अमूर्तनाथको पृथ्वी यात्रा

-भागवत खनाल

स्वर्गवासी भएको दश वर्षपछि अमूर्तनाथलाई यसो पृथ्वीतिर झर्न मन लागेछ ।

ऊ महाराज इन्द्रकहाँ गएर आफ्नो इच्छा जाहेर गर्‍यो ।

इन्द्रले गुरु वृहस्पतिलाई सोधे ।

गुरुले स्वर्गबाट पृथ्वीतिर घुम्न पठाउने विधान बन्न बाँकी नै रहेको कुरा बताए ।

अमूर्तनाथ पनि कम्ताको जिद्दी थिएन । ऊ  यमराजकहाँ पुग्यो ।

त्यहाँ उसले दुई लाइन देख्यो ।

अमूर्तले मनमनै सोच्यो – यमराज त राजा रङ्क सबैलाई समान देख्छन भन्थे । तर होइन रहेछ , यहाँ पनि विभेद रहेछ ।

ऊ दुई लाइनको बीचबाट सिधै यमराजको सामुन्ने पुगेर ठिङ्ग उभियो  ।

क्रोधित यमराजको आँखामा आगो बल्यो । मर्यादाहीन ! अशालीन ! अश्लील ! उल्लङ्घक !

अमूर्त – सरी प्रभु !

यम – सरी ? यो त आङ्ग्ल भाषा हो !

अमूर्त – अचेल नेपालमा पनि यही चल्याछ सर !

यम – सर ?

अमूर्तले सोच्यो – अपमान भयो कि क्या हो ।

अमूर्त – योर एक्सीलन्सी !

यम – को एक्लीकान्छी ?

अमूर्त – (मनमनै ) ला ! यी त जेमलोकका राजा हुन् ।

अमूर्त – योर मेजेस्टी !

यम ( दुबै हातले लट्टा समात्दै ) – के माग्छस माग् !

अमूर्त – एउटा कुरा सोध्छु अर्को माग्छु ।

यम – सोध् !

अमूर्त – यो विभेद किन । किन दुई लाइन् ?

यम – एउटा कोरोना लाइन हो ।

अमूर्त – ल ल ठीक छ । म एक महिनाको लागि पृथ्वीतिर जान्छु ।

यम – जा । सबै खबर लेर आउनू ।

अमूर्त हवाइजहाज उडेको र आङ्लहरु पहाड चढेको हेर्ने विचार गरेर धौलागिरीको टुप्पोमा आएर बस्यो । ऊ अचम्म पर्‍यो । न हवाइजहाज न त आङ्लहरुको लर्को ।
फेरि ऊ काठमाडौंको धूलो र धुवाँ हेर्नुपर्‍यो भनेर चन्द्रागिरीको टुप्पोमा आएर बस्यो । ऊ फेरि आश्चर्यमा पर्‍यो । जताततै छ्याङ्ग ! अमूर्तले यसो टिचिङ अस्पतालतिर हेर्‍यो । ऊ झन्डै तर्सेर तलतिर झरेको ! त्यहाँ जति देख्छ सबै डाक्टर ! सबै मास्क लाका ।

फेरि पूर्वतर्फ आँखा घुमायो ।

यसो हेर्छ त बालुवाटारमा केपी ओलीलाई देख्यो ।

सोच्यो – ये यिनी पनि प्रधान भएछन् । यिनले गर्छन् !

फेरि उसले नीलकण्ठ भगवानको दर्शन गर्‍यो टाढैबाट ।
 यसो अलि पर एकजनालाई चिन्तित मुद्रामा देख्यो ।

ऊ झसङ्ग भयो – होइट यी त शेर पो हुन् । विद्यार्थी हुँदा राम्रा थे । विद्यार्थी इतिहास राम्रो छ ।

ऊ शेरको मनभित्र पस्यो ।

बाफ्रे! एकैचोटमा दश बाह्र जना उम्मेदवार सभापति  ! मलाई बूढो भन्नी  ? हेप्नी ? म बूढो कि महाथिर ?

ऊ आत्तिएर मनबाट बाहिर निस्क्यो ।

फेरि उसले खुमलटार देख्यो । हुइट !! यी कहिले यता सरे ? म आउने बेला त धेरै बलिया थिए । अहिले अलि गलेछन् । तर यिनलाई सकिए भन्नेहरु लाटा हुन् । यति बाठो मान्छे सकिन्छ ? मौका आउनुपर्छ यिनले पनि देखाइदिन्छन् ।

फेरि उसले बाडेगाउँ हेरेर नमस्कार गर्‍यो ।

फेरि सम्झ्यो – गङ्गा पुष्प पनि यहीँका हुन् ।

फेरि भैंसेपाटीतिर हेर्‍यो ।

सोच्यो – के ठेगान नेपाल हो !

फेरि उसले नेता केटाहरुतिर आँखा लगायो ।

सुने भने ताक्लान् भन्ने सोचेर मनमनै भन्यो – बज्जे हो ! झर्ला भनेर अझै पछि लाग्या ? लगे रहो भाइ लगे रहो !

कताबाट एकजना नानी रेडियो बजाउँदै आईन् ।

ए  नानी ! एकछिन ल्याऊ  ल्याऊ , सुनम !

नानी – को हो ? खै केही देख्दिन त ।

अमूर्त – नडराऊ म भूतपूर्व मान्छे हो ।

नानी – कोरोना बाहेक केहीसित डराइन्न ।

 विश्वकै कोरोना अपडेट सुनेपछि बल्ल यमराजको आङनको दुई लाइनको कुरा प्रष्ट भयो  ।

अमूर्तले एक हप्तामै सबै कुरो बुझ्यो ।

 घुम्न जानू पनि कता जानू ?

ठमेल बन्द , चिडियाखाना बन्द , रत्नपार्क सुनसान ।

यसो फाइट र टाइटवाला फिल्म हेर्न पनि छैन ।

एअरपोर्टतिर आङ्ल आङ्लेनी हेर्न पनि छैन ।

 भोलेनाथ ढोका लाएर हिमालतिर एकान्तवासमा छन् ।
अमूर्त फर्क्यो ।

यम – किन यति छिट्टै ?

अमूर्त – अर्कै भएछ प्रभु ! सबै छ्याङ्गै ।

यम – के के देखिस् भन् !

अमूर्त – विस्तारमा भनौं को छोटोमा ?

यम ( मनमनै ) – विस्तारमा भन्न थाल्यो भने त आज जन्मेको शिशु बूढो भएर यहाँ आउँदासम्म सुनाइरहने होला ।

यम – एक एक वाक्यमा भन् ।
अमूर्त – बिरामी र गरिबको अवस्था दु:खद छ ।

स्वास्थ्यकर्मी ?
-धेरै दु:ख छ , निराशाबीच खटेकै छन ।

पुलिस ?
– कोरोना ट्यामका सबैभन्दा पीडित ।

मजदुर -?
रोजगारी गयो , बिजोग छ , सुनाउने ठाउँ छैन ।

सरकार ?
– बज्रलेप , तगडा , सिपालु , दरो , सुरो र व्यस्त अनि  महलोले मुख छोप्दा खाना खान पनि गाह्रो ।
यम – लाटा !

अध्ययनको सार ?
अमूर्त –  पापीहरुबाट सताइएका पापीहरु देखेर आएँ बोरो !

यम – बोरो ?

जा अमूर्ते उतै इन्द्रेसित सोमरस पान गरेर बस् । यता पाइलो हालिस् कि खाइस् !