदुपयोग गर्न सक्ने छैनौ । विद्या बेचेर गुजारा गर्नु पर्नेछ । तिमीलाई लोकले लोभी भनेर उपहास गर्नेछ ।
 
उनले कागलाई संवोधन गर्दै भनिन् – हे पक्षीशिरोमणी ! तिमीले सबै प्रजाले गराएको फोहोर सफा गरेर लोकलाई शुद्ध राख्नेछौ । तिमी आफू छुच्चो बनेर पनि प्रजालाई आसन्न शङ्कटको सूचना दिनेछौ । तिमीलाई बलि नदिई पितृको उद्धार हुने छैन ।


सीताले रामतर्फ हेरिन् । प्रकटमा केही नबोले तापनि  मनमनै भनिन् –  हे मर्यादा पुरुषोत्तम ! तिम्रो महिमामा एउटा ग्रहण लागिरहने छ । अरु कुरामा जति नै उत्तम भए तापनि पत्नीलाई त अविश्वास गरेकै हो, दु:ख दिएकै हो भनेर लोकले मूल्याङ्कन गर्नेछ । शंकालु र अविवेकी शासकहरु सत् र असत् छुट्ट्याउन असमर्थ हुनेछन् । शासकहरु आफ्नो राज्यको वास्तविक परिस्थिति’bout अनभिज्ञ हुनेछन् । कामभन्दा कुरामा विश्वास गर्ने शासकहरुको बोलबाला कायम हुनेछ ।